साल्ट ट्रेडिङले सरकारबाट १०१ रुपैयाँमा चिनी किनेर ९७ रुपैयाँमा सुरु गर्याे बिक्री
काठमाडौं । साल्ट टेडिङ कर्पाेरेशनले १०१ रुपैयाँमा चिनी किनेर ९७ रुपैयाँमा बिक्री वितरण सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा शिल गरेको उक्त चिनी कर्पाेरेशनले खरिद गरेर बिक्री सुरु गरेको हो । सरकारबाट खरिद गरेर कर्पाेरेशनले सुपथ मूल्यका पसलमा बिक्री सुरु गरेको हो । विभागले गत असोज ४ गते बजार अनुगमनका क्रममा कुलेश्वरस्थित गृहेश्वरी ट्रेड लिंकमा ७० हजार किलो चिनी फेला पारेको थियो । व्यापारीले लुकाएर राखेको भेटिएपछि विभागले उक्त गोदाममा छापा मारेको थियो । व्यवसायी सन्तोष खेतानको नाममा रहेको उक्त व्यापारिक फर्मले स्वदेशी चिनी उद्योगबाट चिनी खरिद गरी खुद्रा व्यापारीलाई बिलविजकबिना महँगो मूल्यमा बिक्री गर्ने गरेको भन्दै विभागले उक्त गोदाममा शिलबन्दी गरेर कारवाही समेत गरेको थियो । विभागले जफत गरेको उक्त चिनी सपथ मूल्यका पसलमा बिक्री गर्नदिने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयको निर्णय अनुसार कर्पाेरेशनले बिक्री सुरु गरेको हो । कर्पाेरेशनका सूचना अधिकारी कुमारराज भण्डारीले कर्पाेरेशनसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्यका पसलबाट चिनी बिक्री भएको बताए । ‘मन्त्रालयको निर्णय अनुसार हामीले ७० हजार किलो चिनी १०१ रुपैयाँमा खरिद गरेर ९७ रुपैयाँमा बिक्री सुरु गरेका हौँ, चाडपर्वका लागि लक्षित गरी सञ्चालन गरिएका सबै सुपथ मूल्यका पसलमा चिनी उपलब्ध छ’, उनले भने । कर्पाेरेशनले आफ्ना काउन्टरबाट चिनीको बिक्री सुरु गरेको जनाएपनि खाद्य कम्पनीको गोदाममा भने चिनी सकिएको छ । कर्पाेरेशनले दिएको ७ क्विन्टल चिनी सोमबार दिउँसो देखि सकिएको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपालेले कर्पाेरेशनले दिएको चिनी सोमबार बिहान १२ बजेदेखि नै सकिएको जानकारी दिईन । ‘हामीलाई साल्ट टेड्रिङ कर्पाेरेशनले ७ हजार क्विन्टल चिनी दिएको थियो, त्यो चिनी हिजै सकिसक्यो, थप चिनीको विषयमा कर्पाेरेशनबाट अहिलेसम्म कुनै जानकारी आएको छैन’, उनले भनिन ।
तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौँ : स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक सेवाबाट हटाएको थियो । उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रुपमा रहेको भन्दै अब यो छिटै समाधान हुने बताए । २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलीएर बसेको भन्दै चाँडैनै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रकृया थालिने जानकारी दिए । मन्त्री बस्नेतले देशको आर्थिक अवस्था पनि विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि हटाउन बाध्य भएको बताए । ‘वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका दुई सय चानचुन कर्मचारीहरुलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ । त्यहीपनि त्यहाँका एचओडीहरु, त्यहाँको न्याम्सको टिम र म बसेर साँच्चीनै एकदमै नचल्ने अवस्थामा केही छ भने दिनुहोस् । तत्कालै सरकारको नेतृत्वसँग कुरा गरेर अनुमती लिएर हामी आन्तरीक र वाहिरी व्यवस्थापन गरेर चलाउँछौ । चाँडो भन्दा चाँडो नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गरेर काम गर्ने प्रकृया अघि बढाउँछौ भनेर भनेका छौ’, उनले भने । मन्त्री बस्नेतले स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै यथाशिघ्र चिकित्सा शिक्षा ऐन संशोधन गरिने बताए । संविधानको मौलिक हकमा आधारभुत स्वास्थ्य सेवा जनतालाई निःशुल्क गर्ने भन्ने उल्लेख भएपनि कार्यान्वयन गर्न सरकार प्रतिवद्ध भएर लागिरहेको जानकारी दिए ।
नेपालगञ्जमा पूर्ण रुपमा कर्फ्यू हटाइयो
नेपालगञ्ज । नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । उनले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गरे । अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यू लाग्दै आएको थियो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू लगाइएको थियो । यही असोज १८ गतेदेखि दिउँसोको कर्फ्यू हटाइएको थियो भने रातिको समयमा कर्फ्यू कायमै राखिएको थियो ।
अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला
खोटाङ । जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ । दिक्तेल बजारको मानव अधिकारचोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको उक्त क्लिनिकमा ताला लगाइएको हो । उक्त डेन्टलले बिना इजाजत न्युनकतम मापदण्ड पनि पूरा नगरी काम गरिरहेको पाइएपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जानकारी दिए । गत साउन ९ गते गरिएको बजार अनुगमनका क्रममा त्रुटि गरेको पाइएपछि सच्याउन निर्देशन दिएको लामो समयपछि पनि आवश्यक प्रक्रिया पूरा गरिएका कारण क्लिनिक सिल गरिएको जनाइएको छ । दाँतको स्क्रिनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको डेन्टल क्लिनिकमा जोखिम मोलेर दन्त चिकित्सकले गर्ने सम्पूर्ण उपचार नै गरेको पाइएको थियो । तेलीलाई दन्त चिकित्सक राखेर डेन्टल चलाउन दिइएको अन्तिम चेतावनी पालना नभएको पाइएकाले सिल गरिएको सहायक प्रजिअ साहको भनाइ छ । उक्त क्लिनिकमा बिनास्वीकृति र बिनाजनशक्ति दाँतको आरसिटी गर्दै सेवाग्राहीबाट रकम असुल्ने गरेको अनुगमन टोलीले जनाउनाका साथै दन्त चिकित्सक नराखेको, डेन्टल एक्स-रे र कुर्सी एकै ठाउँमा राखिएको, डेन्टल चेयर काम नलाग्ने भएको, हातधुने बेसन नभएको, क्लिनिकको भवन मापदण्डअनुसार नभएको पाइएको उल्लेख गरिएको छ । तेलीकै नाममा रहेको ॐ हलेसी मेडिकेयर क्लिनिक पनि दर्ता बिना नै सञ्चालन गरेको पाइएपछि औषधि व्यवस्था विभागले गत चैत २३ गते सिल गरेर स्वास्थ्य कार्यालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न चेतावनी दिएको छ । फार्मेसी पढेकाले मात्रै औषधि बिक्री गर्न पाइने भए पनि सो मेडिकेयर क्लिनिकमा फर्मासिष्ट वा फार्मेसी सहायकबिना नै औषधि बिक्रीवितरण हुँदै आएको पाइएको छ । यस्तै न्यू हलेसी मेडिकेयर क्लिनिक एन्ड मन्सुना फार्मेसीले पनि अवैध रुपमा रेबिजविरुद्धको भ्याक्सिन राखेको भेटिएको छ । चिकित्सकको प्रेस्क्रिप्सनबिना चलाउन नपाइने रेबिज भ्याक्सिन डोमेस्टिक फ्रिजमा राखेको पाइएको सहायक प्रजिअ साह बताउँछन् । फार्मेसी सञ्चालक महेशप्रसाद साहले थाहा नभएर रेबिजविरुद्धको भ्याक्सिन राखेको जवाफ दिएको पनि सोही क्लिनिकमा मुटुको बिरामीले प्रयोग गर्ने औषधिहरु पनि भेटिएको अनुगमन टोलीले जनाएको छ । आसन्न चाडबाडलाई लक्ष्य गरेर जिल्ला प्रशासनले आइतबारदेखि जिल्लामा सञ्चालित हाटबजार, खुद्रा तथा होलसेल पसल, फार्मेसी एवम् क्लिनिकहरुमा कडाइका साथ अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा भेटिएका अखाद्यवस्तु बरामद गर्नाका साथै सञ्चालकलाई सजग गराउने काम भइरहेको अनुगमन टोली संयोजक एवम् सहायक प्रजिअ साह बताउँछन् । रासस
एसबिआई बैंकको डीसीईओ र सीएफओको जिम्मेवारी पंडालाई, आलमले दिए राजीनामा
काठमाडौं । नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा राजेश कुमार पंडा नियुक्त भएका छन् । असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले भारतीय स्टेट बैंकको तर्फबाट आएका पंडालाई डीसीओमा नियुक्त गरेको हो । साथै, पंडाले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ) पद पनि सम्हाल्ने छन् । बैंकले बैंक तथा भारतीय स्टेट बैंकबीचको प्राविधिक सेवा सम्झौता अनुसार पंडालाई उक्त जिम्मेवारी दिएको हो । यसअघि बैंकको डीसीओको जिम्मेवारी मोहमद रिजवान आलमले सम्हाल्दै आएका थिए । उनी बैंकको प्रमुख वित्तीय अधिकृत समेत थिए । तर उनको कार्यकाल असोज २३ गतेदेखि सकिने र एसबीआई भारत फिर्ता जाने भएकाले बैंकले पंडालाई उक्त स्थानमा नियुक्त गरेको हो ।
विमानस्थलबाट सुनसहित एकजना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले राससलाई जानकारी दिए । उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौं आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । उक्त विषयमा आवश्यक अनुसन्धान सुरु भएको डा पाण्डेले बताए ।
नयाँबसपार्कबाट २४ हजार यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टंकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन सोमबारमात्र २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको नयाँबसपार्कका सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले जानकारी दिए । सोमबार अग्रिम टिकट लिनका लागि आइतबार रातिदेखि नै यात्रुहरु नयाँबसपार्कमा आएर लाइन लागेका थिए । नयाँबसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन् । सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ । नयाँबसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले यात्रुहरुको सुरक्षाका लागि ५० भन्दा बढी प्रहरी सादा पोसाकमा परिचालन गरिएको जानकारी दिए । उनले काठमाडौँ जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । यस्तै विभिन्न प्रविधिको सहयोगमा आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको प्रहरी वरिष्ठ उपरीक्षक खत्रीको भनाइ थियो । प्रहरीले चाडबाडमा बढी भीडभाड हुने स्थानमा बढीवान क्यामरा, गोप्रो क्यामरा र ड्रोनबाट समेत निगरानी गर्न लागेको छ ।
डिशहोमका ग्राहक राजीन राईले जिते एक लाख रुपैयाँ
काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत विजेता घोषणा गरिएको छ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५६४१९५२९६ कास आईडीका ग्राहक राजीन राईले नगद एक लाख रुपैयाँ जितेका छन् । असोज २२ गते सोमबार भएको लक्की ड्र मार्फत रविन तामाङले नगद एक लाख रुपैयाँ जितेका हुन् । डिशहोमका अनुसार दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउँनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान आश्विन १ देखि सिमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।