विकासन्युज

एनओजीको पहिलो जनकपुर च्याप्टर राइड सम्पन्न

काठमाडौं । टिभिएस मोटर कम्पनीका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) पहिलो पटक राइड सम्पन्न गरेको छ । शनिबार आयोजना भएको उक्त राइड टिभिएसको जनकपुर  शोरूम (आर्यन आटोमोबाइल्स) बाट शुरु भएर बर्दिबास रिसोर्ट, बर्दिबास पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । करिब ५० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

भोजपुरमा गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै

भोजपुर । ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो । पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदा, साँस्कृतिक धरोहर र धार्मिक स्थलको संरक्षण, सम्वर्द्धन एवम् प्रवर्द्धन गरेर हतुवागढीमा आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । ‘हतुवागढी आफैँमा एक ऐतिहासिक गाउँ हो’, उनले भने, ‘यहाँ धेरै ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदा छन् । यी क्षेत्रको विकास गरेर पर्यटक भित्राउने आधार र सम्भवनाको खोजी गरिरहेका छौँ ।’ उनका अनुसार किरात राजाहरुले राज्य गरेको गढीमा रहेका भग्नावशेष दरबारको मर्मत गर्ने पालिकाको पहिलो योजना रहेको छ । गढीको नामबाट गाउँपालिकाको नाम राखिएकाले यसको संरक्षण तथा विकास गरेर इतिहासको खोजी गरी गढी र दरबारलाई अध्ययनयोग्य विषयको रुपमा विकास गर्न सकिने अध्यक्ष राईको भनाइ थियो । नेपाली सेनाले ऐतिहासिक गढीको संरक्षण र प्रवर्द्धनको लागि एक गढीबाट अर्को गढी जोड्ने पदमार्ग निर्माणको योजना अगाडि बढाएको भन्दै उनले यसले हतुवागढीको पर्यटन विकासमा टेवा पुग्ने बताए । यहाँको ऐतिहासिक तथा पुरातात्विक गढी र दरबार क्षेत्रको पुनःनिर्माण गरी यसको प्रवर्द्धनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार भइसकेको गाउँपालिकाले जनाएको छ । हतुवागढीबाट धरान, ईटहरी, विराटनगरका साथै तराईका विभिन्न जिल्लामा सहजै पुग्न सकिने भएकाले पर्यटकको आवगमन बढ्ने अध्यक्ष राईले बताए । हतुवागढीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घालगायत हिमालका साथै तराईका फाँटको अवलोकन गर्न सकिने उनको भनाइ थियो । ‘हाम्रो पालिका तराईका ठूला शहरबाट नजिकै रहेको छ’ उनले भने, ‘त्यसैले यहाँ पर्यटनको धेरै राम्रो सम्भवना छ ।’ पालिकाको दक्षिण पूर्वीभागमा अरुण र दूधकोशी नदीमा बोटिङ भइरहेकाले यसबाट पनि पर्यटक भित्र्याउन सकिने अध्यक्ष राईले बताए । ‘सप्तकोशीमा चतराघाटदेखी हतुवागढीको हलेदेसम्म आएको पानीबोटलाई अरुण नदीतर्फ तुम्लिङटार र दूधकोशी हुँदै दोलालघाटसम्म पुर्‍याउँदै जलयात्रा गर्न सकिन्छ’, उनले भने । गाउँपालिकाको केन्द्रमा रहेको ऐतिहासिक हतुवागढी दरबार, भविष्यवक्ता पोखरी, महादेवथान गुफा, चमेरे गुफाका साथै हतुवागढी–१ मा रहेको दिमालुङ्ग स्मारक पार्क, शिवालय थान, हतुवागढी–२ मा सय वृक्ष, सङ्खाम चुली, जोर आहाल, भ्यु टावर, छोकमैन अवतारी, थुलुङ्ग संस्कृतिको सौरीनेम, तोसिखोम, अजम्बरी पानी, माक्साहुत (भालु बस्ने गुफा) हतुवागढी–३ मा सुनाहाङको शिर राखेको स्थल, फलामढुङ्गा, लुङ्गथुङ्ग ढुङ्गा, शिला सुत्केरी शिलालगायत पर्यटकीय स्थल रहेका राईले जानकारी दिए । पालिकामा रहेका ऐतिहासिक होम्ताङ्ग साकेला थान, बाहुतभुत बस्ने सुरुङ्ग, सिमसरादेबी थान, लुखिम ढुङ्गा, ईन्द्रेणी करना, ब्राहम टाकुरे डाँडा, विद्यापोखरी, पिचाखा मागलुङ्ग, गन्धेपानी, माईबेनी, किरात करना, समुदायको साकेलालगायत स्थानको स्तरोन्नति गरी विभिन्न अवलोकन तथा अध्ययन अनुसन्धानको केन्द्र बनाउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किरात समुदाय आस्थाको केन्द्र खुवालुङ्गलाई शुभारम्भ प्रस्थान विन्दुको रुपमा विकास गरी समुद्र सतहबाट एकसय ५३ मीटर उचाईमा रहेको भोजपुर जिल्लाको सबैभन्दा होचो भू–भागदेखि सबैभन्दा अग्लो भू–भाग साल्पासिलिछोसम्मको पदमार्गको प्रस्थान बिन्दु बनाउने योजना रहेको उनले जानकारी दिए । पदमार्गमार्फत भोजपुर, धनकुटा तथा उदयपुरको सङ्गमस्थल तथा धार्मिकस्थल माइबेनी (त्रिवेणी), हतुवागढी दरबार हतुवागढी पैदलमार्गबाट पाक्माखाम भञ्ज्याङ् हुँदै चखेवामा जोड्ने निरौलाको भनाइ थियो । गाउँपालिकाको पर्यटन गुरुयोजनाअनुसारका कार्य सम्पन्न भएपश्चात् पालिकाले पर्यटनका क्षेत्रमा फड्को मार्ने उनले बताए । पालिकाले निर्माण गरेको गुरु योजनाअनुुसार पर्यटकीय क्षेत्रको विकासका लागि विभिन्न निकायसँग सहकार्य र समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष राईले बताए । रासस

कर्णालीमा ८२.९३ प्रतिशतमा ऊर्जाको पहुँच, ७० आयोजना निर्माण हुँदै

जाजरकोट । कर्णालीमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगको प्रदेशस्थित जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ । विभिन्न चरणमा गरी १० हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण प्रक्रियामा रहेका मन्त्रालयका योजना महाशाखा प्रमुख गोपाल शर्माले जानकारी दिए । उनका अनुसार हालसम्म ८२ प्रतिशत नागरिकको घरमा ऊर्जाको पहुँच पुगेको छ । ‘कर्णालीमा ऊर्जा उत्पादनको अवस्था १६.५४ मेगावाट छ । प्रदेशका तीन लाख सात हजार आठ सय ७२ घरधुरीमा विद्युतीकरण गरिएको छ’, शर्माले भने, ‘जसमध्ये राष्ट्रिय प्रसारण लाइनबाट दुई लाख ४६ हजार एक सय ३१ घरधुरी विद्युतीकरण भएको र बाँकी ६१ हजार सात सय ४१ मा अन्य नवीकरणीय ऊर्जाबाट विद्युतीकरण गरिएको छ ।’ शर्माका अनुसार प्रदेशभर ६३ हजार तीन सय ९३ घरधुरीमा विद्युतीकरण हुन बाँकी छ । दुई वर्षभित्र कर्णालीका सम्पूर्ण घरधुरीमा विद्युतीकरण गर्ने लक्ष्य सरकारले लिएको भन्दै उनले सोही लक्ष्य प्राप्तीका लागि काम भइरहेको बताए । शर्माका अनुसार सानाठूला गरेर ७० आयोजना निर्माणको चरणमा छन् । निर्माणाधीन आयोजनाबाट नौ सय २४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । कार्ययोजना बनाएर काम गर्न मन्त्री बस्नेतको निर्देशन  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्र कर्णालीलाई विद्युतीकरण गर्ने लक्ष्य प्राप्तीका लागि कार्ययोजना बनाएर काम गर्न नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशलाई निर्देशन दिएका छन् । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको भवन उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले पुराना र नयाँ ठेक्का भएका योजनाको खोजी गरी तिनको अवस्थाअनुसार कामको प्राथमिकीकरण गरेर योजनाबद्धरुपमा काम गर्न निर्देशन दिए । विद्युत् नपुग्ने ठाउँमा सोलार सिस्टमबाट विद्युतीकरण गर्ने योजना रहेको भन्दै त्यसको पनि तथ्याङ्क सङ्कलनको काम भइरहेको उनको भनाइ थियो । ‘एक सय ३२ केभी प्रसारण लाइनको काम सुरु भएको छ । यो निर्माण हुनेबित्तिकै भेरी र कर्णाली करिडोरमा सजिलै विद्युतीकरणको काम हुनेछ’, उनले भने, ‘भेरी करिडोरअन्तर्गत जाजरकोटको दानी पीपलदेखि सुर्खेतको मैनतडासम्मको कामसमेत केही समयमा सुरु हुन्छ ।’ मन्त्री बस्नेतले नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाट र जगदुल्ला जलविद्युत् आयोजना एक सय ६ मेगावाटको काम सुरु गर्नका लागि ताक्सुगाड जलविद्युत् आयोजना सात मेगावाटलाई निर्माण गर्न लागिएको जानकारी दिए । उनका अनुसार अहिले कर्णाली प्रदेशका जिल्लामा ३२ केभी प्रसारण लाइन सञ्चालनमा छ । अधिकांश योजना कार्यसूचीमा रहेकाले काममा गतिशिल नहुँदा समस्या आएको हो । कर्णालीका सबै जिल्लामा केन्द्रीय प्रसारण लाइन पुर्याउने जनाउँदै मन्त्री बस्नेतले सम्भावना नभएका स्थानमा सोलार सिस्टमबाट सबै घरमा विद्युतीकरण गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार साविकका कर्णालीको डिपिआर तयार भइसकेको छ भने जाजरकोट, रुकुमपश्चिमलगायत अन्य जिल्लामा डिपिआरको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, निजी क्षेत्रकोसमेत लगानी, साना माइक्रो  हाइड्राेपावरसँगको समन्वयमा छिटो विद्युतीकरणको काम गर्नुपर्ने मन्त्रालयको निर्देशिका रहेकाले जिल्लास्थित प्राधिकरण कार्यालयले कामको प्राथमिकीकरण गरेर अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना बनाई अघि बढ्न मन्त्री बस्नेतले आग्रह गरे । कर्णालीमा प्राधिकरणको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयले अलगअलग ठेक्का खोल्दा सर्वेक्षणको पाटो कमजोर बनेको उनको भनाइ थियो । अहिले कर्णालीका धेरै ठाउँमा सबस्टशेन निर्माणका काम भइरहेको मन्त्री बस्नेतले जानकारी दिए । रासस

सचिव मरासिनी र टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित ९ जनाविरुद्ध अख्तियारले हाल्यो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मासहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक/कार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको हो । यस्तै, अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निम बहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत राम बहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर राम शरण गायकमाथि मुद्धा दर्ता गरेको हो । उनीहरुको मिलोमतो तथा योजनामा अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख मुधु कुमार मरासिनीले नीति तथा कार्यक्रममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेण्ट गेटवे खरिद शीर्षकमा बजेट प्रविष्टिका नियमित चरणहरुमा पर्ने कुनै पनि कार्य नगरी/नगराई तथा सो सम्बन्धी तयारीको आवश्यक कागजातसमेत समावेश नगरी/नगराई आफू मातहत तथा माथिल्लो निकाय/अधिकारीलाई जानकारी नदिई २५ करोड रुपैयाँ सिलिङभन्दा बाहिर खर्च गरेको अख्तियारले जनाएको छ । यस्तो छ आयोगको प्रेस विज्ञप्ति [pdf id=439531]

सेन्साईको दशैं तिहार टि.भी. उपहार योजना बजारमा सार्वजनिक

काठमाडौं । सेन्साईको दशैं तिहार योजना बजारमा सार्वजनिक गरेको छ । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले दशैं तिहार २०८० लाई लक्षित गर्दै ‘यो दशै-तिहार, हरेक दिन टि.भी. उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरुले यो योजनाको लाभ भाद्र २७ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन् । यो योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिद पश्चात लक्की ड्र मार्फत ४० दिन सम्म ४० भाग्यशाली ग्राहकहरुले प्रत्येक दिन सेन्साईको २४ इन्चको टि.भी.उपहार जित्न सक्ने कम्पनीले जनाएकाे छ। सेन्साईका ग्राहकहरुले आफुलाई यो लक्की ड्रमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फोर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेण्टी कार्ड नम्बर जस्ता विवरण भर्नुपर्नेछ। कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुविधा पनि प्रदान गरेको छ। त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ‘सिजि लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्नेछन् । यी सुबिधाका लागि ग्राहकहरुले कम्पनीकाे वेबसाइटमा मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्। नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

विधागत पत्रकारिता विकासको जग

समाजका घटना र जानकारीको तथ्यपूर्ण प्रस्तुतिका आधारमा समाजको ऐनाका रुपमा पत्रकारिताले काम गर्छ । यसका लागि लुकेका वा लुकाउन खोजिएका सार्वजनिक महत्वका सूचनाहरू प्रस्तुत गर्छ । त्यस्ता सूचना तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय हुनु पूर्वशर्त हो र त्यस्ता सूचना मात्र सम्प्रेषण गर्नु पत्रकारिताको धर्म हो । समाजमा त्यस्ता सूचनाको शक्तिलाई स्वीकार र सहन नगर्ने संस्कृति पनि नभएको होइन । त्यही संस्कृतिको परिणामका रूपमा कतिपय अवस्थामा पत्रकार तथा सञ्चारमाध्यममाथि भौतिक तथा मानसिक आक्रमण हुने गरेको पाइन्छ । एक महिनाभित्रै करिव एक दर्जनसम्म आक्रमणका घटना त्यस्तै अपसंस्कृतिका परिचायक हुन् । पत्रकारिताले मानव जीवन र जगतका विषयवस्तुलाई समाचार वा विचारका रुपमा समेट्छ, समेट्नुपर्छ । मानवीय चासोभन्दा बाहिर मिडिया छैन, जाँदैन । तर, मानिसको चासोको सीमा असीमित छ । चराचर जगतमा मात्र पनि हैनस समग्र पृथ्वी, ब्रम्हाण्ड र अनन्तसम्मै मानवीय चासो छ । जिज्ञासु मानिसको चासोका दायरा कसैले तोक्न पनि सक्दैन, सीमित परिधिभित्र कसैले रोक्न पनि सक्दैन । मानवीय उत्सुकताको जगमा टिकेको ज्ञानको खोजीसँगै पत्रकारिताको परिधि फैलँदो छ । त्यही जिज्ञासालाई समेट्ने नाममा तथ्यमा नपुगी वा तथ्यलाई तोडमोड गरी वा अर्ध–तथ्य प्रस्तुत गरी सनसनीपूर्ण सामग्री बनाउने र पस्किने काम पनि हुने गरेका छन् । सम्बेदनशील हुनुपर्ने माध्यम नै सनसनीपूर्ण भइदिएपछि परिणाम सधैँ सुखद हुन पनि सक्दैन । त्यस्ता कारणले पनि असहिष्णु मनहरूलाई थप उकासिदिन्छ । अनि, मिडियाकर्मी वा मिडियामाथि भौतिक आक्रमणसमेत भइदिन्छ । जबकि, नितान्त गलत सूचना नै सम्प्रेषण भए पनि त्यसको कानूनी उपचार खोज्ने विधि र प्रक्रिया छ । मानवीय अनन्त चासो र जिज्ञासालाई शान्त पार्न एउटा पत्रकारले कतिसम्म सक्ने भन्ने कुराको कुनै ठोस जवाफ छैन । जीवन, जगत र त्यसभन्दा पनि टाढाका सबै विषयलाई एउटै पत्रकारले बुझ्न र बुझाउन सक्दा पनि सक्दैन । तसर्थ विभिन्न विधामा केन्द्रित भएर अध्ययन गर्ने र त्यसमा दक्षता हासिल गरेर समाचार संकलन गर्ने पत्रकारिताको अभ्यासको विकास भएको हो । जिज्ञासुका चाहनाहरूलाई सकेसम्म समेट्नका लागि नै मिडियाले पत्रकारहरूलाई विभिन्न विधाको कार्यक्षेत्र तोकेर समाचार संकलन, प्रशोधन र सम्प्रेषण गर्ने गरेका हुन् । यही अभ्यास नै विधागत पत्रकारिता हो । त्यस्ता विधामा काम गर्नका लागि थुप्रै पत्रकार कस्सिएर लागेका पनि छन् । भलै तीमध्ये कतिपयको कार्यशैली, कार्यदक्षता, आचरण र अभ्यासका मामिलामा अनेक प्रश्न उठेका छन् । ती प्रश्नको उत्तर पनि अन्ततः तिनै पत्रकारहरूसँग नै छ । पत्रकारिताको थालनीको युगमा समग्र विषयमा एउटै पत्रकारले कलम चलाउँथे । समयको विकाससँगै विधागत पत्रकारिताको अवधारणा पनि विकसित हुँदै आयो । पत्रकारिताको लामो इतिहास भएका मुलुकमा विधागत रिपोर्टिङको चलन पनि विकसित नै छ । बिबिसी, सिएनएनजस्ता मिडियामा वातावरण रिपोर्टिङ गर्ने वातावरणविद्, स्वास्थ्य/जनस्वास्थ्यको लागि चिकित्सक, जलवायु परिवर्तनको रिपोर्टिङ गर्ने विशेषज्ञ आदि देखिएका छन् । खेलाडीहरू खेल पत्रकार भएको उदाहरण त नेपालमै पनि छ । विधागत रिपोर्टिङ वास्तविक अर्थमा आधुनिक पत्रकारिताको शुरुवात हो । सिङ्गो पत्रकारिताकै दक्षता अभिवृद्धि गर्ने उद्देश्यले १९ औं शताब्दीको अन्त्यतिर संयुक्त राज्य अमेरिकामा बीट रिपोर्टिङ् थालनी भएको पाइन्छ । मेलानी म्यागिन र पिटर मौररले ‘अक्सफोर्ड रिसर्च इन्साइक्लोपेडिया अफ कम्युनिकेशन’मा उल्लेख गरेअनुसार विधागत पत्रकारिता र समाचार संकलन पत्रकारिताको व्यावसायिकता र तर्कसंगतताका साथै मिडियालाई सामूहिक उत्पादनमा रूपान्तरण गर्ने विषयसँग सम्बन्धित छ । अहिलको चलनचल्तीको भाषामा मूलप्रवाह भनिने मिसमास पत्रकारिताको हालिमुहाली देखिए पनि नेपालमा चाहिँ पत्रकारिताको थालनी नै विधागत पत्रकारिताबाट भएको हो । करीब तीन दशकअघि २०५१ सालमा छापा पत्रकारिता सिकाउनकै लागि ‘पत्रकारिता हाते किताब’ को आवश्यकता महसूस गरेको नेपाली पत्रकारिता आज विधागत अभ्यासमा अघि बढिरहेको छ । जबकि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको करीब १३० वर्षपछि रोपिएको पत्रकारिताको बीउ नै विधागत थियो, त्यो साहित्यिक विधा थियो । अहिलेभन्दा ठीक २५५ वर्षअघि पृथ्वीनारायण शाहले कान्तिपुर राज्यमाथि विजय हासिल गरेको १८२५ असोज १३ गतेदेखि १९५५ साल साउनमा ‘सुधासागर’ प्रकाशित हुँदासम्मको अवधि गणनाका आधारमा १३० वर्ष भनिएको हो । १९४३ सालमा वनारसबाट नेपाली भाषाको पहिलो पत्रिका ‘गोरखा भारत जीवन’ निकालेको सात वर्षपछि मोतिराम भट्ट नै नेपाल फर्किएर पं। कृष्णदेव पाण्डेसँग मिली प्रेस स्थापना गरेका थिए । काठमाडौं, ठहिटीको त्यही पाशुपत प्रेसमा ‘सुधासागर’ साहित्यिक मासिक छापेर १९५५ साउनबाट नेपाली पत्रकारिताको शुभारम्भ भएको थियो । रोचक पक्ष त के भने १९०८ मा जङ्गबहादुर राणाले हाते प्रेस ९गिद्धे प्रेस० भित्र्याएको ४७ वर्षपछि नेपालबाट पत्रिका प्रकाशन शुरु भयो । तर, मोतीरामले स्थापना गरेको प्रेसमै १९५८ साल जेठ ३ गते पहिलो समाचारपत्रको रुपमा ‘गोर्खापत्र’ साप्ताहिक छापियो । यो हिसाबले अहिले सरकारी माध्यम भए पनि गोरखापत्र जनस्तरको टेकोपुँडोमा निस्केको देखिन्छ । गोरखापत्रको जन्म नेपाली साहित्यिक पत्रकारिताका प्रणेताहरूले तयार पारेको प्राविधिक पूर्वाधारमा भएको गौरव पनि विधागत पत्रकारिताले हासिल गरेको छ । पत्रकारिताकै वीजारोपण गर्ने व्यक्तिको हैसियतले मोतिराम भट्ट ‘नेपाली पत्रकारिताका आदिपुरुष वा संस्थापक’ नै हुन् । भलै उनलाई त्यसरूपमा खुला हृदयले सम्झिने र सम्मान गर्ने परम्पराको विकास हुनसकेको छैन । उनलाई ‘युवाकवि’मा मात्र सीमित गरिएको छ । नेपाली पत्रकारिता जगतको यो कञ्जुस्याइँको कारण अहिलेसम्म सायद कसैले खोजेको पनि छैन । विधागत पत्रकारिताको दृष्टिले हेर्दा राजनीतिक दृष्टिकोणसहितको निजी क्षेत्रको पहिलो समाचारपत्रको इतिहास कायम गर्दै राणा शासनको अन्त्य हुनुभन्दा तीन दिनअघि हृदयचन्द्रसिंह प्रधानको सम्पादकत्वमा निस्केको ‘जागरण’ साप्ताहिक राजनीति–पत्रकारिताको कोसेढुङ्गो हो । वास्तविक पत्रकारिताको विकास नै २००७ सालको राजनैतिक परिवर्तनपछि शुरु भएको मानिए पनि र व्यावसायिक पत्रिकाको प्रारम्भ प्रजातान्त्रिक व्यवस्थाको थालनीसँगै भएको ठानिए पनि त्यसपछि पनि अन्यभन्दा साहित्यिक पत्रकारिता नै बढी फष्टाएको पाइन्छ । यसबाट विधागत पत्रकारितामा साहित्यकारहरूको सक्रियता झल्किन्छ । विसं २००८ देखि २०१३ भित्र व्यापकरूपमा प्रकाशित हुन थालेका विभिन्न खाले पत्रपत्रिकाले त्यतिखेर समग्र पत्रकारिताको लोकप्रियता बढ्दै गएको सङ्केत गर्छन् । तर, त्यस अवधिमा समेत पत्रकारितामा साहित्यिक व्यक्तित्वहरूको रचना र उनीहरूको बाहुल्य रहेको तथ्याङ्क पाइन्छ । यसले पनि नेपाली पत्रकारिताको इतिहासमा साहित्यिक पत्रकारिताको वर्चस्वलाई पुष्टि गर्छ । त्यो भनेको पनि विधागत पत्रकारिताको वर्चस्वकै कुरा हो । विधागत पत्रकारितामा फोटो पत्रकारिताको अस्तित्व र इतिहास पनि खास देखिन्छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते छापेको फोटो–ब्लकबाट नेपाली छापामाध्यममा फोटो देखिन थालेको हो । यसैगरी सम्वाददाता राख्ने इतिहास २००० सालमा राजधानी काठमाडौंमा नगर सम्वाददाता राख्ने चलनबाट शुरु भएको र व्यंग्यचित्र अर्थात कार्टूनको थालनी २०१२ सालपछि भएको ग्रीष्मबहादुर देवकोटाले ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’मा उल्लेख गरेका छन् । यसैगरी नेपाली पत्रकारितामा महिलाको प्रवेश हस्तक्षेपकारी देखिन्छ । २००८ सालमा कुमारी कामाक्षी र साधना प्रधानद्वारा सम्पादित ‘महिला’ मासिक नेपाली पत्रकारितामा महिला प्रवेशको गौरवपूर्ण इतिहास कायम गर्दै उदाएको थियो । यो महिला बीटलाई नै पत्रकारिताको अभ्यास मान्नेहरूका लागि समेत गौरवको इतिहास हो । प्रजातन्त्रको आठ वर्षे अभ्यासपछिको २०१५ सालको निर्वाचित सरकारले दुई वर्षे उमेर पार गर्दा नगर्दै राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि राजनीतिक स्वतन्त्रतासँगै प्रेस स्वतन्त्रता पनि खोसियो । फलतः पञ्चायती व्यवस्थाभरि पत्रकारिताको विकास अवरुद्ध भयो । अवरोधकै बीच पनि आर्थिक, साहित्यिक, खेलकूद, ग्रामीण, विज्ञान, प्रशासन आदि पत्रकारिताका केही अभ्यास भएको देखिन्छ । नेपाल अधिराज्यको संविधान, २०४७ ले प्रेस स्वतन्त्रता बहाल गरेपछि दैनिक पत्रिका प्रकाशनको लहर चल्यो । त्यसपछि नै विभिन्न विधामा समाचार लेख्ने प्रचलनको प्रयोग पनि व्यापक हुँदै गयो । तर, व्यावसायिक पत्रकारिताको शुरुवातीताका रिपोर्टिङको विधा व्यवस्थित नभइसकेको र राजनीतिक समाचारले बढी प्राथमिकता पाउने गरेको त्यस पुस्ताका पत्रकारहरूलाई हेक्का छ । त्यसताका एउटै बीटमा पत्रकारले लामो समय काम गर्न नपाउने र बेला–बेलामा कार्यक्षेत्र हेरफेर भइरहने हुनाले विशिष्टीकरणको अवसर कमजोर हुनपुग्थ्यो । विशिष्टीकरणको महत्वलाई नै ध्यानमा राखेर प्रेस काउन्सिलमा २०६३ सालमा ‘विधागत पत्रकारिता विकास उपसमिति’ गठन गरिएको पाइन्छ । त्यो उपसमितिले साहित्यिक तथा अन्य विधागत पत्रकारिताको विकास र सम्बद्र्धनका लागि नीति निर्माण गरी समस्या समाधानका लागि पहल गर्ने भनिएको थियो । यद्यपि त्यसपछिका काउन्सिलका गतिविधिहरूले के समस्या थिए र के हल गर्न के पहल ग¥यो भन्ने खासै देखिँदैन । आमसञ्चार विकासको प्रारम्भिक चरणमा छापामाध्यममा सीमित ‘प्रेस’ लाई जसले, जसरी, जुनसुकै मनसुवाले अनेकार्थी, पर्यायवाची शब्द प्रयोग गरे पनि अब छायामा पार्न सहज छैन । अर्थ विस्तारसहितको ‘प्रेस’ शब्द समग्र पत्रकारिता क्षेत्रलाई जनाउने संकेत शब्दको रुपमा स्थापित भइसकेको छ । रेडियो, टेलिभिजन हुँदै अनलाइन प्रविधिसम्म विस्तार हुँदा पत्रकारिता अब रोजगारीको एक माध्यमका रूपमा मात्र सीमित छैन । नयाँ–नयाँ घटनाको संकलन, चयन र सम्प्रेषणको समग्र प्रक्रियाका रुपमा रहेको यो पेशा समसामयिक ज्ञान आदानप्रदान गर्ने व्यवसाय भएको छ । यसको सम्बन्ध समाजका हरेक जीवनसँग गाँसिएको कुरा पत्रकारहरूले नै आत्मसात गरिरहेका छन् । पत्रकारहरूको यस्तो ठहर र रहरले नै पत्रकारितालाई सामाजिक क्रियाकलापका रूपमा समाजबारे समाचार र विचारको प्रसार गर्ने व्यवसायका रुपमा स्थापित गराएको छ । त्यसै क्रममा आमसञ्चारका साधनका लागि आवश्यक कच्चा पदार्थ संकलन, प्रशोधन, उत्पादन, भण्डारण र वितरणका काम यस पेशाअन्तर्गत हुँदै आएको सादृश्य छ । सिसाका टुक्रा जोडेर छापामा दल्नुपर्ने प्रविधिको ठाउँमा कृत्रिम बौद्धिकता ९आर्टिफिसियल इन्टेलिजेन्स– एआई० आइसकेको मात्र हैन, अब त समाचार कक्षमै हाबी भइसकेको छ । यो युगमा मानिसले रुचिअनुरुपका जानकारी पाउने अवस्था झनझन बलियो बन्दैछ । यो सुविधाले परम्परागत पत्रकारिता वा पत्रकारिताका साधनमै मात्र दुनियाँ निर्भर रहनुपर्ने अवस्थाको अन्त्य भएको छ । मिडियामा भूमण्डलीकरणको परिणामस्वरुप नै नेपाली उपभोक्ताले पनि आमसञ्चारका विश्वव्यापी उत्पादनसम्म पहुँच पाएका छन् । यस्तो समयमा एउटै मिडियाबाट सन्तोषजनक रूपमा सबै विषय समेट्न सम्भव छैन । साथसाथै कुनै विधा विशेषमा केन्द्रित रहेर पत्रकारिता गर्ने सञ्चारमाध्यमलाई पनि अरुभन्दा छिटो र पृथक स्वाद पस्कनुपर्ने बाध्यता बढ्दै गएको अनुभव पत्रकारहरूले गरिरहेका छन् । यो नेपालको मात्र नभएर दुनियाँकै पत्रकारिताको अनुभवको एक अंश हो । यसरी साहित्यको जगमा विधागत अभ्यास र त्यसको जगमा मिसमास पत्रकारिता गर्दै आजको युगमा आइपुगेको नेपाली पत्रकारिताको अबको दशा र दिशा सुधार्न भने पत्रकारहरूले मात्र गर्ने चिन्ता पर्याप्त छैन । बरु यसमा पूँजी लगानीकर्ता, विभिन्न प्रकारका श्रम लगानीकर्ता, सरकार, आमसञ्चार विज्ञलगायतका सबै सरोकारवालाहरूले सक्रिय चासो देखाउनु जरुरी छ । रासस (लेखक पत्रकार हुनुहुन्छ) 

हुलाकी सडक : निर्धारित समयसम्म ५० प्रतिशत पनि काम भएन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक बर्षमा पनि सम्पन्न हुनेमा आशङ्का छ । कैलाली र कञ्चनपुरको एकसय ३६ किलोमिटर हुलाकी सडकमध्ये ८६ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । यहाँ अझै ५० किलोमिटर सडक कालापत्रे गर्न बाँकी छ । कैलालीमा लम्की–टीकापुरखण्डको साढे २९ किलोमिटर सडक स्तरोन्नति आर्थिक वर्ष २०७६/०७७ मै थालिए पनि हालसम्म आठ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । साढे २९ किलोमिटर उक्तखण्ड तीन वटा प्याकेजमा ठेक्का दिइए पनि पहिलो प्याकेजको काम मात्रै सम्पन्न भएको हो । त्यसैगरी कैलालीमा पूर्व–पश्चिम (धनगढी क्याम्पस रोड–सत्ती) ४४ किलोमिटर हुलाकी सडकमा पाँच किलोमिटर मात्रै काम भएको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले जानकारी दिए । उनले कामको अवस्था हेर्दा चालु आर्थिक वर्षमा बजेट अपुग नभए सडक निर्माण सकिनेमा आफू आशावादी रहेको बताए। क्याम्पस रोड–सत्ती सडकखण्ड निर्माणका लागि चारवटा प्याकेजमा निर्माणको जिम्मा दिइएको इन्जिनियर सुनारको भनाइ थियो । चालु आर्थिक वर्षमा कैलालीतर्फ हुलाकी सडक निर्माणका लागि रु ३९ करोड सरकारले बजेट बिनियोजन गरेको छ । ‘बजेट कम भएन र निर्माणमा कुनैखाले अवरोध भएन भने चालु आर्थिक वर्षमै काम सकिन्छ,’ उनले भने, ‘यहाँ निर्माण व्यावसायीको ढिलासुस्तीका कारण पनि ढिलो भएको हो ।’ कैलालीमा हुलाकी सडक निर्माणको म्याद आगामी पुस मसान्तसम्म रहेको आयोजना कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०६४/६५ देखि हुलाकी सडक निर्माणको कार्य सुरु गरिएको थियो । सुरुवातमा भारतको सहयोगमा भारतीय निर्माण कम्पनीले हुलाकी सडक निर्माण गरेको थियो तर सो कम्पनीले राजमार्ग निर्माण अधुरै छोडेपछि सरकारले उक्त सडक आयोजना आफ्नै लगानीमा अघि बढाएको थियो । यता कञ्चनपुरमा पनि साढे ६२ किलोमिटर हुलाकी सडकका लागि पाँचौ पटक म्याद थप्दा पनि निर्माण सकिएको छैन । इन्जिनियर सुनारका अनुसार कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडकमा साढे ३६ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ । विसं २०७३ फागुनमा निर्माण सुरु भएको उक्त खण्डलाई तीन प्याकेजमा निर्माण गर्न दिइएको थियो । पहिलो प्याकेज पाँचौ पटकसम्म म्याद थप गर्दा सकिएपनि दुई वटा प्याकेजको काम ५० प्रतिशतभन्दा बढी बाँकी नै छ । ‘दोस्रो प्याकेज (बेलौरी–बेल्डाँडी) २० किलोमिटरमध्ये साढे नौ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।’ उनले भने, ‘तेस्रो प्याकेज (बेल्डाँडी–दैजी) को २४ किलोमिटरमध्येमा आठ किलोमिटरको काम सकियो ।’ उक्त दुवै प्याकेजको म्याद गत असारमा सकिएकामा अहिलेसम्मका लागि पुनः म्याद थप गरिएको छ । यहाँ ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले दोस्रो प्याकेजको निर्माणको जिम्मा पाएपनि सो कम्पनी अहिले हुलाकी सडक योजना कार्यालयको सम्र्पकमा नरहेको इन्जिनियर सुनारको भनाइ थियो । रासस

‘नेपाल सरकारले तत्काल सुधारका कदमहरु चाल्न आवश्यक छ’

काठमाडौं । आईएमएफको मिसन टोली र सिबिफिनबीच भेटघाट भएको छ । आईएमएफ मिसन फर थर्ड रिभियु अन्डर द एक्टेन्डेट क्रडिट फेसिलिटी अन्तर्गत आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वको टोलीबीच गत शुक्रबारका दिन सिबिफिन कार्यालयमा सुन्धारामा भेटघाट तथा छलफल भएको छ । आईएमएफको नेपालस्थित कार्यालयसँगको समन्वयमा यस अघि नै तय गरिएको उक्त भेटघाटका क्रममा चालू मौद्रिक नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन र आर्थिक एवं बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयहरुमा सघन छलफल भएको छ । भेटघाटका क्रममा सिबिफिनका अध्यक्ष गोल्यानले समग्र आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा विकासका मुद्दाहरुमा आईएमफसँग निरन्तर छलफल तथा संवाद भइरहेको स्मरण गर्दै उनले नेपालको वर्तमान आर्थिक एवं बैंकिङ क्षेत्रको अवस्था, सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत एवं व्यवहारिक पक्ष र विकास साझेदार संस्थाहरुको भूमिकाका विषयमा प्रकाश पारेका थिए । मिसन टोलीका प्रमुख टिडियान किन्दासहितका प्रतिनिधिहरुले विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वभाविक भएतापनि नेपाल सरकारले तत्काल सुधारका कदमहरु चाल्न आवश्यक रहेको बताए । नेपाल जस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरुको संभावित भूमिकाका विषयमा जिज्ञासा व्यक्त गरेका थिए । मिसन टोलीको जिज्ञासा मेट्दै सिबिफिनका अध्यक्ष गोल्यानले नेपालको कृषि, वनपैदावर, उर्जा, पयर्टनलगायतका क्षेत्रहरुमा देखिएका अथाह संभावनालाई ध्यान दिँदै नेपाल सरकार तथा मातहतका नियामक निकायहरुले मैत्रीपूर्ण नीति र वातावरण बनाइ समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा विशेष जोड दिइनुपर्ने, उत्पादनमूलक, रोजगामूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिइनुपर्ने उल्लेख गरे । त्यसैगरी, दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपालका बैंक तथा वित्तीय संस्थाहरुमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउने विषयमा आवश्यक पहल गर्न अध्यक्ष गोल्यानले टोलीसमक्ष आग्रह गरे । त्यसैगरी सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्र प्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीहरुको सामना गरिरहेको भएतापनि विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय–सान्दर्भिक नीतिको अवलम्बन हुन सकेमा अर्थतन्त्रलाई चलायमान बनाउने सामथ्र्य बैंकिङ क्षेत्रमा रहेको विश्वास व्यक्त गरे । उक्त भेटघाटका क्रममा अध्यक्ष गोल्यानले ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु’ नामक अध्ययन पुस्तक र विभिन्न समयमा गरिएका महत्वपूर्ण अध्ययन प्रतिवेदनहरुवारे ब्रिफिङ गर्दै मिसन टोली प्रमुख टिडियान किन्दालाई हस्तान्तरण गरे । उक्त अध्ययन पुस्तक तथा प्रतिवेदनहरु ग्रहण गर्दै मिसन टोली प्रमुख किन्दाले सिबिफिनले उठाएका विषयहरुका वारेमा आईएमएफलगायतका निकायहरुमा आवश्यक छलफल गर्ने सन्देश व्यक्त गरे । उक्त भेटघाट तथा छलफलमा आईएमएफ मिसनबाट मिन्क गोर्ट, रसेल ग्रिन, आईएमएफ नेपालकी आवासीय प्रतिनिधि टेरेसा डवान सान्चेज, अर्थशास्त्रीद्वय सुधा दाहाल, सरस्वती शर्मा र सिबिफिनका कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुश प्रसाद मल्ली, सदस्य उपेन्द्र केशरी न्यौपानेलगायतको सहभागिता रहेको थियो ।