आजको मौसम : सुदूरपश्चिम र लुम्बिनीमा वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्र तथा बङ्लादेशको उत्तर–पश्चिम क्षेत्र आसपासमा रहेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उहाँका अनुसार लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौँमा आज आंशिकदेखि सामान्य बदली भई अपराह्नपख मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भवना रहेको छ । अहिले काठमाडौँमा सामान्य बदली रहेको र वायुको तापक्रम ३२ डिग्री सेन्टीग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको मौसमविद् अधिकारीले बताए । यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।
सेवा हाईड्रोले बोलायो सातौं साधारणसभा, आईपीओ निष्काशन प्रस्ताव पारित गर्ने
काठमाडौं । आईपीओ निष्काशन प्रस्ताव पारित गर्न सेवा हाईड्रो कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले असोज २० गते सातौं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभा थापागाउँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बोलाइएको छ । कम्पनीको सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्नेछ । कम्पनीको सभाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । आईपीओ निष्काशन पश्चात् प्राप्त हुने कूल रकम आयोजना निर्माण गर्दा कायम बैंक वा अन्य दायित्व पुरा गर्न खर्च गर्न स्वीकृत गर्नेछ । कम्पनी सञ्चालकको राजीनामा स्वीकृत तथा नयाँ सञ्चालकको गठन गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
डीएसपी नै ठगिएपछि…..
काठमाडौं । सशस्त्र प्रहरीका बहालवाला एक डीएसपी हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । केही दिनअघि अपराध महाशाखा पुगेकी उनले अन्जान नम्बरसँग ह्वाट्सएपमा कुरा गर्दा एक हप्ताको अवधिमा १३ लाख गुमाइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार अनलाइन ठगी गर्ने गिरोहको प्रलोभनमा पर्दा उनले उक्त रकम गुमाएकी हुन् । प्रहरीका अनुसार अपरिचित नम्बरबाट आएको ह्वाट्सएप म्यासेजमा उनले कुराकानी गर्ने गरेकी थिइन् । कुराकानी बढ्दै जाँदा ती व्यक्तिले आफू युद्धमा जान लागेको आर्मी भनेर चिनाएका थिए । युद्धका क्रममा परिवार गुमाएको र आफ्नो एउटा खुट्टा पनि गुमाएको जानकारी ती डीएसपीलाई दिएका थिए । निरन्तरको कुराकानी र फोटो भिडियो आदानप्रदान भइसके पछि ति व्यक्तिले बिमावापत आफूलाई निकै पैसा आएको बताएका थिए । उक्त पैसा नेपालकी साथी बनेकी उनै डीएसपीलाई पठाउन लागेको उनले बताए । पैसा कुरियर गरेको फोटो पनि पठाए । त्यसको केही दिनपछि सशस्त्रकी डीएसपीलाई भन्सारबाट गरेको भन्दै एउटा फोन आएको थियो । भन्सारबाट फोन गर्ने व्यक्तिले उनको सामान छुटाउनका लागि पैसा लाग्ने भन्दै पैसा पठाउन आग्रह गरे । कोशेलीस्वरुप विदेशबाट पैसा आएको भन्दै ढुक्क भएकी ती डीएसपीले भन्सार एजेन्टले भनेको अकाउन्टमा पैसा पठाइदिइन् । पैसा पाएपछि फोन गर्ने व्यक्ति र ह्वाट्सएपमा कुराकानी गर्ने व्यक्ति हराए । प्रवक्ता रेग्मी भन्छन्, ‘ठगी गर्ने व्यक्तिको खोजी भइरहेको छ । ठगीमा विदेशी नागरिक संलग्न भए पनि उसले प्रयोग गरेको खाता भने नेपाली व्यक्तिको थियो । खाता भएका एक चौधरी थरका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ यस्तै सामाजिक सञ्जालमा आएको सूचनामा भर पर्दा भक्तपुरकै एक युवाको ३४ लाख रुपैयाँ ठगी भएको थियो । क्यानडा जाने भन्दै उनले अपरिचित खातामा ३४ लाख रुपैयाँ पठाएका थिए । केही दिनअघि ललितपुरका सुसन घिमिरे अनलाइन ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनले अनलाइनबाट चिठ्ठा परेको भन्दै ११ लाख रुपैयाँ ठगी गरेका थिए । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
आईपीओ निष्काशन प्रस्ताव पारित गर्न एकर्ड फर्मास्युटिकल्सले डाक्यो साधारणसभा
काठमाडौं । आईपीओ निष्काशन प्रस्ताव पारित गर्न एकर्ड फर्मास्युटिकल्सले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले असोज २१ गते साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभा बसेरा बुटिक होटल बबरमहल काठमाडौंमा दिउँसो १ बजे बोलाइएको छ । कम्पनीको सभाले सर्वसाधारणका लागि यसअघिकै साधारसभाबाट छुट्याइएको सेयरमा पूँजी वृद्धिका कारण हुन गएको संशोधनलाई अनुमोदन गर्नेछ । यस्तै, पूँजी वृद्धिपश्चात् कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको छ । कम्पनीले जारी पूँजीको १२ प्रतिशत अर्थात् ७ करोड ६ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । एकर्ड फर्मास्युटिकल्स औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले काठमाण्डौ उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरणसहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो । कम्पनीले व्यावसायिक उत्पादन २०२१ देखि सुरु गरी व्यावसायिक कारोबार सुरु गरेको थियो ।
प्रभुले घोषणा गर्याे लाभांश, नगद ६.३१५८ प्रतिशत
काठमाडौं । प्रभु क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौै २५ गते बसेको बैठकले ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १५ औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको वार्षिक साधारण सभा असोज १९ गते काठमाडौंमा दिनको १ बजे सुरु हुनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीको सभाले सञ्चालकको नियुक्त पनि अनुमोदन गर्नेछ ।
आज राष्ट्रिय बाल दिवस
काठमाडौं । आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ । संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यले संविधानले प्रत्याभूत गरेको बालबालिकाको हक र अधिकार कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । “मन्त्रालयले परिषद् तथा विभिन्न बालअधिकारका क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थाको समन्वय र सहकार्यमा सडक बालबालिका, हराएका, बेवारिस फेला परेका, कानुनविपरीत श्रममा संलग्न रहेका तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गर्दै आएको छ”, उनले भने । बालबालिकाको अधिकार संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सबै सरोकारावाला निकायको एकीकृत र समन्वयात्मक भूमिका आवश्यकता रहने उनको भनाइ छ । बालबालिकाको हक, अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको परिषद्ले बालबालिकासम्बन्धी नीतिगत तथा कानुनी पैरवी, सडक बालबालिकामुक्त राष्ट्र घोषणा, बालविवाह तथा बालश्रम अन्त्य, अनाथ तथा अपाङ्गता भएका बालबालिका संरक्षण, उपचार, यौनहिंसा तथा यौन दुव्र्यवहारमा परेका बालबालिकाको उद्धार र संरक्षण, ओसारपसारमा परेका बालबालिकाको उद्धार र संरक्षण तथा कानुनी उपचार, वैकल्पिक सेवाको प्रवद्र्धन, बालगृह अनुमति र अनुगमन गरी नियमन गर्दै आएको छ । परिषद्का उपाध्यक्ष बम बानियाँले राष्ट्रिय बाल दिवसलाई सार्थक बनाउन तीनै तहका सरकारका साथै बालअधिकारका क्षेत्रमा कार्यरत सबै विकासका साझेदार, सङ्घसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक सङ्गठनले बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्न, बालअधिकारको संरक्षण तथा प्रवद्र्धनमा थप क्रियाशीलता रहन आवश्यक पर्ने बताए । समय र प्रविधिसँगै जलवायु परिर्वतनले बालबालिकामा ल्याएको असर, अनलाइनबाट बालबालिकामा पारेको प्रभावका बारेमा थप काम गर्न जरुरी रहेको उनको भनाइ छ । त्यस्तै परिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले बालबालिकाको हकहित, अधिकार संरक्षण तथा सवद्र्धनका लागि विशेषगरी स्थानीय तहले बालबालिकामा लगानी अभिवृद्धि गर्नुपर्ने बताए । बालबालिकामा लगानी गरी विशेष संरक्षणको आवश्यकता भएकालाई सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारमा सहयोग गरी संरक्षण र व्यवस्थापन गर्न अतिआवश्यक रहेको उनको भनाइ छ । बालअधिकारसम्बन्धी विभिन्न व्यवस्था भए पनि सबै बालबालिका गुणस्तरीय शिक्षा प्राप्त गर्न नसक्नु, बालमैत्री वातावरणको अभावमा विकास र संरक्षण हुन नसक्नु, बालश्रमको अवस्था र सडक बालबालिकाको अवस्था विद्यमान रहनु, असहाय र अनाथ बालबालिकाको संरक्षण तथा उचित व्यवस्थापन हुन नसक्नु, हिंसा, यौन दुव्यर्वहार, बलात्कारका अवस्था विद्यमान रहनुलगायतका समस्या भने अझै यस क्षेत्रमा रहेको देखिन्छ । समयसापेक्ष विकास भएको प्रविधि, सहरीकरण, विश्वव्यापी मूल्य–मान्यता र बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै बालअधिकारको संरक्षण तथा प्रवद्र्धन प्रभावकारीरूपमा गर्नु पनि चुनौतीका रूपमा देखिन्छ । चुनौतीका साथसाथै अवसर नभएको भने होइन । सङ्घीय संरचनाअनुसार बालबालिकासम्बन्धी कानुन, नीति, योजना, कार्यक्रम तथा संस्थागत संयन्त्र स्थानीय तहदेखि सङ्घसम्म सञ्चालन हुँदै जानु, बालबालिकाको संरक्षणसम्बन्धी विषय तीन तहको सरकारको अधिकार क्षेत्रभित्र पर्नु, सरकार, सङ्घसस्था र नागरिक समाजबीच समन्वय, सहयोग र सहकार्यमा भएको अभिवृद्धिले यस क्षेत्रका समस्या समाधान गरी बालबालिकाका हक, अधिकार संरक्षण गर्न टेवा पुग्दछ । दिगो विकास लक्ष्यमा बालबालिकाको गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, बालबालिका तथा किशोर–किशोरीविरुद्ध हुने सबै प्रकारका विभेद, शोषण, दुव्र्यवहार र हिंसाको अन्त्य गरी सशक्त गर्नेजस्ता परिमाणात्मक लक्ष्य समावेश गरिएको र सोहीअनुरुप उक्त विषयलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
मिड सोलु हाइड्रोको आईपीओ बिक्री खुला, १० हजार कित्तासम्म आवेदन दिन मिल्ने
काठमाडौं । मिड सोलु हाइड्रोपावरले आज भदौ २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका २० प्रतिशत अर्थात् १४ लाख ९६ हजार ८ सय कित्ता बिक्री गरेको हो । जसमध्ये ७ लाख ४८ हजार ४ सय कित्ता स्थानीय बासिन्दा र ७४ हजार ८४ कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब १४ हजार ९६८ कित्ता सेयरमा कर्मचारी, ३७ हजार ४२० कित्ता सेयरमा सामूहिक लगानी कोष र बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि पूर्ण आवेदन नपरेमा असोज ११ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।
फेरि बढ्यो ब्याजदर, २४ वर्ष यताकै उच्च
काठमाडौं । युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले विश्वका राष्ट्रहरू उच्च मुद्रास्फीतिसँग जुधिरहेको बेला बिहीबार ब्याजदरलाई कीर्तिमानी उचाइमा पुर्याएको छ । बैङ्कले आफ्नो ब्याजदर वृद्धिको चक्र समाप्त हुन सक्ने सङ्केत गरेको छ । नीति निर्माताहरूले उधारो लागतलाई अर्को एक चौंथाइ बिन्दुले बढाएका हुन् । चासोका रूपमा हेरिएको निक्षेप दरलाई ४ प्रतिशतमा पुर्याएर सन् १९९९ मा यूरोको सुरुवात पछिको यो वृद्धि उच्चतम स्तरमा पुगेको हो । अर्थात् ईसीबीले २४ वर्ष यताकै उच्च बिन्दुमा ब्याजदर पुर्याएको हो । रूसले युक्रेनमा आक्रमण गरेका कारण ऊर्जा र खाद्यान्नको लागतमा वृद्धि भएपछि गत वर्षको जुलाईमा केन्द्रीय बैंकले आफ्नो इतिहासकै सबैभन्दा आक्रामक ब्याजदर वृद्धि चक्र सुरु गरेको थियो । र, यो लगातार १० औं वृद्धि हो । युरोको प्रयोग गर्ने २० देशहरूमा तीव्र रुपमा बिग्रदै गएको आर्थिक परिदृश्यको बढ्दो सङ्केतको बावजुद बैङ्कले अर्को वृद्धिको घोषणा गरेको हो । ईसीबीले मुद्रास्फीति अझै पनि ‘धेरै लामो समयसम्म निकै उच्च रहने अपेक्षा गरेको छ । बैङ्कले उधारो लागत उच्च स्तरमा पुगेकोले मूल्य वृद्धिलाई छोटो समयमै २ प्रतिशतको लक्ष्यमा ल्याउन मद्दत गर्ने पनि बताएको छ । ब्याजदरको निर्णयको घोषणा पछि ईसीबी अध्यक्ष क्रिस्टीन लेगार्डले भने, “दरहरू अब उच्च स्तरहरूमा पुगेका छन् जसले बढ्दो मूल्यहरू तत्काल नियन्त्रण गर्न पर्याप्त योगदान गर्नेछ । आर्थिक विश्लेषकहरूले ब्याजदर वृद्धिको हालको लय समाप्त हुँदै गएको सङ्केत गरेको विश्वास गरेका छन् । “ईसीबीको सञ्चार स्पष्ट छ ः आज वर्तमान चक्रमा अन्तिम वृद्धि थियो,” आईएनजी अर्थशास्त्री कार्सटन ब्रेजेस्कीले भने । बेरेनबर्ग बैंकका अर्थशास्त्री होल्गर स्माइडिङले यो अहिलेका लागि अन्तिम वृद्धि भएको र केन्द्रीय बैंकले ‘अबदेखि महत्वपूर्ण समयका लागि होल्डमा रहने सङ्केत गरेको’ बताए । ईसीबी रोकिने वा ब्याजदर बढाउने भन्ने विषयमा पर्यवेक्षकहरू बैठकअघि विभाजित भएका थिए ।एजेन्सी