विमानस्थलबाट २ किलो सुन सहित एक जना पक्राउ
काठमाडौं । भारतको मुम्बई विमानस्थलबाट २ किलो सुन सहित एक जना पक्राउ परेका छन् । सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा १ करोडभन्दा बढी मूल्यको २ किलो सुनको धुलो बरामद भएको भन्सार अधिकारीले बताएका छन् । मुम्बई भन्सार अधिकारीका अनुसार १ करोड ५ लाख २७ हजार रुपैयाँ बराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्रमा लुकाएको अवस्थामा भेटिएको थियो । साथै, उनका ३ वर्षको बच्चाको डाइपरमा समेत सुनको धुलो लुकाइएको अवस्थामा बारमद भएको हो । बरामद सुनको धुलो २४ क्यारेटको हो । आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ । यसअघि केरलाको कोचीन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले ७ सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य ४० लाख रुपैयाँ पर्ने बताइएको छ । एजेन्सी
२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै, निर्माण लागत पाँच अर्ब
फाइल फोटो कास्की । माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ । आयोजनाको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको र दुई महिनाभित्रमा आयोजनाको बाँकी रहेका सम्पूर्ण काम सकिएर विद्युत् उत्पादन सुरु हुने जनाइएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले सेती जलविद्युत् आयोजना निर्माण गरेको हो । यसको लागत पाँच अर्ब रुपैयाँ रहेको छ । आयोजनाको सिभिलतर्फ हेडवक्र्सको सबै काम सकिएको छ । त्यसैगरी पाइपलाइन जडानको काम पनि पूरा भएको छ । विद्युत्गृहमा उपकरण जडानको काम भइरहेको छ । परीक्षण उत्पादन सुरु भएको १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुनेछ । आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) भित्रमा नै व्यावसायिक उत्पादन गर्ने गरी काम भइरहेको आयोजनाका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । आयोजनाको सिभिलतर्फको सबै काम पूरा भएको र हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए । आयोजनाका अनुसार हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलका लागि आवश्यक सबै उपकरण तथा सामग्री निर्माणस्थलमा आइसकेकाले जडान भइरहेको छ । प्रसारण लाइनमा रहने १४ टावरमध्येमा तीन वटाबाहेक अन्यको काम सकिएको बताइएको छ । प्रसारण लाइनको ‘राइट अफ वे’ क्लियर भइसकेकाले बाँकी टावर निर्माण र तार जडान गरिने आयोजनाले जनाएको छ । ‘मङ्सिरको पहिलो साताभित्रमा परीक्षण उत्पादन सुरु गर्ने गरी कामलाई तीव्र बनाएका छौं”, अध्यक्ष पोखरेलले भने, ‘धेरै समय लाग्ने काम अब बाँकी छैन, सरकारी तथा निजी सबै क्षेत्रबाट प्राप्त सकारात्मक सहयोगले आयोजना सम्पन्न हुने चरणमा आइपुगेको हो ।’ ड्याम, टनेल, पावर हाउस, टावर निर्माण तथा ‘राइट अफ वे’लाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ । यी काम अन्तिम चरणमा पुगिसकेको आयोजनाले जनाएको छ । विसं २०७७ साउनदेखि आयोजनाको काम सुरु भएको हो । कोरोना महामारीका कारण आयोजनाको कामलाई असर गरेपछि निर्धारित समयभन्दा एक वर्ष बढी समय लागेको बताइन्छ । माछापुच्छ्रे-२ को भराभरीमा आयोजनाको हेडबर्कस रहेको छ । भराभरीस्थित सेती नदीको पानीलाई बाँध बाँधेर छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत विद्युत्गृहमा खसालेर बिजुली उत्पादन हुनेछ । विद्युत्गृहमा एक सय ८७ मिटर उचाइबाट पानी खसालेर १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनबाट बिजुली उत्पादन हुनेछ । उत्पादित बिजुली विद्युत्गृहसँगैको स्विचआर्डबाट प्रसारण लाइनमार्फत लाहाचोकमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको एक सय ३२ केभी क्षमताको मोदी-लेखनाथ सबस्टेसनमा जडान गर्ने योजना रहेको आयोजना प्रमुख इञ्जिनियर लेखनाथ पाण्डेले जानकारी दिए । कास्की र पर्वतमा निर्माण भएका जलविद्युत् आयोजनाहरुको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि विद्युत् प्राधिकरणले नयाँ मोदी-लेखनाथ प्रसारण लाइन आयोजना हालै निर्माण गरेको हो । यसबाट विद्युत् आपूर्तिमा समेत सुधार हुने विश्वास छ । रासस
सिटिजन लाइफको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि १९ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बिहीबार आफ्नो कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार आवेदन दिएकामध्ये ९ लाख आवेदकले कम्पनीको १० कित्ताको दरले सेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गर्दा सो आवेदकले १० कित्ताको दरले सेयर पाएका हुन् । आईपीओको नतिजा सीडीएस एण्ड क्लियरिङ्ग (सीडीएससी)ले सञ्चालनमा ल्याएको आईपीओ रिजल्ट सीडीएससी डट कम डट एनपीमार्फत हेर्न सकिने छ । इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा १५ लाख ८४ हजार ५९७ जनाले कुल १ करोड ७५ लाख ६८ हजार ७५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । सोमध्ये १४ लाख ७ हजार २३७ जनाको मात्रै आवेदन स्वीकृत भएको छ । त्यस्तै, एक लाख ७७ हजार ३ सय जनाको आवेदन भने रद्ध भएको छ । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २४४ रुपैयाँमा ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो ।
अज्ञात समूहद्वारा विद्यालयमा आगजनी
बैतडी । अज्ञात समूहले बैतडीको एक विद्यालयमा आगजनी गरेको छ । दशरथचन्द नगरपालिका-६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो । कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ । आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन । आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ । यस्तै विद्यालयनजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ । पसलबाट नौ हजार तीन सय बराबरको सामानको चोरी भएको हो । विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
व्यवस्थापन पढेका विद्यार्थीलाई रोजगारी पाउनै मुस्किल, विदेश पलायन हुन बाध्य
काठमाडौं । विज्ञहरुले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनीहरुले व्यवस्थापन संकायमा विद्यार्थी संख्या बढेपनि उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्न नसकेको बताएका हुन् । विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योगधन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्नेमा विज्ञहरुको जोड छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लिराज शर्माले उत्पादित जनशक्तिले सजिलैसँग रोजगारी पाउन नसकेको बताए । शर्माले विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योग धन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्ने बताए । विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेपनि दक्षताको अभिवृद्धि गर्ने अवसर नपाउँदा विद्यार्थीहरु विदेश पलायन हुन बाध्य भएको बताए । उनले नेपालमा सञ्चालित उद्योगहरुमा समेत दक्ष र सीपयुक्त जनशक्तिले रोजगार पाउन नसक्नु बिडम्बनाको विषय भएको उल्लेख गरे । उनले शिक्षा व्यक्तिको व्यवसायिक मात्रै नभई व्यक्तिगत जीवनशैली र जीवनपद्यतीसँग पनि जोडिएकाले विद्यार्थीको आकर्षण व्यवस्थापन संकायमा बढेको बताए । विश्वविद्यालयले इन्टर्नसिप वा व्यवहारिक रुपबाट शिक्षालाई जोड्नुपर्ने भएपनि अझै त्यसो हुन नसकेको जानकारी दिए । विद्यार्थीको चाप धेरै भएपनि औद्योगीकरण (इन्डस्ट्रीलाईजेसन) र औद्योगिक प्रतिष्ठानहरुमा विद्यार्थीले पर्याप्त अवसर पाउन नसकेको गुनासो गरे । विद्यार्थीहरुलाई व्यवहारमुखी ज्ञान दिन आवश्यक रहेको उनको भनाई छ । ‘व्यवस्थापन विषय रोजगारी, उत्पादन र उद्यमशीलतासँग जोडिएको छ । र, व्यक्तिको व्यवसायिक मात्रै नभएर व्यक्तिगत जीवनशैली,जीवनपद्यतीसँग पनि जोडिएको शिक्षा भएका कारण धेरै विद्यार्थीको आकर्षण रहेको छ । हामीले जुन रुपबाट हाम्रो पठनपाठनलाई लैजानुपर्ने हो, विद्यार्थीहरुलाई जति इन्डस्ट्री एक्सपोजर दिनुपर्ने हो । जति हामीले उनीहरुलाई इन्टर्नसिप वा व्यवहारीक रुपबाट लैजानुपर्ने हो । हामीले बीएचएम सञ्चालन गरेका छौँ । होटेल म्यानेजमेण्ट गरेका राम्रो क्वालिफाईड विद्यार्थी पनि आज यहाँ सञ्चालनमा भएका होटेलहरुमा रोजगारी नपाएपछि उनीहरु कहाँ जाने ? बाध्य भएर उनीहरु मलेसिया, दुवैका होटेलमा जानुपर्ने बाध्यता छ । यो कुरामा हामी सबै सचेत हुन जरुरी छ’, त्रिभुवन विश्वविद्यालयका प्रा.डा.डिल्लिराज शमाले भने । उनले व्यवस्थापन संकायमा अध्यापनरत शिक्षकहरुको उचित सेवा सुविधाका सन्दर्भमा सरकार गम्भिर नभएको बताए । शर्माले त्रिविले आँगिक क्याम्पसहरुमा पठनपाठन गर्ने शिक्षकहरुलाई तलब,भत्ताको सुविधा दिने गरेपनि बिबिए, बिबिएम, बिआईएम, बिएचएम लगायतमा अहिलेसम्म दरबन्दीको व्यवस्थापन नभएको बताए । शर्माले व्यवस्थापन संकायका केही कार्यक्रमहरु सेल्फ सस्टेन्स प्रोग्रामको रुपमा सञ्चालन गरिएको हुनाले आँगिक क्याम्पसमै पनि शुल्क केही बढी भएको स्वीकार गरे । सम्पूर्ण भौतिक पूर्वाधारको विकास गर्नेदेखि शिक्षकहरुलाई दिनुपर्ने तलब, भत्ता सुविधा, विद्यार्थीको अतिरिक्त क्रियाकलापमा गर्नुपर्ने सम्पूर्ण खर्चहरु स्वयं कलेजले व्यहोर्नुपरेका कारण पनि शुल्क महँगो हुन गएको स्पष्ट पारे । शर्माले भने, ‘ एउटा अर्डिनरी प्रोग्राम छ (बिबिएस, एमबिएस) । त्रिभुवन विश्वविद्यालयले आँगिक क्याम्पसहरुमा पठनपाठन गर्ने शिक्षकहरुलाई तलव,भत्ताको सुविधा दिने गरेको छ । तर, जुन हामीले सञ्चालन गरेका बिबिए, बिबिएम, बिआईएम, बिएचएम लगायतमा अहिलेसम्म दरबन्दीको व्यवस्थापन भएको छैन । सेल्फ सस्टेन्स प्रोग्रामको रुपमा सञ्चालन गरिएको हुनाले आँगिक क्याम्पसमै पनि शुल्क केहि बढी छ । प्राइभेट क्याम्पसमा त उहाँहरुको भाडा आदि इत्यादि धेरै कारणहरु देखाउनु हुन्छ उहाँहरुले । त्यहिकारण फी केही बढी भएको महँगो भएको गुनासो हामीले पनि पाएका छौँ । व्यवस्थापन संकायमा दुई लाख भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् ।’ उनले व्यवस्थापन विषय रोजगारी, उत्पादन र उद्यमशीलतासँग जोडिएको बताए । अहिले त्रिविअन्तर्गत २ लाख बढी विद्यार्थीहरु व्यवस्थापन संकायमा अध्ययनरत छन् । विद्यार्थीहरुले आफूले अध्ययन पूरा गरेपनि पर्याप्त रोजगारी र अवसर नपाएको गुनासो गरेका छन् ।
नेम्वाङलाई छोराहरु मिङ्सो र सुहाङले दिए दागबत्ती
काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । मंगलबार दिवंगत भएका पिता नेम्वाङलाई छोराहरुले बिहीबार पशुपति आर्यघाटमा दागबत्ती दिएका हुन् । स्व. नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डले उनको पार्थिब शरीरमा पशुपति आर्यघाटमा नेपालको झन्डा ओडायर सम्मान तथा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । नेम्वाङको गत भदौ २६ गते मंगलबार हृदयघातका कारण निधन भएको हो ।
बङ्गुरपालन व्यवसाय संकटमा, सस्तो मूल्यमा मासु बिक्री गर्न बाध्य
गल्याङ । स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्किएका उनले झलुङ्गे बजार स्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बङ्गुर फार्म दर्ता गरी व्यावसाय सुरु गरेका थिए । कोरोना कहर अघि विश्वकर्माको फार्ममा करिब तीन सय बङ्गुरका माउ र पाठापाठी थिए । अहिले भने त्यो सङ्ख्या घटेर एक सय वटाको हाराहारीमा बङ्गुर छन् । मासिक १२ लाख मुनाफा कमाउँदै आएका उनको आम्दानी हाल भने क्रमशः घट्दै जान थालेको छ । उनले व्यावसाय सञ्चालन गरेको चार वर्ष बङ्गुरपालनबाटै परिवार राम्रोसँग पाल्दै आएका थिए । उनले पछिल्लो समय बङ्गुरलाई खुवाउने दानामा मूल्यवृद्धि भएकाले व्यवसाय नै धरापमा परेको बताए । ‘व्यवसाय सुरु गरेको वर्ष कसरी मासु बिक्री गर्ने भन्ने चिन्ता हुन्थ्यो, एक वर्षपछि प्रचारप्रसार राम्रो भयो र बङ्गुरका पाठापाठी र मासु पुर्याउनै धौ भयो’, उनले दुखेसो पोखे, ‘अहिले हामी महँगीको मारमा परेका छौँ, दानापानीमा लगानी गर्न गाह्रो हुँदै गएको छ, ढुवानी खर्च बढी हुँदा बङ्गुर निर्यातमासमेत समस्या हुँदै आएको छ ।’ ‘व्यवसाय सुरु गर्दा आठ सयमा किनेको मकै अहिले १७ सय पुगेको छ’, किसान विश्वकर्माले भने, ‘यस्तै समस्या यथावत रहेमा व्यवसायबाट पलायन हुने स्थिति नआउला भन्न सकिन्न ।’ ‘व्यवसाय गरेको करिब चार वर्ष सन्तुष्ट थिएँ, अहिले दानापानीमा भएको मूल्यवृद्धिले व्यवसाय नै छोडौँ कि जस्तो हुन्छ’, उनले थपे, ‘भन्दा सजिलो जस्तो पेशा देखिए पनि बङ्गुरलाई दाना पुर्याउन गाह्रो हुने रहेछ ।’ विश्वकर्माले कोरोनाको समय मासुका लागि तयार भएका बङ्गुरलाई दाना पुर्याउन नसक्दा सस्तो मूल्यमा मासु बिक्री गर्न बाध्य भएको स्मरणसमेत गरे । उनले लगानीअनुुसार अन्य पशुपक्षीको तुलनामा बङ्गुरको मासुको मूल्य उचित नभएको दाबी गरे । ‘स्थानीय बजारमा एक किलो खसीको मासुको मूल्य नौ सय रुपैयाँ हुँदा बङ्गुरको मासुको मूल्य धार्नीको आठ सय रुपैयाँ हुनु किसान मारमा पर्नु हो’, विश्वकर्माले भने, ‘खसीबोकामा भन्दा बङ्गुरपालनमा उत्पादन लागत दोब्बर छ, सरकारले बङ्गुरको मासुको उचित मूल्य निर्धारण गरिदिएर किसानलाई राहत दिनुपर्छ ।’ उनले सरकारले किसानलाई अनुदान नदिएर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइदिनुपर्ने माग राखे । विश्वकर्माले साना व्यवसाय गर्ने किसानलाई टिकाइराख्न मूल्यवृद्धि नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिए । ‘विदेशमा छ वर्ष बिताए, आर्थिक स्थिति तब पनि सुल्झेन’, उनले भने, ‘प्रदेशको कमाइले जीवनस्तरमा सुधार नआएपछि देशमै स्वरोजगार बन्ने अठोटका साथ गाउँ फर्केर बङ्गुरपालन गरेको छु तर पछिल्लो महँगीले अबको बाटो सहज देखेको छैन ।’ किसान विश्वकर्माले घरमा पाल्दै आएका तीन माउँ र एउटा बङ्गुरको पाठोबाट सङ्ख्या बढाएर २६ बङ्गुर उत्पादन गरेर फार्म दर्ता गरेका थिए । उनले सुरुमा मासु उत्पादनका लागि बङ्गुरपालन गरे पनि हाल पाठापाठी उत्पादनमा जोड दिएको बताए । यहाँ उत्पादित मासु स्थानीय बजारसँगै, पर्वत, पोखरा, काठमाडौँसम्म निर्यात हुने गरेको छ ।उनलाई श्रीमती विष्णुमायाले व्यवसाय सञ्चालनमा साथ दिँदै आएकी छिन् । रासस
सिटिजन्स बैंकमा खाता खोल्दा फाइदै फाइदा
काठमाडौं । ‘युओर पाटर्नर फर प्रोग्रेस’ अर्थात् प्रगतिको लागि तपाईंको साथी । यो नारा हो सिटिजन्स बैंकको । नेपाली बैंकिङ क्षेत्रमा विभिन्न बैंकहरुका आ–आफ्नै व्यवसायिक रणनीति र योजनाहरु छन् । तर, सबैको लक्ष्य, उद्देश्य र प्राथमिकता गुणस्तरीय छिटो तथा छरितो सेवा र सेयरधनीलाई राम्रो र नियमित प्रतिफल हो । अहिले सबै बैंकहरुको प्रतिस्पर्धा यसैमा नै हो । वित्तीय सूचकहरुलाई मजबुद बनाएर बैंकिङ इण्ड्रस्टीमा ‘राज’ गर्ने चाहना सबै कम्पनीको हुन्छ । तर, कतिले योजना र रणनीति अनुसार काम गर्छत् भने कतिपयले बिचैमा बाटो बिराउँछन् । सिटिजन्स बैंकको पनि महत्वपूर्ण प्राथमिकता हो नियमित प्रतिफल र सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय सेवा । यसको अतिरिक्त बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकका नीति नियमहरु अनुसरण तथा अवलम्बन अग्रणी रुपमा गर्ने । अनुशासित बैंकिङ्ग अभ्यास गर्दै आएको सिटिजन्स बैंकले विभिन्न निक्षेप खाता खोल्दा आकर्षण योजनाहरु ल्याएको छ । सबै ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न बैंकले विभिन्न प्रकारका २० वटा निक्षेप खाता खोल्दा ग्राहकलाई बम्पर सुविधासहितको आकर्षण योजना ल्याएको हो । ग्राहकको बैंकिङ्ग आवश्यकता पुरा गर्न भरपर्दो साझेदारको रूपमा स्थापित यस सिटिजन्स बैंकमा उच्च व्यावसायिक र अनुभवी ब्यक्तिको अनुभवबाट निक्षेप खाता श्रृजना गरिएका छन् । बैंकका निक्षेप प्रमुख पारस बिक्रम थापाका अनुसार बैंकले उच्च गुणस्तरीय वित्तीय सेवामार्फत् बैंकिङ क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आएको छ । ‘बैंकले उत्कृष्ट सेवा उत्पादन गर्दै ग्राहकलाई उपलब्ध गराउँदै आएको छ, बैंकले उत्पादन गरेका प्रडक्टहरुको डिजाइन पनि उत्कृष्ट छन्, जुन प्रडक्ट ग्राहकको लागि उपयुक्त छन्,’ उनले भने, ‘खाता खोल्न चाहनुहुन्छ भने बैंकले उच्च ब्याज प्रदान गर्छ, वभिन्न सुविधाहरू र नमस्ते संस्कृतिको साथ उत्कृष्ट ग्राहक सेवाका साथ छनौट गर्नका लागि उत्पादनहरूको विस्तृत श्रृंखला प्राप्त गर्न सकिनेछ ।’ निक्षेप उत्पादनको फराकिलो दायरा : सिटिजन्स बैंकले सञ्चालन गरिरहेका निक्षेप खातामा कुनै दायरा तोकिएको छैन । सबै उमेर समूह, पेशा र जुनसुकै समुदाया मान्छेहरुले पनि निक्षेप खाता खोल्न सक्ने व्यवस्था गरेको छ । महिला, ज्येष्ठ नागरिक, बालबालिका, श्रमजीवी, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू, प्राविधिक ज्ञान भएका ब्यक्तिहरु, एनआरएन लगायतका लागि विभिन्न २० प्रकारका निक्षेप खाता खोल्न सक्ने बैंकले जनाएको छ । यी विभिन्न प्रकारका खाताको आआफ्नै किसिमका विशेषता पनि छन् । जुन खातामा ग्राहकहरुको आवश्यकता अनुसार सेवा उपलब्ध रहेको थापाको भनाइ छ । उच्च ब्याजदर : बचत गर्ने उद्देश्यको लागि खाता खोल्दा विचार गर्नुपर्ने मुख्य कुरा भनेको ब्याजदर हो । यदि निक्षेप जम्मा गरेर ब्याज आम्दानी गर्ने योजना बनाउनु भएको छ भने सिटिजन्स बैंकले निक्षेप खातामा उच्च ब्याज प्रदान गर्दै आएको छ । बैंकले सदैव आफ्ना निक्षेपकर्ताहरुलाई उच्च ब्याजदर र अधिकतम प्रतिफल दिँदै आएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई खुसी पार्न बजारमा उच्च प्रतिस्पर्धी ब्याजदर उपलब्ध गराउँदै आएको थापाको भनाइ छ । हाल बैंकले प्रतिवर्ष ७.९६ प्रतिशत ब्याज प्रदान गरिरहेको छ । साथै, बैंकले विदेशी मुद्रा बचत खातामा भने थप आकर्षक ब्याजदर उपलब्ध गराइरहेको थापाले बताए । बैंकले नेपाली र विदेशी मुद्राको मुद्दती निक्षेप खातामा उच्च ब्याजदर दिँदै आएको छ । बैंकसँग रिकरिङ्ग निक्षेप पनि छन्, जुन हाइब्रिड उत्पादन हुन् । जसले बचत र मुद्दती निक्षेप दुवैको सुविधा प्रदान गर्दछ । जसबाट म्युचुअल फण्डद्वारा प्रस्तावित एसआईपी योजनामाभन्दा राम्रो प्रतिफल दिने गरेको थापाको दाबी छ । विभिन्न देशबाट नेपालमा रकम पठाउने वैदेशिक रोजगारीमा रहेका कामदारको आईपीओ आवेदन प्रशोधनका साथै मुद्दती निक्षेपमा थप ब्याज उपलब्ध गराउँदै आएको छ । सुविधा र फाइदा : बैंकले निक्षेप खातामा उच्च ब्याजसँगै विभिन्न सुविधाहरु पनि प्रदान गर्दै आएको छ । जसकारण सिटिजन्स बैंकमा निक्षेप खाता खोल्दा ब्याजसँगै अन्य सुविधा र फाइदाको लाभ उठाउन सक्ने छन् । निक्षेप खाता खोल्दा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र इन्टरनेट बैंकिङ निःशुल्क उपलब्ध गराउँदै आएको छ । बैंकको मोबाइल बैंकिङलाई वित्तीय क्षेत्रमै उत्कृष्ट मध्ये एक मानिन्छ । जसले ग्राहकको हत्केलामा २४ घण्टा बैंकिङ सेवा प्रदान गरेको छ । बैंकको डेबिट कार्ड मार्फत् विभिन्न आउटलेट(१५० माथि) रेस्टुरेन्ट, क्याफे, होटल, अस्पताल, किनमेल केन्द्र, अन्तर्राष्ट्रिय अस्पताल जस्तै मेदान्ता–द मेडिसिटी र भारतका अन्य अस्पतालमा समेत छुट प्रदान गरिहरेको छ । बैंकका सबै डिजिटल उत्पादनमा नवीनतम प्रविधिद्वारा सञ्चालित शीर्ष टायर सुरक्षा सुविधा पनि राखिएका छन् । साथै, बैंकले डिम्याट, सीआश्वा तथा मेरोसेयर सुविधा पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ । बैंकले आफ्ना ग्राहकलाई बीमा सुविधा पनि उपलब्ध गराउँदै आएको छ । साथै, बीमामा ५० हजारसम्मको चिकित्सा बीमा र ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा रहेका छन् । ग्राहक सेवा : नमस्ते संस्कृतिमा उत्कृष्ट ग्राहक सेवाको लागी परिचित रहेको सिटिजन्स बैंकमा प्रत्येक ग्राहकलाई राम्रो व्यवहार गरिन्छ । बैंकको ग्राहक सेवा धेरै छिटो र प्रभावकारी पनि छ । बैंकको सबै प्रक्रिया र सेवा प्रवाह समयतालिका अनुसार गरिन्छ । ग्राहक सेवा अभिवृद्धि गर्न बैंकले अयोग्य, वृद्धवृद्धा, विरामी, अशक्त ग्राहकहरुलाई विशेष महत्व दिएर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले घरमै बसेर बैंकिङ्ग सेवाहरु पनि उपलब्ध गराउँदै आएको छ जहाँ बैंकिङ्ग सेवाहरु ग्राहकहरुको घरदैलोमा पुर्याइनेछ । अन्य उत्पादनहरू : बैंकले ग्राहकहरूको लागि धेरै लाभदायक अन्य विभिन्न सुविधा पनि प्रदान गरिरहेको छ । बैंकले विभिन्न आकारका लकर सुविधा उपलब्ध गराएको छ भने ग्राहकहरुको वैदेशिक यात्रामा सहयोग पुर्याउन अमेरिकी डलर ट्राभल कार्ड र विदेशी मुद्रा सटही सुविधा पनि प्रदान गरेको छ । साथै ई–कमर्स कार्ड पनि प्रदान गरेको छ, जसले ग्राहकहरुलाई विश्वव्यापी उत्पादन तथा सेवा अनलाइन खरिद गर्न मद्दत पुग्नेछ । बैंकले विभिन्न संस्थाका तलब पाउने कर्मचारीहरूका लागि सञ्चीत कोष व्यवस्थापन सुविधा भएका खाता पनि उपलब्ध गराएको छ । एकसाथ ३ खाता : सिटिजन्स बैंकमा ग्राहकले एकै पटक ३ वटा खाता खोल्न सकिने थापाले बताए । उनका अनुसार ३ वटा खाताहरुमा बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता हुन् । उक्त सेवा बैंकका देशभरीका सबै शाखा कार्यालयमा उपलब्ध रहेको उनको भनाइ छ । विश्वका कुनाकुनाबाट रेमिट्यान्स भुक्तानी गर्नुका साथै मोबाइल बिल, ल्याण्डलाईन बिल, बिजुलीको बिल, पानीको बिल, विद्यालय/कलेजको शुल्क, ब्रोकर कमिशन लगायतका सेवा घरबाटै लिन सकिने उनले बताए । साथै, बैंकले अनलाइनबाटै निक्षेप खाता खोल्ने सुविधा पनि उपलब्ध गराएको छ । जस मार्फत ग्राहकहरु भौतिक रुपमा शाखा कार्यालयनमा नगई अनलाइनबाटै खाता खोल्न सक्ने छन् भने ग्राहकहरुले नागरिक एप मार्फत् पनि खाता खोल्न सक्नेछन् । ग्राहकलाई थप लाभ : बैंकले नियमित रूपमा ग्राहकहरूलाई थप फाईदाहरू प्रदान गर्ने केही अभियान र कार्यक्रमको सुरुवात पनि गरेको छ । बैंकले विभिन्न साझेदार कम्पनी दराज, बिग मार्ट, भाटभटेनी, मोको, खल्ती, ईसेवा, आईएमई पे लगायतसँग सम्झौता गरेको छ । यी कम्पनीसँगको सहकार्यमा ग्राहकहरुले थप लाभ लिन सक्ने छन् । साथै, नियमित छुट तथा उपहार पनि प्राप्त गर्न सकिने निक्षेप प्रमुख थापाको भनाइ छ । बैंकले ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न सिटिजन्स बैंकसँग साउन महिनाको हरेक सोमबार मनाउने, तीज पर्व, दशैं र तिहारमा डिजिटल दक्षिणा, नयाँ वर्षको उत्सव आदि जस्ता विभिन्न चाडपर्वमा ग्राहकहरुलाई पुरस्कृत गर्ने गरेको छ । बैंकले देशभर १८८ वटा शाखा कार्यालयबार्फत् निःशुल्क एबीबीएस सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकको एफडी खोल्ने, कोष स्थानान्तरण, ऋण अनुरोध, कार्ड अनुरोध, पिन अनुरोध, क्यूआर सेवा घरमै बसेर उपभोग गर्न सकिने गरी व्यवस्था मिलाएको छ । संस्थागत सुशासनलाई ध्यानमा राखी बैंकको उद्देश्य र नीति अनुरुप आन्तरिक संरचना तयार पारिएका छन् । साथै कर्मचारी र सञ्चालकले पालना गर्नुपर्ने आचरणको आचार संहिता कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ ।