
फाइल तस्वीर
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले विद्युत बेच्नकै लागि भए पनि भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले चीन र भारत दुवैसँग नेपालले सन्तुलित सम्बन्ध राख्नुपर्ने बताएका हुन् ।
नेपालको विद्युत भारतले मात्रै किन्ने भएकाले नेपालले कि विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता रहेको देउवाले बताए ।
‘बिजुली नेपालमा सबैभन्दा बढी छ, बायर को छ एउटै छ, को छ बायर इण्डिया, की हामी बिजुली बेच्दै बेच्दैनौँ भन्नुपर्याे, नत्र उसको कुरा मान्नुपर्ने हुन्छ’, देउवाले भने ।
भारतले भनेका कुरा नमान्ने हो भने विद्युत नकिन्ने हुँदा थोरै लचिलो भएर भए पनि देशको हितमा काम गर्नुपर्ने बाध्यता रहेको देउवाले बताए ।
‘बायरले बिजुली किन्ने हो, त्यसको कुरा सुन्नुपर्ने बाध्यता छ हामीलाई । नत्र कोही आउँदैन, बिजुली किन्दैन, हामीसँग बिजुली बढी भएपनि बिजुली उसले किन्दै किन्दैन । किन्नु त पर्ने हो नि, त्यसकारण हाम्रा केही बाध्यता र अफ्ठ्यारा छन् । यी सबैकुरा बुझ्नुपर्छ’, देउवाले भने ।
उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए ।
सभापति देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए ।