विकासन्युज

नेपालबाट १० हजार मेगावाट विद्युत किन्ने समझदारी भारत सरकारबाट अनुमोदन

काठमाडौँ । भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा। शङ्करप्रसाद शर्माले जानकारी दिए । दुई देशबीच गत जेठमा यस विषयमा सहमति भएको थियो । सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा शर्माले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको उल्लेख गरेका छन् । उक्त निर्णयले नेपालको आर्थिक विकास र पुनःसंरचनामा महत्वपूर्ण योगदान पु¥याउनेमा शर्माले विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई देशबीचको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपाल र भारतका ऊर्जा सचिवले सो समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । भारत सरकारको उक्त निर्णयपछि छिट्टै दुवै देशका ऊर्जा सचिवले एक विशेष समारोह आयोजना गरी पुनः संयुक्त हस्ताक्षरको कार्यक्रम हुने बताइएको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय भेटवार्तापछि आयोजित दुई संयुक्त पत्रकार सम्मेलनमा समेत सो विषयमा जानकारी दिएका थिए । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालले पनि १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली लैजानेसम्बन्धी विषयलाई भारत सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी आएको बताए । ‘औपचारिक रुपमा जानकारी आउँदै होला, अनौपचारिक रुपमा निर्णय भएको जानकारी आएको छ’, उनले भने । सो निर्णय लगत्तै नेपालको बिजुली भारतीय बजारमा सहज रुपमा लैजान बाटो खुलेको छ । नेपालले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा भारतीय बजारमा बिजुली निर्यातका लागि आग्रह गर्दै आएको थियो । हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक रुपमा भारतीय इनर्जी एक्सचेञ्ज मार्केटमा चार सय ५२ मेगावाट बिजुली निर्यात गर्दै आएको छ । प्राधिकरणले थप बिजुली निर्यातका लागि आग्रह गरेको भए पनि त्यसको स्वीकृत भने नआएको सरकारी अधिकारीको भनाइ छ । सन् २०१४ मा नै नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भएको थियो । भारतीय कम्पनी सतलज विद्युत् निगमले नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै, भारतीय कम्पनी गान्धी माल्लिकार्जुन राव (जिएमआर)ले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण गर्ने बताए पनि हालसम्म सुरु हुनसकेको छैन । त्यस्तै, भारतीय कम्पनी तल्लो अरुण, पश्चिम सेती, एसआर– सिक्स जस्ता आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यस्तै, नेपाल र भारतका कम्पनीबीच संयुक्त उपक्रम तयार पारेर केही आयोजना निर्माण गर्ने समझदारी भएको छ । यसैगरी, नेपालले छिट्टै बङ्गलादेशमा पनि ४० मेगावाट बिजुली निर्यातको तयारी गरेको छ । यसबाट नेपालको बिजुली क्षेत्रीय बजारमा सहजै पुग्ने वातावरण बनेको छ । निजी क्षेत्रले पनि बिजुली व्यापारको अनुमति दिन सरकारसँग माग गर्दै आएको छ । प्रस्तावित नयाँ विद्युत् विधेयकमा सो व्यवस्था गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले छिट्टै निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिने बताउँदै आएका छन् । मन्त्रिपरिषद्को यही भदौ १२ गतेको बैठकले विद्युत् विधेयकलाई सङ्घीय संसद्मा प्रस्तुत गर्न ऊर्जा मन्त्रालयलाई अनुमति दिएको छ । सो विधेयकमा निजी क्षेत्रलाई बिजुली व्यापारका लागि अनुमति दिने प्रस्ताव गरिएको छ ।

विद्युत बेच्नकै लागि भए पनि भारतले भनेको मान्नुपर्ने अवस्था छ : देउवा

फाइल तस्वीर काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले विद्युत बेच्नकै लागि भए पनि भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले चीन र भारत दुवैसँग नेपालले सन्तुलित सम्बन्ध राख्नुपर्ने बताएका हुन् । नेपालको विद्युत भारतले मात्रै किन्ने भएकाले नेपालले कि विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता रहेको देउवाले बताए । ‘बिजुली नेपालमा सबैभन्दा बढी छ, बायर को छ एउटै छ, को छ बायर इण्डिया, की हामी बिजुली बेच्दै बेच्दैनौँ भन्नुपर्‍याे, नत्र उसको कुरा मान्नुपर्ने हुन्छ’, देउवाले भने । भारतले भनेका कुरा नमान्ने हो भने विद्युत नकिन्ने हुँदा थोरै लचिलो भएर भए पनि देशको हितमा काम गर्नुपर्ने बाध्यता रहेको देउवाले बताए । ‘बायरले बिजुली किन्ने हो, त्यसको कुरा सुन्नुपर्ने बाध्यता छ हामीलाई । नत्र कोही आउँदैन, बिजुली किन्दैन, हामीसँग बिजुली बढी भएपनि बिजुली उसले किन्दै किन्दैन । किन्नु त पर्ने हो नि, त्यसकारण हाम्रा केही बाध्यता र अफ्ठ्यारा छन् । यी सबैकुरा बुझ्नुपर्छ’, देउवाले भने । उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए । सभापति देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए ।

मिड सोलु हाईड्रोपावरले स्थानीयका लागि निष्काशन गरेको सेयर बाँडफाँट

काठमाडौं । मिड सोलु हाईड्रोपावर लिमिटेडको शेयर बाँडफाँट भएको छ । मिड सोलुको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको थियो । उक्त हाइड्रोपावरले जारी पुँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रूपैयाँ बराबरको एक सय रूपैयाँ अंकित दरको ७ लाख ४८ हजार चार सय कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याइएको थियो । जारी गरिएको शेयरमध्ये अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ३ देखि ७ र ११ का स्थायी बासिन्दाका लागि पाँच लाख ६१ हजार तीन सय कित्ता र प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड अति प्रभावित क्षेत्र बाहेकका सोलुखुम्बुका स्थायी बासीन्दाहरुको लागि एक लाख ८७ हजार एक सय कित्ता साधारण शेयरहरु बिक्री खुल्ला गरिएको थियो । कम्पनीले साउन १४ देखि साउन ३० गतेसम्म सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । शेयर निष्काशनको अवधिमा आयोजना अति प्रभावित क्षेत्रको लागि छुट्याईएको शेयर रितपूर्वक प्राप्त आवेदनहरु मध्ये १० कित्तादेखि पाँच सय १० कित्ता शेयर माग गर्ने जम्मा दुई हजार पाँच सय १० आवेदकलाई माग गरे बमोजिम ४ लाख ९७ हजार ६ सय २० कित्ता, ६ सय कित्ता देखि ४ हजार ९५० कित्तासम्म माग गर्ने १०८ जना आवेदकलाई ६२ हजार ६४० कित्ता शेयर गरी कूल ५ लाख ६० हजार २६० र उक्त बाँडफाँट गरिएको थियो । निष्काशनको समयमा आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुबाट जम्मा दुई हजार ६७० जना आवेदकहरुबाट जम्मा ६ लाख ३३ हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको कम्पनीले बताएको छ । प्राप्त आवेदनहरुमध्ये ५२ जना आवेदकहरुले ११ हजार ३० कित्ता शेयर खरिदको लागि दिइएको आवेदन भने रितपूर्वक नभएको हुँदा रद्द भएको कम्पनीले बताएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट जम्मा पाँच हजार ९२९ जना आवेदकहरुबाट जम्मा ६ लाख ६६ हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो ।

दुःखसँग लड्दै ९९ वर्षे खड्का दम्पती

काठमाडौं । उमेरले १ सय वर्ष टेक्नै लागेका म्याग्दी बेनी–२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन ? स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ । त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ । राणाशासनदेखि पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दाका साक्षी उनीसँग सबथोक भए पनि जीवनभर ‘सुख्ख’ भने जहिल्यै उनबाट टाढै बस्यो । बगरफाँटमा भाइको गोठमा चौरासी वर्षे श्रीमती खिरकुमारी थापासँगको जीवन गुजारा सरकारले दिने सामाजिक सुरक्षा वापतको भत्ता र केही मनकारीले दिने सहयोगले धानेको छ । छोरारछोरी र नातीरनातीना र पतानी पुस्तासँग खेल्दै रमाउने गर्ने उमेरमा उनीहरुको साथ छैन । बुढेसकालको साहरा बन्नुपर्ने छोरा मीनबहादुर ४२ वर्ष अघि नै परलोक भइसकेका छन् भने बोल्न नसक्ने एक मात्र छोरी बेनीको तोराखेतमा भएकाले आइरहन पाउँनुहुन्न । उसो त शरीरमा दीर्घरोग नभए पनि यी दम्पती कहिलेकाँही बिरामी हुँदा निकै दुःख पाउने गरेको छिमेकी टेकबहादुर कार्की बताउँछन् । “जसोतसो उहाँहरुको गुजारा चलिरहेको छ, उहाँहरु भाइको गोठमा बसिरहनुभएको छ । बिरामी हुँदा अलिक बढी समस्या हुन्छ”, उनले भने, “तर पनि आफन्त, इष्टमित्रको सहयोग भइरहेको छ ।” तर बिरामी भएकै कारण ठूलो उपचार भने गर्नु परेको छैन । दम्पतीको दैनिकी सामान्य व्यक्ति जस्तै गरी बित्छ । आगो बाल्न दाउरा र झिँजा बटुल्नै पर्यो भने बाँच्नका लागि खाना खानै पर्यो । त्यसका लागि सरकार र केही संस्थाको सहयोग भइरहेकोमा उनले खुसी व्यक्त गर्छन् । विहानै उठेर नित्य कर्म गरी भगवानको आरधना गर्ने थापाको पुरानै बानी हो । त्यसपछि लठ्ठी टेक्दै गाउँ डुल्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याउने उनको काम हो । दिउँसोको समयमा छिमेकीसँग ठट्यौली पारामा कुरा गर्ने र सबैलाई हसाउने बानीले पनि उनलाई स्वस्थ राखिरहेको छिमेकी पदमपाणी शर्माको भनाइ छ । जीवनको उत्तरार्धतिर आइपुग्दा पनि उनमा बाँच्ने चाहना अझै सकिएको छैन । उनीमा अझै १० वर्ष बाँच्छु भन्ने आत्मविश्वास ज्यूँदैछ । “लिएर आएको कर्म नभोगी कसैलाई छुट छैन”, थापाले भने, “सम्पत्ति कमाएँ अर्कैलाई भयो, अहिले सम्प्त्ति खाने मान्छेले फर्केर पनि हेर्दैनन् ।” ज्योतिषीले एक सय १० वर्षको आयु बताएको भन्दै उहाँ ठट्यौली शैलीमा भन्नुहुन्छ “मर्दिन बाबु सानोतिने रोगले, बरु भोकै मरुँला रोगले मलाई लैजादैन ।” थापा दम्पतीलाई समय–समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति तथा मनकारी गाउँलेबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ । कसैलाई तीतो बचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाप्रति गाउँलेहरु दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् । रासस

मर्जरपछि बीमा कम्पनीमा समस्याको चाङ : उच्च व्यवस्थापनबीच टसलदेखि कार्यालय बन्द गर्नेसम्म

काठमाडौं । गत एक वर्षमा कुल २१ वटा बीमा कम्पनीहरु मर्जरमा सामेल भए । नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी बढाउन दबाव दिएसँगै आर्थिक वर्ष २०७९/८० मा १२ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनी मर्जरमा गए । सो मर्जरपश्चात् हाल १४ वटा निर्जीवन र १४ वटा जीवन बीमा गरी हाल २८ वटा बीमा कम्पनीहरु (लघुबीमा बाहेक) सञ्चालनमा छन् । कम्पनी मर्ज भएपछि विभिन्न सूचकमा सिनर्जी देखिने भन्दै मर्जरको विकल्प रोजेका कम्पनीहरुमा पछिल्लो समय विभिन्न समस्याहरु देखिन थालेका छन् । मर्जरपछि कम्पनीहरुका उच्च व्यवस्थापनबीच समन्वय हुन नसकेर मनमुटावको वातावरण सिर्जना हुन थालेको पनि स्रोतको भनाइ छ । बीमा प्राधिकरणको उच्च स्रोतका अनुसार हाल बीमा कम्पनीहरुमा (विशेष त मर्जरमा समावेश भएका कम्पनीहरुमा) एक दर्जन बढी समस्या देखिएको छ । कम्पनीहरुमा  कर्मचारी समायोजन उच्च व्यवस्थापनको सेवा सुविधा र जिम्मेवारी लगायत विषयमा समस्या सिर्जना हुन थालेको छ । यसले आर्थिक जोखिमाङ्कन फितलो हुनेसम्मका समस्याहरु देखिएका छन् । प्राधिकरण स्रोतकाका अनुसार मर्जरमा गएका कम्पनीले मर्जरपछि पेश गर्नु पर्ने कर्मचारी विनियमावली तथा आर्थिक प्रशासन विनियमावली पेश गरेका छैनन् । मर्जर भएका कम्पनीका कर्मचारीका सेवा सुविधा तथा जिम्मेवारी र सरुवा गरिरहेका छन् । जसले कर्मचारीहरुलाई मर्का परेको भन्दै कम्पनीका कर्मचारी संगठन मार्फत् प्राधिकरणमा उजुरी परिरहेको प्राधिकरण स्रोतको भनाइ छ । मर्जरमा गएका कम्पनीहरुले शाखा कार्यलयहरुको स्तर घटाउनेदेखि कार्यालय बन्द गराउन लागेको पाइएको छ । सो कार्य गर्नको लागि स्वीकृति माग्दै कम्पनीहरु प्राधिकरणमा पुगेका छन् । कम्पनीहरुले प्राधिकरणमा फरक-फरक विवरण पेश गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको विवरण र अनलाईन मार्फत् पेश गरेको तथ्याङकमा भिन्नता पाइएको प्राधिकरणको दावी छ । कम्पनीहरुले सेयर खरिदबिक्री हस्तान्तरणको लागि फिट एण्ड प्रपर टेष्ट गर्न आवश्यक कागजात पेश गर्नुपर्नेमा सो पेश नगरेको प्राधिकरणको भनाइ छ । प्राधिकरण द्वारा म्याद तोकेर माग गरिएकोे कागजात तथा विवरणहरु पनि म्यादभित्र पेश नभएको प्राधिकरणको गुनासो छ । मर्जरअघिको साधारण सभा, वित्तीय विवरण स्वीकृति तथा कर चुक्ता विवरण पनि कम्पनीहरुले बुझाउन बाँकी रहेको प्राधिकरणको भनाइ छ । यस्तै, कम्पनीहरुले बुझाउनु पर्ने श्रम अडिट विवरण पनि प्राधिकरणलाई बुझाएका छैनन् । अधिकांश कम्पनीले बीमा प्राधिकरणले तोकेको पुँजी पुर्याएका छन् । यसमा मर्जरमा गएका कम्पनीहरुको प्रयासमा कमी देखिएको छ । जीवन बीमकको हकमा मर्जर हुँदाको दिन अघिको वित्तीय विवरण र बिमाङकीय मूल्यांकन पहिलो साधारणसभाबाट पार गर्ने निर्देशनमा दुविधा देखिएको प्राधिकरणले बताएको छ । त्यस्तै, कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब सुविधा वृद्धि गर्नुपर्ने माग आइरहँदा उनीहरुको सुविधा बढाउन औचित्य प्रमाणित नभएको प्राधिकरणको भनाइ छ । मर्जरपछि आर्थिक जोखिमाङ्कन फितलो भएको, आर्थिक क्षमता भन्दा बढीको जोखिमाङकन (अण्डरराइटिङ्ग) गरेको, आम्दानीको पुष्टी हुने कागजात नलिएको, हितकारी भन्दा असम्बन्धित व्यक्ति, अभिकर्ता जस्ताको खातामा दावी भुक्तानी गरेको जस्ता समस्या देखिएको प्राधिकरणले बताएको छ । मर्जर भइसकेपछि पनि मर्जर अघिका साविक बीमकको नामका कागजात (प्रस्ताव फारम, स्वास्थ्य घोषणा आदि) प्रयोग हुने गरेको देखिएको प्राधिकरणले बताएको छ ।

एक विद्युत कम्पनीले २ वर्षको लाभांश एकैपटक बाँड्ने

काठमाडौं । साङ्गे विद्यतु कम्पनीले लिमिटेडले २ वर्षको लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को नाफाबाट करसहित नगद लाभांश वितरण गर्ने बताएको छ । कम्पनीको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले २ वर्षको लाभांश वितरण र आईपीओ निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको सभा असोज ९ गते बिहान ९ बजे त्रिपुरेश्वर काठमाडौंमा हुनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन र आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनमा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक पदमा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीले भदौ १७ गते बसेको संचालक समितिको बैंठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आइसिएफसी फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सञ्चालनकमा नियुक्त गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि संचालक रहेका रिलायन्स फाइनान्सका समाज प्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक पद रिक्त थिए । अमित श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढी काम गरेको अनुभव छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

वैद्यनाथ बाजेको चिन्ता : नाम होस् तर बदनाम नहोस्, एउटै नामका सयभन्दा बढी पसल

काठमाडौं । ‘आमै ! एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अल्मलिन्छन् नै । जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अल्मलियौँ । लहरै रहेका सयभन्दा बढी पसल तर नाम उस्तैउस्तै । ‘बुढो बाजेको पेडा पसल’, ‘असली बुढो बाजेको पेडा भण्डार’, ‘असली बुढो वैद्यनाथ बाजेको पेडा पसल’, ‘उही पुरानो वैद्यनाथ बाजेको पेडा पसल’, ‘वैद्यनाथ बाजेको पेडा भण्डार’, ‘वैद्यनाथ बाबाको पेडा पसल’, ‘श्री वैद्यनाथ साहको पेडा भण्डार’ यस्तैयस्तै पसल अनेक तर नाम एक । अगाडि होस् या पछाडि ‘वैद्यनाथ बाजे’ हरेक पसलको साझा पहिचान हो । त्यो देखेर एकछिन् त जो कोही अलमलमा पर्छन् । त्यस्तै अलमलमा थिइन्, काठमाडौँबाट इलाम जाँदै गरेकी रोशनी राई । “वैद्यनाथ बाजे को हुन् ? सबै पसल उहाँकै हुन्”, स्थानीय एक व्यापारीलाई राईले सोध्दै थिइन् । जवाफ आयो, “हैन ।”, “अनि वैद्यनाथ बाजे को त ?” जवाफमा पसले भन्दै भने, “यस ठाउँमा पेडा व्यापार सुरु गर्ने मान्छे !” रोशनीले मात्रै होइन, पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया पुगेका वा सो सडक भएर यात्रा गर्नेहरुको मनमा यस्तै जिज्ञासा जाग्दो रहेछ । लहरै रहेका यी पसलहरुले मन लोभ्याउँछन् । गाडी नरोकेर धरै पाइन्न । अनि कुरौनी र पेडा किन्यो । पसल अगाडि टक्क रोकियो र तस्बिर लियो । यस्तै दृश्य देखिन्छन् यहाँ । स्थानीय अभिषेक साह भन्दै थिए, “सबैले सोध्छन् पसल अनेक तर नाम एउटै कसरी ? जवाफ त पाउँछन् तर असली वैद्यनाथ बाजेको पेडा पसल पहिचान गर्नै हम्मेहम्मे हुन्छ ।” ‘बरमझियाको पेडा’ धेरै नेपालीले सुनेकै नाम हो । मधेस प्रदेशको पूर्वी सिमाना पूर्व–पश्चिम् राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–२ मा अवस्थित बरमझिया यही ‘पेडा’ का कारण चर्चामा छ । तर यहाँ पहिलो पटक आउनेहरु भने राजमार्गको दुवै किनारमा खुलेका पसलहरुको मिल्दोजुल्दो नामले वैद्यनाथ बाजेको असली पेडा पसल खोज्न अलमलिन्छन् । “धेरै जना वैद्यनाथ बाजेको पेडा पसल चाहर्दै आउँछन््, कतिपय वैद्यनाथ बाजेलाई नै खोज्न आइपुग्छन्”, विगत २० वर्षदेखि तीनै वैद्यनाथ साहको पसलमा काम गर्नुभएका कालिगड गोविन्द साहले भने, “बाजे नदेखेपछि खिन्न मान्नुहुन्छ । देख्न पाएको भए कति राम्रो हुन्थ्यो भनेर पछुताउनुहुन्छ । के गर्नु १ दैवले खोसेर लगिसक्यो ।” ‘पेडा भनेकै वैद्यनाथको’ वैद्यनाथ साह बरमझियामा पेडाको ‘ब्रान्ड’ स्थापित गर्ने व्यक्ति हुन् । सुरुमा उनका बुबा अक्कल साहले गाउँमै चिया पसल सुरु गरेका थिए । त्यही पसलमा छोरा बैजनाथले पनि सघाउँथे । एकपटक उनीँ कामको सिलसिलामा भारततिर गइ । त्यही बेला दूधबाट चियाबाहेक कराउनी र पेडा बनाउन सकिन्छ भनेर थाहा पाए । “हामीलाई सुनाउनुभएअनुसार भारत भ्रमणमा जाँदा पेडाबारे थाहा पाएर फर्केपछि चिया पसलमा आउने दूधबाट कुराउनी र पेडा बनाउन थाल्नुभएको थियो । विसं २०१५÷१६ तिर त्यसलाई व्यावसायिक रुप दिनुभएको होे”, हाल बाजेको बिडो थामिरहेका नाति विवेक साहले भने, “चिया पसल हाम्रो बुढो हजुरबुबाले धेरै पहिलेदेखि नै चलाइरहनुभएको थियो । बाजेले त्यसैमा पेडाको व्यापार गर्न थाल्नुभयो । अहिलेको स्थानमा त पूर्व–पश्चिम राजमार्ग खुलेपछि मात्रै व्यापार सुरु गरिएको हो ।” समय क्रममा स्थानीयमा पेडाप्रतिको रुचि बढ्दै गयो । राजमार्गमा आवतजावत बाक्लिएपछि बरमझियाको पेडाको महिमा पूर्व–पश्चिम यात्रा गर्नेहरुसँगै देशभर पुग्यो । पसल थपिए, बजार बढ्दै गयो । बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो । “पसल खोलेर बसेका अधिकांशले बाजेबाटै काम सिकेका हुन् तर नाम फरक राखे पनि त हुन्थ्यो । अहिले त हाम्रो पसल नै ओझेलमा पर्ने गरी ठूलाठूला अक्षरमा नाम लेखेका छन् । यसले ग्राहकहरुलाई अल्मल्याउने काम भएको छ”, विवेकको गुनासो छ,“नामले मात्रै त व्यापार चल्ने होइन, बरु ग्राहकहरु अलमलमा पर्छन् । अस्वस्थ प्रतिस्पर्धा बढ्छ ।” ‘पेडा भनेकै वैद्यनाथ बाजेको’ भन्ने भाष्य स्थापित गरेका साह अहिले हामीमाझ छैनन् । उनले ११ वर्षअघि २०६९ साउन १८ गते देहत्याग गरिसके । त्यसपछि पसलको नाममा वैद्यनाथ झुण्ड्याउने चलन झनै बढेको छ । बाजेको देहावसानपछि दुई छोरामध्ये कान्छोतर्फका जेठो नाति विवेकले व्यापार सम्हालिरहका छन् । विवेकको हार्डवेयर पसल पनि छ तर पेडा पसलमा बस्नुको आनन्द नै छुट्टै हुने उनको अनुभव छ । उनले आफ्नो अनुभव सुनाउँदै भने, “पूर्वमेचीदेखि पश्चिम महाकालीका मान्छेहरु आउँछन् । तीमध्ये पहिलो पटक आएका धेरै जना अरुलाई सोध्दैसोध्दै पसलमा आइपुग्छन् । बाजे, पेडा, आम्दानी, छ्यापछ्याप्ती खुलेका पसलबारे बुझ्न खोज्छन् । त्यसैले व्यापार र चिनजान दुबै हुन्छ, यसैमा आनन्द लाग्छ ।” साहलाई आफ्नो बाजेको नाममा ठूलाठूला होर्डिङ्गबोर्डसहित खुलेका पसलहरु देख्दा आनन्द लाग्छ तर जब ग्राहकले तपाईको पसल खोज्नै मुस्किल भयो भनेर सुनाउँछन् तब नरमाइलो लाग्छ । “कहिलेकाही आफैँ पनि बाहिर निस्केर हेर्छु मेरै पसल बिर्साउने गरी बाजेको नाममा पसल खुलेका छन् । बाजेको निधनपछि त नाम मात्रै होइन ‘असली पेडा पसल’ आफ्नै हो भने जसरी बोर्डमा बाजेको तस्वीर पनि राख्न थालियो”, उनले सुनाए, “अहिले भने हामीले पसल अगाडि बाजेको शालिक निर्माण गरेका छौ । त्यसले पसल पहिचानमा केही सहज त भएको छ तर फेरि त्यही पनि नक्कल गर्लान् कि भन्ने पीर छ ।” एक व्यक्तिले एउटा पसलबाट सुरु गरेको पेडा व्यापार अहिले एक सयभन्दा बढीले सुरु गरेका छन् । ती पसलहरुमा सयौंले रोजगारी र स्थानीय दूध उत्पादक किसानले बजार पाएका छन् । संस्थापक वैद्यनाथ बाजेको पसलमा मात्रै दैनिक पाँच सय लिटरसम्म दूधको खपत हुने गरेको छ । यहाँ सप्तरी, सिरहा, सुनसरीलगायतका जिल्लाबाट दूध सङ्कलन हुने गरेको स्थानीय व्यापारीहरुको भनाइ छ । बाजेको चिन्ता बरमझियामा वैद्यनाथ बाजेको नामबिनाका पसल सायदै छन् । तिनै पसलको नाममा भइरहेको व्यापारले सयौ परिवारको रोजीरोटी चलिरहेको छ । उनी जीवितै हुँदा चलेको यो चलन उनको अनुपस्थितिमा अहिले झनै बढेको छ । पाँच वर्षअघि व्यापार सुरु गरेका जन्नत मन्सुरीले पनि वैद्यनाथ बाजेको नाम राखेका छन् । “सबैले पसलको बोर्डमा वैद्यनाथ बाजेको नाम ठूल्ठूला अक्षरमा लेख्नुभएको छ । मैले मात्रै उहाँको नाम छुटाएमा अपमान गरेको जस्तो होला भनेर राखेको हो”, मन्सुरीले भने, “अरु स्वार्थ त के हुन्थ्यो र ? नामले मात्रै व्यापार चल्ने होइन ।” वैद्यनाथ बाजेले देखाएको बाटो पछ्याउँदा अहिले आफ्नै देशमा केही गरेर खान सकिएको मनसुरीको कथन छ । आफू मात्रै होइन अरु तीन जनालाई काम दिएर उनीहरुको घरमा पनि चुल्हो बाल्ने काम यही पसलबाट भएको मन्सुरीले बताए । “अहिले बेमौसममा पनि एक सय २० लिटर दूध किन्छौँ तर सिजनमा त तीन सय लिटरसम्म किन्नुपर्छ । सोच्नुस् त त्यसमा कतिको परिश्रम र रोजिरोटी जोडिएको छ”, मन्सुरीले भने, “स्थानीयस्तरमा रोजगारी सिर्जना गरिरहेका हामीलाई प्रोत्साहन गर्नुको सट्टा हतोत्साहित गरिन्छ । मिसावट हुन्छ भनेर हल्ला फैलाइन्छ, सबैको जिम्मा लिनसकिदैँन तर हामीले इमान्दारितापूर्वक आफ्नो कर्म गरिरहेका छौ । नभए गुणस्तर नाप्ने निकायहरु पनि छन्, परीक्षण गरे पनि भयो । किन बद्नाम गराउनु !” विवेक साहका अनुसार वैद्यनाथ बाजे जीवित हुँदा पनि यस्तै हल्ला चल्थ्यो । त्यसैकारण एकपटक आफ्नो नामको दुरुपयोग हुने चिन्ताले बाजेले स्थानीय प्रशासनमा लिखित निवेदनसहित आफ्नो नाम हटाउन र नयाँ खोल्नेलाई नाम राख्न नदिन आग्रह गरे । प्रशासनबाट हुबहु नाम नभएकाले केही गर्न नसकिने जवाफ पाएपछि त्यो प्रचलन रोकिएन, बरु निरन्तर बढिरहेको छ । “हरेक पसलमा बाजेको नामहुनु हाम्रो लागि पनि गौरब र उहाँको योगदानको सम्मान पनि हो तर बाजेलाई एउटै चिन्ता थियो कि कतै आफ्नो नाम बदनाम हुने त होइन ? अहिले हामीलाई पनि त्यही चिन्ता छ”, विवेकले भने । बेलाबखत पेडामा पीठो तथा बिस्कुट मिसाइएको, धेरैदिनको बासी पेडा बेचेको जस्ता हल्ला नसुनिएका होइनन् । यस्तो सुन्दा कालिगढ डोमी साहको मन कटक्क खान्छ । “यही व्यवसायबाट हामी सबैको चुल्हो बलेको छ । बरमझियाको पेडा भनेर नेपाल र भारतमा समेत इज्जत छ । बीसौ वर्ष यसैमा बिताएका छौ । नराम्रो सुनेपछि त मन खिन्न भइहाल्छ नि”, डोमीले मनको बह पोख्दै भनिन्, “बाजेसँगै हामीले वर्षौ लगाएर कमाएको नाम बदनाम हुन एक दिन पनि लाग्दैन । त्यसैले सबै जनाले राम्रोसँग व्यापार गरे त हुन्थ्यो । तर खै१ कसको नियत कस्तो हुन्छ ? सबै इमान्दार कहाँ हुन्छन् र ?” नाति विवेक भने पेडामा अन्य चिज मिसाउँदा लागत बढ्ने र त्यस्तो पेडा चाँडै खपत नभएमा गुणस्तर ह्रास भई लगानी खेरजाने हुँदा कसैले गलत काम गर्न नसक्ने विश्वास गर्छन् । यदि कसैले गलत काम गरेको शङ्का लागेमा सरोकारवाला निकायले अनुगमन र प्रयोगशालामा परीक्षण गरी समस्या समाधान गर्नुपर्ने तर एकाध व्यक्ति र घटना देखाएर बरमझियाको बेइज्जत नगर्न उनले आग्रह गरे । पेडाको ब्रान्ड स्थापना गरेका बैजनाथका दुई छोरा छन् । त्यसमध्ये कान्छोतर्फका एक नातिले बाजे वैद्यनाथको व्यापार सम्हालिरहेका छन् । रगतको सम्बन्धका हिसाबले नाति विवेक परिवार बाजेको उत्तराधिकारी भए पनि त्यो क्षेत्रका सयभन्दा बढी पसलेले ‘पेडा बाजे’ वैद्यनाथको व्यापारिक उत्तराधिकारीका रुपमा हेर्ने गरेका छन् । त्यसैकारण ‘आफ्नो नाम, काम र ठाउँको बदनाम पो हुने हो कि !’ भन्ने संशयसहित स्वर्गबास भएका बाजे वैद्यनाथको त्यो संशय मेटाउने दायित्व पनि यी सबै पेडा व्यवसायीको हो । रासस