विकासन्युज

खाना खाँदैछु भनेका विपीन त्यसपछि सम्पर्कमै आएनन्

काठमाडौं । गत शनिबारपछि इजरायलमा रहेका छोरासँगको सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का पदमा जोशी बेलाबेला मुर्छा परेका छन् । शनिबारदेखि छोरासँग सम्पर्क हुन छोडेपछि जोशी परिवार विक्षिप्त बनेको छ । सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपीन जोशी शनिबारदेखि सम्र्पकविहीन छन् । “शनिबार १२ बजेतिर भाईसँग सम्पर्क हुँदा खाना खाँदैछु भनेको थियो ।” विपिनका दाई किशोर जोशीले भने, “शनिबारपछि भाईसँग सम्पर्क हुन सकिरहेको छैन ।” कृषि फार्ममा कार्यरत अन्य साथीहरुसँग सम्पर्क भए पनि विपीनसित भने सम्पर्क हुन सकिरहेको छैन । “विभिन्न माध्यमबाट प्रयास गर्न खोजे पनि विपीनसित सम्पर्क हुन सकिरहेको छैन”, जोशीले भने, “सरकारले यथाशिघ्र खोजी कार्य गरिदिनु पर्याे ।” विपिनका आमावुवा दुवै शिक्षण पेशामा आवद्ध छन् । आमा पदमा जोशी बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित उदयदेव माध्यमिक विद्यालयमा अध्यापनरत छिन् भने बुबा शिक्षणको क्रममा बझाङमा छन् । आमा पदमा र छोरी पुष्पा मात्रै महेन्द्रनगरस्थित भाषीमा बसोबास गर्छन् । इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ विद्यार्थीमध्ये १७ गाजा क्षेत्रबाट नजिक पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा रहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकका अनुसार सुदूरपश्चिम विश्वविद्यालयले इजरायलको छ फार्ममा ४९ विद्यार्थी रहेको जानकारी प्राप्त भएको बताए । “टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ४९ विद्यार्थी इजरायली राजदूतको समन्वयमा पठाएका थियौं ”, रजिष्ट्रार पाठकले भने, “१७ जनाको समूह रहेको क्षेत्रमा आक्रमण हुँदा दुःखद् खबर सुन्नु परेको छ ।” इजरायलको किबुज अलुमिममा रहेका १० विद्यार्थीको निधन भएको छ । चार घाइते विद्यार्थी उपचाररत रहेका एक रोजगारदातासँग र अर्का एक विद्यार्थी प्रहरीसँग सुरक्षित छन् । विपिन भने हालसम्म सम्पर्कविहीन रहेको उनले बताए । “सुरक्षित स्थानमा रहेका विद्यार्थीले स्वदेश फर्किन चाहनुभएको छ । यसका लागि सरकारसँग समन्वय गरिराखेका छौँ”, रजिष्ट्रार पाठकले विश्वविद्यालयले सरकार र दूतावाससँग नियमित सम्पर्क गरिरहेको जानकारी दिँदै भने । सुदूरपश्चिम विश्वविद्यालयले गत भदौ अन्तिम साता कृषि सङ्कायको आठौँ सेमेस्टरका ४९ विद्यार्थीलाई दुई चरणमा गरी इजरायल पठाएको थियो । नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा ‘सेडट नेगेभ कलेज’सँगको सम्झौताअनुसार सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका रजिष्ट्रार पाठकले बताए ।

दसैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ, ८० प्रतिशत बुकिङ

काठमाडौं । दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हवाई यातायाततर्फ सार्वजनिक यातायात जस्तो ठ्याक्कै यो दिन टिकट खुल्ने भन्ने व्यवस्था नरहेकाले यात्रुले सस्तो दरका सबै टिकट काटिसकेका छन् । उनले भने, “बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ । अन्य गन्तव्यतर्फ दसैँसम्मका २० प्रतिशत टिकट बाँकी नै छन् ।” अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर उड्न चाहनेले महँगो टिकट लिन सक्ने भएकाले महिना दिन पहिलेदेखि नै दसैँका टिकट लिनेसमेत रहेको उनले बताए । दसैँका बेला राजधानीबाट बाहिरिने उडान भरिभराउ भए पनि राजधानी फर्किने उडानको टिकट लिनेको सङ्ख्या भने न्यून रहेको उनले बताए । अहिले राजधानी फर्किनेले टिकट सस्तो दरमा पाइरहेको समेत उनको भनाइ छ । त्यस्तै यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दसैँ लक्षित यती एयरका ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन् । दसैँपछि राजधानी फर्कने यात्रुले अहिले नै अग्रिम टिकट काट्न थालेकाले दसैँपछि समेत राजधानी फर्कन अहिलेकै अवस्था रहने उनले बताए । उनले भने, “अहिले एकतर्फी उडानको भाडा महँगो भए जस्तै दसैँपछि पनि केही दिन त्यस्तै हुने हो । टिकटको मूल्य सरकारले तोकेको उच्चतम र न्यूनतम बिन्दुभित्रै रहने भएकाले आठ वर्षदेखि हवाई कम्पनीले बढाएका छैनन् ।” अहिले अन्तर्राष्ट्रियतर्फ मात्रै ४० हाराहारीमा उडान थप गरिएकाले बढ्दो एयर ट्राफिकका कारण जहाजको उडान समय खर्चसमेत बढ्न गएको उनको भनाइ छ । हाल भैरहवा, पोखरा, जनकपुर, विराटनगर, धनगढीलगायतका गन्तव्यका उडानमा बढी चाप रहेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खातामा जम्मा गर्याे प्रभु सेलेक्ट फण्डको ९.५ प्रतिशत लाभांश

काठमाडौं । प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्डको लाभांश वितरण गरेको छ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डका इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको हो । क्यापिटलले फण्डका ईकाईधनीहरुलाई करसहित ९.५ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो । लाभांश वितरण प्रयोजनार्थ फण्डले असोज १२ गते बुकक्लोज गरेको थियो । त्यसैले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको क्यापिटलले जनाएको छ । डिम्याट खातामा बैंक खाता अध्यावधिक नगराएका इकाईधनीहरुलाई शिघ्र अध्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।

कृषि क्षेत्रमा पुग्न जाने क्षतिमा २० प्रतिशत राहत दिने

काठमाडौं । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कृषि क्षेत्रमा हुने क्षतिमा २० प्रतिशत राहत दिने गरी नीति बनाउन लागेको बताएका छन् । ‘कर्णाली प्रदेश भू–उपयोग नीति तथा जोखिम संवेदनशील भू–उपयोग योजना र निर्देशिका’ हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । ‘जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने काम प्रदेश सरकारले गरेको छ, कृषि क्षेत्रमा पुग्न जाने क्षतिमा २० प्रतिशत राहत दिने गरी नीति बनाइरहेका छौं,’ उनले भने । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले भू–उपयोग नीति ल्याउन कर्णाली प्रदेश सरकारले अन्य प्रदेशको तुलनामा अगुवाइको भूमिका निर्वाह गरेको बताए । कर्णाली प्रदेश सरकारको विकासको जग बसिसकेको बताउँदै उनले भू–उपयोग नीति समयसापेक्ष भएको र आवश्यकताका आधारमा बदल्न सकिने बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भू–उपयोग नीति प्रदेश सरकारको महत्त्वपूर्ण दस्तावेज भएको प्रतिक्रिया दिए । उनले भने, “प्रदेश सरकारलाई नीति हस्तान्तरण गरिएको छ । समयगतरूपमा यसलाई सम्बोधन गर्न सकिन्छ । भू–उपयोग ऐनको दफा १६ मा प्रदेश भू–उपयोग परिषद्को व्यवस्था गरिएको छ ।” त्यसअनुसार कार्यक्रम स्वीकृत गरी कार्यान्वयन हुनसक्ने अवस्था रहेको जनाउँदै सचिव दुवाडीले नीतिलाई परिपूरक बनाउन सङ्घीय गरिबी निवारण मन्त्रालयले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उक्त नीति प्रभावकारी कार्यान्वयन गर्न उनको सुझाव थियो ।

अवाञ्छित गतिविधि रोक्न १२२ ठाउँमा प्रहरी कक्ष, सबैभन्दा बढी भारततर्फ

फाइल फोटो काठमाडौं । चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ । भारततर्फको सीमावर्ती इलाकामा एक सय २० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता कक्ष राखिएको स्थापना गरिएको छ भने भारततर्फ ३० स्थानमा स्वास्थ्य कक्ष र चीनतर्फ ३ स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए । प्रवक्ता खड्काका अनुसार दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा आपत्मा परेका नागरिकको उद्धारमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्व लक्षित सहायता कक्ष सुनसरीको पकलीस्थित बराह बाहिनी मुख्यालयअन्तर्गत २५, सप्तरीको छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी ५३, गढीमाई बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत दुई, मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत दुई, विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीअन्तर्गत १९, महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत एउटा र वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ । महोत्तरी, रुपन्देही, सुनसरी, सप्तरी, कैलालीलगायत भारतसँगको सीमानाकामा स्वास्थ्य सहायता कक्ष पनि स्थापना भएका छन् । सहायता कक्ष र स्वास्थ्य सेवा कक्ष अन्य स्थानमा पनि स्थापना गर्न आवश्यक देखिए तदनुरुप हुने प्रवक्ता खड्काले बताए । चाडपर्वको बेला सीमानाकाबाट आवतजावत गर्ने नागरिकको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाटजस्ता घटना हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न सहायता कक्ष स्थापना गरिएका हुन् । सीमानाकाबाट आवतजावत गर्ने क्रममा कुनै पनि नागरिकमा स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको छ । रासस

जारमा किरा भेटिएपछि महानगरले त्रिकोण बेभरेजलाई तिरायो एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्रको त्रिकोण बेभरेजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । कम्पनीको जारमा किरा भेटिएपछि महानगरले कारवाही स्वरुप एक लाख रुपैयाँ बराबरको जरिवाना तिराएको हो । बजार अनुगमनको क्रममा कम्पनीको पानीको जारमा किरा भेटिएको महानगरले जनाएको छ । त्यस्तै, महानगरले कम्पनीलाई कारवाही बाहेक विभिन्न दुई वटा निर्देशन समेत दिएको छ । उक्त निर्देशन अनुसार कम्पनीले अब उप्रान्त जारमा पानी भर्नुअघि निर्मलीकरण गरि भर्नुपर्ने छ । त्यस्तै, ल्याब रिर्पोट पानी ढुवानीकर्तालाई प्रत्येक महिना उपलब्ध गराउनु पर्ने महानगरले बताएको छ ।

सानिमा माइ हाइड्रोको सेयर मूल्य समायोजन

काठमाडौं । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २९७.२७ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३२७ रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता २९७.२७ रुपैयाँलाई आधार मानेर हुने छ ।

युक्रेनले आगामी वर्ष प्रतिरक्षा खर्च बढाउने

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गरेको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले मङ्गलबार बताएको छ । उक्त आदेशअनुसार युक्रेनले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा २१ दशमलव छ प्रतिशत राष्ट्रिय प्रतिरक्षामा खर्च गर्नेछ । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा काउन्सिलको निर्णयलाई प्रभावकारी बनाएको राष्ट्रपतिको आदेशले अर्को वर्ष युक्रेनको प्रतिरक्षा खर्च १६ खर्ब ९० अर्ब रिभ्निया (करिब ४६ अर्ब अमेरिकी डलर) भन्दा कम नहुने उल्लेख गरेको छ । राष्ट्रपतिको उक्त आदेशले वर्तमान सैन्य–राजनीतिक परिस्थितिका आधारमा सन् २०२४ को मस्यौदा बजेटमा प्रतिरक्षा क्षेत्रलाई महत्व दिएर विनियोजन गर्न निर्देशन दिएको छ । युक्रेनको सन् २०२३ को बजेटले प्रतिरक्षामा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को १८ दशमलव दुई प्रतिशत अर्थात ११ खर्ब ४० अर्ब रिभ्निया (करिब ३१ अर्ब अमेरिकी डलर) खर्च गर्ने परिकल्पना गरेको छ । रासस