हिमाल दोलखाको ७५ प्रतिशत हकप्रद सूचीकृत
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ७५ प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । भदौ २१ गते बिहीबार मात्रै कम्पनीको सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।
सहकारीको डेढ अर्ब रुपैयाँ लिई फरार रहेका देवकुमारलाई इन्टरपोलमार्फत खोजिँदै
काठमाडौं । सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई इन्टरपोलमार्फत खोज्न थालिएको छ । सहकारीका बचतकर्ताको डेढ अर्ब रुपैयाँ बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गर्ने तयारी थालेको छ । नगरप्रमुख नेपाली गत जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । बागलुङ बजारमा मुख्य कार्यालयसहित गलकोट, बुर्तिवाङ तथा पोखरामा शाखा कार्यालयमार्फत बचत सङ्कलन बापतको उक्त रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशङ्कामा इन्टरपोलमार्फत खोजी गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया पुर्याएर इन्टरपोलमा पठाएको उनले बताए । “नगरप्रमुख नेपाली फरार भएपछि बचत पीडितबाट उजुरी आह्वान गरिएको थियो । नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १ हजार ४८१ जनाले उजुरी दर्ता गराएका छन्”, प्रहरी नायब उपरीक्षक केसीले भने । उनका अनुसार बागलुङमा मात्रै सहकारीले ८ सय सेयर सदस्य र ३ हजार २ सय बचतकर्ताको डेढ अर्ब रुपैयाँ बढी रकम बचत अपचलन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । “विश्वभर इन्टरपोलमा आबद्ध देशका सुरक्षाकर्मीको सहयोगमा पक्राउ गर्नका लागि रेडकर्नर नोटिस गरिन्छ”, प्रनाउ केसीले भने, “विश्वको जुन कुनामा भए पनि पक्राउ गरेर नेपाल ल्याउन र बचतकर्ताको रकम फिर्ता गर्नका लागि उक्त नोटिस गर्न थालिएको हो ।” ढोरपाटन–१ घर भएका नगरप्रमुख नेपालीसहित ११ जना सञ्चालकविरुद्ध गत असार २५ मा बागलुङस्थित जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । नगरप्रमुख देवकुमार सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले इमेज सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यत्रय चित्रबहादुर भण्डारी, रुपा विक र झगबहादुर शाहीविरुद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई गत जेठ १६ मा पत्राचार गरेको थियो । गत साउन ४ गते सहकारीका बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सञ्चालक चित्रबहादुर भण्डारी, कर्मचारी प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो ।
एक हजार दरका १ सय नक्कली नोटसहित एकजना पक्राउ
काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको गोरखा नगरपालिका–४ धारापानी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–८ भीमढुङगा बस्ने ३८ वर्षीय गौरव थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले १ लाख (एक हजार दरका १ सय थान) नक्कली नेपाली नोटसहित निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ । त्यसैगरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३ बस्ने ५२ वर्षीय हरिभक्त पराजुली रहेका कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । “काठमाडौँ जिल्ला अदालत बबमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पराजुलीलाई कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज ललितपुर महानगरपालिका पुलचोकबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज काठमाडौँ पठाइएको छ”, उनले भने ।
महानगरपालिका भित्रका सहकारीको १ खर्बको कारोबार, ५० प्रतिशतले बुझाउँदैनन् विवरण
काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै वार्षिक विवरण पेस गर्ने गरेका छन् । हाल कामपामा १ हजार ९५३ सहकारी सञ्चालनमा छन् । जसमध्ये ९५५ ले मात्रै नियमितरूपमा वर्षिक विवरण पेस गरेका कामपाले जनाएको छ । कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए । “अब नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने तयारी गरेका छौँ”, उनले भने । प्रमुख त्रिपाठीका अनुसार विवरण पेस गर्नका लागि विभागले दिएको पटकपटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन गरी कारबाही गर्ने तयारी गरिएको हो । “नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दैछन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ”, उनले भने, “कामपाको भित्री वडामा सहकारीको सङ्ख्या बढी रहेकाले उक्त स्थानमा समस्या बढी देखिएका छन् ।” हाल कामपामा सहकारी संस्थाको वार्षिक १ खर्ब रुपैयाँको कारोबार रहेको अनुमान गरिएको प्रमुख त्रिपाठीले बताए । उनका अनुसार सहकारीले ठगी गरेको उजुरी पनि प्रशस्तै आउने गरेका छन् । पाँच वर्षको अवधिमा कामपाका २२४ सहकारीमा ६ हजार उजुरी परेको प्रमुख त्रिपाठीले बताए । “यसरी उजुरी गर्नेमा बचतकर्ता र सर्वसाधारण रहेका छन्”, उनले भने, “उजुरीहरुमा सहकारीले भाडा नतिरेको, बचत रकम फिर्ता नगरेको, केहीले कमचारीलाई तलब नदिएको लगायत छन् ।” संवैधानिक व्यवस्थाअनुसार वि.सं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ । सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो । कामपामा सोही ऐनअनुरुप सहकारी सञ्चालन भइरहेका छन् ।
प्रभु बैंकका १५ जना सेयरधनी १४ लाख कित्ता सेयर बेचेर बाहिरिँदै
काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक १५ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरीन लागेका हुन् । विभिन्न संस्थापक १५ जना सेयरधनीहरुले १४ लाख १६ हजार ७६३ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । बैंकले संस्थापक सेयरधनी इश्वर कुमार श्रेठको नाममा रहेको ३५ हजार कित्ता, बिन्दु कुमार थापाको १ लाख ८ हजार ६५५ कित्ता, उमेश चन्द्र राईको १९ हजार ८१३ कित्ता, कविता पोख्रेलको ५० हजार ६३७ कित्ता र विश्वनाथ कडेलको ५८ हजार ५५९ कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, मनोज मान शाक्यको ३४ हजार ५८५ कित्ता, सम्यक उदासको ४ हजार ११८ कित्ता, तुल्सी प्रसाद श्रेष्ठको ३४ हजार ५८५ कित्ता, शान्ति सुल्प्याको २४ हजार ७०३ कित्ता र अर्जुन बिष्टको ९ हजार २९९ कित्ता सेयर बिक्रीमा राखेको हो । त्यसैगरी जानुका खड्काको २७ हजार कित्ता, बिनिता अधिकारीको ८ लाख ७५ हजार ८७० कित्ता, बिनु श्रेष्ठको ३२ हजार ५१४ कित्ता, बोध प्रसाद त्रिपाठीको ५८ हजार ६८४ कित्ता र ध्रुब चन्द्र धिताको ४२ हजार ७४१ कित्ता सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो समयमा संस्थापकले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गर्नेछ ।
सानिमा रिलायन्स लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनस दर निर्धारण गरेको हो । सो प्रतिवेदनलाई प्राधिकरणले भदौ १९ गते गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ । इन्स्योरेन्सले सावधिक जीवन (रेगुलर) बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस तोकेको छ । जसमध्ये शुन्यदेखि ९ वर्ष अवधि र १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । कम्पनीका अनुसार सावधिक जीवन बीमा योजनामा १३ हजार ९५२ बीमा लेख संख्या जारी गरेका छन् । यस्तै, सावधिक जीवन (एकल) बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने भएको हो । जसमध्ये शुन्यदेखि ९ वर्ष अवधि र १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४३ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । यस योजना अन्तर्गत कम्पनीले ७९६ बीमा लेख जारी गरेको छ । यस्तै, त्रिपल सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दर तोकिएको छ । जसमध्ये १० देखि १४ वर्ष अवधि र १५ देखि १९ वर्ष अवधिको २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको २५ रुपैयाँ र २५ वर्षदेखि माथिको ३० रुपैयाँ बोनस दर प्रदान गर्नेछ । सो योजनाअन्तर्ग कम्पनीले ७९६ बीमा लेख बिक्री गरेको छ । यस्तै, कम्पनीको दम्पत्ति सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनस दर प्राप्त गर्न सकिनेछ । जसमध्ये १५ देखि १९ वर्ष अवधिको २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको २५ रुपैयाँ र २५ वर्षदेखि माथिको ३० रुपैयाँ बोनस दर प्रदान गर्ने भएको हो । कम्पनीका अनुसार यस योजनामा २ हजार ७२ बीमा लेख जारी गरेको छ । त्यसैगरी सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । जसमध्ये शुन्यदेखि ९ वर्ष अवधिको र १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षदेखि माथिको ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । सावधिक तथा आजीवन बीमा योजनाका २ हजार ९९९ वटा बीमा लेख जारी गरेको छ । यस्तै, अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४१ रुपैयाँसम्म बोनस दर निर्धारण गरिएको छ । जसमध्ये १० देखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको ४२ रुपैयाँ बोनस दर तोकेको हो । वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म बोनस दर तोकिएको छ । जसमध्ये १५ देखि १९ वर्ष अवधिको १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको २१ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । कम्पनीका अनुसार अग्रिम भुक्तानी योजनाका १ हजार ४२४ र वार्षिक अग्रिम भुक्तानी योजनाका ४ हजार ६३५ बीमा लेख जारी गरेको छ । कम्पनीले सार्वजनिक गरेको बोनस दर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखहरुमा लागू हुने जनाएको छ । साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन नभएसम्मका लागि सोही बोनस दर लागू हुनेछ ।
नबिल बैंक भोजपुर शाखा स्थानान्तरण, भाडामा भवन खोज्दै
काठमाडौं । नबिल बैंकको भोजपुर शाखा स्थानान्तरण गरिने भएको छ । बैंकले हाल सञ्चालन भइरहेको भवनबाट स्थानान्तरण गरी नयाँ भवनबाट शाखा सञ्चालन गर्ने हो । उक्त शाखा स्थानान्तरण गर्ने भएकाले बैंकलाई नयाँ कार्यालय भवन आवश्यक परेको हो । बैंकका अनुसार भोजपुर नगरपालिका ७ क्षेत्रमा १ हजारदेखि १ हजार ५ सय वर्गफिट क्षेत्रफल भएको भवन आवश्यक परेको हो । प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालनका लागि भुईं तल्ला वा पहिलो तल्ला भएको भवन हुनु पर्ने बैंकले जनाएको छ । प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित मोटर बाटो हुनुपर्ने, भवन सकड विस्तार योजनामा नपरेको हुनुपर्ने र भुकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । भवनको भूईं तल्लामा एटीएम तथा जेनेरेटर राख्नका लागि स्थान उपलब्ध, कम्तीमा १५ वर्षको लागि भवन उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ । बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गरिने बताइएको छ ।
एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश घोषणा
काठमाडौं । एनआईसी एशिया क्यापिटलले सञ्चालन गरिरहेको म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेफ्ट फण्डले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलल एनआईसी एशिया डाइनामिक डेफ्ट फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलका अनुसार भदौ १७ गतेदेखि इकाईधनीहरुको हितग्राही खातामा सो लाभांश रकम जम्मा गर्न सुरु गरेको छ । साथै फण्डको लाभांश पुनः लगानी योजनामा सहभागि हुन आवेदन दिएका सम्पूर्ण इकाईधनीहरुको थप इकाई सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा चाँडै जम्मा गरिने बताएको छ । एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड एक खुलामुखी योजना हो । सो फण्डको कोष प्रवर्द्धक एनआईसी एशिया बैंक हो भने योजना व्यवस्थापक एनआईसी एशिया क्यािपटल हो ।