इच्छाराजको सिभिल सहकारी समस्याग्रस्त घोषणा, शिबशिखरलाई पनि गरिँदै
काठमाडौं । बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । प्रदेश सरकार अन्तर्गत रहेको सिभिल सहकारीलाई प्रदेशको मन्त्रालयले नै संकटग्रस्त घोषणा गरेर संघमा पठाएको हो । भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको उच्च स्रोतका अनुसार प्रदेशको सहकारी मन्त्रालयले नै सिभिल सहकारीलाई संकटग्रस्त घोषणा गरेको हो । ‘सिभिल सहकारी प्रदेशको मातहतमा पर्छ, त्यसैले पनि बागमती प्रदेश अन्तर्गतको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो, प्रदेशले सहकारीलाई समस्याग्रस्त गर्नका लागि केही कानुनी अड्चन पनि भएकोले समस्याग्रस्त घोषणा गरेको फाइल केन्द्रमा पठाउने कुरा भइरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो । बचतकर्ताको बचत ठगी गरेको आरोपमा सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ र उनकी श्रीमती सिर्जना शाक्यसहित केही सञ्चालकहरु अहिले जेलमा छन् । १ हजार ४९९ जना पीडित बचतकर्ताबाट ५ अर्ब ६७ करोड ९ लाख ७६ हजार रुपैयाँको लिखित उजुरी परेको थियो । यस्तै, भूमी, व्यवस्था तथा सहकारी मन्त्रालयले शिवशिखर सहकारीलाई पनि संकटग्रस्त घोषणा गर्ने तयारी गरेको छ । मन्त्रालय स्रोतका अनुसार शिबशिखर सहकारीलाई केही दिनभित्रै संमस्याग्रस्त घोषणा गर्ने तयारी भइरहेको छ । बचतकर्ताको रकम ठगीको आरोपमा शिबशिखरका पूर्व अध्यक्ष केदार शर्मा र उनकी श्रीमती गिता शर्मासहितका केही सञ्चालकहरु अहिले जेलमा छन् । पछिल्लो समय सरकारले धमाधम सहकारीलाई समस्याग्रस्त घोषणा गरिरहेको छ । गत असारमा मन्त्रालयले पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा गरेकाे थियाे । नियमअनुसार वित्तीय कारोबार गर्न नसकेका वा नगरेका सरकारीलाई सहकारी विभागको सिफारिसमा सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गर्छ ।
बजारमा देखियो स्कोडा ‘स्लाभिया’, मूल्य कति पर्छ ?
काठमाडौं । नाडा अटो शोमा नयाँ नयाँ मोडल सार्वजनिक गर्ने दौडधुप चलिरहेकोमा अटो शोमा सहभागि नभएको स्कोडाले भने चुपचाप नयाँ मोडल बजारमा ल्याएको छ । कम्पनीले कम्प्याक्ट सेडान स्लाभिया नेपाल ल्याएको हो । र्यापीडको स्थानमा आएको भएपनि स्लाभिया निकै प्रिमियम र फिचर लोडेड हुनेछ । यसको मूल्य पनि र्यापीडको तुलनामा महंगो हुने देखिएको छ । स्कोडाको आधिकारीक बिक्रेता एमएडब्लू स्कोडाले एक दुई दिन भित्रै यसको बिक्री सुरु गर्ने जनाएको छ । स्लाभियामा कसशकको जस्तै १.० लिटर टीएसआई पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । यसमा रहेको थ्री सिलिण्डर टर्बो पेट्रोल इन्जिनले ११५ पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स उपलब्ध छ । स्कोडा स्लाभिया एक्टीभ, एम्वीसन र स्टाईल भेरियन्टमा भारतमा उपलब्ध छ । नेपाल भने कुन भेरियन्टमा लन्च हुन्छ, त्यसको जानकारी प्राप्त भएको छैन । फक्सवागेन टाइगुन र स्कोडा कुशक जस्तै स्लाभिया पनि ‘एमक्यूबी एजीरो आइएन प्लेटफर्म’मा बनेको कार हो । यसको लम्बाई ४५४१ एमएम, चौडाई १७५२ एमएम र उचाई १४८७ एमएम रहेको छ । स्लाभियामा २६५१ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । ड्यूल टोन इन्टेरियर रहेको स्कोडा स्लाभियामा १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । सनरुफ, वायरलेस चार्जर, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटीकि क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सीट, ६ वटा एयरव्याग, टीपीएमएस, इएससी, इडिएस जस्ता आधुनिक फिचर यसमा पाउन सकिन्छ । यसको मूल्य भने आधिकारीक रुपमा बाहिर आएको छैन । यद्यपि, ४५ लाखदेखि ६० लाख रुपैयाँ भित्रै यसका सबै भेरियन्ट उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
लुम्बिनी विकास बैंकले दियो विद्यालयहरुमा पोशाक, खेलकुदको सामग्री र कलर प्रिन्टर
काठमाडौं । लुम्बीनी विकास बैँक देविघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ । विदुर नगरपालिका वडा नं. ३ अवस्थित रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोशाक वितरण गरको छ । साथै, वडा नं. ५ अवस्थित श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयमा बालकक्षाका विद्यार्थीहरुको शारीरिक, मानसिक एवं बौद्धिक विकासका लागि १ थान खेलकुदको सामाग्री वितरण गरको छ र बेलकोटगढी नगरपालिका वडा नं. ८ अवस्थित श्री कल्याणीदेवी माध्यामिक विद्यालयको लागि १ थान कलर प्रिन्टर सहयोग गरको छ । सो सामाग्रीहरु बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्तान्तरण गरे । उक्त सहयोग गरेकोमा श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकार र श्री कल्याणीदेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक बुद्धि प्रसाद पुडासैनीले लुम्बिनी विकास बैँकलाई धेरै–धेरै धन्यवाद व्यक्त गरेका थिए । उक्त हस्तान्तरण समारोहमा बैकका मुख्य प्रबन्धक दिपक खनाल, वरिष्ठ प्रबन्धक भेषराज गौतम, शाखा प्रमुख रमेश कुमार नेपाल लगायत विद्यालय व्यवस्थापनका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकता दिन परिसंघको सुझाव
काठमाडौं । नेपाल उद्योग परिसंघले १६औं योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएको छ । परिसंघले १६औं योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन पेश गर्दै यस्तो सुझाव दिएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई परिसंघको सुझाव हस्तान्तरण गरे । सो अवसरमा अध्यक्ष अग्रवालले १६औं योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । औद्योगिक विकासमा केन्द्रित हुन एकीकृत औद्योगिक विकास रणनीति बनाउनुपर्ने, उद्योगहरुका लागि जग्गाको सिलिङ तोक्न नहुने, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन मेक इन नेपाल स्वदेशी अभियानको प्रबद्र्धन गरिनुपर्ने उनले बताए । यसैगरी गुणस्तरिय पूर्वाधार विकासका लागि न्यून बोलकबोललाई आधार मानेर आयोजना दिन नहुने, सीमा क्षेत्रमा हुने अवैध कारोबारलाई नियन्त्रण गरिनुपर्ने, नेपालको निर्यात प्रबद्र्धन गर्न विभिन्न मुलुकसँग दोहोरो करमुक्ती सम्झौता गर्नुपर्ने, रोजगारमुलक सीप विकासलाई उच्च प्राथमिकतामा राख्न परिसंघले सुझाएको छ । परिसंघको सुझाव ग्रहण गर्नुहुँदै योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले १६औं योजना उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित हुन खोजिएको बताए । उत्पादन बढेमात्रै आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन सकिने भएकाले आगामी योजना यसमै केन्द्रित हुने उनले बताए । नीति तथा योजना बनाउँदा निजी क्षेत्रको समेत प्रभावकारी सहभागिता खोजिएकाले १६औं योजना तर्जुमा गर्दा नेपाल उद्योग परिसंघले मेहेनतका साथ अध्ययन गरेर दिएको सुझाव महत्वपूर्ण हुने बताए । परिसंघले अध्ययन गरेरै योजना आयोगले माग गरेको ढाँचामा १४ वटा परिच्छेदमा ४९ पृष्ठको विस्तृत सुझाव आयोगसमक्ष पेश गरेको हो । सुझाव हस्तान्तरण कार्यक्रममा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक दीपकराज जोशीलगायत सहभागि थिए ।
जेसिस्टको राया–जी इलेक्ट्रिक स्कुटर नेपाली बजारमा
काठमाडौं । जेसिट्को नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आएको छ । दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइल्सले ‘राया जी’ इलेक्ट्रीक स्कुटर नेपाल ल्याएको हो । कम्पनीले यसअघि जेटिस्को ‘जी १’ मोडल मात्रै बिक्री गर्दै आएको थियो । अब भने अर्को ‘राया जी’ मोडल थप भएको हो । कम्पनीले ल्याएको नयाँ मोडल राया जीमा १.५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । उक्त मोटरले ४ हर्सपावर र २६ एनएम टर्क जेनेरेट गर्छ । राया जी स्कुटरमा ७२ भोल्ट २० एम्पिएरको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई सिंगल चार्जमा ५० किलोमिटरसम्म गुडाउन सकिन्छ । साथै, यसमा डबल ब्याट्रीको प्रयोग गर्न सकिन्छ । यदि दुबै ब्याट्री फुल चार्ज छ भने यसको रेन्ज १०० किलोमिटरसम्म हुनेछ । यो स्कुटरको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन रहेको छ । त्यस्तै, डबल डिस्क ब्रेक, एलईडी लाइट, राइड मोड, फुल डिजिटल डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ । दुई ब्याट्री अप्सनमा आउने यो स्कुटरको सिंगल ब्याट्रीको मूल्य ३ लाख २० हजार र डबल ब्याट्रीसहितको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले नक्सालमा शोरुम स्थापना गरेर जेसिट् इलेक्ट्रीक स्कुटरको बिक्री गर्दै आएको छ ।
चार अर्ब बढीको हकप्रद सेयर ल्याउँदै चार कम्पनी, सेबोनसँग मागे अनुमति
काठमाडौं । धितोपत्र बजारमा चार अर्ब बढीको हकप्रद सेयर आउने भएको छ । जलविद्युत अर्थात हाइड्रोपावर क्षेत्रका चार कम्पनीले ४ अर्ब ३३ करोड ७० लाख ९४ हजार २२३ रुपैयाँ बराबरको हकप्रद ल्याउन प्रकृया अघि बढाएका हुन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार लिवर्टी इनर्जी कम्पनी, न्यादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी र बरुण हाइड्रोपावर कम्पनीले उक्त रकम बराबरको कूल ६ करोड ९३ लाख ८३ हजार ७३४ कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएका हुन् । यी कम्पनीले हालै मात्रै बोर्डसँग हकप्रद सेयर जारी गर्न अनुमति मागेका हुन् । लिवर्टीले ७ लाख ५० हजार, न्यादी ग्रुप पावरले एक करोड ८५ लाख १२ हजार ७९२, आँखुखोलाले एक करोड २० लाख र बरुण हाइड्रोले ५३ लाख ५८ हजार १५० कित्ता सेयर निष्काशन गर्ने माग गर्दै बोर्डमा पुगेका हुन् । यसैगरी, सेयर निष्काशन गर्नको लागि लिवर्टीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, न्यादी ग्रुपले सिद्धार्थ क्यापिटल, आँखुखोलाले नबिल इन्भेष्टमेन्ट बैंकिङ र बरुणले आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेका छन् । चार कम्पनीमध्ये बरुण हाइड्रोले गत भदौ २२ गते बोर्डसँग अनुमति माग गरेको हो भने अन्य तीन कम्पनीले एकैदिन अर्थात भदौ २१ गते हकप्रद सेयर जारी गर्न सेबोनसँग अनुमति मागेका हुन् । यससँगै बोर्डले अनुमति दिएसँगै यी चार कम्पनीले विद्युत नियम आयोगबाट स्वीकृति लिनुपर्ने हुन्छ । त्यसपछि सम्बन्धित कम्पनीले आफ्नो वार्षिक तथा विशेष साधारण सभामा प्रस्ताव पेश गरेपछि मात्रै सो बराबरको हकप्रद जारी गर्ने छन् ।
मीनबहादुरसँग साढे २ करोड धरौटी मागेर छोड्न आदेश, अरु को–को छुटे ?
काठमाडौं । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलासले एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटीमा मागिएको जनाईएको छ । थुनछेक आदेश अनुसार भाटभटेनीका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको छ । यस्तै, विनोद पौडेललाई १५ लाख, शिवजी भट्टलाई ३ लाख ३० हजार रुपैयाँ धरौटी तोकेको छ । गोपाल कार्की, लोकरि घिमिरे, घमन कुमार कार्की, कलाधर देउजा, योगराज पौडेल, नारायणराज मिश्र र अरुण कुमार श्रेष्ठलाई जनही ७ लाख ५० हजार रुपैयाँ धरौटी तोकिएको छ । यस्तैगरी, ध्रुव प्रसाद अर्याललाई ३ लाख ३० हजार, बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जय कुमार महर्जनलाई जनही १ लाख १० हजार धरौटी रकम तोकिएको छ । अदालतले केशव तुलाधरलाई साधारण तारेखमा रिहा गरेको छ ।
महालक्ष्मी विकास बैंकले वितरण गर्यो स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ । बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा नौं मा अध्यनरत छात्रसन्तोष कुमार मण्डललाई स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयका प्रधानाध्यापक गिता काफ्लेलाई हस्तान्तरण गरे । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवदता जनाएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।