लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्दथ्यो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन्। ११०औं बिपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरु विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताए । उनले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गरे । उनले अबको ४ वर्षसम्म काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने बताए । उनले नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । उनले धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको बताए। उनले भने, ‘नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी छ । नेपाललाई टुरिस्ट हब बनाउन सकिन्छ । अब भारत र चिनियाँ पर्यटकहरुलाई बढी ल्याउनुपर्छ, हामीले पूर्वाधारमा राम्रो लगानी गर्नुपर्छ । हाम्रो धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन सकेको छैन । हाम्रो कतिपय प्राथमिकतालाई सही यकिन गर्न सकेका छैनौँ । निजगढको विषयमा गर्ने नगर्ने भन्ने धेरै भयो । फास्ट ट्रयाक भएपछि ४५ मिनेटमा काठमाडौं आउन सकिन्छ । त्यो एयरपोर्टलाई हामीले उच्च प्राथमिकता दिनु नै पर्छ । ४ वर्षसम्म एयरपोर्ट बनाइसक्नेछौँ ।’ मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको बताए । उनले आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने बताए । उनले परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र र सरकारले सहयोगीको भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले शिक्षा र स्वास्थ्य, पूर्वाधारमा अझै सरकारले लगानी बढाउनुपर्ने बताए । उनले भने, ‘हाम्रो देश धेरै काम गर्न बाँकी भएको देश हो । बाहिर जाने हो सानो कुरामा बस्नुपर्छ । यहाँ तपाई आफैँ इन्चार्ज बन्न सक्नुहुन्छ, यहाँ धेरै गर्नसक्ने सम्भावना छ । यहाँ ठूलो भविष्य छ । र नेपालमा आर्थिक क्रान्ति हुनसक्छ, हामी केही होइन, छोडौँ, यो देश भन्ने लघुतावास राख्नु हुँदैन । त्यसमा सरकारले सहयोगीको भुमिका निर्वाह गर्नुपर्छ । शिक्षा र स्वास्थ्य, पूर्वाधारमा अझै सरकारले लगानी गर्नुपर्छ । बाँकी उत्पादनमा निजी क्षेत्रलाई छोड्नुपर्छ। वितरणको कुरा छ, त्यसमा सरकारले जिम्मा लिनुपर्छ । वितरणको नेतृत्व सरकारले गर्ने हो, उत्पादनमा मेन सहायक हुने हो, निजी क्षेज्ञलाई ड्राइभर बनाउने हो ।’
आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपिए नेपाल प्रतिनिधिबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो । नेपाल प्रतिनिधि होङले राष्ट्रिय योजना आयोगले बनाइरहेको १६औँ योजनाको विषयमा चासो राखेकी थिइन । साथै यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सुधारमा सरकारले गर्ने प्रयासमा युएनएफपिएको सहयोग रहने बताइन् । होङले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन् । अन्तरराष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन् ।
काठमाडौं महानगरले सार्वजनिक गर्यो तत्काल गर्नुपर्ने कामको सूची
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिएका छन् । तत्काल गर्नुपर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन, स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनलगायतका छन् । साथै सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडास्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया) निर्माण, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन, ऐन कार्यान्वयनको अवस्था, आवश्यकपर्ने कार्यविधि निर्माण, महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनलगायत रहेको महानगरको भनाइ छ । आकाशे पुलमा सिसाका बार बनाउने, सडक पेटीलगायत संरचनाको नियमित मर्मत सम्भार, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण पनि सूचीमा समावेश गरिएको छ । महानगरको कार्यालय काठमाडौँ प्लाजामा स्तनपान कक्ष निर्माण गराउने विषय पनि सूचीमा राखिएको छ । महानगरले गत साता पनि सबै वडालाई सार्वजनिक शौचालयको नमूना प्रदान गरी आवश्यक स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न निर्देशन दिएको थियो । विगत केही वर्षदेखि नै महानगरले सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने भने पनि अहिलेसम्म निर्माण अघि बढाउन सकेको छैन । महानगरले चालु आवमा भौतिक पूर्वाधार निर्माणका लागि सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ रकम विनियोजन गरेको छ ।
‘इन्ट्राडे’ कै उच्च बिन्दुमा पुग्यो परिसूचक, सिद्धार्थ प्रिमियरसहित चार कम्पनीको सेयरमा सर्किट
काठमाडौं । सोमबारको सेयर बजार ४४.३० अंकले बढेको छ । नियमित समयसम्म भएको कारोबारमा परिसूचक अघिल्लो दिनको तुलनामा २.२८ प्रतिशतले बढेर १९८६.९९ बिन्दुमा पुगेको छ । उक्त बिन्दु ‘इन्ट्राडे’को तुलनामा उच्च हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आइतबार एक अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबारमा आएका कूल २७८ वटा स्क्रीप्समध्ये साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सर्वाधिक कारोबार भएको छ । कर्पोरेशनको एकैदिन ६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ हजार ७ सय रुपैयाँ छ । बजारमा चार कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा तीन वटा हाइड्रोपावर र एउटा बीमा कम्पनी रहेका छन् । थ्री स्टार हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३७८ रुपैयाँ पुगेको छ । मेनछिय्म हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २१५ रुपैयाँ, मोलुङ्ग हाइड्रोपावर कम्पनीको ९.८७ प्रतिशतले बढेर प्रतिकित्ता १८२.६० रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता ७९१ रुपैयाँमा सेयर कारोबार भएको छ । सोमबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जीवन बीमा सूमह सबैभन्दा बढी ३०४.५६ अंकले बढ्दा म्युचुअल फण्ड समूह सबैभन्दा कम अर्थात ०.०९ अंकले बढेको छ ।
किड्जीले गर्यो जोएफुल पेरेन्टिङका बारेमा प्यानल छलफल
काठमाडौं । किड्जी, एशियाकै व्यापक प्री स्कुल चेनले शनिबार काठमाडौंको होटल रोयल सिङ्गीमा जोएफुल पेरेन्टिङ इन मोर्डन टाइम्स बिषयमा प्यानल छलफल आयोजना सम्पन्न गरेको छ । बालबालिकाको मानसिकता, प्रारम्भिक बाल्यकाल समयको महत्वबारे अभिभावकहरुलाई जागरुक गराउने उदेश्यका साथ यो अभियान सुरु गरिएको हो । कार्यक्रममा विशेष आवश्यकता भएका विद्यार्थीहरुलाई प्रारम्भिक इन्टरभेसनको महत्व को बारेमा पनि छलफल भएको थियो । कार्यक्रमका मुख्य वक्ताहरु डा. मञ्जु श्रेष्ठ (कन्सल्टेन्ट बाल रोग विशेषज्ञ) शमेद कतिला श्रेष्ठ (बाल फिजियोथेरापिस्टे) श्रमिती कविता अर्याल (औपचारिक विद्यालय प्रिन्सिपल) श्रीमती सुनिता चौहान (सामाजिक अभियन्ता) श्रीमती नेहा अवस्थी (शैक्षिक प्रबन्धक, किड्जी) सबैले अभिभावकत्वलाई कसरी रमाइलो बनाउन सकिन्छ र यसको दीर्घकालीन प्रभावबारे सहभागीहरूलाई जागरुक बनाउन सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए । किड्जीले हालसम्म २००० भन्दा बढी केन्द्रहरूको नेटवर्कका साथ १५ लाख विद्यार्थीहरूको पालनपोषण र प्रशिक्षण गरिसकेको छ । अहिलेसम्म एक लाख भन्दा बढी शिक्षकहरूलाई तालिम दिईसकेको छ । किड्जी नेपालका ५ ठूला शहरका १४ स्थानमा आफ्नो उपस्थितिका साथ अघी बढिरहेको छ । प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी, २० वर्ष भन्दा बढीको विरासतका अनुभवका साथ किड्जी को सिद्धान्तद्वारा निर्देशित, बालबालिकाको लागि सिक्ने र बढ्ने पोषक लिने ठाउँ हो ।
नेपाल लाइफका यी चार अभिकर्ता : जसले सिंगापुरमा फहराए नेपाली झण्डा
काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै नेपाल लाइफ इन्स्यारेन्सका ४ जना एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी विश्व सम्मेलनमा सहभागिता जनाएका छन् । २७ देखि ३० अगस्टसम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७ हजार ५०० जनाको उपस्थिति रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा राम चन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकीले सहभागिता जनाएका थिए । उनीहरुले अन्तरराष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको बताएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए । यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने उनको भनाई छ । कम्पनीले धेरै भन्दा धेरै अभिकर्ताहरुलाई एमडीआरटी बन्न उत्प्रेरणा प्रदान गरिरहेको उनले बताए । विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल सम्मेलन सिंगापुरमा सम्पन्न गरेको हो ।
सहकारीको दर्ता र शाखा विस्तार रोक्न सुझाव
काठमाडौं । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि बनेको सहकारी क्षेत्र सुधार कार्यदलले नयाँ सहकारीको दर्ता तथा भएका सकारीको शाखा विस्तारमा रोक लगाउनु पर्ने राय दिएको छ । योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा बनेको ‘सहकारी क्षेत्र सुधार कार्यदल’ले सो सुझाव दिएको छ । कार्यदलले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारीमा छ । कार्यदलका सदस्य तथा भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोकणर्मी दुवाडीले कार्यदलले नयाँ सहकारी दर्ता रोक्नु पर्ने सुझाव दिएको बताएका छन् । उनका अनुसार कार्यदलले तत्कालीन, अल्पकालीन र दीर्घकालीन भनेर तीन थरी सुुझाव तयार पारेको छ । ‘अहिले सहकारीको संख्या धेरै छ, स्वनियमनमा सहकारीहरु दर्ता भएर सञ्चालन भएको छैन भन्ने कार्यदलको निश्कर्ष छ, कार्यदलले तत्कालका लागि नयाँ सहकारी दर्ता बन्द गरेर, भएका सहकारीको क्षेत्र तथा शाखा विस्तारलाई स्थगित गर्नु पर्ने सुझाव दिएको छ,’ उनले विकासन्युजसँग भने ।
नेपाल टेलिकमको टिकटक च्यालेन्ज, विजेताले ४० हजार पाउने
काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज भाद्र २४ देखि प्रारम्भ भएको छ र आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने छ । विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने कम्पनीले जनाएको छ । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टप अप प्रदान गरिने छ । नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ ।