विकासन्युज

छोरा कुरिरहेका बा !

बागलुङ । आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ । बागलुङको बागलुङ नगरपालिका-१३ पैयुँपाटाका ७० वर्षीय केशवराज पाठकलाई पनि त्यस्तै लागेको थियो । तर उनी चाहेर पनि आफ्नो सन्तान सँगसँगै हुन पाएका छैनन् । अहिले उनी मानव सेवा आश्रम बागलुङमा आश्रय लिएर बसेका छन् । हरेक दिन आश्रमको प्रवेशद्वार नजिकै अनुहार चाउरिएको, सेतै कपाल फुलेका तथा हातमा सानो मोबाइलमा गीत बजाएर सुनिरहेको अवस्थामा भेटिने पाठक आफ्ना छोराहरु लिन आउँछन् भन्ने आशमा छन् । उनको निन्याउरो अनुहारमा धेरै निरास र अलिअलि आशाका किरण देखिन्छन् । पाठकले मानवसेवा आश्रमभित्र प्रवेश गर्ने सबैलाई नमस्ते गर्दै स्वागत गर्ने गर्छन् । पाठक दुई वर्षदेखि मानव सेवा आश्रममा बस्दै आएका छन् । उनी घरीघरी छोराहरुलाई सम्झन्छन् । तर छोराहरु भने उनलाई सम्झँदैनन् । पाठकका तीन भाइ छोरा हुन्छन् । जेठो र माइलो भारतको वनरासमा छन् भने कान्छो छोरा भने कुवेतमा छन् । पाठकका दुई बुहारी र छ नातीनतिना पनि हुन्छन् तर उनलाई कसैले पनि सम्झिन्न् । तीन वर्ष अगाडि श्रीमती गुमाएका पाठक कान्छी बुहारीसँग केही महिना बिताए । पोखराबाट लुम्बिनी जाने क्रममा बीच सडकमै अलपत्र पारेर छोरा बुहारी सम्पर्कविहीन भएपछि पाठक बागलुङ फर्किए । बागलुङ फर्किएपछि मानव सेवा आश्रममा आउए । अहिले पाठकको दैनिकी आश्रममै बित्ने गरेको छ । आज भाद्र कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजको दिनले पाठकलाई निकै पिरोल्ने गर्छ । छोराहरुले सानो छँदा बाबा भनेर आङ्गालो र ठियुँमा झुन्डिएको यादले यहाँलाई सताउने गर्छ । अहिले तिनै छोराले नसम्झिँदा मन दुख्ने पाठकले बताए । छोराहरु हुर्काउन, बढाउन र पढाउन आफूले निकै सङ्घर्ष गरेको सुनाए । अझै पनि छोराहरुले आफूलाई साथैमा लिएर पाल्ने आश उनमा छ । तर जेठो र माइलोसँग चार वर्षदेखि र कान्छोसँग तीन वर्षदेखि उनको सम्पर्क भएको छैन । ‘म सामान्य परिवारको मान्छे हुँ, मेरा छोराहरुले दुःख पाउँछन् भनेर मैले २० वर्ष भारतमा रगत पसिना बगाएर धन कमाएँ, बुढीले गाउँघरमा हात खुट्टा बजारेर उनीहरुलाई हुर्काइन्, उनीहरुले पढ्न जाहे जति पढाएँ पनि, जब बुढी बिती, त्यसपछि छोराहरुले मलाई हेर्न छोँडे,’ पाठकले भने, ‘अब हातपाखुरा बस्न थाले, छोराहरुले पनि मलाई एक्लो बनाए, किन मलाई यस्तो ठाउँमा पुर्याए मैले केही बुझ्न सकेको छैन, अझै पनि आश त लाग्दो रैछ लैजान्छन् कि भन्ने तर अहिले कहाँ छन्, के गर्दैछन् केही थाहा छैन ।’ पाठकले छोराहरु पाल्नका लागि पुस माघको जाडोमा खाली खुट्टा स्याङ्जाबाट नुन र चामल बोकेर ल्याएर खुवाएको भन्दै अहिले त्यो दुःख भुलेर छोराहरुले आफूलाई हेला गरेको बताउँछन् । गाउँमा थोरै जग्गा जमिन भए पनि आफू आश्रममै बस्ने गरेको पाठकले बताए । कुशे औँसीमा आफूले बाबाको मुख हेर्ने गर्दा छोराहरुले त्यो सिके पनि अहिले स्वार्थी बनेको गुनासो पोखे । पछिल्लो समय पाठकलाई जस्तै धेरै सन्तानले आफ्ना बाबाआमालाई आश्रममा राख्ने गरेको पाइन्छ । अहिले धेरै युवायुवती प्रदेशमा छन् । गाउँमा बूढा बाआमा मात्रै छन् । पाठकले समय समयमा आफ्नो परिवारलाई सम्झेर निरास हुने गरेको मानव सेवा आश्रम बागलुङकी प्रमुख विपना तामाङले बताए । परिवारले नहेरेपछि पाठकलाई आश्रममा ल्याइएको तामाङको भनाइ छ । अहिले पाकठले आश्रममा निकै इमान्दार भएर बसेको भन्दै सकेको कामसमेत गर्ने गरेको उनले बताए । ‘बुबाले आफ्नो छोराहरुलाई धेरै सम्झिनुहुन्छ, तर छोराहरु कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, उहाँले विदेश छन् भन्नुहुन्छ, अहिलेसम्म उहाँहरु बुबालाई भेट्न एक पटक पनि यहाँ आउनुभएको छैन, धेरै दुःखका कुरा गर्नुहुन्छ,’ तामाङ भन्छन्- ‘यहाँ बस्न थालेको धेरै समय भयो, बूढाबूढी मान्छे सकेको काम गर्न खोज्नुहुन्छ, आश्रममा धेरै बालबालिका पनि छन् उनीहरुलाई हेर्ने, अरु काम पनि गर्छु भन्नुहुन्छ, जस्तो भए पनि बुबालाई भेट्न आउनुपथ्र्यो, छोराहरु आए हुन्छ ? भन्दा जान्छु भन्नुहुन्छ, बेला बेला निराश हुने गर्नुहुन्छ, हामीले सम्झाउने गरेका छौँ ।’ रासस

हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रँदा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्टको उत्पादन आज बिहानदेखि बन्द भएको छ । उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रँदा सिमेन्ट उत्पादन गर्ने क्लिङ्करको उत्पादन अवरुद्ध भएको छ । आगामी ३–४ दिनभित्रै उक्त उपकरण मर्मत गरेर सिमेन्ट उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायबमहापबन्धक नवीनकुमार कर्णले बताए । उनले उद्योगमा अहिले पर्याप्त कोइला र चुनढ्ङ्गा जगेडामा राखिएको जानकारी दिए ।अहिले दैनिक १० हजार बोरा सिमेन्ट सो उद्योगले उत्पादन गर्दै आएको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा कोइलाको अभावले करिब दुई महिना बन्द गरेर दुई हप्ताअघि मात्रै पुनः सिमेन्ट उत्पादन सुरु गरिएकामा फेरि प्राविधिक समस्या आउँदा सिमेन्टको उत्पादन बन्द गर्नुपरेको उद्योग प्रशासन महाशाखाका अधिकृत शत्रु अर्यालले जानकरी दिए । रासस

कुश ल्याउने पुरोहितसमेत छैनन् गाउँमा

गोरखा । गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि आठ/१० वर्ष जति भइसक्यो । हिन्दू धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिइन्छ । हरेक वर्ष भाद्र महिनाको औँसीको दिन कुशेऔँसी पर्वमा हिन्दू धर्मालम्बीले घर–घरमा कुशभित्र्याएर मनाउने प्रचलन रहदै आएको छ । पुरोहितले पूजाआजासहित मन्तर जपेर चोखो गरी कुशेऔँसी दिन ल्याएको कुश घरको ढोका अगाडि पालीमा जजमानको घरमा सिउरिएर छोडेपछि घरमा वर्षभरी पर्ने देवकार्य तथा पितृकार्यमा त्यहीँ कुश प्रयोग गर्ने गरिन्छ । तर गएको केहीवर्षदेखि कुशेऔँसीको दिन उनको नत पुरोहित नै कुश नै कुशलिएर आउछन् नत उनी आफै कुशलिन जान्छन् । बरु घरमा देव तथा पितृकार्यमा कुश चाहिए  पुरोहितलाईं नै ल्याउन लगाएर आवश्यकतामा काम गर्दै आएका छन् । ‘मेरो घरमा मात्र होइन आजभोलि छरछिमेकमा समेत धेरैजसोको घरमा कुश भित्र्याउने चलन हट्दै गएको छ’, श्रेष्ठले भने, ‘घर–घरमा कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन् ।’ गोरखा नगरपालिका–८ का बमबहादुर खत्रीको घरको घरमा पनि कुश नभित्र्याएको तीन वर्ष भन्दा बढी भइसक्यो । ‘कुशे औसीको दिनविहानै घरको ढोकामा पुरोहित कुस लिएर आउने र ढोकामादुवे टाँसेर जाने र जजमानले सकेको दानदक्षिणादिने प्रचलन पुरानो हो’, उनले भने, ‘हिजोआज पुरोहितआउन पनि छोडीसके हामी पनि खोज्दै जान छोड्यौ ।’  घरघरमा पूजागर्दा तथा पितृकार्य पर्दा बजारबाट कुशकिनेर ल्याई कार्यहरुगर्ने गरेको उनको भनाइ छ । पुरोहितहरुद्वारा पूजा गरी छेदन् गरेर जजमानहरू कहाँपु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । चाहिएको बेलामा बजार किनेर काम टार्न पाइने भएपछि घर–घरमा कुश भित्र्याउने प्रचलन हट्दै गएको खत्री बताउछन् । बौद्धिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पती हो । पितृकार्यदेखि लिएर देवीदेवताको पूजाआजा अभिषेक, प्राणप्रतिष्ठा आदीकार्यमा कुश मिश्रित जलप्रयोग चोखोनितो गर्नका लागि प्रयोग गरिने भएकाले कुशको धार्मिक महत्व रहेको पुरोहित ऋषिराम भट्टराई बताउछन् । ‘गाउँघरमा पुरोहितको सङ्ख्या पनि विस्तारै कमहुँदै गएको छ’, उनले भने, ‘धेरैजसो पुरोहितका काम गर्नेहरु गाउँ छोडेर सहरतिरे पसे, गाउँमा पुरोहित नै पाउन पनि गाह्रो भइसकेकाले पनि कुशभित्र्याउने प्रचलन घट्दै गएको हो ।’ त्यस्तै पछिल्लो पुस्तामा पुरोहित गर्ने प्रथा परम्परा छोड्दै गएकाले समस्या हुनथालेको पुरोहित भट्टराईको भनाइ छ । जप गर्दा, होम, देवपूजा यज्ञयज्ञादी कार्य गर्दा हातमा कुशकोदण्ड लिएर बस्नु हिन्दूधर्मालम्बीले गर्ने कर्मको विशेषता भएकाले कुशको विशेष महत्वहुने उनको भनाइ छ । कुश एक किसिमको वनस्पती  हो । यसको स्वरूप धारिलो र टुप्पो तीखो हुन्छ । कुश घरमा भित्र्यादा शुभहुने धार्मिक मान्यता छ । कुश बिनाकुनै पनि धार्मिक पितृकार्य, स्नान, दान, जप, यज्ञ–अनुष्ठान्, तप जस्ता कार्य सफल हुँदैनन् भन्ने मान्यतारहेको पुरोहित भट्टराईले बताए । कुशभाद्र कृष्ण औंशीको दिन बिहानै नुहाएर चोखो गरी धोतीलगाएर विधिपूर्वक पूजा गरेर बिहानै उखेल्नुपर्ने धार्मिक मान्यता रहेको उनको भनाइ छ । ‘कुश उखेल्दाउत्तर या पूर्वतर्फ फर्किएर उखेल्नुपर्दछ’, पुरोहित भट्टराईले भने,’भाद्र कृष्ण औंशीको बेला उखेलिएको कुश एक वर्षसम्म देवअनुष्ठान तथा पितृकर्मको लागि प्रयोग सकिने शास्त्रमा उल्लेख छ ।’ काटेको कुशभने धार्मिक तथा पितृकार्यका लागि प्रयोग गर्न नहुने भएकाले कुशको फेदको भागमा बलियोसँग समाएर एकै झट्कामा उखेल्ने गरिन्छ । मानिस जन्मदा, मर्दा तथा पूजाआजाका कार्यमा कुशलाई पवित्र पूजा सामग्रीका रुपमा लिइएको छ । रासस

नाडा अटो शोमा १७ लाखदेखि २५ लाखसम्मका ईभी कार, यस्ता छन् विशेषता

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाडा अटो शो–२०२३’ मा विभिन्न कम्पनीहरुले लाखौं मूल्य पर्ने ईभी गाडी प्रर्दशनीमा राखका छन् । सो गाडीमध्ये यस्ता गाडी छन् जो २५ लाख रुपैयाँ भन्दा कम नै मूल्य पाइन्छन् । आकर्षक लुक्स, आधुनिक फिचर भएका ती गाडीहरुमा अटो शोमा जाने जो कोहीलाई पनि आकर्षित गर्छ । मूल्य पनि सस्तो भएकाेले ती गाडीहरुमा मान्छेको आकर्षण व्यवसायीहरू बताउँछन् । उसो त प्रदर्शनीमा पनि विशेष गरेर विद्युतीय सवारी साधनहरुरुको बाहुल्यता छ । ईभी गाडीको मूल्य महँगो भयो भन्नेहरूका लागि यी गाडीहरू उपयुक्त हुन सक्छन् । यी हुन् कम मूल्यमा पाइने ईभी गाडी टाटाको टियागो इभी टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले नाडा अटो शो लक्षित गरेर टियागो ईभी गाडी सार्वजनिक गरेको छ । कम्पनीले टियागो ईभी आईआर एक्सटी मोडलको विद्युतीय गाडीको मूल्य कम्पनीले २५ लाख ४९ हजार रुपैयाँ तोकेको छ । ३१५ किलोमिटर रेन्ज दिने यस ईभीमा २४ किलोवाट आवरको ब्याट्री जडान भएको छ । यस्तै, १९.२ किलोवाट ब्याट्री भएको टियागो ईभी एमआर एक्सटी मोडलको गाडीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ राखिएको छ । सो मोडलको गाडीले २५० किलोमिटर रेन्ज दिन सक्छ । कम्पनीका अनुसार टियागो ईभी एमआर एक्सई मोडलको गाडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ । १९.२ किलोवाटको ब्याट्री क्षमता रहेका यस गाडीले २५० किलोमिटरको रेन्ज दिन्छ । नाडा अटो शोमा टियागो ईभी धेरै मान्छेले चाखपूवर्क हेरेका छन् । वुलिङको ईभी गाडी २० लाखमै  बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले वुलिङ एयर ईभी सस्तो मूल्यमै पाइनेछ । कम्पनीले  सो गाडीको मूल्य २० लाख ९९ हजार रूपैयाँ मूल्य ताेकेकाे छ । २०० किलोमिटर रेन्ज दिने यो गाडी खरिद गर्न चाहनेहरूको लागि अफरको पनि व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । एमजीको दुई वटा मोडल १७ लाखमै  नाडा अटो शोमा एमजीको विभिन्न गाडीहरू उपलब्ध छन् । जसमध्ये दुई वटा ईभीका मोडल १७ लाखमै पाइन्छ । कम्पनीले ३१.२६ किलोवाट मोटर क्षमता रहेको एमजी कमिट पीस मोडलको गाडीकाे मूल्य १७ लाख ९९ हजार ताेकेकाे छ । १७.३ किलोवाट आवरको ब्याट्री रहेको यस गाडीको रेन्ज २३० किलोमिटर रहेको छ । यस्तै, एमजी कमेट इभी प्ले मोडलको गाडी २० लाख ९९ हजारमा पाइन्छ । ३१.२६ किलोवाटको मोटर क्षमता रहेको कमेट इभी प्लेमा १७.३ किलोवाट आवरको ब्याट्री जडान भएको छ । कम्पनीका अनुसार सो गाडीले २३० किलोमिटरको रेन्ज दिन्छ । एमएडब्लूको मिनी ईभी पनि सस्तो मूल्यमा पाइने नेपालका लागि सेरेस गाडीको आधिकारिक वितरक एमएडब्लू नेपालले अटो शोमा राखिएको मिनी ईभी गाडी मान्छेको आकर्षणको केन्द्र बनेको छ । १८० किलोमिटर रेन्ज रहेको मिनी ईभीको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । १८० किलो मिटर फूल अप्सनको १६ लाख ९९ हजार राखिएको छ । यस्तै, २२० किलोमिटर फूल अप्सनको मूल्य १७ लाख ९९ हजार रुपैयाँ राखिएको कम्पनीले बताएको छ ।

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिए । सर्वसाधारणका लागि राखिएको चामल सकिएको उनले बताए । विपद् र कारागारका लागि मात्र चामल राखिएको र सर्वसाधारणलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ । मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ । डिपोमा रहेको मौज्दात चामल सकिएको हुँदा ठेक्का प्रक्रियाबाट ढुवानी नहुञ्जेलसम्म खाद्यान्न बिक्री वितरण कार्य बन्द गरिएको शाखा प्रमुख ओझाले बताए । पूर्वी उत्तरी भेगको कोल्टीस्थित डिपोमा भने दुई सय क्विन्टल चामल मौज्दात छ । कोल्टी डिपोमा रहेको चामल एक साताका लागि मात्र पुग्ने भएकाले एक सातापछि ताला लगाएर बिक्री बन्द गरिने सार्वजनिक सूचना टाँस गर्नुपर्ने अवस्था आएको प्रमुख ओझाको भनाइ छ । ‘ठेक्काका लागि बोलपत्र आह्वान गरेका छौँ । त्यसपछिको प्रक्रिया चलिरहेको छ । यस्तै ढिलासुस्ती भए दसैँसम्म पनि चामल नआउन सक्छ’, ओझाले भने । जिल्लाको हिमाली गाउँपालिकामा खाद्यान्न सङ्कट भएको पाँच महिनाभन्दा बढी भएको छ । गाउँपालिकाको कवाडीस्थित अस्थायी डिपोमा गत आर्थिक वर्षको चामल जेठमा सकिएपछि पाँच महिनादेखि खाद्यान्न सङ्कट भएको स्थानिय धनलाल रोकायाले बताए । ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छ्याँ, गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ र ५ को रुगीनमा खाद्यान्न सङ्कट भएको हो । यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत खाद्यान्न सङ्कट भएको छ । हिमाली गाउँपालिका–१ बिच्छयाँका धर्मलाल रोकाया दुुई दिन लगाएर कवाडी अस्थायी डिपोमा चामल किन्न आएका भए पनि डिपोमा चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फर्किएका छन्। आव २०७९/८० मा कवाडी डिपोमा तीन हजार पाँच सय क्विन्टल चामल थियो । कवाडी डिपोको कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा चामल मौज्दात नरहेको शाखाले जनाएको छ । आव २०८०/८१ मा कवाडी डिपोका लागि दुई हजार पाँच सय क्विन्टल चामलको कोटा रहेको छ । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो छैन । कवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकिलो ५२ मा बिक्री हुने गरेको थियो । डिपोमा चामल अभाव भएपछि सर्वसाधारणले बजारमा प्रतिकिलो ८० मा हालेर चामल किन्ने गरेका छन् । साविकको बिच्छ्याँ गाविसमा मात्र चार हजार जनसङ्ख्या रहेको छ । डिपोमा चामल सकिएपछि बिच्छ्याँका घरघरमा खाद्य सङ्कट भएको छ । स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाउँपालिका जिल्लाकै दुर्गम तथा विकट गाउँपालिका हो । गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ । त्यस्तै स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि चामल सकिएको चार महिना पुगेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताए । गत आवको पाँच सय क्विन्टल चामल जेठ अन्तिम सातामा सकिएको हो । यो आवको चामल पाँच सय क्विन्टल रहेको भए पनि ढुवानी ठेक्का प्रक्रियामा रहेको छ । जिल्लाका खाद्य डिपो र अस्थायी बिक्री केन्द्रमा चामल सकिएको भए पनि ढुवानी प्रक्रिया कहिले सकिने हो, कहिले चामल ढुवानी हुने हो यकिन नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख ओझाले बताए । रासस

कोरोनापछि होटलमा लगानी बढ्दै, ४ अर्ब बढीमा बन्दैछन् यी २० होटल

काठमाडौं । चालू आर्थिक वर्षको २ महिनाको अबधिमा ५१ वटा स्वदेशी उद्योगमा झन्डै ३१ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले भदौ २४ गतेसम्मको तथ्यांक अनुसार ५१ वटा स्वदेशी उद्योगका लागि ३० अर्ब ८० करोड ९४ लाख ७३ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । तथ्यांक अनुसार सबैभन्दा बढी पर्यटन क्षेत्रका २० उद्योेगमा लगानी भित्रिएको छ । पर्यटन क्षेत्रको संख्या ठूलो भएपनि लगानी रकम भने कम रहेको छ । २० वटा पर्यटन क्षेत्रका उद्योेगका लागि ४ अर्ब १६ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबर रहेको छ । उर्जा क्षेत्रका ३ उद्योगमा भने करिब १८ अर्ब रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । उर्जाका उक्त उद्योगमा १७ अर्ब ८४ करोड ९६ लाख ३७ लाख रुपैयाँ बराबरको प्रतिवद्धता आएको छ । कुन होटलमा कती प्रतिवद्धता ?  उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको २ महिना (साउन १ गतेदेखि भदौ २४ गतेसम्म) को अबधिमा २० वटा होटलका लागि सवा ४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै लगानी प्रतिवद्धता रुपन्देहीको होटल बुद्ध स्टार प्रालिका लागि आएको छ । ठूला उद्योगका रुपमा उक्त होटलमा १ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको प्रतिवद्धता आएको हो । पूर्ण रुपमा नेपाली लगानीकर्ताको लगानी रहेको उक्त होटलले उद्योगमा दर्ता गर्दा ५ सय किलोबाट विद्युत खपत गर्नेछ भने होटलले १०३ जनालाई रोजगारी दिने उल्लेख छ । यस्तै, होटल बुद्धपछि कास्कीमा वाटफोर्ड होटल म्यानेजमेन्टले १ अर्ब १६ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरेको छ । यस्तैगरी, काठमाडौंको डिज बुटिक होटलले २० करोड, दाङको होटल पाँवाले १२ करोड, काठमाडौंको सिवङ्ग झि रेष्टुरेन्टले १० करोड, काठमाडौंको गोल्डेनजिन होटलले २ करोड, काठमाडौंको होटल संकाइले ४ करोड, कास्कीको एल बोकाईतो स्पानोल होटल एण्ड रेष्टुरेन्टले २ करोड रूपैयाँ बराबरकाे लगानी प्रतिवद्धता आएको छ । यस्तैगरी, ललितपुरको रेमनाण्डले ५ करोड, ग्लोवल ट्राभल एण्ड एड्भेन्चरले १ करोड, संखुवासभाको खांदवारीको अल्मोस्ट होम प्राइभेटले २ करोड, काठमाडौंको टाइङ युन होटलले ४ करोड, काठमाडौंकै इयुट्टेम कोरियन रेष्टुरेन्टले २ करोड, काठमाडौंकै गुड टेष्ट क्याफेको ४ करोड, वाई लि होटल एण्ड रेष्टुरेन्टले १० करोड, डाँङ्गफाइङ प्यालेस चाइना लान्झाव लामियन नुडल्स हेझाउ प्लेवर लिनछिया क्विसाइनले ४ करोड, कास्कीको वाइगफु हट पट चाइनिज रेष्टुरेन्टले २ करोड, होटल बोधी भिलेजले २ करोड र काठमाडौंकै सु लियन होटलले ८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरेका हुन् । घट्यो प्रतिवद्धता रकम उद्योग विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको २ महिनाको तुलनामा चालू आर्थिक वर्षमा लगानी प्रतिवद्धता घटेको छ । आर्थिक वर्ष २०७९/०८० को दुई महिनामा ६८ वटा उद्योगका लागि ७४ अर्ब ६५ करोड २६ लाख ४९ हजार रुपैयाँ बराबरको प्रतिवद्धता आएको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सोही अबधिमा प्रतिवद्धता रकमसँगै संख्यामा समेत कमी आएको हो । कोरोना पछि होटलमा लगानी थपिने त्रम बढ्दो होेटल व्यवसायीहरु कोरोना महामारीपछि होटलमा लगानी गर्नेहरु बढ्न थालेको बताउँछन् । होटल व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव एवंम प्रवक्ता साजन शाक्य होटलमा लगानी थपिने क्रम बढ्दो रहेको बताउँछन् । ‘कोरोना महामारीपछि नेपालमा धेरै होटलहरु थपिने थालेका छन्, जनयुद्धको समयमा धेरै धेरै होटलहरु बन्द भए, त्यसपछि पनि करिब १० वर्षको अवधिमा नयाँ होटलहरु थपिएनन’, उनले भने, ‘अब विस्तारै पर्यटकहरुसँगै होटलको संख्या पनि बढ्दै गएको हो ।’ सरकारले भिजिन नेपाल २०२० घोषणा गरेपछि होटलमा लगानी गर्नेहरु थपिन थालेको उनको भनाइ छ । ‘होटल व्यवसायमा एक पटक लगानी गरेपछि पुग्छ, वान टाइन इनभेष्टमेन्ट भएपछि होटल चले भैहाल्यो, नचले पनि लगानी खेर जाँदैन बढ्छ भनेर नै धेरैले सुरक्षित लगानीका रुपमा होटलमा लगानी गर्ने गरेको पाइएको छ’, उनले भने, ‘होटलको प्रपटीको मूल्य १० वर्षमा झन्डै तीन गुणा हुँने भन्दै पछिल्लो समय धेरै व्यवसायी तथा व्यवसायीक घरानाहरुको आकर्षक होटलमा देखिएको हो ।’ उनले कनेक्टीभिटीकै कारण धेरै देशका विदेशीहरु आउन नसकेको भन्दै कनेक्टीभिटी बढ्न थालेपछि पर्यटकको संख्यामा समेत बढ्ने अनुमान व्यवसायीहरुले गर्ने गरेको उनले बताए । उनका अनुसार होटल व्यवसायीहरुले अबको ५ वर्षमा ३५ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आउने अनुमान गरिएको बताए ।

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।

सुन तस्करीको मुद्दा अदालतमा, सिआइबीले अनुसन्धान नरोक्ने

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिइन् । बुधबार सिआइबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ । तर, सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राममात्रै सुन बरामद भएको छ । बाँकी सुन तस्करले गन्तव्यमा पु¥याइएसकेकाले त्यसमा थप संलग्नको खोजीका लागि सिआइबीले जारी राखेको जानकारी दिएको छ । नयाँ तथ्य फेला पारेपछि पुरक प्रतिवेदनका रुपमा बुझाउने सुन प्रकरणको अनुसन्धानको नेतृत्व गरेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए। उनका अनुसार तस्करले सञ्चाल तयार पारेर सुन तस्करी भएको फेला परेको छ । काठमाडौँको टोखा र लाजिम्पाटमा सुन गाल्ने काम भएको पनि प्रहरीले फेला पारेको छ । उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबारहीका लागि सिफारिस गरिएको छ । अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभन्नि सात कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो) भन्दा बढी सुन तस्करी गरेको खुलेको छ। अहिलेको मूल्यमा ३ अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ । अहिलेसम्म ३२ जना पक्राउ परेका छन् पक्राउ पर्नेमा २३ नेपाली र ९ विदेशी नागरिक छन् । १८ जना फरार रहेका छन् । गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसैको अनुसन्धानका क्रममा थप छ कम्पनीबाट यस्तै अटो पार्टमा हालेर सुन तस्करी भएको पाइएको छ। विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी( लाई दिएको थियो । सुन हङकङबाट ल्याएर भारत निर्यात गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । रासस