सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेप व्याप्त, प्रभावकै कारण बढेन कर
काठमाडौं । सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको परोक्ष र अपरोक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगहरुले नीतिगत तहमा नै प्रभाव पारेकै कारण सुर्तीको कर वृद्धि हुन नसकेको उल्लेख गरिएको छ । विश्वका ८० वटा मुलुकमा गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्वन्धि अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै विज्ञहरुले सुर्तीले जनताको स्वास्थ्य मात्रै विगार्ने नभइ समग्र सामाजिक, आर्थिक अवस्था विगार्ने बताए । विश्व स्वास्थ्य संगठनका डा. लोनिम प्रसाइँले सुुर्ती नियन्त्रणमा नेपालको स्थिति खराब हुँदै गएको बताइन । उनले भनिन्,‘ गरिबले सुर्ती र मदिरामा गर्ने खर्च आम्दानीको ५० प्रतिशतभन्दा वढी रहेको पाइएको र उनीहरुले शिक्षा र स्वास्थ्यलाई भन्दा नशालाई प्राथमिकता दिने गरेका कारण यसलाई प्रतिवन्ध नै गरिनुपर्दछ । ’ धुम्रपान गर्ने व्यक्तिका कारण धुम्रपान नगर्ने व्यक्तिहरुलाई पनि उत्तिकै असर गर्ने गरेका कारण सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गर्न तीनवटै तहका सरकार लागिपर्नु पर्ने धारणा उनले राखिन् । वरिष्ठ जनस्वास्थ्यविद प्राडा.शरदराज वन्तले सुर्ती स्वास्थ्यसँग मात्र सम्वन्धित नभइकन बहुआयामिक भएकाले यसले समग्र अर्थतन्त्रमा असर पार्ने स्पष्ट पारे । जनताको स्वास्थ्य र समग्र जीवन नै खराब पार्ने तत्वलाई राज्यको कर उठ्ने तत्वको रुपमा नलिइकन प्रतिवन्धतर्फ जानुपर्ने धारणा उनले राखे । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.दिपेन्द्ररमण सिंहले सुर्तीमा मात्रै नेपाली जनताले वर्षेनी १ खर्ब २१ अर्ब रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक प्रस्तुत गरे । ९० लाख जनताले सुर्ती सेवन गर्ने गरेको र सुर्ती सेवनकै कारण थप करोडौं रुपैयाँ स्वास्थ्य उपचारमा खर्च हुने गरेको दृष्टान्त उनले प्रस्तुत गरे । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालका राष्ट्रिय संयोजक शान्तलाल मुल्मीले सुर्तीजन्य वस्तुको प्रवद्र्धन र उत्पादन बन्देजको नै आवश्यकता भइसकेको अवस्थामा कानुन बमोजिम सुर्तीमुक्त सार्वजनिक स्थल नै घोषणा गर्न नसकेको बताए । सुर्तीजन्य पदार्थलाई बन्देज लगाएको खण्डमा नाफाखोर उद्योगीलाई बाहेक राज्य र जनतालाई फाइदा नै हुने उनले बताए । सुर्ती उद्योगको हस्तक्षेपसम्वन्धि अध्ययनकर्ता समेत रहेका मुल्मीले नेपालको कानुनले र सुर्ती नियन्त्रणसम्वन्धी अन्तराष्ट्रिय अभिसन्धि (एफसीटीसी ) गाइडलाइनले पनि कुनै पनि नाममा सुर्तीको प्रचारप्रसार गर्न नपाइने उल्लेख गरेता पनि सुर्ती उद्यमीले चलाखीपूर्ण तवरले ब्राण्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने, कानुन कार्यान्वयनमा भाँजो हाल्ने काम निरन्तर रुपमा भइरहेको बताए । सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपसम्वन्धि अध्ययनका अर्का अध्ययनकर्ता पूर्णभक्त दुवालले उद्योगीको प्रभावकै कारणले चुरोट सेवनको नियन्त्रण गर्न प्रहरी प्रशासन फितलो देखिएको पाइएको बताए । सुर्ती उद्योगले गैरकानुनी तवरले सामाजिक उत्तरदायित्वको नाममा काम गरी प्रचार गर्ने गरेको, विभिन्न चलचित्रहरुमा कलाकारलाई धुम्रपान गर्न लगाएको, सुर्ती उद्योगीसँग सरकारी निकायको कुनै पनि वैठकमा वस्न नहुने भएतापनि सरकारी निकायहरुले बेवास्ता गर्दै वैठकहरुमा सरोकारवालाका नाममा बस्न दिइरहेको बताए । अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालय, उद्योग मन्त्रालयले वैठकमा सहभागी व्यक्तिहरुको नामावली सार्वजनिक नगरीकन अप्रत्यक्ष रुपमा सुर्ती उद्योगीको कुरा सुनिरहेको र तिनीहरुसँग गरेका छलफल र निर्णय पारदर्शी नगरी हस्तक्षेप निम्त्याइरहेको अध्ययनबाट देखिएको जानकारी उनले दिए । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल बागमति प्रदेशका संयोजक रत्नश्वरी चवालले सुर्तीको कुनै पनि प्रचार प्रसार र प्रवद्र्धन गर्न नहुने कानुनी व्यवस्था हुँदा हुँदै पनि सुर्ती उद्योगले विभिन्न नाममा प्रायोजनमा बजारीकरण गरिरहेको बताउँदै स्थानीय र प्रदेश सरकार पनि सुर्ती नियन्त्रणमा संघीय सरकारजस्तै निकम्मा रहेको आरोप लगाइन् । मधेश प्रदेशका संयोजक पार्थो सरकारले भारतबाट हुने र नेपालबाट हुने गैरकानुनी सुर्ती व्यापारले नेपालको अन्तराष्ट्रिय क्षेत्रमा बेइज्जत भइरहेको बताए । लुम्बिनी प्रदेश संयोजक पूर्णलाल चुकेले करको नाममा सुर्ती उद्योग खराब होइन भने भ्रम छर्ने काम भइरहेको र विद्युतीय चुरोटहरुले पनि उत्तिकै स्वास्थ्य विगार्ने तथ्य प्रस्तुत गरे । गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले जनताको स्वास्थ्य अधिकारका लागि नागरिक समाजले निरन्तर दबाब दिइ नै रहेको तर सरकारले नसुनेको जस्ते गरिरहेको बताए । मंगलवार सार्वजनिक भएको प्रतिवेदन अनुसार सुर्ती उद्योगले सुर्ती नियन्त्रण ऐन र जनस्वास्थ्य ऐनको वर्खिलाप हुने गरी सुर्ती उद्योगले विभिन्न विद्यालयलाई आर्थिक सहयोग, दिने, एम्बुलेन्स खरिदलगायतमा सहयोग गरेर सुर्ती उद्योग खराब होइन भने भ्रम छर्ने काम गरेको छ । कोभिडको समयमा विभिन्न अस्पतालहरुमा अक्सिजन प्लान्ट बनाउन सरकारले सूर्य नेपालबाट सहयोग दिएको गैरकानुनी रहेको प्रतिवेदनमा उल्लेख छ । सूर्य नेपालर्ला वर्षेनी सर्वोत्कृष्ट करदाताको रुपमा राज्यबाट सम्मान गरेर राज्यले सुर्ती उद्योगलाई प्रवद्र्धन गरिरहेको प्रतिवेदनमा उल्लेख छ । सूर्य चुरोटलाई प्रवद्र्धन गर्नका लागि सूर्य नेपालकै नाममा स्पोन्सर गर्ने गरेको, सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता गरेर कानुनको खिल्ली उडाएको प्रतिवेदनमा उल्लेख छ । सूर्य नेपालले आफ्नो कम्पनी राम्रो हो भन्ने पार्नका लागि तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । बाराको सिमरामा मुख्य कारखाना रहेको प्रा.लिको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले नगरप्रमुख किसान गुरुङलाई भन्सार छुटमा ल्याइएको १० लाख ५० हजार पर्ने महिन्द्रा कम्पनीको एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको पनि प्रतिवेदनमा उल्लेख छ । सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा क्रमश शुक्लागण्डकी नगरपालिकालाई ३० लाख र म्याग्दे गाउँपालिकालाई २० लाख सहयोग गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । सूर्य नेपाल प्रालिले नेपाली सेना र गैर सरकारी संस्था ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट नेपाल’ सँग साझेदारी गरेको पनि सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेपको रुपमा लिइएको छ। रुपैयाँ सहयोग गरेको हो। सफा हिमाल अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्नपूर्ण र लोत्सेको सफाई गरिएको थियो । सुर्तीको कुनै पनि प्रचार प्रसार र प्रवद्र्धन गर्न नहुने कानुनी व्यवस्था हुँदा हुँदै पनि सुर्ती उद्योगले विभिन्न नाममा प्रायोजनमा बजारीकरण गरिरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेप व्याप्त रहेता पनि नेपाल विश्वभरीको प्रतिवेदनमा हस्तक्षेप नहुने मुलुकहरुको दोस्रो श्रेणीमा परेको छ ।
वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने
काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्य गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट ए.जि.एम. नबराज कोइराला र प्रभु बैंकका तर्फबाट सि.बि.ओ. रेनु प्रसाद पान्डेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने छ । २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ । वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो । ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल जीएसईभी प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ । अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ । रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
मंगलबार एसबीआई बैंकको सर्वाधिक कारोबार
काठमाडौं । मंगलबारको बजारमा नेपाल एसबीआई बैंकको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २७६ वटा स्क्रिप्समध्ये एसबीआई बैंकको सबैभन्दा बढी अर्थात ७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता ३३८ रुपैयाँ छ । जुन अघिल्लो दिनको तुलनामा २ रुपैयाँले घटी हो । सोमबारको बजारमा बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको थियो । समग्र बजारमा ३९ लाख १६ हजार कित्ता सेयर एक अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । उक्त कारोबार रकम अघिल्लो कारोबारको तुलनामा घटी हो । सोमबारको बजारमा एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार कारोबार मात्रै नभई सेयर मूल्य मापक नेप्से परिसूचक पनि घटेको छ । बजारमा परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९७ प्रतिशतले घटेको हो । घटेको बजारमा पनि शुभम् पावरको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८१४.६० रुपैयाँ पुगेको छ । सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घट्ने सूचीमा थ्री स्टार हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ३४०.२० रुपैयाँमा झरेको छ । मंगलबार म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।
अर्थतन्त्रले सुधारको बाटो लिइसक्यो, सेयर मार्केटलाई भने सेफ ल्यान्डिङ गराउनु पर्छ- अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले पैसा नचलेर अर्थतन्त्र नचलेको बताएका छन् । मंगलबारदेखि भृकुटीमण्डपमा सञ्चालन भएको १५ औं संस्करण ‘नाडा अटो शो २०२३’ को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पैसा नभएर अर्थतन्त्र नचलेको हैन, पैसा नचलेर अर्थतन्त्र नचलेको हो,’ उनले भने- ‘खर्च गर्नेले खर्च गरौं, सरकारी परियोजना पनि अगाडि बढाऔं ।’ ‘अर्थतन्त्रमा समस्या छ तर सुधारको संकेत देखिइरहको छ,’ उनले थपे- ‘अहिले जग्गा कित्ताकाटको समस्या समाधान भएको छ, विस्तारै अब जग्गाको बिक्री बढ्छ, अटो क्षेत्र पनि चलायमान हुन्छ, आयात पनि बढ्न थालेको छ, निर्यात पनि विस्तारै बढाउँदै जाने छौं ।’ निजी क्षेत्र नै अर्थतन्त्रको वाहक भएकाे उनले बताए । सामाजिक र आर्थिक पूर्वाधारमा निजी क्षेत्र आउन हिच्किचाए पनि अन्य क्षेत्रमा निजी क्षेत्रको निकै ठूलो भूमिका रहेको बताउँदै अर्थमन्त्री डा. महतले सरकारले निजी क्षेत्रको भूमिकालाई उच्च प्राथमिकता दिएको बताए । कार्यक्रममा बोल्दै उनले सेयर मार्केटमा समस्या आएकोले यसलाई सेफ ल्यान्डिङ गर्न जरुरी रहेको बताए । सरकारले ईभीलाई पनि प्राथमिकता दिएको बताउँदै उनले ईभीमा लागेको कर पनि धेरै नबढ्ने बताए । विगतमा लक्जरीको रूपमा हेरिने अटोमोबाईल क्षेत्रबाट अहिले सबैभन्दा बढी राजश्व संकलन भएको उनको भनाई छ । त्यस्तै, उनले चार्जिङ् स्टेशनलाई पनि विस्तार गर्दै लाने र अटोका सोरूमलाई मर्ज गर्नुपर्ने अवस्था देखिएको बताए ।
अर्थतन्त्रलाई चलायमान बनाउन बैंकको ब्याज घट्नु पर्छ : अध्यक्ष अग्रवाल
काठमाडौं । उद्योग परिसंघ नेपाल (सीएनआई) का अध्यक्ष राजेश कुमार अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बैंकको ब्याज घटाउनु पर्ने बताएका छन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले सो बताएका हुन् । ‘निजी क्षेत्रको मनोबल घट्दो छ, अर्थतन्त्र मन्दीमा छ, अर्थतन्त्रलाई चलायमान बनाउने गरि मौद्रिक नीति आएको छैन, अर्थतन्त्रलाई चलायमान बनाउन भए पनि बैंकको ब्याज घट्नु पर्छ,’ उनले भने । त्यस्तै, उनले बैंकमा पैसा हुँदा पनि उद्योगीले लोन नपाएको बताउँदै मन्दिमा रहेको अर्थतन्त्र उकास्न व्यवसायीको मनोबल बढाउनु पर्ने बताए । साथै, उनले उच्च व्याजदरका कारण उद्योग फष्टाउन नसकेको बताए । मंगलबारदेखि शुरु भएको अटो शोले पनि बजार चलायमान बनाउने उनको भनाई छ । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र प्रसाद ढकालले पनि निजी क्षेत्रले दिएको सुझावको सम्बोधन नभएको गुनासो गरे । ‘हामीले दिएको सुझाव व्यापारीको फाईदाको लागि हैन, यो समग्र आर्थिक स्थिति हेरेर सुझाव दिएका छौं, यसमा पनि सरकारको ध्यान जाओस्,’ उनले भने ।
रियलमीको डिस्ट्रिब्युटर मीट २०२३ सम्पन्न
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मीट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । गत शनिबार भाद्र २३ गते काठमाडौंको नक्सालस्थित मेरियट होटलमा आयोजना गरिएको उक्त डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलरहरु सहभागी भएका थिए । आफ्ना डिस्ट्रिब्युटरहरुसँगको समबन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले यस डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै, डिस्ट्रिब्युटरहरुसँग पारदर्शी सन्चार कायम राख्न तथा उनीहरुले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरुका समाधान खोज्न पनि यस डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । डिस्ट्रिब्युटर मीटलाई सम्बोधन गर्दै रियलमी नेपालका कन्ट्री हेड श्री मुनिश गिरीले भने, ‘यस डिस्ट्रिब्युटर मीटमा उपस्थित हुनु भएका समस्त डिस्ट्रिब्युटरहरुप्रति हामी आभारी छौँ । डिस्ट्रिब्युटरहरुको लगातार मेहेनत र लगनशीलता नै हाम्रो सफलताको कडी हो । हामीलाई विश्वास छ कि हामी यसै गरि समन्वया गर्दै नेपाली प्रविधिमा नयाँ आयाम थप्नेछौँ र अझै प्रतिबद्ध भएर अगाडि बढनेछौँ ।’ उक्त कार्यक्रममा नेपालभरका डिस्ट्रिब्युटरहरुलाई उनीहरुको अटल सहयोगको कदरस्वरूप प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल र पशुपति ट्रेड लिंकका कर्मचारीहरुको पनि उपस्थति रहेको थियो ।
त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद
काठमाडौं । एक किलो अवैध सुन त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो । उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भई हाल टोखा नगरपालिका–१० बस्ने २७ वर्षीया तुलसा वाग्ले (अधिकारी) तथा झापाको गौरादह नगरपालिका–७ घर भई हाल काठमाडौँको कागेश्री मनोहरा नगरपालिका–१ सानटारी बस्ने २४ वर्षीय सुजन पुरी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । वाग्लेलाई खिमलाल बुढामगरसमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै रकम ठगी गरी फरार रहेको तथा पुरीलाई भूमिराज राईलाई क्यानडा पठाइदिने भन्दै १० लाख ८५ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।