विकासन्युज

समस्यामा परेका सहकारीलाई सरकारले सस्तो ब्याजमा ऋण दिने, बचतकर्ताले पैसा फिर्ता पाउने

काठमाडौं । समस्यामा परेर बचतकर्ताको पैसा फिर्ता गर्न नसकेका सहकारीहरुलाई सरकारले सहुलियत दिएर समस्याको समाधान गर्ने तयारी गरेको छ । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि बनेको सहकारी क्षेत्र सुधार कार्यदलले अहिलेको समस्या समाधानका लागि सरकारले नै कदम चाल्नु पर्ने राय दिएको छ । कार्यदलले विभिन्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन समस्या समाधानका रायहरु दिँदै अहिले तत्कालका लागि समस्या समाधानका लागि समस्यामा परेका सहकारीहरुलाई सस्तो ब्याजमा ऋण दिएर पैसा फिर्ता गर्न प्रेरित गर्नु पर्ने राय दिएको छ । भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले अहिले ठूलो समस्यामा परेका सहकारी संस्थालाई सरकारले सहुलियतपूर्ण ऋणको व्यवस्था गरेर बचतकर्ताको बचत फिर्ता गराउनका लागि सरकारले पहल गर्ने रणनीतिका साथ कार्यदलले उक्त राय दिएको बताएका छन् । उनका अनुसार अहिले सबैभन्दा ठूलो समस्या तरलताको भएकोले सो समस्याको समाधानका लागि सस्तो ब्याजमा ऋण दिएर बचत फिर्ता गर्न लगाउनु नै अल्पकालिन रुपमा समस्या समाधानको बाटो हो । ‘सहकारीहरुसँग प्रयाप्त मात्रामा धितो देखिन्छ, तर धितो बैंकमा राखेर पनि ऋण पाउन सक्ने अवस्था अहिले छैन, किनकी बैंकले धेरै बढी ब्याज भनिरहेका छन्, अब सरकारले नै यसमा मध्यस्तता गरेर सस्तो ब्याजमा ऋण पाउने र पाएको ऋण बचतकर्तालाई फिर्ता गर्न सकिन्छ, यो सुझाव कार्यदलले दिएको छ,’ सचिव दुवाडीले विकासन्युजसँग भने । कार्यदलका सदस्य समेत रहेका उनले यसमा सरकारले निश्चित प्रतिशत रकम सहुलियत बैंकलाई प्रदान गर्न सक्नेछ । सहकारी संस्थाहरुले प्राप्त सहुलियतपूर्ण ऋण केही अवधिपछि सरकारलाई नै फिर्ता गर्नुपर्ने राय पनि कार्यदलको छ । ‘अहिले बैंकको ब्याज १० प्रतिशत छ भने सहकारीहरु सो ब्याजमा ऋण लिन चाहेको देखिँदैन, त्यसमा दुई प्रतिशत सरकारले राखेर उनीहरु ८ प्रतिशत ब्याजमा ऋण लिन सक्छन्, यसबाट सहकारीलाई पनि टेवा पुग्छ, समस्या पनि विस्तारै समाधान हुन्छ, बचतकर्ताले पनि बचत फिर्ता पाउँछन्,’ उनले भने । उनले सम्भवतः सोमबार साँझ नै कार्यदलले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ समक्ष कार्यदलको प्रतिवेदन पेश गर्न सक्नेछ । गत वैशाखमा मन्त्रिपरिषद बैठकले योजना आयोगको सहकारी हेर्ने सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा ‘सहकारी क्षेत्र सुधार कार्यदल’ गठन गरेको थियो । कार्यदलको समावधि पनि मंगलबार सकिँदैछ । यस्तै, सहकारी बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना गरी बचतकर्ताको बचत सुरक्षण गर्नुपर्ने कार्यदलको सुझाव छ । यसका लागि अर्थमन्त्रालयमा प्रस्ताव पेश गरिसकेको पनि सचिव दुवाडीको भनाइ छ । कार्यदलले एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने सहकारी संस्थाको वार्षिक लेखापरीक्षण गर्नुु पर्ने राय दिएको छ । एक अर्ब रुपैयाँभन्दा बढीको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको निरीक्षणका लागि राष्ट्र बैंकले छुट्टै टोली खटाई तीन महिनाभित्र नेपाल सरकारलाई प्रतिवेदन बुझाउन सुझाव दिइएको छ । उनका अनुसार अब सहकारी दर्ता, नयाँ शाखा विस्तार तथा सेवा केन्द्र विस्तार पनि रोक लगाउन सुझाव दिइएको छ । कार्यदलको निर्णय कार्यान्वयन भएमा अब सहकारीका सञ्चालकहरुले बैंकबाट सस्तो ब्याजमा ऋण पाउनेछन् र बचतकर्तालाई सहजै बचत फिर्ता गर्न सक्नेछन् ।

मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ

नवलपरासी । पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । बा प्र ०१–०३–००१ च १३८६ नं को पिकअप जिपमा नौ गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई इलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको उनले बताए । ‘पिकअपमा नौ गाई खाँदाखाँद गरेर ल्याउने क्रममा नौ वटामध्ये सात गाई मरेका र दुई गम्भीर अवस्थामा रहेको पाएका छौँ’, उनले भने , ‘पिकअप भ्यानमा पाल्पाको निस्दीतिरबाट कच्ची बाटो हुँदै पूर्वपश्चिम राजमार्गतर्फ ल्याउँदै गर्दा मरेको भेटिएका हुन् ।’ पिकअप भ्यान र घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पिकअप चालक रौतहटको गजुरा–७ निवासी २८ वर्षीय गोजेन्द्र चौधरी र नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यविन्दु नगरपालिका–८ निवासी ४० वर्षीय धुव्र कार्की रहेका छन् । प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको रेग्मीले बताए । गाई, पिकअप भ्यान र पक्राउ परेका दुई जना इलाका प्रहरी कार्यालय दुम्किबासको नियन्त्रणमा रहेका छन् । रासस

तरकारी खेतीबाट वार्षिक २५ लाख बढीको आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा २५ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हु्न् । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिए । उनका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ । मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेडा, सुर्खानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताए । ‘केही महिनाअघि मात्रै हरियो धनियाँ र सागपात मात्रै दुई लाख बढीको बिक्री भएको छ’, उनले भने, ‘वर्षमा १० लाख रुपैयाँ बढीको काउली मात्रै बिक्री हुने गरेको छ ।’ उत्पादित तरकारी महेन्द्रनगर बजार पुर्‍याएर बेच्दै आएको उनले बताए । खड्का वडाका एक्ला व्यावसायिक तरकारीखेती गर्ने किसानका रुपमा रहेका छन् । तरकारी खेतीसम्बन्धी तालिम नलिएको जनाउँदै खड्काले अरुका बारीमा तरकारीका लागि खेत तयार गर्ने र लगाउने गरेर सिकेको बताए । त्यसरी सिकेको सीपलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो । ‘कुनै निकायबाट तरकारी खेतीसम्बन्धी सीप सिक्ने अवसर पाइएन’, खड्काले भने, ‘गर्दै जाँदा सिकिँदोरहेछ । तालिम नलिए पनि तरकारी खेतीमा अरुभन्दा कम छैन । यसैबाट जीविकोपार्जन भइरहेको छ ।’ किसान परियोजना–२ बाट एउटा सिँचाइका लागि बोरिङ र सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा एउटा खेत जोत्ने पावर टिलर सहयोग पाएको उनले जानकारी दिए । ‘तरकारी खेतीका लागि अन्य अनुदान पाइन्छ भन्छन् त्यो पनि पाएको छैन, आफ्नै सीप र पौरखमा तरकारी खेतीलाई अगाडि बढाउँदै आएका छौँ’, उनले भने । तरकारी खेतीबाट आएको आम्दानीले १२ जनाको संयुक्त परिवारको जीविकोपार्जन भएको जनाउँदै खड्काले पक्की घरसमेत बनाएको बताए । ‘छोरा, बुहारी, म र श्रीमती बिहानदेखि साँझसम्म तरकारी बारीमा काम गरिरहेको हुन्छौँ’, उनले भने, ‘खेतीमा सिँचाइ गर्ने, गोडमेल गर्ने, तरकारी टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्ता हुन्छौँ ।’ तरकारीखेती गर्नु अघि खड्काले स्वामित्वको जग्गामा अरु किसानले झैँ धान, गहुँ खेती लगाउने गर्थे । परिवारका लागि वर्षभरि खान पनि मुश्किलले पुग्ने गर्दथ्यो । घर खर्च चलाउनका लागि १५ लाखसम्म ऋण लागेको उनले सुनाए । ‘सुरुआतमा एक कट्ठा जग्गामा तरकारीखेती गर्‍यौँ । २५ हजार आम्दानी भयो, धान, गहुँभन्दा निकै आम्दानी हुने भएपछि तरकारी खेतीको क्षेत्रफल बढाउँदै लग्यौँ’, खड्काले भने, ‘आम्दानी बढ्दै गयो, घर खर्च चलाउन लिइएको ऋण तिर्न भ्यायौँ ।’ केही वर्षदेखि जग्गा भाडामा लिएर तरकारीखेती गर्न थालेपछि आम्दानी थप बढ्न थालेको उनको भनाइ थियो ।

आई पे रेमिटले आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्ती गर्यो

काठमाडौं । आई पे रेमिटले कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्ती गरेको छ । यस सम्झौता ले आई पे रेमिटलाई ग्राहक समक्ष विश्वास र प्रोत्साहित गर्ने, समुदाय पहलमा समर्थन, ब्रान्ड पहिचान मा बृद्धी लगायत ग्राहक संख्यामा बृद्धी हुने अपेक्षा राखेको छ । विगत ११ वर्ष देखी रेमिट्यान्स क्षेत्रमा सेव दिदै आईरहेको आई पे रेमिट मलेसिया, जापान, कोरिया, कतार, युएइ लगायत विश्वका विभिन्न मुलुक वाट रेमिट्यान्स भित्राइरहेको कम्पनीले बताएको छ । क्यास पिकअप, रियलटाइम एकाउन्ट डिपोजिट लगायत इ वालेट लोडको सुबिधा आई पे रेमिटले ग्रहक वर्गहरुलाई दिदै आईरहेको व्यहोरा आई पे रेमिटका बजार प्रमुख रुप नारायणले खुलस्त पारे ।

७४ रुपैयाँको सेयर नकिनेर किन ४३५ को आईपीओमा लालायित हुँदैछन् लगानीकर्ता ?

काठमाडौं । पछिल्लो पटक विभिन्न ८ कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरे । घोराही सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माण्डु हाईड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरे । जसमध्ये घोराही सिमेन्टले ३३५ रुपैयाँ, सोनापुर मिनरल्सले १३७ रुपैयाँ, आइएमई लाइफले १३६.९१ रुपैयाँ, सन नेपाल लाइफले १३९ रुपैयाँ, रिलायबल लाइफले १५७ रुपैयाँ, सिटिजन लाइफले १४४ रुपैयाँ, भगवती हाइड्रोले १६ रुपैयाँ र माण्डु हाईड्रोले १०६ रुपैयाँ प्रिमियम थप गरेर आईपीओ निष्काशन गरेका हुन् । लगानीकर्ताहरुले यसअघि आईपीओमा आवेदन दिँदा प्रतिकित्ता १ सय रुपैयाँ तिर्दै आएका थिए । तर, यी कम्पनीमा भने माथि उल्लेखित रकम थप गरेर आवेदन दिनु पर्याे । यी कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले अर्बाैं रुपैयाँ बराबरको आवेदन दिए । तर, आइतबारको तथ्याङ्क अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३८ वटा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय रुपैयाँभन्दा कम मूल्यमा कारोबार भइरहेका छन् । जसमध्ये समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य अंकित मूल्य १ सयभन्दा पनि कममा कारोबार भइरहेको छ । दोस्रो बजारमा प्रतिकित्ता २ सय रुपैयाँभन्दा कम मूल्यमा कारोबार भइरहेका ३८ वटा कम्पनीहरुमध्ये अधिकांश जलविद्युत क्षेत्रका छन् । नेप्सेका अनुसार २८ वटा हाइड्रोपावर कम्पनीको सेयर प्रतिकित्ता ११८ रुपैयाँदेखि १९७.९० रुपैयाँमा कारोबार भइरहेका छन् । जसमध्ये सबैभन्दा सस्तो हिमाल दोलखा हाइड्रोपावर कम्पनीको प्रतिकित्ता ११८ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, नेशनल हाइड्रो १३३ रुपैयाँ, दिब्येश्वरी हाइड्रो १३८ रुपैयाँ, शिबश्री हाइड्रो १३९.२० रुपैयाँ, आँखुखोला हाइड्रो १४५ रुपैयाँ, लिबर्टी इनर्जी १४९ रुपैयाँ, पञ्चकन्यामाई हाइड्रो १५४ रुपैयाँ, अरुण काबेली पावर १५५.१० रुपैयाँ र युनियन हाइड्रो १६० रुपैयाँमा कारोबार भइरहेका छन् । घलेम्दी हाइड्रो १६२ रुपैयाँ, सिनर्जी पावर १६३.५ रुपैयाँ, मोदि इनर्जी १६४ रुपैयाँ, खानी खोला हाइड्रो १६४ रुपैयाँ, मोलुङ हाइड्रो १६६.२ रुपैयाँ, अपि पावर १६६.९ रुपैयाँ, युनाइटेड मोदि हाइड्रो १७०.३ रुपैयाँ, युनिभर्सल पावर १७२ रुपैयाँ, हिमालयन हाइड्रो १७४ रुपैयाँ र माउन्टेन हाइड्रो १७५ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, मायाखोला हाइड्रो १७७.६ रुपैयाँ, रिडी पावर १८८ रुपैयाँ, भूगोल इनर्जी १८८ रुपैयाँ, न्यादी हाइड्रो १९४ रुपैयाँ, दोल्ति पावर १९४.९० रुपैयाँ, जोशी हाइड्रो १९५ रुपैयाँ, बलेफी हाइड्रो १९५ रुपैयाँ, मोन्छियाम हाइड्रो १९५.५ रुपैयाँ र दोर्दि खोला हाइड्रो १९७.९० रुपैयाँमा कारोबार भएको छ । अर्बाैं रुपैयाँ बराबरको चुक्ता पूँजी भएका केही वाणिज्य बैंकहरुको सेयर मूल्य २ सय रुपैयाँभन्दा कम मूल्यमा भइरहेका छन् । जसमध्ये कुमारी बैंकको १५६.५० रुपैयाँ, प्रभु बैंक १६९ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १७५.२० रुपैयाँ, प्राइम बैंक १८० रुपैयाँ, सिटिजन्स बैंक १८४ रुपैयाँ, लक्ष्मी सनराइज बैंक १८५.६० रुपैयाँ र ग्लोबल आइएमई बैंक १९९.५० रुपैयाँमा कारोबार भइरहेको छ । दोस्रो बजारमा अन्य विभिन्न कम्पनीको सेयर मूल्य २ सय रुपैयाँभन्दा कम छ । जसमध्ये हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको १६४.९० रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १९४.५० रुपैयाँमा कारोबार भइरहेको छ । दोस्रो बजारमा लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानीकर्ताको आकर्षण देखिन्छ । अधिकांश लघुवित्तको सेयर मूल्य ४ सय रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भइरहेको छ । तर, समाज लघुवित्तको सेयर मूल्य अंकित मूल्यभन्दा कममा कारोबार भइरहेको छ । आइतबारको तथ्याङ्कअनुसार समाज लघुवित्तको सेयर ७४ रुपैयाँमा कारोबार भएको छ । लगानीकर्ता तारा फुलेल नियामकले दोस्रो बजारमा सेयर मात्रै सप्लाई गर्ने काम गरिरहेको बताउँछन् । उनका अनुसार दोस्रो बजारमाभन्दा प्राथमिक बजारमा लगानीकर्ताको संख्या बढी भएका कारण पनि महँगो मूल्यमा आईपीओ आए पनि आवेदन दिने गरेका छन् । ‘आईपीओमा आवेदन दिने सबै लगानीकर्ता दोस्रो बजारमा कारोबार गर्दैनन्, आईपीओमा मात्रै आवेदन दिने लगानीकर्ताको संख्या बढी देखिन्छ, जो दोस्रो बजारमा कारोबार गर्न चाहँदैनन्,’ उनले भने । लगानीकर्ता र धितोपत्र बोर्डबीच केही दिनअघि भएको छलफलमा खस्कदो बजारमा आईपीओ र हकप्रद सेयर जारी गर्न दिएर सप्लाई बढी भयो, केही समय स्थगन गर्न माग गरेको लगानीकर्ता फुलेल बताउँछन् । साथै, आईपीओ निष्काशन प्रक्रिया केही समय ढिला गर्न माग गरेको उनको भनाइ छ । बजारमा सुधार आएपछि मात्रै आईपीओ निष्काशन गर्न दिनु पर्ने माग गरेको उनले बताए । ‘बजारमा डिमाण्ड बढाउन जोड गर्नु पर्याे, अहिले पनि तरलता अभाव छ, बैंकहरुसँग पैसा छ तर, लगानीकर्ताहरु ऋण लिएर लगानी गर्न चाहेका छैनन्, किनभने ब्याजदर अहिले पनि महँगो छ,’ उनले भने, ‘बजारमा अस्थीर बनेको र लगानीकर्ताको मनोबल घटेको छ किनभने राज्य संयन्त्र पनि पूँजी बजारप्रति चासो दिन दिइरहेका छैन ।’ साथै, राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा लगाएपछि ठूला लगानीकर्ता बजारमा आउन नसकेको उनकाे भनाइ छ । ५० लाख रुपैयाँसम्मको कर्जामा १ सय प्रतिशत जोखिम भारको व्यवस्था राष्ट्र बैंकको देखाउन मात्रै लागू गरेको उनको बुझाइ छ । बैंकहरुले ब्याजदर घटाउन चाहेको भएपनि राष्ट्र बैंकले घटाउन नदिएको उनको भनाइ छ । तर, नेपाल धितोपत्र बोर्डले भने प्रक्रिया पुरा गरेर आएका कम्पनीलाई रोक्न नमिल्ने जवाफ दिँदै आएको छ ।

गरिमा विकास बैंकले तीज गीतमा टिकटक प्रतियोगिता गर्ने, बिजेतालाई ३० हजार दिइने

काठमाडौं । गरिमा विकास बैंकले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिनेछ । साथै, हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु यस विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ । यस विकास बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई ३० हजार द्धितियलाई २० हजार तृतियलाई १० हजार र बाँकि ७ वटा भिडियोलाई जनही ५ हजार रुपैयाँ सान्त्वना पुरस्कार राशि प्रदान गरिने बैंकले जनाएको छ । यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्तहरुको पूर्ण पालना गर्नुपर्ने हुन्छ । हाल, यस गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम र डिजिटल बैंकिङ् (गरिमा डिजी बटुवा, डेविट/क्रेडिट कार्ड, स्मार्ट क्यू.आर. लगायत) मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

खरायो पालनले सिर्जना गरेको रोजगारी, वार्षिक ४२ लाखको ऊनको टोपी बिक्री

कर्णाली । एक दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन । मजदूरीका लागि उनीहरु छ महिना कालापहाडमा जान्थे । विशेष परिस्थितिमा बाहेक छ महिनापछि उनीहरु घरमै फर्कन्थे । केही वर्षयता भने यहाँका युवा खाडी मुलुकमा छिर्न थालेका छन् । पछिल्लो समयमा रोजगारका लागि युवा विदेशिनेक्रम बढ्दै गएको छ । स्वदेशमा रोजगारीका अवसर नपाएको भन्दै खाडी मुलुकतर्फ बर्सेनि हजारौँ युवा हानिनेक्रम रोकिएको छैन । मजदूरीका लागि विदेशिनुपर्ने बाध्यता त छ नै तर केही वर्षयता अर्काको देखासिकी र लहडमा पनि रोजगारीका लागि भन्दै बाहिरिने क्रम बढेको छ । स्वदेशमै बसेर राम्रैसँग रोजगारी गर्न सकिन्छ भन्ने कमै युवालाई विश्वास छ । आफ्नो देशमा भविश्य नदेखेका युवाहरुको माझ श्रम र पसिना चुहाएर काम गर्‍यो भने स्वदेशमै कमाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण जुम्ला चन्दननाथ नगरपालिकाका स्थानीयवासी बनेका छन् । सुरुका दिनमा घरमा एक/दुई वटा खरायो पाल्ने जुम्ला चन्दननाथ नगरपालिका–८ तलिउम गाउँवासी अहिले व्यावसायिकरुपमा खरायोपालनमा लागेका छन् । विसं २०५८ मा सोही वडाका गोरबहादुर रोकायले कर्णाली प्राविधिक शिक्षालय घुघुती जुम्लाबाट एक जोडी अङ्गोरा जातको खरायो ल्याएर पाल्न सुरु गरेका थिए । पछि एक/दुई घर हुँदै अहिले दुई सय ५० भन्दा बढी घरधुरीले खरायो पालेका छन् । अहिले उनीहरु हरेकको घरमा करिब डेढ सय वटा खरायो छन् । तत्कालीन समयमा सोखका लागि खरायो पाल्न सुरु गरेका तलिउमवासीले अहिले आफ्नो सोखलाई व्यवसायमा परिणत गरेका छन् । करिब एक हजार दुई सय घरधुरी भएको उक्त वडामा दुई सय ५० बढी घरधुरीमा गरिएको खरायोपालन र टोपी, मफ्लर बुन्ने उद्यमबाट अन्य गाउँवासीले पनि लाभ लिएका छन् । मासुका लागि केही मात्रामा अन्य जातका खरायो पालिएको यस वडामा अहिले टोपी उत्पादनका लागि अङ्गोरा खरायोपालनमा विशेष जोड दिइएको छ । टोपीले नेपाली बजार लिएपछि नगरपालिका–८ का वासिन्दा यो व्यवसायमा आकर्षित हुँदै गएका छन् । उनीहरुले बुनेको प्रतिटोपीको बजार मूल्य तीन हजारदेखि चार हजार रुपैयाँसम्म छ, जुन कर्णाली पुग्ने हरेक उच्च अधिकारीले खोजीखोजी किन्ने गर्दछन् । खरायोपालन व्यवसाय र त्यसले सिर्जना गरेको रोजगारीले कालापहाड जाने बाध्यता हटाएको चन्दननाथ नगरपालिका–८ स्थित झुमकला फलफुल नर्सरी एण्ड पशुपालन फर्मका तलिउम सञ्चालक खड्गबहादुर बुढाले जानकारी दिए । उनले आफ्नो फर्ममा डेढ सयभन्दा बढी खरायो पालेको बताए । ‘मैले २०५८ सालदेखि खरायो पाल्न सुरु गरेँ । खरायोपालन गरेयता कालापहाड जाने बाध्यता हट्यो,’ उनले भने, ‘अहिले यसको आम्दानीबाट नै घर परिवारको सबै समस्या हल भएको छ ।’ उनले यसअघि घरेलु विकास समितिबाट बुनाईसम्बन्धी तालिम लिएर गाउँका महिला पुरुषलाई उक्त सीप हस्तान्तरण गर्दा उनीहरुले पनि बुनाईसम्बन्धीको काम सिकेको बताए । उनले भने, ‘यहाँका पुरुषसहित नानु शाही, राममाया बुढा, रुपादेवी रोकाय, नाक्च्या धरालालगायतका महिलाले पनि टोपी बुन्दै आएका छन् । सीपसँग कमाई हुन थालेपछि यसमा उनीहरु निकै प्रफुल्लित छन् ।’ बुढाका अनुसार खासमा यो व्यवसाय गर्न त्यति कठिन छैन । एउटा टोपी बुन्न दुईदेखि तीन दिनसम्म लाग्छ । बाटोमा हिंड्दै गर्दा, गाउँघरको कचहरीमा बस्दा पनि सजिलै यो टोपी बुन्न सकिन्छ । यसका लागि एकै ठाउँमा बस्नुपर्छ भन्ने हुँदैन । गफ गर्दै पनि आफ्नो काम गर्न सकिन्छ । खरायोले अधिकतम् घाँस खान्छ, धेरै दानापानी पनि धेरै नचाहिने सकसानहरु बताउँछन् । जङ्गली जनावरबाट जोगाउन भने होसियारी अपनाउनु पर्दछ । छोटो समयमै यसले बच्चा दिन्छ । तीन महिनामा एकपटक ऊनका लागि मुड्ने गरिन्छ । विगत १७ वर्षदेखि खरायो पाल्दै आएका सोही वडाका पदमबहादुर रोकायाले खरायोपालन व्यवसायले जीविकोपार्जनमा ठूलो सहयोग पुर्‍याएको बताए । उनको रोकाया खरायोपालन उद्योगमा हाल ९० वटा खरायो छन् । सोही गाउँका भैरव धरालाको पनि भुवानी कृषि तथा पशुपंक्षी पालन उद्योग छ । उनको उद्योगमा ८० खरायो छन् । यसले आफ्नो परिवारसहित गाउँका अन्य नागरिकलाई पनि रोजगारमा सहयोग पुर्‍याएको उनको भनाइ थियो । रोकायलाई गत आर्थिक वर्ष २०७९/८० मा पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लबाट एक लाख २८ हजार अनुदान दिइएको थियो । उनीसहित चन्दननाथ पाँचजना खरायोपालक किसानले अनुदान पाएका थिए । प्राप्त अनुदानमा उनीहरुले शतप्रतिशत रकम थपेर उद्योगमा लगानी गर्दा राम्रै आम्दानी लिन सफल भएको रोकायले जनाए । किसान रोकाय र धरालाका अनुसार तलिउम गाउँले वार्षिक ४२ लाख बराबरको टोपी बेच्ने गर्दछ । खरायोपालक किसानका अनुसार सामान्यतया तीन महिनाको अन्तरालमा खरायोको ऊन मोड्न उपयुक्त मानिन्छ । दुईदेखि पाँचवटा खरायोको ऊन सङ्कलन गरेपछि एउटा टोपीका लागि आवशयक ऊन पुग्दछ । तयार भएको एउटा टोपी तीन हजार पाँच सयमा गाउँमै बिक्री हुन्छ । स्वरोजगारीले छिटफुट युवा बाहेक दुई दशकदेखि उनीहरुलाई कालपहाड र खाडी मुलुक जानुपरेको छैन । खरायो पालनबाट जुम्लाका थुप्रै किसानले राम्रो आम्दानी लिन थालेका छन् । खरायोको ऊनबाट बनेको टोपीले जुम्लामा स्वरोजार हुनेको संख्या बढ्दै गएको छ । खरायोको ऊनबाट गुणस्तर टोपीहरु बन्ने र बजार माग राम्रो भएकाले धैरैका लागि खरायोको व्यवसाय उत्तम देखिएको हो । खरायोपालक किसानहरुका अनुसार मासु र टोपीबाट मासिक १५ हजार आम्दानी हुने गरेको छ । चन्दननाथ नगरपालिका तलिउम गाउँका धेरैले खरायोको टोपी व्यवसायको प्रमुख माध्यम बनाइरहेका छन् । उनीहरुले पनि मासिक बीस हजार तथा वार्षिक दुई लाख ४० हजारसम्म खरायोको टोपीबाटै आम्दानी गर्दै आएका छन् । खरायोको टोपीको आकर्षण बढ्दै गएपछि बिक्री पनि त्यसैगरी बढेको हो । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले चन्दननाथ नगरपालिकाको ८ र ९ वडालाई खरायोपालनको ‘हब’ बनाउनुपर्ने बताए । खरायोपालन गर्ने किसानको समस्या बुझ्न एकसाता अघि उनीहरुको घर जुम्लामै पुगेका मन्त्री शर्माले प्रदेश सरकारको अर्गानिक अभियानमा सहयोग पुर्‍याउने किसानलाई अनुदान दिइने जनाए । “व्यावसायिक खरायोपालनबाट यहाँको आर्थिक समृद्धिमा सहयोग पुग्ने देखिन्छ,” उनले भने, “साना किसानको जीविकोपार्जनमा सुधार ल्याउन भूमिका खेल्ने किसानका लागि उत्पादनमा अधारित अनुदान दिने कार्यक्रम बनाएका छौं,” मन्त्री शर्मा किसानका समस्या उनीहरुकै मुखबाट सुन्नका चन्दननाथ नगरपालिका तलिउम गाउँका खरायोपालक किसानको घरआँगनमै पुगेका थिए । उनले जुम्लालाई भेडा र खरायोको ऊनमा अनुदान दिइने बताउँदै चन्दननाथ ८ र ९ वडालाई खरायो उत्पदान स्रोत केन्द्रको रुपमा स्थापना गर्न किसानलाई अनुरोध गरे । तलिउम गाउँमा ऊनका लागि अङ्गोरा जातको खरायो पाल्ने गरिएको छ । कृषिमन्त्री शर्माले जुम्लामा भइरहेको खरायोपालन व्यवसायप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार चन्दननाथ–८ का सबैको घरमा पाँचदेखि २० वटासम्म खरायो पाल्दै आएका धेरै किसानले उद्योगमा दर्ता गरेका छैनन् । उनले भने, “तलिउम गाउँ खरायोपालनका लागि प्रख्यात भइसकेको छ । व्यवसायीकरण गर्न हामी लागिपरेका छौँ । स्थानीयस्तरमा बनेको टोपीले राम्रै बजार लिएको छ ।’’ धेरैको रोजाइमा खरायोको टोपी जुम्लामा स्थानीय तथा राष्ट्रियस्तरका जुनसुकै कार्यक्रममा आउने अतिथिलाई मौसमअनुसार स्याउको पोटिलो दाना दिएर स्वागत गरिन्छ भने बेमौसममा साँस्कृतिक प्रयोगमा आउने वस्तुहरुले । यहाँ आउने सबै पाहुनालाई उपहारका रुपमा खरायोको टोपी मायाको चिनो स्वरुप प्रदान गर्ने गरिन्छ । जुम्ला पुग्ने धेरैका लागि खरायोको टोपी रोजाइको विषय बन्दछ । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार धिमिरेले जुम्लाको खरायोको टोपी पहिचान बनेको बताए । उनले जिल्लाका सरकारी कार्यालयका प्रमुख, उच्च अधिकारीदेखि स्थानीय बासिन्दा तथा घुम्न आउने पर्यटकहरुले समेत कर्णालीबाट फर्किदाको चिनो स्वरुप खरायोको टोपी किन्ने गरेका जनाए । गाउँका सामान्य किसानहरुले कुनै मेसिन अर्थात प्रविधिजन्य उपकरण प्रयोग नगरी टोपी तयार गर्दछन् । ऊन काट्नेदेखि टोपी तयार पार्न उनीहरुले परम्परागत सीप र कौशल प्रयोग गर्दछन् । पहिरिँदा न्यानो, नरम अनि सान देखिने विशेषता बोकेको जुम्लाको खरायोको टोपीको चर्चा देशैभरि हुन थालेको छ । उच्चपदस्थ राष्ट्रसेवक कर्मचारीकाहरुले खरायोको टोपी खोजीखोजी किन्ने गरेको तलिउम गाउँका स्थानीय युवा धर्मसिंह कठायतले बताए । उनीहरुले बुनेको केही टोपी खुद्रा रुपमा बिक्री हुने गरेपनि चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले थोक रुपमा खरिद गर्दै आएको छ । किसानलाई तालिम र प्रविधिको खाँचो चन्दननाथका–८ का बिर्खबहादुर धरालाले खरायोपालन गर्दा व्यवस्थापनमा समस्या आएको बताए । सामान्यतया यसको गर्भवस्था जम्मा ३१ दिनको हुन्छ । खरायोमा १२ महिना नै बच्चा उत्पादन गर्ने क्षमता हुन्छ । यसलाई कुनै मौसम तथा वातावरणले असार पर्दैन । खरायोले एक पटकमा करिब सातदेखि १० सम्म बच्चा जन्माउन सक्छ भने सात महिनामै यो वयस्क हुने गर्दछ भन्ने पालेर बुझेको उनले जनाए । धरालाले भने, ‘हामीले तालिम पाएका छैनौँ । खरायो कसरी पाल्ने भन्ने कुरा थाहा छैन । यो अब हाम्रो सिकाइको पाटो भइरहेको छ । धरालाका अनुसार व्यावसायिक रुपमा खरायोपालन गर्दै जाँदा भाले र पोथीलाई फरकफरक ठाउँमा राखेर नै प्रजनन गराइन्छ भन्ने जानेका छौँ तर तालिम जरुरी छ ।’ उनका अनुसार दाना पिस्ने र ऊन काट्ने मेसिनको माग यहाँ किसानहरुले स्थानीय तथा प्रदेश सरकारसँग गर्दै आएका छन् । स्वरोजगारी निर्माण गर्ने र बाहिरिँदै गएको पैसोलाई आफ्नै ठाउँ भित्र्याउने किसान, व्यापारी तथा उद्योगीहरुलाई राज्यले प्रोत्साहन दिने खालका कार्यक्रम ल्याउनुपर्ने उनीहरुले सुझाव दिएका छन् । रासस

घिसिङलाई प्रधानमन्त्रीको निर्देशन – डेडिकेटेड फिडर र ट्रङ्क लाइन विवाद समाधान नभएसम्म विद्युत नकाट्नु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भईरहेको र यसबारे निक्र्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री दाहालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी उक्त निर्देशन दिएका हुन् । उनले यससम्बन्धी विषयमा महासंघ, विद्युत नियमन आयोग र प्राधिकरणलाईसँगै राखेर छिटै टुङ्गोमा पुर्याउने बताए । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता महशुल १५ दिनभित्र चुक्ता गर्न भदौ १७ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा बक्यौता महशुल चुक्ता नगर्ने उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्ने जनाएको थियो । महासंघले अहिलेको आर्थिक संकटको समयमा उद्योग व्यवसायहरु ४० प्रतिशत भन्दा कम क्षमतामा सञ्चालन भैरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्री दाहाललाई दिएको छ । ‘अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ, थप समस्या सिर्जना गरिदिनु भएन,’ महासंघ अध्यक्ष ढकालले भने । कोभिड महामारीपछि उद्योग व्यवसाय निरन्तर संकटमा रहेको र यस अवस्थामा उद्योग व्यवसायको विद्युत काट्दा व्यवसायी थप हतोत्सायी हुने महासंघको धारणा छ ।