विकासन्युज

सेयर बजारका लागि खुशीको निर्णय चाँडै आउँछ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक-२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री डा.महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याएका हुन् । ‘सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन् । आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ । अहिले चिन्ताको विषय चाहिँ त्यही हो । कतिपय बेलामा इनसाइडर ट्रेनिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ’, उनले भने । ‘बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ । त्यसै अर्थमा लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्छ । यसैमा लगानी सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी छ’, उनले भने । स्वस्थ्य प्रतिस्पर्धाको वातारण निर्माण गर्न पनि जरुरी रहेको मन्त्री डा. महतले औंल्याए । उनले भने, ‘पहिला सीमित ब्रोकर मात्र थिए, अहिले ब्रोकरको संख्या बढेको छ, अब मनोपलाइज न्यून हुँदै जानेछ । यसको फाइदा आम लगानीकर्ताले प्राप्त गर्ने छन् ।’ च्याटबोर्डको शुभारम्भ भएको जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘यो बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्मको प्रारम्भ भएको छ । यसको सबैले उपयोग गर्नु हुनेछ ।’ लगानी साक्षरता कमजोर रहेको तर्फ औंल्याउँदै लगानीका नयाँ तौरतरिका विकसित भइरहेका महतले जानकारी दिए । उनले भने, ‘सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति पनि आउँछन् । यससँगै हामीले आफूलाई तयारी राख्नुपर्छ । यसो भए मात्र लगानीकर्ता सुरक्षित हुन्छन् । यसैका लागि नियमनकारी निकाय धितोपत्र बोर्ड गठन भएको हो ।’ ‘सेयर बजारमा जुन प्रवृत्ति छन्, सीमितले मात्र यो बजार बुझ्छन्, उनी यसमा खेल्न सिपालु छन् । उनीहरुले यसबाट प्रशस्त फाइदा उठाउँछन् । कुन बेला तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ र, आम लगानीकर्ता बिलखबन्दमा पर्ने अवस्था नेपालमा विद्यमान छ’,उनले भने । सेयर बजार अहिले तल झरेको छ, त्यसका विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको महतले बताए । उनले भने, ‘यसको समाधान हुँदै जान्छ । सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ, त्यसले बजारमा सकारात्मक प्रभाव पार्नेछ।’ रासस

काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, प्रहरीद्वारा पेस्तोल र गोली बरामद

काठमाडौं । काठमाडौंको गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । गौशालाको पिके डायग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनमाथि चक्कु प्रहार भएको हो । प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेले उनीमाथि चक्कु प्रहार भएको जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेको बताए । र, घटनास्थलबाट एक थान पेस्तोल कटुवा पेस्तोल र गोली पनि बरामद भएको उनले बताए । उनका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेका र उनको खोजी भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ भने घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ ।

विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर

ढोरपाटन । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । उनी पनि एक दशक बढी विदेशमा पसिना बगाएर स्वदेश फर्किएका छन् । उनले भन्छन् ‘जीवनको ऊर्जाशील समय विदेशमा बित्यो । अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ ।’ बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा देखिने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ । साउदीमा साहुको भेडा चराउने काम गरेका उनी अहिले आफैँ मालिक बनेका छन् । अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनुपरेको दुःख सुनाउने केसी अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन् । स्वदेशै कामको खोजी गरेर पनि नपाएपछि विदेशिएका केसीले अहिले गाउँमा थुप्रै सम्भावना देखेका छन् । ‘पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रसस्त आयआर्जनको स्रोत यही छ ‘ उनी भन्छन् । चार वर्षदेखि बाख्रापालनमा लागेका केसीले गाउँमा गर्ने कामले आत्मसम्मान मिल्ने बताउँछन् । विभिन्न परिस्थितिका कारण विदेश जानुपरेको जनाउँदै अब विदेश नजाने सोच बनाएको उनको भनाइ छ । ‘पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाईभैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ’, उनी भन्छन्, ‘विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रापालनमा सजिलो भएको छ, अरु युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्न थाल्यो ।’ उनले गाउँमै आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रापालन गरेका छन् । स्थानीय र बोयर जातका गरी हाल केसीको खोरमा ४५ वटा बाख्रा छन् । खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिब १५ लाख लगानी उनले गरेका छन् । अहिले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको उनले बताए । एउटा बोकाको २० देखि ३० हजारसम्म बिक्री हुने उनको भनाइ छ । उनले ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर सञ्चालन गरेका छन् । खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या भएको उनी बताउँछन् । कुनै पनि कामलाई सम्मान गर्नसके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाइ छ । उनले बाख्रापालनसँगै मल प्रयोग गर्ने गरी तरकारी, गोलभेंडा खेती सुरु गरेका छन् । वडा कार्यालय र गाउँपालिका कार्यालयले ५०/५० हजार अनुदानसमेत दिएको जनाउँदै उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको केसी बताउँछन् । अहिले बाख्राको सङ्ख्या बढाउनेतर्फ ध्यान केन्द्रित गरेको केसीको भनाइ छ । करिब दुई सय बाख्रा पाल्ने लक्ष्य रहेको उनी बताउँछन् । ‘विदेशमा यहाँको भन्दा धेरै दुःख गर्नुपर्छ, मलाई विदेशले परिश्रमको महत्व बुझायो, गाउँको माटो चिनायो, त्यहाँ जति कमाए पनि इज्जत हुँदैन, गाउँमा परिवारसँग बस्न पाइएको छ, सञ्चो बिसञ्चो हुँदा तातोपानी तताएर दिने, खाने दिने मान्छे साथमै हुन्छ, विदेशमा कसैले हेर्दैन, अहिलेका युवाले गाउँमै केही गर्नुपर्छ, यहाँ लगानी र परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढी कमाउन सकिन्छ, राज्यले पनि सोहीअनुसारको वातावरण तयार गरि दिनुपर्छ, बजारलाई व्यवस्थापन गर्न सके यहाँ धेरै सम्भावना देखेको छु’ उनले भने । रासस

पोखरा विमानस्थलको उपकरणमा समस्या, बीचबाटै फर्किए यति र श्री एयरलाइन्स

काठमाडौं । सोमबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपकरणमा समस्या देखिएको छ । उक्त उपकरणहरुमा समस्या देखिएपछि काठमाडौंबाट पोखराका लागि उडान भरेका दुई विमान पोखरा नपुगी बीचबाटै काठमाडौं फर्किएका हुन् । विमानस्थलमा आएको प्राविधिक समस्याको कारण काठमाडौंबाट पोखराका लागि उडान भरेका यति र श्री एयरलाइन्स विमानस्थल नपुगी काठमाडौं फर्किएका हुन् । हाल भने उक्त समस्या समाधान भइसकेको विमानस्थलकी प्रवक्ता जसोदा सुवेदी जानकारी दिइन् ।

सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा.डा. झा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको पर्खाइमा रहेका चीनस्थित एकजना नेपाली प्राध्यापक राजीवकुमार झाले बताएका छन् । ‘प्रधानमन्त्री दाहालको हालैको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएका सम्झौता एवं समझदारीका साथै संयुक्त प्रेस वक्तव्यमा आएका साझा प्रतिबद्धता नेपालको हित र विकासका पक्षमा छन्, राम्रा छन् । तर विगतमा भएका यस्तै सम्झौताको पनि कार्यान्वयन हुन नसकिरहेकाले चीन यी सम्झौताको कार्यान्वयनको पर्खाइमा रहेको छ’, प्रा.डा. झाको टिप्पणी छ। यो भ्रमणका क्रममा भएको ‘क्रस बोर्डर रेलवे’ सम्झौता नेपालका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले भने, ‘नेपाल चीन क्रस बोर्डर रेलवे निर्माण हुन सक्यो भने बेइजिङको समृद्धि काठमाडौं पुग्न समय लाग्दैन । यहाँका पर्यटक हुन या सामान, चीनको जुनसुकै स्थानबाट पनि पाँचदेखि छ दिनमा नेपाल पुग्न सक्छ । हाम्रोजस्तो भूपरिवेष्टित देश हवाईमार्गमा मात्र जोडिएर हुँदैन, रेलमार्गमा जोडिन सक्यो भने नेपालका लागि सबैभन्दा ठूलो फाइदा यही हुनेछ । चिनियाँ नेपालमा रेलमार्ग पुर्याउन चाहन्छन्, तर त्यसको कूटनीतिक लबिङ गर्ने हामीले हो’, प्रा.डा. झाले भने । रेलमार्गले नेपाललाई जोड्ने विषयमा विगतदेखि नै दुई देशका बीचमा सहमति र सम्झौता भएको स्मरण गर्दै उनले यसबाट नेपालमा पर्यटकीय क्षेत्रको विकासमा थप टेवा पुग्ने बताए । नेपालले यदि चीनको समृद्धिबाट लाभ लिन चाहन्छ भने सबैभन्दा भरपर्दाे बाटो रेलमार्ग नै भएको उनको भनाइ छ । प्रा.डा. झा भन्छन्, ‘अहिले चीनसँग हाम्रो व्यापार घाटा धेरै छ । हाम्रो निकासी नगन्य छ तर आयात बढी छ । यसलाई विस्थापित गरी चीनतर्फ सामान निर्यात गर्ने मार्ग पनि भोलि रेलमार्ग नै हुनेछ । हालैको सम्झौतामा चीनले कतिपय कृषिजन्यउपज एवं पशुपालनमा सहयोगको वाचा गरेको छ । त्यस्तै औद्योगिक पार्क निर्माण हुँदैछ । यी सम्झौताबमोजिम भोलि उत्पादन भएमा त्यसको निकासी चीनतर्फ नै हुने हो र यसका लागि आवश्यक भनेको पनि रेलमार्ग नै हो ।’ त्यसैगरी प्राध्यापक झाले प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा पछिल्लो पटक भएको अर्काे सम्झौतामा नेपालको परम्परागत एवं आयुर्वेदिक चिकित्सा पद्धतिको अनुसन्धान गरी त्यसको प्रवद्र्धन गर्ने छ । खासमा नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने औषधीय मूल्य भएका जडीबुटीको अनुसन्धान चीनले गर्ने र यस क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउने बताएको छ । यस सम्झौताको उद्देश्य नेपालका कर्णालीलगायतका हिमाली क्षेत्रमा पाइने जडीबुटीको अनुसन्धान गरी औषधि निर्माण हो । अहिले पनि नेपालबाट जडीबुटी निकासी हुने गरेकै छ । तर पनि ती जडीबुटीको उचित मूल्य प्राप्त हुन सकेको छैन । चीनको साङ्सी प्रान्तस्थित सियानमा अवस्थित सियान युनिभर्सिटी अफ मेडिकल साइन्सेसमा दुई दशकभन्दा लामो समयदेखि प्राध्यापनरत प्रा.डा. झा भन्छन्,’यस्तो अवस्था छ कि नेपालबाट बहुमूल्य जडीबुटी गुन्द्रुकको भाउमा विदेश निकासी गरिन्छ । धेरै त चोरी निकासी या अवैधरुपमा पनि बाहिरिने गरेको छ । तिनै जडीबुटीबाट बनेका औषधिपछि नेपालले महँगो मूल्यमा किन्ने गर्दछ । ‘ नेपालको हिमाली एवं उच्च पहाडी क्षेत्रका जडीबुटीलाई चीनले निकै महत्व दिने गरेको उनको भनाइ छ । नेपालका यस्ता स्थानमा पाइने जडीबुटी सफा र स्वच्छ हुने भएकाले पनि चीनले यो परियोजनालाई अघि सारेको हो । यसबाट नेपालमा औषधीय मूल्य भएका जडीबुटी पत्ता लाग्ने मात्र नभएर सरकारले पनि यसको निकासीबाट उचित मूल्य पाउने छ । त्यस्तै यी जडीबुटी सङ्कलनका लागि यहाँका स्थानीयले पनि रोजगारी प्राप्त गर्नसक्ने अर्को फाइदा रहेको उनको भनाइ छ। त्यस्तै यस भ्रमणका क्रममा भएको अर्काे सहमति औद्योगिक पार्क निर्माण छ। यो पार्कबाट दुवै देशलाई फाइदा छ र अझ बढी नेपाललाई छ । जस्तो कि यस्तो पार्कमा दुई देशले आफ्ना खाँचोका कुरा उत्पादन गर्छन् र बढी भएको निकासी पैठारी गर्छन् । नेपालमा यस्तो पार्क स्थापना हुँदा त्यहाँ दक्ष जनशक्ति पनि उत्पादन हुने र चीनले आफ्ना खाँचोका वस्तुको उत्पादन गर्ने भएकाले नेपालले निर्यात व्यापारको मात्रा बढाउन सक्छ । अर्काे कुरा सो क्षेत्रमा दक्ष जनशक्ति पनि हुने भएकाले यसले देशभित्रै दक्ष जनशक्तिको उत्पादन पनि योगदान पुग्ने उनको भनाइ छ । प्रा.डा. झाले कम्बोडियामा पनि चीन सरकारले दुई वटा औद्योगिक पार्क निर्माण गरिदिएको उदाहरण पेश गर्दै भने,’वास्तवमा यस्तो पार्क निर्माण भएपछि नै कम्बोडियाको अर्थतन्त्रमा बलियो भएको हो । मलाई लाग्छ यो सम्झौताको कार्यान्वयनमा जेड दियौँ भने यसले हामीलाई पनि त्यस्तै फाइदा गर्दछ ।’ चीन नेपाल सम्बन्धलाई विगत दुई दशकभन्दा लामो समयदेखि नजिकबाट नियालिरहेका प्राध्यापक झाले प्रधानमन्त्री दाहालको भ्रमणपछि रासससँगको कुराकानीमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने सहमति गर्नु अर्काे उपलब्धि भएको उनको भनाइ छ । ‘अबको विकास विज्ञान प्रविधिबाट मात्र सम्भव छ । विकास केलाइ भन्ने ? अहिले चीनका कैयौँ रेष्टुराँमा रोबोटले खाना पकाउने, ‘सर्भ’ गर्ने गर्न थालिसके । यस्तैखालका प्रविधिको विकासबाट चीनले श्रम गर्ने जनशक्ति पनि घटाउँदैछ । त्यसैले अब विकास भनेको बाटो, पानी, बिजुलीमात्र नभएर विज्ञान प्रविधि एवं सूचना प्रविधि हो। हामी पनि आइटीमा भर्खरै प्रवेश गर्दैछौँ । भोलिका दिनमा यो विश्वविद्यालयमा उत्पादन हुने प्राविधिक जनशक्तिले देशको मुहार फेर्न सक्नेछ। अब हामीलाई सूचना र विज्ञान प्रविधिमा केन्द्रित विश्वविद्यालयकै खाँचो छ’, उनी भन्छन्। चिनियाँ पक्षले हामी नेपाललाई सहयोग गर्न तयार छन् । तर पनि आफ्नो सबै विकास अर्काे कुनै देशले गरिदेला भन्ने आशा नेपालले पनि गर्न नहुने उनको धारणा छ । चीनले नेपाललाई परियोजना दिने हो, ती परियोजनामार्फत हामीले उनीहरुको समृद्धि र विकासबाट लाभ लिने हो। त्यसैले देशको विकास गर्ने र चीनले अनुदान या सहयोगमा गरिदिएका परियोजना समयमै सम्पन्न गर्ने या कार्यान्वयनमा ल्याउने जिम्मेवारी नेपालको भएको उनको सुझाव छ। चिनियाँले सधैँ यसअघि गरेका सहमति तथा सम्झौतालाई पछि फर्केर हेर्ने पन्ने उनको ठहर छ। नेपालसँग मात्र नभएर आफ्नो कूटनीतिक सम्बन्ध रहेका या सहयोग उपलब्ध गराएका सबै देशसँग नै उनीहरुको यस्तै अपेक्षा हुने प्रा डा झा बताउँछन् । उनी भन्छन्, ‘जस्तो कि सन् २०१९ मा चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल गएका बेला गरिएका कतिपय सम्झौताका परियोजना पनि कार्यान्वयन तहमा आउन नसकेको भन्दै यस पटक गरेका सहमति र सम्झौता चाँडै कार्यान्वयनमा आउने वातावरण नेपाल सरकारले नै बनाउनुपर्ने हुन्छ। उनीहरु नेपालले छ वर्षअघि हस्ताक्षर गरेको विआरआइ परियोजनाको प्रगति हेर्न चाहेका छन् । यसपटक पनि संयुक्त प्रेस वक्तव्यमा परेकाले आगामी दिनमा योसँगै अन्य सहमति एवं सम्झौताको कार्यान्वयन पर्खिने उनीहरुको बानी छ।’ खाँचो हामीलाई छ र उनीहरु दिन तयार छन् भने कार्यान्वयनको इच्छाशक्ति पनि त हामीले नै देखाउनुपर्यो उनी बताउँछन् । प्रधानमन्त्री दाहालको पछिल्लो चीन भ्रमणका क्रममा पनि उनीहरु विगतका सबै सहमति र सम्झौताको स्मरण गरिएको र अबका दिनमा नयाँ समझदारीका साथ अघि बढ्न चाहेको आफूले बुझेको उनी बताउँछन् । प्रा डा झा भन्छन्,’नेपाल चीनका परम्परागत नाका सबै खोल्ने सहमति गरेका दुई देशले विगत लामो समयदेखि सम्झौता गरेर पनि कार्यान्वयनमा आउन नसकेका सबै सम्झौता एवं समझदारीका पनि सबै नाका खोलेर कार्यान्वयनमा ल्याउन सकून् । नेपालको समृद्धि यसैमा छ ।’ रासस

दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु

घोराही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिए । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले भनाइ छ । डाँगीले श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए ।

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

तुलसीपुर । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताए । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका–३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुई जनालाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

१०३ बर्षिय महानगरपिता पोखरेललाई सम्मान

काठमाडौं ।  लेखनाथ-असोज १४-पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । पोखरेललाई सम्मान गर्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले महानगरकै जेष्ठ नागरिकलाई महानगरपिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस गरेको उल्लेख गर्दै, उहाँमा रहेका ज्ञान र शिपलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए । जीवन शैली, खानपान, रहनसहनले शताब्दीसम्म स्वस्थ भएर बाँच्ने सकिने सन्देश सम्मानित व्यक्ति पोखरेलबाट प्राप्त भएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले वडाले बार्षिक रुपमा जेष्ठ नागरिक दिवासेवा केन्द्रमा खाजा एवं सहायता सामाग्री बितरण गर्दै आएको जानकारी दिए । थापाले वडाको भौतिक बिकासमा मात्र नभई सर्वशुलभ रुपले शिक्षा र स्वास्थ्यमा सवै नागरिकको पहुच हुनु पर्नेमा जोड दिए । कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले महानगरले बार्षिक रुपमा नगरपिता र नगरमाताको रुपमा जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताईन । उनले यसपटक जेष्ठ नागरिकको घरदैलोमा पुगेर महानगरपिता र मातालाई सम्मान गरिएको बताइन । कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं ४ का निर्वतमान वडाध्यक्ष शंकर बास्तोला, वडा नंं २६ का वडा सदस्य तिर्थबहादुर राजभाट, जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगाना, लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेना, उज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतम, महानगरपालिका महिला विकास शाखाका अधिकृत विष्णु पौडेल, सम्मानित व्यक्तित्व पोखरेलका नाती डा. रञ्जन पोखरेल लगायतले बोलेका थिए । कार्यक्रममा सम्मानित परिवारले महानगरपालिकाबाट प्राप्त नगद १५ हजारमा ५ हजार १ सय ४ रुपैया थप गरी पोखरा महानगरपालिका वडा नं. २६ सक्नेरीमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रदान गरेका छन् ।महानगरपिताका रुपमा सम्मानित पोखरेलका चार छोरा, तीन छोरीबाट समेत गरी ५२ सन्तान रहेका छन् ।