नेपालले भोलि भारतसँग खेल्दै, यस कारण जित्न सक्छ नेपाल
काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । चीनमा जारी १९ औँ एसियाली खेलकुदको क्वाटरफाइलमा नेपालले भारतसँग खेल्ने भएको हो । सोमबार भएको लक्की ड्रबाट नेपाल क्वाटरफाइनलमा भारतसँग भिड्ने पक्का भएको हो । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल मंगलबार बिहान हुनेछ । नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी-२० आई खेल्ने भएको हो । पछिल्लो समय नेपाली टिमको आत्मविश्वास उच्च छ । केही दिनअघि मात्र नेपालले भारतको सिनियर टिमविरुद्ध ब्याटिङमा राम्रो प्रदर्शन गरेको थियो । यस्तै, नेपालले जारी एसियन गेम्सको समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन ग¥यो । समूह चरणमा नेपालले मंगोलियालाई २७३ तथा माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् । त्यसैले पनि नेपालले खेल आफ्नो पक्षमा पार्न सक्ने ठूलो सम्भावना छ ।
सिट्रोनको शोरुम अब पोखरा र चितवनमा
काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले पोखरा र चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । पोखराको नयाँबजारमा खोलिएको नयाँ शोरुम एसएसएल मोटर्स कम्पनी रहेको छ भने चितवनको भरतपुर–१०, रिजाल चोकमा खोलिएको नयाँ शोरुम ओजोन मोटर्स कम्पनी रहेको छ । यीे नयाँ शोरुमहरुमा सिट्रोन ईसिथ्री र सिट्रोन सिथ्री मोडल बिक्रीका लागी रहेका छन् । यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच पोखरामा शोरुमको उद्घाटन गरे । त्यसैगरी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच चितवनमा शोरुमको उद्घाटन गरे । सन् १९१९ मा आन्द्रे गुस्तावेद्वारा स्थापित फ्रान्सेली सवारी साधनको अग्रगामी सिट्रोनले इनोभेशन र साहसलाई परिभाषित गर्दछ । पहुँचयोग्य इनोभेशन गरिरहने आफ्नो प्रतिबद्धताका लागि परिचित सिट्रोन कम्पनि सन् १९१९ मा टाईप ए १० एचपीबाट सुरु भई सन् १९२७ सम्म वार्षिक ५०,००० भन्दा बढी सवारी साधनहरू उत्पादन गर्दै विश्वको चौथो–ठूला सवारी उत्पादक बनेको कम्पनीले जनाएको छ । फ्रान्सेली संस्कृति र सवारी साधनको इतिहास, दुवैमा दृढतापूर्वक जरा गाडेर एक शताब्दीभन्दा बढी सम्पदा र ३०० प्रतिष्ठित मोडेलहरूको साथ, सिट्रोन इनोभेशन र कनेक्शनको प्रतीक बनेको कम्पनीको भनाई छ । सिट्रोन ईसिथ्रिमा २९.२ केडबल्युएच ब्याट्री छ, ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्कको साथ प्रभावशाली प्रदर्शन प्रदान गर्ने साथै विद्युतीय पावरट्रेनले सरल एक्सिलरेशन र रमाईलो ड्राइभिङको अविश्मरणिय अनुभव दिने कम्पनीले जनाएको छ । एरोडाईनामिक्स मार्फत शैली र दक्षता दुवैमा थप सुधार ल्याउँदै भविष्यात्मक सुन्दरताले चिनिने सिट्रोनको डिजाइनले इनोभेशन र एस्थेटिक्सप्रति यस ब्राण्डको प्रतिबद्धतालाई प्रदर्शन गर्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सिट्रोन ईसिथ्रिको एमिशन–फ्री सञ्चालनले वातावरण राख्नमामा योगदान पु¥याउँछ, जसले ग्राहकहरूलाई प्रदर्शनमा कुनै सम्झौता नगरी इको–फ्रेन्ड्ली मोबिलिटीलाई अँगाल्न मद्दत गर्दछ । मूल्यको सन्दर्भमा, लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फील भेरियन्टको मूल्य ३४.९९ लाख छ, जसले गर्दा सिट्रोन भारतमा बनेको कम्प्याक्ट यसयूभी सेग्मेंटमा सबैभन्दा कम मूल्यको ईभि बनेको छ कम्पनीले जनाएको छ । यस सिट्रोन ईभिको ब्याट्रीको आयु डीसी फास्ट चार्जरबाट गर्दा पनि धेरै समयसम्म टिक्ने कम्पनीको दाबी छ । कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरी यसमा दिइएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको कम्पनीले जनाएको छ । उपभोक्ताहरुको अत्यधिक मागलाई सम्बोधन गर्दै सिट्रोनले आफ्नो आइस (इन्टरनल कम्बस्चन इन्जिन) मोडेल पनि उपलब्ध गराएको छ। फिल विथ भाइब प्याकेजसहित ३६.४९ लाखमा पाईने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको कम्पनीले जनाएको छ । सांग्रिला मोटर्सले दशैं र तिहारको अवसरमा प्रमोशनल स्किम पनि ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क कम्प्रीहेन्सिब इन्सुरेन्स लगायतका असाधारण लाभहरूको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।
डोका बिक्रीबाट मासिक ३५ हजारसम्म आम्दानी गर्दै भोजपुरका चन्द्रबहादुर
भोजपुर । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताए । एकदिनमा आठदेखि दश ओटासम्म डोका तयार गर्ने उनको भनाइ छ । डोका बिक्रीबाट मासिक ३० देखि ३५ हजारसम्म आम्दानी हुने उनले जानकारी दिए । ‘चालीस वर्षअघिबाट डोका बुन्ने काम गर्दै आएको छु’, उनले भने, ‘एक दिनमा आठदेखि दश वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । डोकाबाट नै मेरो चिनारी बनेको छ ।’ डोका स्थानीय बजारमा प्रतिगोटा तीन सय ५० देखि चार सयसम्ममा बिक्री हुने तामाङले बताए । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक सात/आठ लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ । ‘डोका बुन्ने कामबाट राम्रै आम्दानी हुन्छ’ उनले भनेर्, यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक सात-आठ लाख आम्दानी गर्न कठिन हुन्न । अन्य कृषि कर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी हुन्छ ।’ आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उनको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उहाँको भनाइ छ । डोकाको लागि विभिन्न ठाउँबाट माग हुने उनले बताए । ‘मैले बुनेको डोकाको लागि जिल्लाका विभिन्न ठाउँबाट माग हुन्छ’, उनले भने, ‘गाईबस्तुपालनसँगै खेतीपाती पनि गर्छु । कहिलेकहीँ त मागअनुसारको डोका पुर्याउन समस्या हुन्छ ।’ आफूले बुनेको डोकालाई भोजपुर सदरमुकाममा लगेर बिक्री गर्दै आएको उहाँको भनाइ छ । बजारसम्म पुग्नको लागि घरबाट पाँचदेिख छ घण्टासम्म लाग्ने उनले बताए । ‘डोकाको माग धेरै ठाउँबाट आउँछ’, उनले भने, ‘यसको मुख्य बिक्री गर्ने ठाउँ भनेको भोजपुर बजार नै हो । बजारमा लगेर बिक्री गर्छु । मैले बुनेको डोका किन्न गाउँ-गाउँबाट मानिस आउँछन् ।’ सामुदायिक वनले कडीकडाइ गर्ने भएकाले कच्चा पदार्थ जुटाउन भने समस्या रहेको तामाङले बताए । मालिङ्गो काट्नको लागि वर्षमा एक पटक मात्र खुला हुने गरेको उनको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगानेलगायतबाट डोका बुन्दै आएको तामाङको भनाइ छ । ‘नयाँ पुस्ताले यो काम गर्न चाहँदैनन्’ उनले भने, ‘डोका बुन्नको लागि पनि धेरै दुःख हुन्छ । हामीलाई कच्चा पदार्थ जुटाउन समस्या छ । सहजरुपमा पाउने अवस्था छैन ।’ प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेको तामाङले बताए । यस्ता खालका परम्परागत पेसालाई स्थानीय सरकारले संरक्षणसँगै विकासमा ध्यान दिन आवश्यक रहेको उनले बताए । ‘पछिल्लो समय विभिन्न खालका सीपमूलक पेसा लोप हुने अवस्था छ’, उनले भने, ‘मैले गरेको काम मेरो छोरा नातिले गर्न चाहँदैनन् । यस्ता खालका परम्परागत पेसालाई जोगाउन आवश्यक छ । यसमा सरकारले पहल गर्नुपर्छ ।’ आफ्नो गाउँघरमा बूढापाकाले मात्र यस्ता चोयाका सामग्री बनाउने गरेको तामाङले बताए । यस्ता खालका परम्परागत कामलाई व्यावसायिकीकरण गर्नसके अझ सहज हुने उनको भनाइ छ । रासस
नेपाल बैंकमा अधिकारीको ४ वर्ष : सेयरधनीले लाभांश पाए, बिजनेस दोब्बर बनाए
काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी सोमबारदेखि बैंकबाट बाहिरिएका छन् । सीईओको रुपमा ४ वर्षे कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिएका हुन् । वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रुपमा नियुक्त गर्न नमानेपछि उनी बैंकबाट बाहिरिएका हुन् । बैंकका सञ्चालक आनन्द काफ्लेको संयोजकत्वमा तीन सदस्यीय सीईओ छनोट समिति गठन भएकाे छ । अब नेपाल बैंकले नयाँ सीईओ खाेज्नेछ । नेपाल बैंककै प्रडक्ट रहेका अधिकारी नेपाल बैंकबाटै सीईओ बन्ने पहिलो ब्यक्ति हुन् । त्यसअघि बैंक बाहिरबाट सीईओ ल्याउने अभ्यास थियो । बैंकको तल्लो तहदेखि माथिल्लो तहसम्म पुगेको ब्यक्ति भएकाले सीईओ अधिकारीले आफ्नो कार्यकालमा उल्लेख्य काम गरेको बैंककी उपकार्यकारी प्रबन्धक लक्ष्मी पण्डित बताउँछिन् । ‘उहाँ त नेपाल बैंकको तल्लो तहबाट माथिल्लो तहमा पुगेको कर्मचारी हो, बैंककै प्रडक्ट भएको हुँदा बैंकप्रतिको माया पनि बढी नै हुन्छ, उहाँलाई सुरुदेखि नै आन्तरिक कुराहरु थाहा थिए, त्यही अनुसार उहाँले काम गर्नु भयो,’ उनले अधिकारीसँगको कामको अनुभव सुनाउँदै भनिन् । राजनीति नियुक्ति लिएर आउने सीईओलाई बैंकको आन्तरिक कुराहरु बुझ्न एक/दुई वर्ष लाग्ने गरेको र तलव भत्ता मात्रै पचाएर बाहिरिने गरेको उनको भनाइ छ । त्यसैले सीईओ अधिकारीलाई नै दोस्रो कार्यकालका लागि दोहोर्याउनु पर्ने आफुहरुको माग भएपनि त्यो सम्भव नभएको उनको भनाइ छ । ‘उहाँ दोहोरिनु पर्छ भन्ने कर्मचारीको पनि चाहना र माग थियाे, उहाँ आफू पनि बैंकका लागि खटिने र कर्मचारीलाई पनि खटाउन सक्ने क्षमता भएको ब्यक्ति हो, जतिबेलासम्म लक्ष्य पुरा हुँदैन तबसम्म आराम गर्नु हुँदैन भन्ने उहाँको स्वभाव थियाे, तर दाेहाेरिनु भएन,’ उनले भनिन्, । अधिकारी सीईओ हुनु पहिला र अहिलेको तुलना गर्ने हो बैंकले ठूलो फड्को मारेको उपप्रबन्धक पण्डित बताउँछिन् । बैंकको आन्तरिक प्रणालीलाई चुस्तदूरुस्त कायम गरेको उनको भनाइ छ । उनको कार्यकालमा सबैभन्दा देखिने गरी भएको भनेको पारदर्शिता रहेको उनले जानकारी दिइन् । ‘बैंकलाई हेर्ने नजरमा पनि धेरै परिवर्तन आएको छ, बैंकको कर्मचारी व्यवस्थापनदेखि आन्तरिक प्रणालीलाई एउटा तहमा पुर्याउनु भएको छ, कर्मचारीको बढुवादेखि अन्यमा पारदर्शीता कायम भएको छ,’ उनले भनिन् । त्यसपछि सुरु भयो लाभांश वितरण देशको जेठो बैंकको सीईओका रुपमा नेतृत्व सम्हालेका अधिकारीले सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेका हुन् । उनी सीईओ भएदेखि बैंकले निरन्तर सेयरधनीहरुलाई उच्च लाभांश वितरण गर्दै आएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कूल १६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल १७ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, चालू आर्थिक वर्षमा पनि बैंकको ६.६२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता छ । चार वर्षमा कति गर्याे प्रगति ? नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशक बढी कार्य अनुभव हासिल गरेका अधिकारीले एमबिए र ईएमबिएसम्मको अध्ययन पुरा गरेका छन् । कुनै समय ठूलो नोक्सानी व्यहोरेको नेपाल बैंक पछिल्लो समय वाणिज्य बैंकहरुबीच एक अब्बल बैंकका रुपमा स्थापित भएको छ । सीईओ अधिकारीको कार्यकालमा अधिकांश सूचकमा निजी क्षेत्रका वाणिज्य बैंकलाई चुनौति दिने गरि बैंकले प्रगति गरेको छ । अधिकारी सीईओ बनेपछि बैंकको निक्षेप संकलन शतप्रतिशत बढेको छ । उनी सीईओ बन्नु अघि आर्थिक वर्ष २०७५/७६मा बैंकसँग १ खर्ब २७ अर्ब ३४ करोड रुपैयाँ मात्रै निक्षेप थियो । जब उनी बैंकको सीईओ भएर आए तब बैंकले १०८ प्रतिशत निक्षेप बढाएर आर्थिक वर्ष २०७९/८० मा २ खर्ब ४४ अर्ब रुपैयाँ पुर्याए । उनको कार्यकालमा कर्जा प्रवाह पनि उल्लेख्य वृद्धि भएको छ । ४ वर्षको अवधि अर्थात् आर्थिक वर्ष २०७९/८० सम्म ९९.५२ प्रतिशत कर्जा वृद्धि गरेर १ खर्ब ८४ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अधिकारी सीईओ हुनु अघि आर्थिक वर्ष २०७५/७६ मा बैंकको कर्जा प्रवाह ९१ अर्ब ९७ करोड रुपैयाँ मात्रै थियो । अधिकारीले आफ्नो कार्यकालमा चुक्ता पूँजी र जगेडा कोषमा पनि उल्लेख्य वृद्धि गरेका छन् । ४ वर्षको अवधिमा चुक्ता पूँजी ४९.७६ प्रतिशत बढाएर १४ अर्ब ६९ करोड रुपैयाँ र जगेडा कोष ५६.६९ प्रतिशत बढाएर २० अर्ब ९१ करोड रुपैयाँ पुर्याएका छन् । आर्थिक वर्ष २०७५/७६ सम्म बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ र जगेडा कोष ७ अर्ब ५६ करोड रुपैयाँ मात्रै थियो । उनको कार्यकालमा बैंकको नाफा पनि बढेको तथ्याङ्कले देखाउँछ । अधिकारी बैंकको सीईओ बन्नु अघि बैंकले २ अर्ब ६१ करोड रुपैयाँ नाफा गर्थ्यो । तर, पछिल्लो तथ्याङ्क अनुसार बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको छ । ४ वर्ष अघि ३ अर्ब २६ करोड रुपैयाँ ब्याज आम्दानी गर्ने बैंक हाल ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको ब्याज आम्दानी गर्दै आएको छ । उनको कार्यकालमा खराब कर्जा भने साढे १० प्रतिशतले बढेको छ । ४ वर्षअघि २.५८ प्रतिशत रहेको खराब कर्जा २.८५ प्रतिशत पुगेको छ । कोरोना महामारीका कारण खराब कर्जा बढेको उपप्रबन्धक पण्डितले बताइन् । बैंकिङ्ग क्षेत्रमा नै खराब कर्जा बढेकाले नेपाल बैंकको पनि बढनु स्वभाविक रहेको उनको भनाइ छ । ‘कोरोना महामारीका कारण खराब कर्जा बढेको हो, देशको परिस्थिती नै गाह्रो थियो, कसैलाई अफ्ठ्यारोमा पारेर ऋण असुली गर्न सक्ने अवस्था थिएन, कतिपय ब्यापार व्यवसाय अझै सुस्त छ,’ उनले भनिन्, ‘बढेको खराब कर्जा चालू आवको पहिलो त्रैमासमा नै तल झर्छ ।’ कार्यवाहक सीईओको जिम्मेवारी पाएकी समता पन्तका अनुसार सीईओ अधिकारीको कार्यकालमा बैंकले धेरै प्रगति गरेको छ । तथ्याङ्कलाई आधार मान्ने हो भने बैंकको सञ्चालक समितिले अधिकारीलाई दोस्रो कार्यकालका लागि दोहार्याउनु पर्ने धारणा राखिन् । ‘तथ्याङ्कका आधारमा उहाँको कार्यकाल सफल भएको छ, उहाँकै कार्यकालबाट बैंकले लाभांश दिन सुरु गरेको हो, ४ वर्षको अवधिमा लाभांशमा अब्बल बनाउनु भयो, क्रेडिट रेटिङमा पनि ‘ए’ रेटिङमा राख्नु भयो,’ उनले भनिन् । उनका अनुसार सीईओ अधिकारी कर्मचारी व्यवस्थापनमा पनि अब्बल छन् । सीईओ अधिकारीकै पहलमा कर्मचारीको सेवा सुविधा बढेको उनको भनाइ छ । ‘कर्मचारी व्यवस्थापनमा पनि अब्बल हुनुहुन्छ, १५/१६ वर्षदेखि बढ्न नसकेको सेवा सुविधा उहाँले बढाउन पहल गर्नु भयो, त्यसकारण पनि कर्मचारी उहाँको कार्यकालमा सन्तुष्ट छन्,’ उनले भनिन् ।
डाक्टरको लाइसेन्स परीक्षामा ४४ प्रतिशत मात्रै उत्तिर्ण
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकल तर्फ ४४.४० प्रतिशत उत्तिर्ण भएका छन् । काउन्सिलका अनुसार असोज १० देखि १२ गतेसम्म भएको उक्त परीक्षामा मेडिकल तर्फ सहभागी भएका १४९१ मध्ये ६६२ जना उत्तिर्ण भएका हुन् । त्यस्तै, डेन्टल तर्फको लाइसेन्स परीक्षामा सहभागी भएका ३२० जना मध्ये १७१ अर्थात ५३.४४ प्रतिशत उत्तिर्ण भएका छन् । समग्रमा दुवै विषयमा ४६ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । काउन्सिलले गत जेठमा लिएको परीक्षामा भने ३८.३९ प्रतिशत मात्रै परीक्षार्थी उत्तिर्ण भएका थिए ।
एनसेलद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । एनसेल आजियाटाले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबार (असोज १२ गते) काठमाडौंको लैनचौर ग्राउण्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ४०० भन्दा बढी मानिसहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए । नर्भिक अस्पतालसँगका सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले विषेशज्ञ डाक्टरहरुबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँच लगायनका परामर्श र ईसीजी र मधुमेह जाँच सेवा पाएका थिए । स्वास्थ्य शिविरहरुले मानिसहरुमा प्रिभेन्टिभ हेल्थ केयर प्रोत्साहन गर्न मद्दत गर्ने हुनाले स्वास्थ्य शिविरहरु समयमै रोग पहिचानको लागि एकदमै राम्रो माध्यम मानिन्छ । एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप यो स्वास्थ्य शिविरको आयोजना गरेको हो । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । यस स्वाथ्य शिविरमा आएका सबैले थप जाँचहरु गर्नु परेमा नर्भिक अस्पतालले २० प्रतिशत छुटको पनि व्यवस्था मिलाइएको छ । स्वास्थ्य शिविरमा बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म संचालन भएको थियो र तत्काल औषधी आवश्यक भएकाहरुलाई निःशुल्क औषधि पनि दिईएको थियो । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ‘हाम्रा स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै काठमाडौको मुटुमा यस स्वास्थ्य शिविरको आयोजना गरिएको हो । एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र आफ्नो समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधै प्रतिबद्ध छ । काठमाडौ लगायत देशको विभिन्न भागमा यस किसिमको स्वाथ्य शिविर छिटै आयोजना गर्नेछौ ।’ एनसेलले ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरुको पनि घोषणा गरिसकेको छ । त्यस्ता कार्यक्रमहरुमा व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमति कोरीडोर सडकको दुवैतर्फ वृक्षारोपणलगायतका कार्यक्रमहरु रहेका छन् ।
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेस र लुम्बिनी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको र नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले अझै केही दिन बदली र वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ ।
सुन तस्करी गर्ने बाटो फेर्दै तस्कर, दोलखाबाट सातामा ७ किलो सुन बरामद
काठमाडौं । तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न थालेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ । वैकल्पिक मार्गबाट आएको ८ किलो सुन प्रहरीले बरामदसमेत गरिसकेको छ । प्रहरीले दोलखामा गएको हप्ता सात किलो सुन बरामद गरेको छ । दुई पटक गरेर ल्याइएको सुन एकपटक ३ किलो र एकपटक ४ किलो बरामद भएको थियो । त्यसमा संलग्न केहीलाई पनि पक्राउ गरिएको छ । यस्तै शुक्रबार रसुवाबाट एक किलो सुनसहित दुई जनालाई सिआइबीले नै पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए । यी घटना हेर्दा विमानस्थलमा सुरक्षा व्यवस्था कडा भएको चाल पाएपछि उनीहरूले वैकल्पिक मार्ग प्रयोग गरेको निष्कर्षमा अन्य सीमा नाकामा निगरानी बढाइएको उनको भनाइ छ । यसअघि सुन तस्करीका घटना विमानस्थलबाटै भएको पाइएको थियो । त्यसमा पनि भन्सारका कर्मचारी कै मिलेमतोसमेत पाइएको छ । अघिल्लो वर्ष विद्युतीय चुरोट (भेप)मा हालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुन तस्करी भएको थियो । गत साउन २ गते विमानस्थल हुँदै झण्डै ६१ किलो सुन तस्करी भयो । यी दुवै घटनाको मुद्दा अहिले अदालतमा विचाराधीन छ । यस्तै सिआइबीले ती घटनाका विषमया पुरक अनुसन्धान जारी राखेको छ । विमानस्थल हुँदै ल्याएको सुन र यी विभिन्न क्षेत्रमा बरामद भएको सुन प्रकरणको सम्बन्ध के छ भनेर अहिले प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ । पटकपटक विमानस्थल हुँदै सुन तस्करी भएका घटना बाहिरिरहेका बेला पछिल्ला केही घटनाक्रमले भने तस्करले विमानस्थलभन्दा वैकल्पिक मार्ग प्रयोग गरेर सुन तस्करी गरिरहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत नै बताउँछन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य ती घटनाको आपसी सम्बन्ध छ की छैन भनेर अनुसन्धान जारी रहेको बताउँछन् ।