काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरको काम अगाडि बढाउन निर्माण कम्पनीलाई सकस परेको छ । निर्माण कम्पनीलाई आर्थिक अभाव भएपछि निर्माणाधीन भ्यू टावरको काम अगाडि बढाउन मुस्किल परेको हो ।
जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका अध्यक्ष मनोज कुमार भेटवालले पुँजी जुटाउन नसकेपछि काम अगाडि बढाउन समस्या भएको बताएका छन् । ‘अहिले भ्यू टावरको काम पैसा नभएका कारण रोकिएको छ, बैंकहरुले पनि लगानी गर्न मान्दैनन्, पैसा नभएपछि परियोजना अगाडि बढाउन समस्या भइरहेको छ,’ उनले भने ।
काठमाडौं महानगरले २०६८ सालमा पुरानो बसपार्क हटाएर सार्वजनिक-निजी साझेदारी मोडलमा बहुपयोगी व्यावसायिक कम्प्लेक्स बनाउने योजना अघि सारेको थियो । सोही अनुसार टावर निर्माण र सञ्चालनको ठेक्का जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो ।
काठमाडौं महानगरसँग निर्माण कम्पनीले सम्झौता गरेपछि २०७२ कार्तिकबाट उक्त भ्यूटावर निर्माणको काम सुरु भएको थियो । भ्यू टावर निर्माण सुरु गरेको ८ वर्ष बितिसकेको छ । भवन निर्माणको लागि कुनै पनि बैंकले निर्माण कम्पनीलाई कर्जा नदिएपछि निर्माण कार्य अस्तव्यस्त हुन पुगेको बताइएको छ ।
उनी बैंकको कालोसूचीमा परेकोले उनलाई बैंकले कर्जा दिन मानिरहेका छैनन् । उनी धेरै पटक कर्जा सूचना केन्द्रको कालोसूचीमा परिसकेका छन् ।
कामपा वडा नम्बर २८ का वडा अध्यक्ष भाइराम खड्गीले भ्यू टावरको काम भेटवालले पैसा भएको बेला गर्ने र नभएको बेला रोक्ने प्रवृति देखिएको बताए ।
‘अहिले भ्यू टावरको काम रोकिएको छ, काम नभएको धेरै समय भइसक्यो, महानगरले जग्गा निश्चित अवधिको लागि उपलब्ध गराएको छ, त्यसैले समयमै काम सकेर सञ्चालनमा ल्याउँदा उहाँलाई नै फाइदा पुग्छ,’ उनले भने ।
पैसा छैन, तला थप्ने होडबाजी
निर्माणाधी भ्यू टावरका लागि लगानीको अभाव भइरहेको बेला भुेटवालले तला थप्ने योजना सुनाइरहेका छन् । उनले काठमाडौं भ्यू टावरमा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको बताए । हालसम्म मा १२ तलाको काम सम्पन्न भइसकेको छ । १२औं तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन कामपालाई बुझाइ सकेको छ ।
अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको र नक्सा पास गर्ने तयारीमा महानगर रहेको कामपाका सूचना प्रविधि विभाग निर्देशक तथा भ्यू टावरका फोकल पर्सन महेश कुमार काफ्लेले बताए । उनका अनुसार केही हप्ताभित्रै महानगरले नक्सा पास गरिसक्नेछ ।
काफ्लेका अनुसार कामपाको प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कति तला थप्नेबारे यकिन गर्नेछ । भ्यु टावर २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ ।
भेटवालले ३२ तलाको भ्यू टावर बनाउने उद्देश्य सहित यो आयोजनाको काम अगाडि बढाएका थिए । प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो । भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोहीअनुसार निर्माणको काम अघि बढाइएको हो ।
‘उहाँले सम्झौता अनुसारको समयावधिमा काम सक्नुपर्छ, बिचमा छोड्न पनि पाउनु हुन्न, महानगरले समय पनि थप्दैन,’ उनले भने ।
बस टर्मिनल सञ्चालनमा समस्या
निर्माण कम्पनीले काठमाडौं महानगरपालिकालाई ६ महिनाभित्र बस टर्मिनल सञ्चालनमा ल्याउने गत वर्ष नै सम्झौता भएको थियो । तर, अहिले पनि बस टर्मिनल भने सञ्चालनमा आउन सकेको छैन । बस टर्मिनलको काम पूरा नभइ सकेकोले सञ्चालनमा नआएको काफ्लेले बताए ।
सो भ्यु टावरको बेसमेन्टमा गत वैशाख २२ गतेदेखि निजी सवारी साधनहरु पार्किङको काम सुरु गरिएको छ । अहिले ४ पाङ्ग्रे साना सवारी साधन र २ पाङ्ग्रे सवारी साधनहरु उक्त स्थानमा राख्ने गरिएको छ ।