चेक अनादरसम्बन्धी व्यवस्था समेटेर बैङ्किङ कसुर तथा सजाय विधेयक संसद्मा दर्ता
काठमाडौं । बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले गत मङ्गलबार उक्त विधेयक दर्ता गराएका हुन । बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने चेक अनादरजस्ता कसुरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो विधेयक ल्याइएको जनाइएको छ । चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनुपर्ने व्यहोराको सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ताको कार्यालयको अध्ययनबाट समेत बैङ्किङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्नुपर्ने सुझावका आधारमा सरकारले यो विधेयक तयार पारेको हो । गत साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले यो विधेयकको मस्यौदा स्वीकृत गरेको थियो । कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था विधेयकमा राखिएको छ । ‘कसैले पनि आफ्नो बैंक खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त छैन भन्ने जानाजान कसैलाई चेक जारी गरी दिन वा बैंकसँग त्यस्तो चेकको भुक्तानी माग गर्नु हुँदैन’, विधेयकमा भनिएको छ । चेकको भुक्तानी गर्न आवश्यक पर्ने रकम खातामा मौज्दात नदेखिएमा त्यस्तो चेक बैंक तथा वित्तीय संस्थाले धारकलाई नै फिर्ता दिनुपर्नेछ । यही चेक साट्न चाहने व्यक्तिले त्यस्तो चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा तीस दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई सो को अभिलेख राख्नुपर्ने व्यवस्था विधेयकमा राखिएको छ । त्यसरी सूचना दिएको जानकारी खुलाई बैंकले चेक फिर्ता गर्नुपर्नेछ । तीस दिनसम्ममा पनि खातामा पैसा उपलब्ध नभएमा चेक अनादर भएको प्रमाणित गर्नेसम्बन्धी प्रक्रिया अघि बढ्नेछ । ‘तीस दिनको म्याद समाप्त भएपछि चेक बोक्ने व्यक्तिले रकम भुक्तानी माग्दा पनि खातामा आवश्यक रकम नदेखिएमा बैंकले तीन दिनभित्र सम्बन्धित खातावालाले चेक अनादर गरेको प्रमाणति गरी चेक फिर्ता दिनुपर्नेछ’, विधेयकको मस्यौदामा भनिएको छ । चेक अनादरसम्बन्धी बैङ्किङ कसुरको जरिवानामा पनि संशोधन गर्न लागिएको छ । बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ मा चेक अनादर भएमा बिगो भराई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैदको व्यवस्था रहेको छ । तर विधेयकले चेक अनादर भएको प्रमाणित भएमा चेक जारी गरिदिने खातावालाबाट धारकलाई बिगो बमोजिमको रकम भराई चेक जारी गरिदिने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना गर्ने र चेक काटिएको रकमका आधारमा कैद सजाय तोक्नेगरी मस्यौदा तयार पारिएको छ । विधेयकमा पाँच लाखसम्म बिगो भए एक महिनासम्म कैद, पाँच देखि १० लाखसम्म बिगो भए तीन महिनासम्म कैद, १० लाखदेखि ५० लाखसम्म बिगो भए छ महिनासम्म कैद र ५० लाख रुपैयाँभन्दा बढी जतिसुकै बिगो भएमा दुई वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । त्यस्तै, चेक अनादर गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने व्यवस्था ल्याउन लागिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा राजीनामाको घोषणा गरेका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । उनले सबै राजनीतिक दलसँग सहकार्यका लागि राजीनामा गर्न लागेको जानकारी दिएका हुन् । सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो । राजीनामाबारे उनले भने, ‘मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु । त्यही निर्णय तपाईंहरूसमक्ष सुनाउनका लागि उभिएको छु ।’ प्रदेशसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दै मुख्यमन्त्री कार्कीले राजनीतिक दलहरू मिलेर गएनन् भने मध्यावधि अवश्यम्भावी रहेको बताए । मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोयनीयताको शपथ लिएका थिए । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा (एमाले) का उपसभामुखसहित ४०, नेकपा माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जसपा एक र राप्रपाका छ जना प्रदेशसभा सदस्य छन् । सत्तापक्ष नेकपा एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार सरकारलाई विश्वासको मत नदिने सार्वजनिक गरिसकेको छ भने अन्य पार्टीले विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेका छैनन् ।
राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप भएमात्रै लोकतन्त्र बलियो हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता ढुङ्गानाद्वारा लिखित पुस्तक ‘स्थानीय सरकारः अपेक्षा र अवस्था’ को आज लोकार्पण गर्दै उनले सरकार र राज्यमाथि जनताको प्रत्यक्ष निगरानी जरुरी रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, ‘यो पुस्तक स्थानीय सरकारका भोगाइ र अनुभवसहितको सैद्धान्तिक र व्यावहारिक कृति हो । यस्तो महत्वपूर्ण कृतिका लागि लेखकलाई बधाइ व्यक्त गर्दछु ।’ ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी राष्ट्रिय कार्यभार हो । यतिबेला हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानुनहरू निर्माण गर्ने चरणमा छौँ, यस सन्दर्भमा हामी सबैले गम्भीररूपमा चिन्तन गर्न जरूरी छ’, प्रधानमन्त्रीले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने बेला बेलामा प्रयत्न हुने गरेको छ, यस्तो बेला स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरूरी छ ।’ राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावकारी हुन्ज्छ राज्यलाई त्यति नै लोकतान्त्रिक बनाउने उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले एकथरी व्यक्ति ऐन बनाउने र यो परिवर्तनको परिणाम सकारात्मकरुपमा जनतालाई दिने काममा लागे पनि केही भने कुनै काम नहोस् भन्ने मानसिकतामा रहेको बताए । प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेका ऐन, कानुन लागू राम्रोसँग नगरिदिने र यो व्यवस्था नै ठीक छैन भनेर फेरि पुरानै सामन्ती निरंकुशतातिर फर्काउन चाहने कसरत विभिन्न कोणबाट देखापरेको उल्लेख गरे । ‘यस्तो बेलामा स्थानीय सरकारको महत्व के हो ? त्यसको आवश्यकता किन हो ? भन्नेबारे स्थानीय जनप्रतिनिधि जसले आफैँले अनुभव गरे उनीहरुले जनतालाई अझै प्रशिक्षित गर्नुपर्ने आवश्यकता पहिलेभन्दा बढेको छ । हाम्रो अवस्था पनि फेरियो र दैनिक जीवनमा सकारात्मक परिवर्तन भएको छ भन्ने अनुभूत नभएसम्म यसलाई सिद्धान्तले मात्र पुष्टि गरेर हुन्न’, प्रधानमन्त्री दाहालले भने । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले स्थानीय सरकारको काम कारबाहीका बारेमा बुझ्न पुस्तक सहयोगी हुने बताए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले जनताको घर आँगनको सरकारका रुपमा रहेको स्थानीय निकायलाई के कसरी सबल र सक्षब नाउन सकिन्छ भन्नेबारेमा सरोकार भएका सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताएका थिए । स्थानीय सरकारले के कसरी काम गर्न सक्छ र जनताका लागि त्यो केकति महत्वपूर्ण हुन्छ भन्ने विषयलाई समेटेर, आफ्नो अनुभवसमेत त्यसमा उल्लेख गरिएको ढुङ्गानाको उक्त पुस्तक खोजी प्रकाशनले प्रकाशन गरेको हो ।
विश्वभरका स्टेम सेल, रिसर्चर र चिकित्सकबीच सहकार्य गर्न मेडिसिटी सम्मेलन
काठमाडौं । नेपालमा पहिलो पटक रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । नेपाल मेडिसिटी, नेपाल एसोसिएसन फर द स्टडी अफ पेन (एनएएसपी), एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिका (एएनपीए) र अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिन (एबीआरएम) को संयुक्त सहकार्यमा अक्टोबर ६ र ७ मा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । विश्वभरका स्टेम सेल विशेषज्ञहरू, रिसर्चर र चिकित्सकहरु बीचको सहकार्य र अनुभव आदान प्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको मेडिसिटीले जनाएको छ । रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलनले यस क्षेत्रका विशेषज्ञहरूबीच छलफल र प्रस्तुतीकरणहरू निर्माण गर्नको लागि महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको छ । स्टेम सेल विज्ञान तिब्र गतिमा अगाडि बढिरहेको हुदा यो सम्मेलन चिकित्सकहरुको लागि अनुभव तथा सो क्षेत्रमा भएका नवीनतम विकासको आदान प्रदानको लागी एक महत्वपूर्ण बैठक बिन्दु बनेको जनाईएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीले विभिन्न अन्तर्राष्ट्रिय संघसंगको संयुक्त सहकार्यमा यस स्तरको सम्मेलन आयोजना गरिएको जानकारी दिए । उनले नेपालमा नै रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्बन्धि शिक्षा र सुविधा उपलब्ध गराउनका लागि अस्पतालले जोड दिएको दाबी गरे । अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिनका प्रतिनिधि डा. रोजिना बादल मुनीरले रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल अनुसन्धानका विज्ञहरूसँगै आउन र यस क्षेत्रको वर्तमान अवस्थाबारे छलफल गर्ने सम्मेलन एउटा सुबर्ण अवसर बनेको बताए ।
सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई काठमाडौं महानगरले सहयोग गर्ने
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गर्ने भएको छ । कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा शिवराज अधिकारीका अनुसार नयाँ सार्वजनिक शौचालय बनाउन तथा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई सहयोग गरेर नागरिकलाई सहज सार्वजनिक शौचालयको पहुँच पु¥याउने तयारी रहेको छ । ‘यसका लागि ३२ वटै वडाले इच्छा भएको संस्थाको विवरण सङ्कलन गरेर केन्द्रमा पेस गर्न भनिएको छ, उनले भने । कामपाले विगत छ वर्षदेखि नागरिकलाई सहज रुपमा सार्वजनिक शौचालय प्रयोग गर्न सक्ने वातारण बनाउने भने पनि हालसम्म सबैतिर सार्वजनिक शौचालयको पहुँच नपुगेको डा अधिकारीले बताए । ‘भएकालाई नियमित गर्ने, सम्झौता भएकाहरुको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडालाई नै जिम्मा दिइएको छ, उनले भने । हाल कामपाको क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालयको सूची रहे पनि अधिकांशमा सरसफाइ र पानीकोसमेत व्यवस्था नहुँदा प्रयोग गर्न मिल्ने अवस्थामा नरहेका अधिकारीको भनाइ थियो । उनका अनुसार यसलाई रुपान्तरण गरेर सफा, दुर्गन्धरहित, व्यवस्थित, उज्यालो, हात धुने साबुन, पानीको व्यवस्था भएको शौचालय उपलब्ध गराउने उद्देश्यले कामपाले इच्छुक संस्थालाई सहयोग गर्ने योजना बनाएको हो । ‘विसं २०७९ को प्रारम्भमा व्यक्तिगत तथा संस्थागत रुपमा चलेका एक सय २० शौचालयलाई सार्वजनिक बनाउन सम्झौता भएको छ’, अधिकारीले भने, ‘तिनीहरु कसरी चलेका छन् सक्रिय र नियमित रुपमा सञ्चालन गर्न के गर्नुपर्छ भन्ने विषय अघि बढाइएको छ ।’ उनका अनुसार सहरी क्षेत्रमा हरेक पाँच सय मिटर दूरीमा एउटा सार्वजनिक शौचालय उपलब्ध गराउनुपर्ने नीति रहे पनि कामपाको हकमा त्यो कार्यान्वयन भएको छैन । वडाबाट सञ्चालन भएका शौचालय नियमित र व्यवस्थित गर्ने, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत व्यक्ति, बैङ्क, वित्तीय संस्था र कार्यालयबीच सहकार्य तथा टोल सुधार समितिको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन गर्ने एकाइको तत्कालको योजना रहेको इकाइका प्रमुख डा अधिकारीले जानकारी दिए । ‘सार्वजनिक शौचालय निर्माणका लागि सहरी योजना आयोगले नक्सा बनाएको छ । यसलाई आधार मानेर वडा र एकाइले नयाँ ठाउँमा शौचालय निर्माण गर्नेछन् । यसमा निजी तथा सार्वजनिक क्षेत्रको लगानी उपयोग गरिने छ’, उनले भने ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटः सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शनिवार भएको भेटमा सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भएको हो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए । उनले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने तथा सरकारका विभिन्न निकायका नियुक्तिका बारेमा छलफल भएको जानकारी दिए । अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँगको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसदमा सम्बोधन गर्नेबारेमा पनि छलफल भएको बताए ।
चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प
फाइल फोटो काठमाडौं । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ । आजको भूकम्प गत मङ्गलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको छ दशमलव तीन म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन् । वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ । आजको भूकम्प मङ्गलबार गएको भूकम्पको पराकम्प रहेको उनको भनाइ छ । “सन् १५०५ यता त्यहाँ ठूलो भूकम्प गएको छैन । त्यसैले त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित भएको छ । दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो”, वरिष्ठ भूकम्पविद् कोइरालाले भने, “मङ्गलबार मझौला खालको भूकम्प गएकामा त्यसका पराकम्प अझै आइरहेका छन् । अझै केही दिन यस्ता पराकम्प आउन सक्छन् ।” सुदूरपश्चिम क्षेत्रमा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठूलै भूकम्प जानसक्ने अनुमान गरिएको छ । स–साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठूलो कम्पनको सङ्कट टर्ने कोइराला बताउँछन् । भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । पाँच दशमलव तीन म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रविन्दु बनाएर छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै असोज १६ गते दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौँ, ४ बजेर ३१ मिनेटमा छैटौँ, पाँच बजेर १९ मिनेटमा सातौँ, पाँच बजेर ३८ मिनेटमा आठौँ पटक धक्का महसुस भएको थियो । असोज १७ गते राति १२ बजेर १६, १२ बजेर ५०, बिहान ४ बजेर २७ र ५ बजेर ४३ मिनेटमा भूकम्पन गएको थियो । बिहीबार राती १० बजेर ५१ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोयनीयताको शपथ लिएका थियो । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा (एमाले) का उपसभामुखसहित ४०, नेकपा माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जसपा एक र राप्रपाका छ जना प्रदेशसभा सदस्य छन् । सत्तापक्ष नेकपा ९एमाले० नेतृत्वको सरकारलाई नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार सरकारलाई विश्वासको मत नदिने सार्वजनिक गरिसकेको छ भने अन्य पार्टीले विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेका छैनन् ।