काठमाडौं महानगर वडा नं. १६ को कार्यवाहक अध्यक्षमा महर्जन
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनले पाएका छन् । सोमबार भएको प्रमुखस्तरीय निर्णयबाट महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । त्यस्तै, वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष शिफारिस गरिने निर्णय भएको छ ।
बर्जरले ल्यायो ग्राहकको घर सुन्दर बनाइदिने योजना, घरधनीलाई विशेष अवसर
काठमाडौं । बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) ले दशैं र तिहारको अवसरमा ‘बर्जर हाम्रो घर हाम्रो शान’ नामक योजना ल्याएको छ । कम्पनीले ग्राहकको घरको सौन्दर्यता बढाउने उद्देश्यसहित यो योजना ल्याएको हो । यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले ५ लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गर्नेछन् । साथै, थप तीन जनाले जनही १ लाख रुपैयाँ र अन्य दश जनाले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर श्रृंङ्गार्ने अवसर प्रदान गर्नेछ । त्यसैगरी, डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीले आफ्नो घरको सुन्दर तस्वीर सेयर गरेर जनही २५ हजार रुपैयाँको नगद पुरस्कार पाउने छन् । यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्ड जस्ता सीमित बर्जर उत्पादनहरूमा मात्र लागू हुने कम्पनीले जानकारी गराएको छ ।
सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा असोज ३ देखि सञ्चालन हुने, बिहान र साँझ मात्रै चल्ने
फाइल फोटो काठमाडौं । सूर्यविनायक-रत्नपार्क द्रूत बस सेवा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि ‘सो बस सेवा सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग सो बस सेवाका विषयमा छलफल गरेका थिए । सो बस सेवा १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन् । बस सेवा सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिएका छन् । ‘अन्य काम सबै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकि छ, त्यो भोलि २६ भदौदेखि सुरु गर्छौ,’ उनले भने । विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ । रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु हुने भएको छ । त्यसैगरी यातायात व्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ । सो बस सेवाका लागि आवश्यक पर्ने २५ वटा बस तयारी अवस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । व्यवसायीसँग सहकार्य गरी उनीहरुकै बस सञ्चालन गर्न लागिएको हो । करिब ३८ सिट क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन् । बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रूत बस सेवाको अवधारणा ल्याएका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि बस सेवाका विषयमा केहि आशंका उब्जिएका थिए । अहिले बिहान र साँझ कार्यालयमा बस सेवा सञ्चालन हुने भएको छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ । रासस
लप्सीफेदीमा सबस्टेसन निर्माण अगाडि बढाउने सहमति, स्थानीयको माग तत्काल सम्बोधन गरिने
काठमाडौं । सरकारले काठमाडौंको शङ्खरापुर नगरपालिका-३ स्थित बोजिनीमा निर्माण हुने सबस्टेसन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । सबस्टेसन निर्माणको कामलाई अगाडि बढाउने र स्थानीयवासीको माग सम्बोधनका लागि सामाजिक उत्तरदायित्वका विभिन्न कामसमेत सुरु गरिने भएको छ । त्यसमा के कस्ता विषय समेटिने भन्ने विषयमा छिट्टै सहमति जुटाइनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीयवासीको जायज माग सम्बोधन गर्ने विश्वास दिलाउँदै सबस्टेसन निर्माणको काम अगाडि बढाउन दिन आग्रह गरेका थिए । काठमाडौं उपत्यकाको विद्युत् प्रवाहका लागि महत्त्वपूर्ण मानिएको सो सबस्टेसन निर्माणमा जति दिन ढिलाइ हुन्छ, त्यति नै दिन समस्या झनै बढ्दै जाने उल्लेख गर्दै मन्त्री बस्नेतले स्थानीयस्तरमा गर्नुपर्ने विकास निर्माण तथा अन्य कामलाई सरकार र आयोजनाका तर्फबाट अविलम्ब अगाडि बढाइने बताए । स्थानीयवासीको माग सम्बोधन गरिने र हालको अवस्थाभन्दा सबस्टेसन निर्माण भएपछि थप सहज जनजीवन निर्माणका लागि सरकारका तर्फबाट सक्दो पहल गरिने मन्त्री बस्नेतको भनाइ छ । उनले सामाजिक उत्तरदायित्व, प्रसारण लाइन प्रभावितको समस्या समाधानका लागि सरकारले नीतिगत रूपमा नै प्रबन्ध गर्ने र त्यसले अन्य आयोजनामा सहज वातावरण बनाउने विश्वास व्यक्त गरे । काठमाडौं उपत्यकाभित्र नै विद्युत् कटौती गर्नुपर्ने अवस्थाको सिर्जना आएकाले बाध्यकारी स्थिति पैदा भएको उल्लेख गर्दै मन्त्री बस्नेतले यसको गम्भीरतालाई सम्मान गरेर काम गर्न दिने वातावरण बनाउन मन्त्री बस्नेतले आग्रह गरे । उनले आयोजनाबाट पर्ने प्रभावलाई सकेसम्म कम गर्ने तथा गराउनेतर्फ सरकारका तर्फबाट अधिकतम प्रयास गरिने बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले परिस्थितिको बाध्यतालाई बुझेर आयोजनालाई सहजरूपमा अगाडि बढ्ने वातावरण बनाइदिन आग्रह गरे । उनले स्थानीयवासीले उठाएका मागको अधिकतम सम्बोधन गरिने र त्यसका लागि सरकारका तर्फबाट पूर्ण प्रतिबद्धता रहेको बताए । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीयरूपमा आपूर्ति गर्न लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी क्षमताको सबस्टेसन निर्माण गर्न लागिएको हो । सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको चार सय केभी प्रसारण लाइन जोडिने छ । नयाँ खिम्ती-बाह्रबिसे-लप्सीफेदी चार सय केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लप्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको एक सय ३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायणमा एक सय ३२ केभी क्षमताको सबस्टेसन सम्पन्न हुने चरणमा छ । सबस्टेसनका लागि ५० जना जग्गाधनीहरूको एक सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि २०७४ साल जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एकजना जग्गाधनीबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिबापत करिब रु ५० करोड वितरण गरिएको छ । क्षतिपूर्ति नपाएको एक जनाको हकमा कानूनी समस्या उत्पन्न भएको छ । उक्त व्यक्तिले भोगचलन गरिरहेको भएता पनि पर्ती जग्गाका रूपमा रहेकाले मुआब्जा दिन समस्या छ । नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋण सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण भइरहेको हो । छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव घिमिरे, सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापित, शङ्खरापुर-३ का वडाअध्यक्ष सूर्यबहादुर तामाङलगायतको सहभागिता थियो । रासस
अर्थतन्त्रमा सुधार ल्याउन व्यवसायीको मनोबल बढाउनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० का अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउन आवश्यक देखिएको बताए । सोमबार उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा उनले सो बताएका हुन् । अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै उनले निजी क्षेत्र सम्मानित भएर आफ्नो काम गर्न सक्ने वातावरण आवश्यक रहेको बताए । त्यस्तै, अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रिय बैंक र सरकार दुबैको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ छ । यसैगरि सीमा क्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताउँदै अध्यक्ष ढकालले कैलालीको गौरीफन्टामा रहेको क्वारेन्टाइन पुनः संचालनका लागि पनि आग्रह गरे । अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिए । ‘हामीले निजी क्षेत्रको मर्यादाक्रमका लागि सरकारसमक्ष आग्रह गरिरहेका छौं,’ उनले भने- ‘अहिलेको अवस्थामा मनोबल बढाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’ उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले यस बिषयमा काम भैरहेको र छिट्टै निर्णय गरिने बताए । महासंघका पदाधिकारी एवं प्रदेश अध्यक्षहरु सहभागी रहेको भेटवार्तामा गिटी वालुवा लगायतका वस्तुहरुको आवश्यक वातावरणीय लगायतका प्रभाव अध्ययन गरि निकासी गर्न दिइनुपर्ने सुझाव पेश गरिएको छ । यसैगरि नयाँ बनेका पोखरा र गौतम वुद्ध विमानस्थल सञ्चालनका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव महासंघको थियो । सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा बजारमा रकम प्रवाह गर्न विकास निर्माणमा सरकारी लगानी आवश्यक रहेकोमा जोड दिइएको थियो । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि सरकारले सम्बन्धित सबैसंग छलफलको तयारी गरिरहेको बताए ।
प्रधानमन्त्री दाहाल भन्छन् : वर्तमान सत्तासाझेदार गठबन्धन पाँच वर्ष टिक्छ
फाइल फोटो विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताएका छन् । सोमबार विराटनगर आइपुगेका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री दाहालसहित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न सो मोर्चामा सहभागी नेताहरु पनि पुगेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्र्टी र नेकपा विप्लब समूह आबद्ध समाजवादी मोर्चाद्वारा सोमबार विराटनगरमा सो सभाको आयोजना गरिएको छ । सो सभालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने कार्यक्रम छ ।
भियतनाम एयरलाइन्स र बोइङबीच आठ अर्ब डलरको सम्झौता, ५० वटा ७३७ खरीद गर्ने
भियतनाम। भियतनाम एयरलाइन्सले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँग सात अर्ब ८० करोड अमेरिकी डलरको सम्झौता गरेको ह्वाइट हाउसले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हनोईमा भएको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेन र भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनले बोइङ र भियतनामको राष्ट्रिय वायुसेवा कम्पनीबीच भएको ऐतिहासिक सम्झौताको स्वागत गरेको ह्वाइट हाउसले जनाएको छ । यो सम्झौताले संयुक्त राज्य अमेरिकामा ३० हजारभन्दा बढी रोजगारीलाई सहयोग गर्नेछ । भियतनाम एयरलाइन्सले ७३७ मध्ये ५० वटा विमान खरिद गर्ने बाइडेनले अमेरिकी र भियतनामी उच्च कम्पनीका वरिष्ठ अधिकारीहरूसँगको गोलमेच सम्मेलनका क्रममा बताए । भियतनाम एयरलाइन्ससँग हाल १५ वटा बोइङ ७८७ ड्रीमलाइनरसहित १०० वटा विमान छन् । बोइङ जेटले एक दशकभन्दा पुराना विमानलाई प्रतिस्थापन गर्ने सरकारी सञ्चारमाध्यमले जनाएका छन् । हवाई यात्राका लागि बढ्दो माग र बजेटको यथेष्ठ विनियोजनका कारण हालैका वर्षहरूमा भियतनामको उड्डयन क्षेत्र फस्टाएको छ । रासस