विकासन्युज

सङ्कटमा पदमार्ग, स्थानीय श्रमिक प्रभावित

काठमाडौं । लामो समय हिमाली जिल्ला मनाङ पुग्न पदयात्राबाट मात्रै पुगिन्थ्यो । पदयात्रामार्फत नै यहाँको रमणीय स्थलमा रमाउन विदेशी पर्यटक आउने गर्दथे । स्थानीय पर्यटक कमै पुग्ने भए पनि विदेशी पर्यटक पदयात्रामा रमाउँदै मनाङका रमणीय स्थलमा पुग्थे । तर, हिमाली जिल्ला मनाङ पुग्न सहज बनाउने उद्देश्यले ३१ वर्ष अघि नेपाली सेनाले ट्रयाक खोल्यो । नेपाली सेनाले विसं २०६९ मा लमजुङ सदरमुकाम बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकको ट्रयाक खोलेर यात्रा सहज बनाइयो । सेनाले सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्दा यस भेगका धेरै जनामा खुसियाली छाएको थियो । यस सडक सञ्जाल निर्माण भएपछि भने यहाँका स्थानीय, पर्यटक र भारी बोकेर दैनिकी चलाउने मजदुरलाई भने असर गरेको छ । यसले पदमार्ग नै प्रभावित भएको छ । पदमार्गमा प्रभाव पार्दा केही स्थानमा पदमार्ग र सडक एउटै बनेका छन् । यसले स्थानीय, पर्यटक र ज्यालादरी मजदुरलाई प्रत्यक्ष प्रभाव परेको हो । यस विषयमा सडक सञ्जाल जोड्ने क्रममा भारी बोकेर दैनिकी चलाउने मजदुरलाई पर्ने प्रभावका विषयमा कसैको चासो पुगेन । यसले गर्दा अहिले पदयात्रीले सकस भोगिरहेका छन् । यसका साथै मनाङको माथिल्लो क्षेत्रमा पनि सडक सञ्जाल र्पुयाइयो । मनाङ सदरमुकाम चामे पुगेको सडक विसंं २०७१ मा त्यहाँभन्दा २५ किलोमिटर दूरी सडक सञ्जालसँग जोडियो । यसको तीन वर्षपछि त्यहाँभन्दा ६ किलोमिटरमाथिको खाङ्सारसम्मै सडकमा जोडिएको छ । लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट)को यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली क्षेत्र थोराङ्ला भञ्ज्याङ (५,४१६ मि) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ । यस पदमार्गसम्मै सडक पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन् । कैयौँ पदमार्गबाटै सडक त कैयौँ पदमार्ग नै मेटिएका छन् । पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग अहिले ७ देखि १० दिनमा पूरा गर्न सकिने भएको छ । यसको मारमा यहाँका भरिया मात्रै होइन, स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन् । मनाङमा विसं २०५० सम्म होटल खुलेका थिएनन् । चक्रिय अन्नपूर्ण पदमार्गको पनि प्रचारप्रसार थिएन । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि यसले संरक्षण र पर्यटन क्षेत्रको काम गर्न थालेको हो । सन् १९९६ देखि पदमार्गमा आउने पर्यटकको तथ्याङ्क लिने र यसको प्रचारप्रसार हुन थालेका बताइन्छ । त्यतिबेलासम्म पनि मनाङमा सामग्री ढुवानीमा अन्य कुनै पनि साधन प्रयोग हुँदैन थियो । भरियाले बेँसीसहरबाट ५र६ दिन लगाएर भारी बोकेर सामग्री पुर्याउने गरिन्थ्यो । सडक सञ्जालको अभावमा पर्यटक र स्थानीय कतै–कतै डोरी र र्भयाङमार्फत हिँड्थे । यही बेला धेरै भरियाले रोजगारी पाएको पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताउँछन् । उनका अनुसार अझै पनि सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई भरिया प्रयोग गरिन्छ । कम मात्रामा प्रयोग गर्ने गरिन्छ । “गाडी चलेपछि खच्चड र भरिया विस्थापित हुने क्रममा छ, अहिले खच्चड र भरिया सडक सञ्जाल नै नजोडिएको नार्पाभूमिमा मात्रै प्रयोग हुन्छ”, उनले भने । विसं २०६९ मा मनाङ सदरमुकाम चामे सडक सञ्जालमा जोडिएको दुई वर्षभित्रै माथिल्लो मनाङसम्म मोटर चल्यो । चामेबाट माथिल्लो मनाङ गाउँसम्म मोटर चल्न थालेपछि पहिले भरिया लिएर बाटोमा क्याम्पिङ गर्दै पदमार्गमा जाने पर्यटक अहिले सिधै होटलमा बास बस्न आइपुग्छन् । होटलमा बस्न थालेपछि खानपान र भाँडाकुँडा बोक्नुपर्दैन । “पहिले जस्तो छैन अहिले, गाडी चल्यो, मान्छे र सामान सँगसँगै गाडीमै आइपुग्छ, अहिले भरिया खासै हुँदैनन्”, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८० वर्षीय याङदुङ गुरुङले भने, “भरियाविनै काठमाडौँ–पोखराबाट बेँसीसहर हुँदै सिधैँ माथिल्लो मनाङ पुग्छन् ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा यस पदमार्गमा वर्षेनी १९ हजारको हराहारीमा विदेशी पर्यटक आउने गर्दथे । सन् १९९९ मा आठ हजार बढी पर्यटकले यस पदमार्गको भ्रमण गरेका थिए । पर्यटकको तथ्याङ्क राखिए पनि कुनै पनि निकायले भरियाको तथ्याङ्क सङ्कलन गरेको छैन । बेँसीहरसम्म मोटर चल्ने भएकाले पर्यटक बेँसीसहर बास बस्न आइपुग्थे । बेँसीसहरबाटै भरियामार्फत सामग्री लैजाने गर्दथे । जिल्ला समन्वय समिति मनाङका प्रमुख चीनबहादुर घलेका अनुसार दुई जना बराबर एक जना भरियाले सामान बोक्ने गर्दथे । “हिँडेरै आउने पर्यटकसँगै उनीहरूका भारी बोक्ने भरियाको राम्रो कमाइ हुन्थ्यो, नेपाली भनेर मनाङीले भरिया सुतेको पैसा लिँदैनथे”, घलेले भने, “अचेल त पर्यटक गाडीमा आउँछन्, त्यसकारण भरिया नै देखिदैनन् ।” अहिले सवारीसाधान चलेपछि काठमाडौँ–पोखराबाट पर्यटक सिधैँ मनाङ आइपुग्छन् । खाङ्सारदेखि तिलिचो र माथिल्लो मनाङदेखि थोराङ्ला भञ्ज्याङ हुँदै मुक्तिनाथसम्म तीन–चार दिनका लागि चाहिने भरिया बेँसीसहरबाटै लैजानुपर्ने हुन्थ्यो । गाडी गुड्न थालेपछि यहाँको ग्रामीण अर्थतन्त्र फेरिएको छ । धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर राम्रो उत्पादन हुन्छ । मनाङको आलु धेरैजसो मनाङमै खपत हुन्छ । सडक सञ्जाल पुगेपछि यहाँको आलु देशका प्रख्यात सहरमा रहेका होटलमा खपत हुने गरेको पाइन्छ । पहिलेको तुलनामा खेती गर्न कम भए पनि माग भने बढेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । उनका अनुसार अहिले मनाङमा उत्पादित आलु, फापर बेँसीसहर हुँदै पोखरा–काठमाडौँसम्म पुग्छ । यहाँको यातायात चले पनि यहाँबाट सामग्री बजारसम्म र्पुयाउन भने सहज छैन । एक समय बेँसीसहरबाट हिँडेर दुई दिनमा पुगिने मनाङको धारापानीसम्म अचेल जीपमा चार घण्टामै पुगिन्छ । धारापानीदेखि तिल्चे (मनाङ)सम्म पनि यातायात चल्छ । तर, दुध खोलामा पुन नहुँदा वर्षायाममा यातायात ठप्प हुन्छ । त्यसपछि भीमथाङ, लार्के (मनाङ–गोरखा) सिमाना हुँदै सामागाउँ एक सातामा पुगिन्छ । मनास्लु पदमार्गको यस मार्ग अहिले खच्चड प्रयोगमार्फत सामग्री ढुवानी गर्न सहज र छिटो हुन्छ । तिलिचो जान आउनेका लागि खाङ्सारसम्म जीपमार्फत एकै दिनमा पुग्न सकिन्छ । खाङ्सारदेखि तिलिचो बेसक्याम्प एक दिनमै पुगिन्छ । त्यहाँबाट दुई दिनको यात्रामा थोराङ्ला बेसक्याम्प पुगिन्छ । विसं २०६९ सम्म बेँसीसहरको मनाङे चौतारा, पुमाखोला, चनौटे, बेलौती बिसौना आसपास बस्ने भरियाले विदेशी पर्यटकको भारी बोक्दै २१ दिनको यात्रा गर्थे । कोही मनाङ प्रवेशपछि मनास्लु पदमार्गको बाटो गोरखा लार्केपासतर्फ लाग्थे । मनाङमा भरियाले नै खाद्यान्न पुर्याउँथे । मङ्सिरदेखि फागुनसम्म चार महिना गाउँमा नबस्ने मनाङी भरियाले बोकेको खाद्यान्न खाएर अरू आठ महिना गाउँमै बदस्थे । विसं २०७०र७१ मा माथिल्लो मनाङसम्मै जीप पुग्न थालेपछि त्यसमाथिका ठाउँको भारी बोक्न खच्चड प्रयोग हुन थालेको मनाङवासी बताउँछन् । मनाङ जाने बाटोमा र्भयाङ बनाएर डोरीमा झुन्डिएर जानुपर्ने बाध्यता थियो । खच्चड हिँड्न थालेपछि सामग्री ढुवानीमा सहज भएको थियो । पदमार्गले परिचय बनाएको मनाङको गौरव अहिले सङ्कटमा परेको छ । रासस

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समूहको १४ हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । लघुवित्तका अनुसार संस्थापक सुरत लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता, कविता कुमारी चौधरीको ४ हजार र पन्ना लाल चौधरीको ४ हजार कित्ता गरी कूल १६ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले उक्त सेयरको मूल्य तोकेको छैन । लघुवित्तको सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने छन् । यदि सो समयभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने लघुवित्तले जनाएको छ ।

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

विद्युत् प्राधिकरणका कर्मचारी २५ हजार घुससहित रङ्गेहात पक्राउ

काठमाडौं । सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा रहेको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ । विद्युत् प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुसररिसवत माग गरेको भनी गोप्य सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले २५ हजार रुपैयाँसहित पक्राउ गरेको अख्तियारका केन्द्रिय प्रवक्ता भोला दाहालले जानकारी दिए । प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुसररिसवत लिएको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए । मेहतालाई इनरुवा नगरपालिका–३ मा रहेको एक होलमा घुस रकम लिइरहेको अवस्थामा २५ हजार रुपैयाँसहित रङ्गेहात पक्राउ गरिएको प्रवक्ता दाहालले जनकारी दिए ।

के देशको नाम फेर्दैछ भारत ? निमन्त्रणा पत्रमा लेखियो- ‘द प्रेसिडेन्ट अफ भारत’

काठमाडौं । छिमेकी मुलुक ‘भारत’को औपचारिक र कानूनी नाम हो इन्डिया । स्थानीय रुपमा भारत भनिए पनि अन्तरार्ष्ट्रिय समुदायले भने उसलाई इन्डिया भनेर चिन्छ । तर, जि–२० सम्मेलनका क्रममा राष्ट्रपतिले दिन लागेको भोजका लागि जारी गरिएको निमन्त्रणा पत्रमा भने ‘द प्रेसिडेन्ट अफ भारत’ भनेर लेखिएको छ । जि–२० सम्मेलनमा भाग लिन आउने विशिष्ट अतिथिलाई भारतीय राष्ट्रपति कार्यालयले आगामी शनिबार डिनरका लागि निमन्त्रणा गरेको छ । राष्ट्रपति कार्यालयबाट जारी भएको सोही निमन्त्रणा पत्रले अहिले भारतमा देशको नाम परिवर्तन गर्न लागेको विषयले चर्चा पाएको छ । भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले कानूनी रुपमा नै देशको नाम परिवर्तन गरेर ‘भारत’ बनाउन लागेको चर्चा भइरहेको छ । भारतको विपक्षी दल राष्ट्रिय कांग्रेसले राष्ट्रपति कार्यालयबाट जारी भएको निमन्त्रणा पत्रको विरोध गरेको छ । आगामी वर्ष हुने आमचुनावलाई लक्षित गरेर भारतीय जनता पार्टीले देशको नाम फेर्ने प्रस्तावमा छलफल चलाएको छ । संसदको विशेष अधिवेशनमा सरकारले नाम परिवर्तन सम्बन्धी विधेयक ल्याउन सक्ने चर्चा भारतीय सञ्चार माध्यममा हुन थालेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले संविधानबाट इन्डिया शब्द हटाउने योजना बनाइरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ‘इन्डिया’ शब्द औपनिवेशिक दासत्वको प्रतिक भएको र देशको नाम भारत रहेको भाजपाले तर्क गर्दै आएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाई २५ मा भएको भाजपा संसदीय दलको बैठकमा विपक्षी गठबन्धन आइएनडीआईएप्रति लक्षित गर्दै इस्ट इन्डिया कम्पनी र भारतीय राष्ट्रिय कांग्रेस बेलायतीहरूले गठन गरेको आरोप लगाएका थिए । चुनावलाई लक्षित गरेर भाजपाले बनाएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)विरूद्ध कंग्रेसले प्रतिपक्षी दलहरूलाइ एकीकृत गर्ने अभियान स्वरुप भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन अर्थात इन्डियन नेशनल डेभलपमेन्टल इन्क्लुसीभ एलाएन्स (इन्डिया) घोषणा गरेको छ । भारतमा आगामी वर्ष हुने आम चुनावमा एनडीए र इन्डियाका बीच प्रतिस्पर्धा हुने अनुमान छ । तर, भारत सरकारले भने चुनाव अघि नै देशको नाम कानूनी रुपमै भारत बनाउने तयारी थालेको त्यहाँको सञ्चार माध्यमले उल्लेख गरेका छन् । र, यसका लागि भारतको संविधान संशोधन गर्नुपर्ने हुन्छ । त्यो त्यति सजिलो भने छैन ।

ग्लोबल आइएमई बैंकले सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा दिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र भिजि इम्पेक्स (जिडब्लुएम नेपाल)बीच सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले भिजि इम्पेक्स तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभी, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्य दिन भित्र बैंकले नियमानुसार सवारी साधन कर्जा प्रवाह गर्ने सम्झाैता गरेकाे छ । उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भिजि इम्पेक्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैंकले बताएकाे छ । ग्लोबल आइएमई बैंकका ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवाप्रदान गर्दै आएको छ ।

हिमालयन बैंकबाट बाहिरिने हबिबसँग राष्ट्र बैंकले राख्यो सर्त, शतप्रतिशत सेयर बेच्ने तयारी

काठमाडौं । विगत तीन/चार वर्षदेखि हिमालयन बैंकबाट बाहिरिने तयारी गरिरहेको संस्थापक सेयरधनी हबिब बैंक अन्नतः जसरी पनि सेयर बेचेर बाहिरिने निर्णयमा पुगेको छ । यसअघि हिमालयन बैंकले अन्य बैंकसँग गरेको मर्जर सम्झौता र राष्ट्र बैंकको नियामकीय प्रावधानका कारण सेयर बिक्री गर्न नसकेको हबिब बैंकले मर्जर पश्चात् सेयर बिक्री गरेर बाहिरिने तीव्र तयारी गरिरहेको हो । हिमालयन बैंकको ठूलो सेयर लगानीकर्ता पाकिस्तानको हबिब बैंक मर्जर प्रक्रियापछि शतप्रतिशत संस्थापक सेयर बिक्री गरेर बाहिरिनका लागि अनौपचारिक तयारी गरिरहेको हिमालयन बैंकका एक सञ्चालकले बताए । ती सञ्चालका अनुसार अहिले हबिब बैंकले जसरी पनि नेपालबाट बाहिरिने रणनीति बनाएर काम गरिरहेको छ । ‘हबिब बैंक पहिलेदेखि नै आफ्नो सेयर बिक्री गरेर बाहिरिने योजनामा थियो, तर बिचमा लामो समय मर्जरकै झन्झट भयो, त्यो बीचमा मर्जरमा गएका बैंकलाई राष्ट्र बैंकले २५ प्रतिशत छुट दिने भनेपछि सो छुट पाउने आशामा सेयर बिक्री गरेन, अहिले पुनः सेयर बिक्रीका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुसँग छलफल गरिरहेको छ,’ ती सञ्चालकले विकासन्युजसँग भने । हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर छ । त्यो सबै सेयर बिक्री गरेर बाहिरिने योजनामा हबिब छ । स्रोतका अनुसार विभिन्न संस्था तथा व्यक्तिसँग छलफल गर्दा सेयर मूल्यको विषयमा भने कुरा मिल्न सकेको छैन । ‘तीन÷चार वर्षअघि बाहिरिन खोज्दा हबिबले राम्रै मूल्य पाउन सक्थ्यो, प्रस्ताव पनि धेरै बढी थियो, तर अहिले सेयर बजार घटिरहेको छ, लगानीकर्ताहरु पनि खरिद गर्न खासै इच्छुक देखिँदैनन्, अहिले मूल्य पहिलेको तुलनामा केही घट्न सक्छ, तर धेरै व्यक्ति तथा संस्थाहरुसँग कुरा गर्दा सेयर मूल्यको कुरा मिल्न नसकेको सुनिएको छ,’ स्रोतले भन्यो, ‘तर जसरी भएपनि नेपालमा भएको आफ्नो सेयर बिक्री गरेर बाहिरिने रणनीतिमा हबिब छ ।’ पाकिस्तानको हबिब बैंकको नेपालसहित अन्य धेरै देशको बैंकमा लगानी छ । अन्य चार÷पाँच वटा देशबाट बाहिरिसकेको छ । हबिबले यो बिचमा ओमन र अफगानस्तान लगायत बैंकबाट बाहिरिसकेको छ । हबिबको आफ्नो पाँच वटा क्राइटेरिया नपुगेको बैंकबाट धमाधम बाहिरिने निर्णय गरेको स्रोतको दावी छ । त्यसमध्ये नेपाल पनि पर्छ । बिक्री अनुमतिमा राष्ट्र बैंकको सर्त आफ्नो नाममा रहेको शतप्रतिशत सेयर बिक्री गरेर बाहिरिन खोजिरहेको हबिबसँग नियामक नेपाल राष्ट्र बैंकसँग पनि पटक–पटक छलफल गरिसकेको छ । औपचारिक रुपमा सेयर बिक्रीको सूचना सार्वजनिक गर्नु अगावै हबिबले यो बिचमा धेरै पटक राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहिको समूह र नेपाल धितोपत्र बोर्डको नेतृत्वलाई पनि भेटिसकेको छ । तर, राष्ट्र बैंकले भने सेयर बिक्रीको लागि अनुमति नदिने विषय राखिरहेको स्रोतको दावी छ । हबिबबाट प्रतिनिधित्व गरेका हिमालयन बैंकका सञ्चालक फैसल लालनी । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार हिमालयन बैंकले सिभिल बैंकलाई गाभिसकेपछि पनि धेरै पटक हबिब बैंक र नेपाल राष्ट्र बैंकबीच छलफल भइसकेको छ । तर, गभर्नर अधिकारीले सेयर बिक्री नगर्न अनुरोध गरिरहेका छन् । उनले विदेशी बैंकको अभ्यास नेपाली बैंकमा अहिले पनि आवश्यक भएकोले सेयर बिक्री नगर्न हबिबलाई अनुरोध गरिरहेको बुझिएको हो । गभर्नर अधिकारीले नबिल बैंकको संस्थापक सेयरधनी बंगालीलाई पनि सेयर बिक्री नगर्न अनुरोध गरिरहेका छन् । बंगालीले सेयर बिक्रीको प्रस्ताव राष्ट्र बैंक समक्ष औपचारिक रुपमा राखिसके पनि राष्ट्र बैंकले अनुमति दिएको छैन । ‘यो बिचमा हबिबसँग धेरै पटक छलफल भइसकेको छ, उसले जसरी भएपनि आफु नेपालबाट बाहिरिने कुरा गरिरहेको छ, तर हामीले मानिरहेका छैनौं, त्यसैले पनि उसले अहिले नै सेयर बिक्रीको सूचना निकाल्न सकिरहेको छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो । राष्ट्र बैंकले सेयर बिक्री नै गर्ने भए अन्तर्राष्ट्रिय खरिदकर्ता ल्याउनु पर्ने सर्त राखेको बुझिएको छ । त्यहाँको केन्द्रिय बैंकले नियमन गरिरहेको संस्थालाई नै खरिदकर्ताका रुपमा प्रस्ताव गरे मात्रै सेयर बिक्रीको अनुमति दिने शर्त राष्ट्र बैंकले हबिब समक्ष राखेको छ । त्यसका लागि पनि हबिबले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग छलफल गरिरहेको स्रोतको भनाइ छ । अहिले हबिब बैंकबाट प्रतिनिधित्व गरेर हिमालयन बैंकको सञ्चालकका रुपमा कार्यरत फैसल एन लालनीसहितको समूह नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डसँगको तीव्र छलफलमा छन् । छिट्टै नै यो विषयको टुङ्गो लाग्ने हिमालयन बैंक स्रोतको दावी छ ।

भुटान एयरलाइन्सले फेरि पाराे–काठमाडौं उडान सुरु गर्ने, हप्तामा चार उडान

काठमाडौँ । भुटान एयरलाइन्सले नेपालमा फेरि उडाउन सुरु गर्ने भएको छ । कोभिड महामारीपछि भुटान एयरलाइन्सको नेपाल उडान स्थगित भएको थियो । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस (आरआर ग्रुप अफ कम्पनी)को भगिनी संस्थाले भुटान एयरलाइन्सले फेरि उडान सुरु गर्न लागेको बताएको हो । यो भुटानको पहिलो निजी एयरलाइन्स कम्पनी हो । भाद्र ३० गतेबाट आइतवार, सोमबार, बुधबार, र शनिबार गरि हप्तामा चार उडान हुने बताइएको छ । यी उडानहरुले पारो–काठमाडौं–दिल्लीलाई दुईतर्फी रुपमा जोड्ने छन् । ‘थन्डर ड्रागनको भूमी’ भनेर चिनिने भुटानले पर्यटन प्रवद्र्धन गर्ने र नेपाल भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धता अनुरुप सन् २०१३ बाट भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौँ उडान सुरु गरेको थियो । भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले कोभिड–१९ महामारीको समयमा उडानहरू रद्द गर्ने वा रिरुट गर्ने जस्ता कठिन निर्णयहरू लिनुपर्ने अवस्थाको सामना गर्नुपरेको बताए । यसपटक भने उडान तालिका नियमित राख्न प्रतिबद्ध रहेको उनले बताए । त्यस्तै, सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले भुटान एयरलाइन्सको उडान पुनः सुरु भएपछि दुवै देशका पर्यटकलाई सहज हुने बताए ।