विकासन्युज

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको भइरहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । काठमाडाँैसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए । यसैगरी आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

प्रभु सेलेक्ट फण्डको लाभांश घोषणा

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डको लाभांश घोषणा भएको छ । भदौ २५ गते सोमबार साँझ ५ बसे बसेको योजना व्यवस्थापक प्रभु क्यापिटलको सञ्चालक समितिले इकाइधनीलाई करसहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सो मात्राको नगद लाभांश दिने निर्णय गरेको हो ।

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल रकम हिनामिना गरेको आरोपमा पक्राउ

काठमाडौं । प्रहरीले पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ललितपुर गोदावारी नगरपालिका–४ बस्ने ४२ वर्षीय कुमार रम्तेललाई ललितपुर महानगरपालिका–१४ कुमारीपाटीबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा कास्की प्रहरीको टोलीले रम्तेललाई केही समयअघि काठमाडौँबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उनका अनुसार कोषाध्यक्ष रम्तेलविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएअनुसार पक्राउ गरिएको हो । सूर्यदर्शन सहकारीका सञ्चालकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९७१ जना बचतकर्ताहरूले रकम हिनामिना गरेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

माईखोला हाइड्रोले स्थगित साधारण सभा पुनः बोलायो, बुक क्लोज मिति पनि परिवर्तन

काठमाडौं । माईखोला हाइड्रोपावरले स्थगित गरेको वार्षिक साधारण सभा पुनः आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकले असोज १८ गते विहान १० बजे काठमाडौंको लर्ड पार्टी भेन्यु धुम्बाराहीमा साधारण सभा बोलाएको हो । यसअघि गत भदौ १७ गते सञ्चालक समितिको बैठकले असोज ९ गते वार्षिक साधारसभा बोलाएको थियो । ५ दिन अर्थात् भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले प्राविधिक कारण असोज ९ गते साधारण सभा सम्भव नरहेकाले स्थगित गरेको सूचना नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत् जानकारी गराएको थियो । कम्पनीले हाल कायम सेयर पूँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले १ः१ अनुपात अर्थात् हाल १ कित्ता सेयर भएका सेयरधनीहरुले नयाँ १ कित्ता पाउने छन् । कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७९÷८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । यस्तै, सञ्चालक समितिले गरेका निर्णय र कामकारवाहीहरु तथा संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्नेछ । कम्पनीको सभाले अन्य लगानी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, संस्थापकबाट ४ जना, सर्वसाधारणबाट २ जना र १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असोज ३ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् । एक्कासी किन स्थगित गरियो माईखोला हाइड्रोको साधारण सभा ? माईखोला हाइड्रोले १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने, बुक क्लोज मिति तय

२२५ रुपैयाँमा सोनापुरको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीयले आज भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीयलाई अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतम १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

काठमाडौं । इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाउनुभएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य रहेका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए । विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोलन विसं २०६२÷६३ सँगै पुनःस्थापित संसद्का सभामुख थिए । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष थिए । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनी चारपटक सभामुख हुँदा उनी सधैँ सर्वसम्मत नै बने । नेम्वाङको अवसानले इलाम शोकमग्न नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ । इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए । उनले देश र जनताका लागि पुर्याउनुभएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताएका छन् । ग्त आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए । “पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ”, उनले भने, “इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।” “उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो”, नेकपा ९एकीकृत समाजवादी० इलामका अध्यक्ष भक्त केसीले भन्नुभयो, “उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ ।” राजजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भने, “म धेरै राजनीति त जान्दिनँ तर उहाँको ब्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको खबरले स्तब्ध भएँ ।” नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उहाँले चाल्नुभएको कदम बिर्सन नसकिने बताएका छन् । “कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुहुन्थ्यो”, उनले भने, “सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु ।” माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, “उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।”

एमाले नेता सुवास नेम्वाङको निधन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। साढे १ बजे अस्पताल पुर्‍याइएका उनको केही बेरअघि निधन भएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका नेता अहिले शिक्षण अस्पतालमा छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

मर्सिडिज गाडी बेचेर बाल अस्पताललाई पौने दुई करोड सहयोग

काठमाडौं । आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई एक करोड ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । फाउण्डेशनले काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच-काठमाडौं बाल अस्पताल ‘हब’ को भवन निर्माणका लागि एक करोड ८० लाख रुपैयाँ सहयोग गरेको हो । अस्पताल निर्माणका लागि सहयोग जुटाउन प्रयत्नशील फाउण्डेशनका संस्थापक समाजसेवी एवं गायक आनी छोइङ्ग डोल्माले विशिष्टकृत बाल स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘अस्पतालको भवन निर्माणका लागि आफूसँग भएको मर्सिडिज गाडी बिक्री गरेर भए पनि सहयोग गर्न पाएकोमा खुसी छु’, उनले भनिन्, ‘एउटै छानामुनी विशिष्टकृत बाल स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालका शाखा देशका अन्य स्थानमा पनि स्थापना गर्न मैले सक्दो सहयोग गर्नेछु ।’ अस्पतालका अध्यक्ष डा भगवान् कोइरालाले नेपालमा अझै मातृ तथा शिशु मृत्युदर उच्च रहेकाले त्यसलाई कम गर्न पहिलो चरणमा काठमाडौंमा विशिष्टकृत बाल अस्पताल स्थापना गर्न लागिएको भन्दै सातै प्रदेशमा यस्ता अस्पताल स्थापना गर्दै जाने लक्ष्य रहेको बताए । ‘अहिले देशभरमा करिब २८ हजार शैय्या रहेकामा दुई हजार आठ सय जति मात्र बालबालिका शैय्या रहेको छन् । त्यसमा पनि झण्डै ८० प्रतिशत शैय्या, चिकित्सक र नर्स बागमती प्रदेशमा केन्द्रित छन्,’ डा कोइरालाले भने, ‘देशभर विशिष्टकृत बाल स्वास्थ्य सेवा विस्तार गर्न सबैको सहयोगको आवश्यकता छ ।’ बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्दै आएको गैरनाफामुलक संस्था किओचले कोशी प्रदेशको झापा जिल्लास्थित दमकमा किओच-दमक बाल अस्पताल स्थापना गरेर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ । सेवा सुरु गरेको चार महिनामा अस्पतालले आठ हजार तीन सय जनालाई बहिरङ्ग सेवा र एक हजार आठ सय ५० जनालाई अन्तरङ्ग सेवा उपलब्ध गराएको डा. कोइरालाले जानकारी दिए । रासस