महालक्ष्मी विकास बैंकका ग्राहकलाई पाँच संस्थामा १५ प्रतिशतसम्म छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न पाँच संस्थाका सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । स्वास्थ्य, श्रृङ्गार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थामा ग्राहकलाई छुट दिने व्यवस्था मिलाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महालक्ष्मी विकास बैंकका ग्राहकले जनकपुरको नव जीवन अस्पतालमा अस्तापलको सेवाका १५ प्रतिशत, फार्मेसीमा १० प्रतिशत, अन्य परीक्षणमा २० प्रतिशत छुट पाउने बैंकले बताएको छ । त्यसैगरी, बैंकका ग्राहकले उक्त अस्पतालमा दुई हजार रुपैयाँमा हेल्थ प्याकेज पाउने भएका छन् । त्यसैगरी, हेटौंडाको क्राउन्स कलेक्सनमा महिलाका सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको बैंकले बताएको छ । भैरहवाको सिद्धार्थनगरमा न्यू बिजी विन्समा बैंकका ग्राहकले फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, मकवानपुरको मनहरी–७ स्थित मनहरि हेयर एण्ड ब्यूटी युनिसेक्स सैलुनमा महालक्ष्मी विकास बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन् । काठमाडौंको कोटेश्वरस्थित हुक हस्पिटालिटी प्रालिमा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट पाउने बैंकले बताएको छ । ती कम्पनीहरुसँग बैंकले सम्मझदारी गरेर ग्राहकलाई छुट दिने व्यवस्था मिलाएको बताएको छ । महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका छुट सुविधा लिन सक्ने बैंकले बताएको छ ।
वाइवाइ इन्डियाको ब्राण्ड एम्बेस्डरमा बलिउड अभिनेता आयुष्मान नियुक्त
काठमाडौं । वाइवाइ इन्डियाको ब्राण्ड एम्बेस्डरमा बलिउड सुपरस्टार आयुष्मान खुराना नियुक्त भएका छन् । चौधरी समूहको सिजी कर्प ग्लोबल अन्तर्गतको वाइवाइ इन्डियाले बलिउड स्टार आयुष्मान खुरानालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको गरेको हो । वाइवाइ चाउचाउ २५ वर्षदेखि लोकप्रिय छ । आयुष्मान खुरानासँगको सहकार्य प्रमुख प्राथमिकतामा राखेको र छोटो समयमा सहकार्यलाई मूर्तरुप दिन सकेका सिजी फुड्स र सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले बताए । वाइवाइ जस्तो ब्रान्डसँग जोडिन पाउँदा आफूले भाग्यमानी महसुस गरेको खुरानाले बताएका छन् । यसका उत्पादनले जीवन्त र विविध दायरा समेटेको उनको भनाइ छ । हरेक स्वाद, क्षेत्र र प्राथमिकता अनुसारको विदेशी चाउचाउहरूको सजावटबाट, ब्रान्ड आफ्नो नाममा रहने उनले बताए । वाइवाइले कोरियन स्पाइसी कुजिनको रुपमा डाइनामाइट ब्राण्डको चाउचाउ पनि बिक्री गरिरहेको छ ।
बाढीका कारण क्षति पुगेको कागबेनी बस्ती सरकारले पुनर्निर्माण गर्ने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले भने– “ऐतिहासिक पर्यटकीय तीर्थस्थल कागबेनीको बस्ती पुनर्निर्माणको कामलाई सरकारले महत्वका साथ अघि बढाउँछ ।” सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण गरिने गृहमन्त्री श्रेष्ठले बताए । कालीगण्डकी नदीको बगरमा थुप्रिएको नदीजन्य वस्तुका कारण उत्पन्न जोखिम तथा क्षति न्यूनीकरण गर्दै बस्तीलाई सुरक्षित बनाउने विषयमा ढङ्गले छलफल गरिने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा कोरला नाका सञ्चालनको विषयलाई पनि छलफलको विषय बनाइने गृहमन्त्री श्रेष्ठले बताए । “कोरला नाकालाई चीन र नेपालबीचको व्यापारिक नाकाका रुपमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले गम्भीरताका साथ पहल गर्नेछ,” उनले भने, “बेनी–जोमसोम–कोरला सडकमा बाह्रैमास यातायात सञ्चालनको व्यवस्था मिलाउन लागिपरेका छौँ ।” क्षतिग्रस्त सडक, पुुल, खानेपानी, विद्युत् र सिँचाइ आयोजना पुनर्निर्माणको काम तत्काल अघि बढाइने उनको भनाइ छ । गृहमन्त्री श्रेष्ठले बाढीले क्षति गरेको कागबेनीको बस्तीको निरीक्षणका साथै स्थानीय तह, प्रशासन र सुरक्षा निकायका अधिकारीसित छलफल गरेका थिए । कागखोलाको बाढीबाट १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत भौतिक पूर्वाधारतर्फ २१ करोड २ लाख रुपैयाँ बराबरको क्षति पुगेको तथ्याङ्क छ । स्थानीयका ५० घरमा ५२ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । बाढीबाट २९ घरमा पूर्ण क्षति तथा १५ घरमा आंशिक क्षति पुगेको थियो भने बाढीले बगाउँदा २४ पशुचौपाया मरेका थिए ।
एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंक
काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरेको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-इ नामक खुलामुखी योजनाको वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सो योजनाको सेवाहरु सहज, व्यवस्थित तथा प्रभावकारी रुपमा प्रवाह गर्ने उद्देश्यका साथ एनएमबि बैंक र सम्पूर्ण शाखा कार्यालयमार्फत् योजनाको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एआईपी) लगायत अन्य सेवाहरु प्राप्त गर्न सकिने छ । एसआईपी रकम स्वतः बैंक खाताबाट भुक्तानी गर्न एनएमबि बैंकको स्ट्याण्डिङ्ग इन्स्ट्रक्सन सेवा प्रयोग गर्न सकिने क्यापिटलले बताएको छ । सो फण्डको कोष प्रवद्र्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल हो ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कारोबार ३ दिन बन्द हुने
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको कारोबार बन्द तथा खाता नम्बर परिवर्तन हुने भएको छ । फाइनान्स कम्पनीले आफ्नो सेवालाई परिष्कृत गर्न कोर बैंकिङ्ग सिस्टम (सीबीएस) प्रतिस्थापन गर्ने भएकाले तीन कारोबार बन्द हुने जनाएको छ । कम्पनीका अनुसार सीबीएस सिस्टम प्रतिस्थापन गर्नु पर्ने भएकोले भदौ २० गते बुधवार वहान ८ बजेदेखि भदौ २३ गते शनिवार राती १२ बजेसम्म सम्पूर्ण बैकिङ्ग कारोवारहरु पूर्ण रुपमा बन्द रहने छन् । डाटा माइग्रेशन पश्चात् ग्राहकहरुले नयाँ कायम भएको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सकिने कम्पनीले जनाएको छ । साथै, अन्य निकायहरु जस्तै, सेयर दलाल तथा हितग्राही खातामा ग्राहक आफैले नयाँ खाता नम्बर अध्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ । बैकिङ्ग कारोबारहरु बन्द रहने दिनमा आइपर्न सक्ने अत्यावश्यक कारोबारहरुको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क राख्नु हुन अनुरोध गरेको छ ।
नक्कली विज्ञापनको भर पर्दा डुब्यो ३४ लाख रुपैयाँ
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले ३४ लाख रुपैयाँ ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । कार्यालका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरु ठूलो रकम गुमाउन पुगेका हुन् । अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत ५ लाख ४५ हजार रुपैयाँ तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो । “क्यानडा जानका लागि प्रोसेसका लागि आइएलटिएस सर्टिफिकेट र सिभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरु पठाइदिनुहोस् भनी पटक–पटक ह्वाट्सएपबाट माग गरेको पाइयो, त्यसपछि पीडितले कागजात पठाएका थिए,” प्रहरी उपरीक्षक रेग्मीले भने, “उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेको बैंक खातामा पैसा हाल्न लगााएको भेटियो ।” पीडितलाई त्यसरी लोभ्याएर पटक–पटक गरी जम्मा ३४ लाख ५७ हजार रुपैयाँ पठाउन लगाई ठगी गरेपछि उनीहरु सम्पर्कविहीन भएको भनी जाहेरी परेको थियो र सोही जाहेरीका आधारमा टोली परिचालन गरी खोजी थालिएको थियो । यसरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा सङ्लग्न पाइएपछि जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका–६ बस्ने ३० वर्षीय लक्ष्मण नेपाली र जिल्ला सप्तरी राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीरप्रसाद साहलाई पक्राउ गरी कानुनी कारबाही सुरु भएको पनि उनले बताए । प्रहरीले क्रिप्टो कारोबारमा सङलग्न एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बूढानीलकण्ठ पासिकोट बस्ने पुरुषोत्तम कार्की छन् । उनीविरुद्ध नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत कारबाही भइरहेको प्रहरीले जानकारी दिएको छ ।
फुल लोडमा ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालो उक्लियो फोटोनको विद्युतीय ट्रक
काठमाडौं । नेपालको पहिलो फोटोनको टीएम वान विद्युतीय ट्रकको पूर्ण क्षमतामा सामान बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालो पार गरेको छ । कम्पनीका अनुसार ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालोमा फुल लोड सामान बोकेर सफल परीक्षण गरिएको हो । फोटोनको विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको कम्पनीको दाबी छ । उक्त टीएम वान विद्यूतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्र खुट्टेको उकालो सहज रुपमा पार गर्न सफल भएको कम्पनीले जनाएको छ । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले गरिरहेको छ । फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्छ । एक पटकको फुल चार्जमा २८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ । टीएम वान विद्युतीय ट्रक आगामी भदौ २६ गते हुन गइरहेको नाडा अटो सो २०८० मा विशेष अफरका साथ प्रदर्शनमा राखिएको कम्पनीले जनाएको छ ।