औद्योगिक सम्बन्ध बढाउन उद्योग परिसंघ र संयुक्त ट्रेड युनियनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो । समझदारीपत्रमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार अग्रवाल र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरे । समझदारीपत्रमा हस्ताक्षर गर्ने विशेष कार्यक्रममा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रमा आवद्ध सबै ट्रेड युनियनका पदाधिकारी एवं प्रतिनिधि सहभागि थिए । समझदारीपत्रको मुख्य उद्देश्य रोजगारदाता र श्रमिकबिच असल श्रम सम्बन्धको विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसरहरु सिर्जना, जिवनस्तर विकास, उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्नु रहेको छ । कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले विश्व श्रम बजारको इतिहासमा श्रमिक र रोजगारदाताहरुको विषय, सवाल, मुद्दामा आधिकारीक रुपमा सहकार्य भएको सम्भवत यो पहिलो अभ्यास भएको बताए । यस प्रकारको सहकार्य तथा समझदारीले उत्पादन, सीप, रोजगारीका समस्या तथा चुनौतीहरुलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गरे । श्रमिक र रोजगारदाताबीचको सौहार्दपूर्ण सम्बन्धबाट नै आर्थिक संमृद्धि हासिल गर्न योगदान दिन सकिन्छ भन्नेमा परिसंघले विश्वास राख्दै आएको भन्दै उनले मजदुर र मालिक होइन, यी दुई आर्थिक संमृद्धिको सहयात्री हुन् भन्ने विषयलाई आत्मसाथ गर्दै आएको बताए । अध्यक्ष अग्रवालले यो समझदारी विदेशी लगानीकर्ताका लागि समेत सुखद् सन्देश बन्ने विश्वास व्यक्त गरे । केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले विगतमा रोजगारदाता र श्रमिकको सम्बन्ध ‘बाघ र बाख्रा’ जस्तो दोन्द्धात्मक परिस्थितिको स्मरण गर्दै हाल रोजगारदाता र श्रमिकबीचको सम्बन्ध ‘पानी र माछा’ भएको बताए । यो सम्बन्धलाई आत्मसाथ गर्दा रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण वातावरण तयार भएको र रोजगारदाताहरुसँग समझदारी गरेर अगाडि बढ्ने सकिने चरणमा आइपुगेको बताए । परिसंघका उपाध्यक्ष भिम घिमिरेले यस समझदारी देशको आर्थिक सुमुन्नति, औद्योगिक विकास, वैदेशिक लगानीको वातावरणलाई आकर्षित गर्न मुख्य औजार बन्ने विश्वास व्यक्त गरे । नेपाल ट्रेड यूनियन काँगे्रसका अधयक्ष योगेन्द्र कुमार कुँवर, महासचिव अजय कुमार राई, नेपाल टे«ड यूनियन महासंघका महासचिव लक्ष्मण शर्मा, महिला नेत्री सिता लामा, अखिल नेपाल ट्रेड यूनियन महासंघका उपाध्यक्ष धन बहादुर वि.क.लगायतले यो समझदारीको स्वागत गर्दै कार्ययोजना तयार गरी द्धिपक्षीय संयन्त्रलाई नयाँ आयामबाट पालन गर्न आग्रह गरे । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, पदाधिकारी सदस्य गोकुल भण्डारी, परिसंघ रोजगारदाता परिषद्का सभापति धु्रव रिजाल, समन्वय केन्द्रमा आवद्द ८ राष्ट्रिय महासंघका अध्यक्ष, महिला समिति संयोजक, महासचिव, परिसंघका रोजगारदाता परिषद्का सदस्यहरुलगायत सहभागी थिए ।
सिटिजन्स क्यापिटलको १२ प्रतिशत लाभांश पारित
काठमाडौं । सिटिजन्स क्यापिटलको प्रस्तावित १२ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज १९ गते सम्पन्न क्यापिटलको १७औं वार्षिक साधारण सभाले प्रस्तावित उक्त लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र संस्थाको नियमावली अनुसार गरिएको स्वतन्त्र संचालकहरुको नियुक्ति अनुमोदन गरेको छ । सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), सेयर रजिष्ट्रार तथा डि-म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त गरी कार्यहरु गर्दै आईरहेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको मर्चेन्ट बैंकिङ्ग कारोबार गर्न स्थापित सहायक कम्पनी सिटिजन्स क्यापिटलमा सिटिजन्स बैंक, कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा रजिष्ट्रार्ड कार्यालय रहेको संस्थाले काठमाडौं भित्र तथा बाहिर समेत सेवा प्रदान गर्दै आएको छ । काठमाडौं बाहिरका लगानीकर्ताहरुले पुँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवि व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।
सलिकोले हेली एभरेष्टलाई भुक्तानी गर्यो पौने २९ करोड दावी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले हेली एभरेष्ट एयरलाइन्सलाई पौने २९ करोड दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापत कम्पनीलाई २८ करोड ७१ लाख ५२ हजार ५५२ रुपैयाँ दावी भुक्तानी गरेको हो । इन्स्योरेन्सले शुक्रबार मात्रै उक्त कम्पनीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको हो । हाल नेपालमा रहेका एभिएसन कम्पनीहरुमध्ये ७ वटा कम्पनीहरुको बीमा गर्दै आईरहेको सलिकोले निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष ०८०/८१ को पहिलो त्रैमासिक विवरण अनुसार ७ वटा एभिएसन कम्पनीहरुको रक्षा कवचको रुपमा रहेको छ भने सर्वाधिक बीमा शुल्क वापतको आम्दानी गर्न सफल सलिकोले दावी भुक्तानी तर्फ समेत सर्वाधिक भुक्तानी गरी बिपदको समयमा राहत प्रदान गर्न सफल भएको छ । कम्पनीमा बीमा गराउने एभिएसन कम्पनीको संख्या र बीमा शुल्कको आधारमा सलिको इन्स्योरेन्स सरकारी बीमा कम्पनी बाहेकको बजार हिस्साको आधारमा अग्रणी स्थानमा रहेको देखिन्छ । कम्पनीमा बीमा गराएका हवाई साधनहरु मध्ये ४ वटा हेलिकप्टर दूर्घटना परेकोमा श्री हेलि एभरेष्ट एयरलाईन्सको हेलिकप्टर दूर्घटनाको क्षतिपूर्ति वापत भाद्र महिनासम्ममा करिव २९ करोड भुक्तानी गरि सकेको छ भने बांकी दूर्घटनाहरुको दावी भुक्तानी सम्बन्धि प्रक्रिया तिव्रताका साथ अगाडी बढाईएको कम्पनीले जनाएको छ ।
निजी क्षेत्रले दिने सुझाव समग्र अर्थतन्त्रको हितमा रहेका छन् : महासंघ अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका सुझाव निजी क्षेत्रका मात्र नभएर समग्र अर्थतन्त्रको हितमा रहने गरेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको ७०औं वार्षिक साधारण सभालाई शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले समग्र व्यवसाय, अर्थतन्त्र र आमजनतालाई हित हुने गरी अनुभव र अनुसन्धानमा आधारित भएर सरकार तथा यसका निकायहरुलाई सुझाव दिँदै आएको बताएका हुन् । ‘तर सरकार र त्यसका निकायले ती सुझावलाई निजी क्षेत्रको व्यक्तिगत सुझावजस्तै ठान्ने गरेको र उपेक्षा गरी समाधानका लागि आवश्यक कदम नचालेको अनुभव निजी क्षेत्रले गरेको छ,’ उनले भने । उनले उत्पादन, रोजगारी, सरकारको राजश्वका साथै समाजका कतिपय कल्याणकारी कार्यहरु समेत निजी क्षेत्रले सञ्चालन गरेका व्यापार व्यवसायकै सफलतामा निर्भर रहने भएकाले सरकार तथा नियामक निकायहरुले निजीक्षेत्रका सुझाव तथा मागहरुलाई गम्भीर रुपमा समीक्षा तथा सम्बोधन गर्नु आवश्यक रहेको बताए । ‘नेपाल उद्योग वाणिज्य महासंघलगायत निजी क्षेत्रका अन्य सरोकारवाला संस्थाहरुले बजेट तथा मौद्रिक नीतिमा व्यावहारिक सुझाव दिँदै आएका छन् । प्रत्येक पटक सरकार परिवर्तन हुँदा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग मन्त्रीलगायत विशिष्ट व्यक्तित्वहरुसँग भेट गरी अर्थतन्त्रबारे जानकारी गराउने गरेका छन् । उनीहरुलाई राष्ट्रिय अर्थतन्त्र, उद्योग व्यवसाय तथा तीनका चुनौति र विकासका लागि चाल्नु पर्ने कदमका लागि निजीक्षेत्रले व्यावहारिक सुझाव र संकटबाट जोगिन वा पार पाउनका लागि चाल्नुपर्ने समाधानका उपायसमेत दिंदै आएको छ । तर सरकार तथा नियामक निकायले हाम्रा मागलाई गम्भीर रुपमा नलिँदा अर्थतन्त्र अहिलेको अवस्थामा आइपुग्यो,’ उनले भने । उनले हालका चुनौति तथा आसन्न संकटबाट व्यवसाय तथा अर्थतन्त्रलाई जोगाउन आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताउँदै सरकार र निजी क्षेत्र मिलेर बजारमा माग बढाउने अवस्था सिर्जना गर्नुपर्ने बताए । उनले समग्र अर्थतन्त्र कठीन मोडमा आइपुगेको यो अवस्थामा अब सरकार र निजी क्षेत्र एउटै मञ्चमा उभिनु आवश्यक रहेकोले निजी क्षेत्रको तर्फबाट महासंघले यही असोज २५ गते वृहत राष्ट्रिय विमर्शको आयोजना गर्न लागेको बताए । अर्थतन्त्रका सबै सरोकारवालाहरु एक ठाउँमा आएर स्पष्ट रोडम्याप नबनाई संकटको समाधान हुँदैन । त्यसका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरुको सहभागितामा वृहत आर्थिक बहस सञ्चालन गरी समाधानको रोडम्याप पहिल्याउने प्रयास नेपाल उद्योग वाणिज्य महासंघले थालेको छ । यसमा सबैको साथ र सहयोगको आवश्यकता छ ।
नेपालमा लगानी बढाउँदै भारतीय बाेश कम्पनी
काठमाडौं । प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोशले नेपालमा थप लगानी बढाउने भएको छ । कम्पनीले नेपाल प्रवेशको एक वर्षभन्दा बढी समयसँगै नेपालालाई रणनीतिक महत्वको क्षेत्रको रुपमा पहिचान गर्दै डिजेल व्यवसायमा लगानी बढाउने भएको हो । कम्पनीले यस क्षेत्रमा लगानी बढाएर अब्बल डिजेल सर्भिस दिने भएको हो । भारतका बोशसमूहका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरुप्रसाद मुद्लापुरले नेपाल ठूलो सम्भावना बोकेको देश भएको बताए । पहिलोपटक नेपाल भ्रमणमा आएका उनी नेपालमा डिजेलको आशाजनक भविष्य रहेको बताउँछन् । ‘बोशले यस संक्रमणको केन्द्र बिन्दु हुन चाहेको छ, हामीले यहाँ डिजेलका पार्टपुर्जाहरूको लागि बलियो सेवा सञ्जाल विकास गर्नुपर्ने आवश्यकता बुझेका छौं र विश्वास एवं उच्च गुणस्तरीय कार्यसम्पादन मार्फत सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छौं,’ उनले भने । सन् २०२२ को मेमा सम्पर्क कार्यालय खोलिसकेपछि नै बोशले अटोमोटिभ, पावर टुल्स, भवन प्रविधि, घरासयी उपकरण र स्वास्थ्यसेवा क्षेत्रमा उत्पादन र समाधानहरुको विस्तृत शृंखला प्रदान गर्दै आएको छ । सँगसँगै इकोसिस्टमको सपोर्ट, त्यसको हेरचाह र विस्तार गर्ने प्रमाणको रुपमा बोशले भर्खरै काठमाडौंमा आफ्नो पहिलो बोश डिजेल सर्भिस ९बीडीएस० साझेदारहरुको भेला आयोजना गरेको थियो । उक्त भेलामा बोशका मुख्य अटोमोटिभ वितरकहरु, नेपालमा यसका बीडीएस साझेदाहरु र प्रमुख अटो ओईएमहरु सहित करिब ६५ जना सहभागी थिए । बोश नेपालका कन्ट्री हेड सन्दीप कामतले अटोमोटिभ सेग्मेन्टमा बोश यसअघि नै तीन हजारभन्दा बढी डिलरका लागि नेपालका हरेक प्रदेशमा विस्तार भइसकेको जानकारी दिए । ‘हामी हाम्रा सबै इकोसिस्टम साझेदारसँग व्यापक रुपमा सहकार्य गर्नेछौं, यो विस्तारले हामीलाई ती क्षेत्रमा सक्कली र उच्च गुणस्तरीय पार्टपुर्जाको महत्व स्थापित गर्न पनि मदत गर्नेछ,’ उनले भने । मोबिलिटी बाहेक बोशले नेपालका प्रमुख जलविद्युत् र निर्माण परियोजनालाई पनि सेवा दिनुको साथै बिक्रीपछिको सेवाका लागि समर्पित केन्द्र स्थापना गरेको छ । सीसीटीभी, सार्वजनिक ठेगाना, आगलागी चेतावनी प्रणाली समेटिएको बोशको भवन प्रविधि सोलुसन्स पनि देशका प्रमुख प्रतिष्ठानहरुमा जडान गरिएका छन् ।
दशैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौं । दशैंको लागि अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलमा असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । उक्त छलफलले असोज २२ गतेभन्दा अघि नै व्यवस्थापनको सबै काम सक्ने निर्णय गरेको छ । दशैं, तिहार र छठ पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । जसको लागि यात्रुहरुले असोज २२ गतेदेखि टिकट बुक गर्न सक्ने छन् ।
लगानीकर्ता भन्छन् : सेयर बजार २५ प्रतिशत मात्रै बढ्छ
काठमाडौं । सेयर धितो कर्जाको सीमामा गरेको संशोधनप्रति लगानीकर्ताले अझै पनि असन्तुष्टि जनाएका छन् । सेयर धितो कर्जालाई खुल्ला छोड्न माग गर्दै आएका लगानीकर्ताहरु राष्ट्र बैंकको संशोधनले अझै पनि सन्तुष्ट हुन नसकेका हुन् । बिहीबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो राखेर प्रवाह हुने कर्जामा ब्यक्तिगततर्फ १५ करोड रुपैयाँ र संस्थागततर्फ २० करोड रुपैयाँ पुर्याएको छ । यसअघि सेयर धितो राखेर १२ करोड रुपैयाँसम्म कर्जा लिन पाइन्थ्यो । अब सेयर धितो राखेर एउटै बैंकबाट ब्यक्तिले १५ करोड र संस्था वा कम्पनीले २० करोड रुपैयाँसम्म कर्जा पाउने भएका हुन् । यद्यपि, सेयरधितो कर्जाको व्यवस्थामा गरिएको संशोधनले सेयर बजार बढ्न सक्ने आँकलन धेरैको छ । राष्ट्र बैंकले सेयर कर्जाको सीमा २५ प्रतिशत मात्रै बढाएको हुँदा सोही अनुपातमा सेयर बढ्न सक्ने आँकलन लगानीकर्ताकाे छ । सेयर कर्जामा भएको संशोधनले बजार नघट्ने तर, सामान्य बढ्न सक्ने अनुमान लगानीकर्ताको छ । लगानीकर्ता अम्बिर बोगटी राष्ट्र बैंकको नीतिले सेयर बजार ध्वस्त बनाएको आरोप लगाउँछन् । उनी अर्थतन्त्रमा देखिएको सबै समस्या राष्ट्र बैंकलाई दोष दिन्छन् । बैंकसँग प्रयाप्त तरलता हुँदा पनि कर्जामा सीमा तोक्नु गलत रहेको उनको भनाइ छ । ‘२ वर्षअघि कोरोना कालमा राष्ट्र बैंकको नीतिले कर्जा प्रवाह अन्दाधुन्द बढ्यो, त्यसको नकारात्मक असर अर्थतन्त्रमा पर्याे, त्यसलाई सुधार गर्न सेयर बजारलाई कडाइ गर्न थाल्यो, सेयर बजार धरासयी बन्यो,’ उनले भने, ‘अहिले २० अर्ब बढी पूँजी भएका बैंक छन् तर, २० करोड मात्रै कर्जा दिनु पर्छ भनेर एउटा क्षेत्रलाई मात्रै लक्षित गर्नु राम्रो होइन्, अहिलेको नीतिले सेयर बजार अघि बढ्दैन ।’ सेयर बजारमा कारोबार गर्न सहज रुपमा कर्जा पाउनु पर्ने माग उनले गरे । साथै, नाकाबन्दीको बेलामा पेट्रोल वितरण गरे जस्तै सेयर कर्जा वितरण गर्ने व्यवस्था ल्याएको उनको भनाइ छ । उनका अनुसार सेयर बजारमा आउने कर्जालाई खुला छोड्नु पर्छ । सेयरमा गरेको लगानी स्थीर सम्पत्ति रहेको बताउँदै उनले लगानीकर्तालाई कर्जा लिन सरल र किफायती ब्याजदर हुनु पर्ने बताए । राष्ट्र बैंकको नीतिले सेयर बजारलाई गिजोल्ने काम मात्रै भएको उनको भनाइ छ । ‘ब्याजदर सस्तो भयो भने बजारमा लगानी आउने हो, अहिले पनि ब्याजदर उच्च नै छ, नाकाबन्दीको बेलामा पेट्रोल वितरण गरे जस्तै राष्ट्र बैंकले सेयर कर्जा वितरणको व्यवस्था गर्याे, एक/दुई अर्बको मात्रै कारोबार गराउने हो भने अहिलेको नीति ठिक छ तर, बजार माथि बढाउन यो कोटा सिस्टममा पाउने ऋणले पार लाग्दैन,’ उनले भने, ‘आम्दानीको स्रोत भएन भने अन्तिम अवस्थामा घरजग्गा नै बिक्री गरेर समस्या समाधानमा गर्ने हो, सेयर बजार पनि स्थीर सम्पत्ति हो, आवश्यक परेको बेला सेयर बिक्री गरेर समस्या टार्न सकिन्छ ।’ लगानीकर्ता छोटेलाल रौनियार आफूहरुले माग गरे अनुसारको व्यवस्था राष्ट्र बैंकले नगरेको बताउँछन् । राष्ट्र बैंकले सधैं सेयर बजार विपरित नीति ल्याएर मनोबल कमजोर बनाएको उनको आरोप छ । साथै कर्जामा जोखिम भार अहिलेको आवश्यकता नरहेकाले यसलाई हटाउनु पर्ने उनको माग छ । ‘कर्जाको सीमालाई खुला छोडिदिनु पर्छ भन्ने हाम्रो माग हो, ब्यक्तिगत र संस्थागत राख्नु हुँदैन, जोखिम भारलाई राष्ट्र बैंकले हेर्न चाहेन, यसले ठूलो असर गरेको छ, २६/२७ सय अंकमा बजार हुँदा जोखिम भार १५० प्रतिशत थियो, अहिले बजार १९ सय अंकमा झरिसकेको हुँदा जोखिम भार काम छैन, पूर्व अर्थमन्त्रीहरुले जोखिम भार हटाउनु पर्छ भनेका छन्,’ उनले भने । अहिले सेयर कर्जाको सीमा २५ प्रतिशत मात्रै बढेको हुँदा सोही अनुसार बजार बढ्ने उनको अनुमान छ । बैंकहरुमा प्रयाप्त तरलता हुँदा पनि ब्याजदर महँगो भएकाले कर्जा लिन इच्छुक नभएको उनको भनाइ छ । सेयर बजार घट्नुमा मुख्य दोषी राष्ट्र बैंक नै रहेको उनको आरोप छ । केही वर्षदेखि पूँजी बजारलाई प्रभाव पार्ने गरि ल्याएका नीतिले ३२ सय अंक पुगेको बजार १९ सय अंकमा झरेको उनले बताए । बजार घट्दा राज्य पाउने राजश्वमा पनि गिरावट आएको उनको भनाइ छ । राष्ट्र बैंकले सेयर बजार मात्रै नभएर समग्र अर्थतन्त्र नै ध्वस्त बनाएको उनको आरोप छ । ‘२/३ वर्षदेखि राष्ट्र बैंक पूँजी बजारप्रति नकरात्मक नै छ, मौद्रिक नीतिले पूँजी बजारलाई पेलेको पेल्यै छ, जस्तो सीसीडीलाई सीडी गर्याे, जोखिम भार १ सयबाट १५० प्रतिशत पुर्यायो, सेयर कर्जामा १२ करोड बनायो, ब्याजदर बढाउने नीति ल्यायो, बैंकले लघुवित्त राख्न नपाउने, लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश दिन नपाउने नीतिले बजार घटायो,’ उनले भने, ‘दैनिक २२ अर्ब कारोबार हुँदा वर्षमा १५ अर्ब राजश्व तिर्दै आएको थियो तर, अहिले बजारमा हाहाकार छ, दशैंतिहारमा पनि बजार सुनसान छ ।’ धितोपत्र ब्रोकर एसोशिएसनका अध्यक्ष सागर ढकालले सेयर कर्जामा गरिएको परिवर्तनलाई सकरात्मक रुपमा लिनु पर्ने बताए । २५ प्रतिशत सेयर कर्जा बढेको बताउँदै उनले राष्ट्र बैंकको एकीकृत निर्देशन सकारात्मक रहेको बताए । ‘सेयर कर्जा पूर्णरुपमा खुला गरेको झनै राम्रो हुन्थ्यो, कम्पनीको सेयर कर्जामा सीमा नतोकेको भए राजश्व धेरै संकलन हुन्थ्यो किनभने ब्यक्तिगत लगानीकर्ता कम्पनी दर्ता गराएर सेयर कर्जा लिन्थे, कम्पनीबाट कारोबार गरेपछि ३० प्रतिशत कर तिर्नु पर्छ, आम्दानी कर पनि आउँथ्यो,’ उनले भने, ‘अहिले ७६ अर्ब सेयर कर्जा बजार छ, अब १५/१६ अर्ब बढ्न सक्छ ।’ उनका अनुसार घरजग्गामा केही खुकुलो व्यवस्था र ब्याजदर घटाउने नीति ल्याएकाले राष्ट्र बैंकले चालेको कदम सकारात्मक छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका ग्राहकलाई गुरु ट्राभल्सको प्याकेजमा १० हजारसम्म छुट
काठमाडौं । ट्राभल कम्पनी गुरु ट्राभल्स र बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच व्यवसायिक सहकार्य भएको छ । सो सम्बन्धी सहमतिपत्रमा सिद्धार्थ प्रिमियरका सहायक महाप्रबन्धक रामजी ढकाल र गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवराज धरेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकहरुलाई गुरु ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरुमा १० हजार रुपैयाँसम्मको स्पेशल डिस्काउण्टसहित अन्य विभिन्न आकर्षक सुविधाहरु उपलब्ध गराउनेछ । यस्तै गुरु ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरुले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट सहजरुपमा ट्राभल बीमा प्राप्त गर्ने तथा अन्य बीमाहरुको हकमा १० प्रतिशतसम्मको स्पेशल कर्पोरेट डिस्काउण्ट प्राप्त गर्ने जनाइएको छ । गुरु ट्राभल्सका ग्राहकहरुले एकै स्थानबाट ट्राभल बीमा खरिद गर्न पाउने तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ने ट्राभल्स पार्टनरको रुपमा सेवा लिने सहमति भएको छ । साथै, सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउन पनि दुई संस्थाबीच सहमति भएको छ । गुरु ट्राभल्स २०२२ मा स्थापना भएको नेपालकै पहिलो पब्लिक ट्राभल कम्पनी हो र यसले एकल स्थानबाट सबै पर्यटन उत्पादनहरू प्रदान गर्छ । आफ्नो समर्पित टोलीसँग, यसले आफ्नो ३६५ दिन सेवा मार्फत १२ हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ । यसले आफ्नो अत्याधुनिक विधि र पद्धति प्रयोग गरी यात्राका लागि विशेषज्ञ सल्लाह प्रदान गर्दै आएको छ। कार्यक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सहायक महाप्रबन्धक रामजी ढकालले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै यस व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।