सिद्धार्थ प्रिमियरलाई बीमितकाे फर्ष्ट च्वाइस बनाउँछौं : रामजी ढकाल
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत भदौ पहिलाे साता ‘एसपीआईएल डिजी’ सार्वजनिक गर्यो । नेपाली बीमा क्षेत्रमै पहिलो पटक विद्युतिय (डिजिटल) माध्यमबाट बीमालेख खरिद र बीमा दाबी भुक्तानी गर्न मिल्ने गरी कम्पनीले एसपीआईएल डिजी ल्यायो । एक/डेढ महिनाको अवधिमा कम्पनीले एसपीआईएल डिजीमार्फत् ५० वटा बीमालेख बिक्री गरिसकेको छ भने २८० वटा बीमा दाबीको सेटलमेन्ट गरेको कम्पनीले जनाएको छ । विगत ४ वर्षदेखि कम्पनीको बजार विभाग प्रमुख छन्, रामजी ढकाल । ढकाल विगत २३ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय भएर काम गर्दै आएका छन् । सगरमाथा इन्स्योरेन्सबाट बीमा क्षेत्रमा प्रवेश गरेका उनले सो कम्पनीमा १० वर्ष काम गरे । उनै बजार प्रमुख ढकालसँग एसपीआईएल डिजीले कसरी ग्राहकहरुलाई सरल र सहज बीमा सेवा प्रदान गरिरहेको छ भन्ने विषयमा केन्द्रित भएर विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एसपीआईएल डिजी भनेको के हो ? सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच गत मार्चमा एकीकृत कारोबार भयो । एकीकृत कारोबारपश्चात् कम्पनीलाई पुनः ब्राण्डिङ गर्न र ग्राहकलाई छिटोछरितो सेवा दिने उद्देश्य अनुरुप डिजिटल प्रडक्टमा प्रवेश गर्याैं । डिजिटल माध्यमबाट बीमा कारोबार गर्ने बीमा क्षेत्रकै पहिलो कम्पनी बन्यौं । ग्राहकलाई छिटोछरितो वा ठाउँको ठाउँ (अन दी स्पट) सेवा दिनका लागि एसपीआईएल डिजी सञ्चालनमा ल्याइएको हो । एसपीआईएल डिजीमार्फत् बीमा लेख खरिद र बीमा दाबी भुक्तानी गरिन्छ । बीमालेख खरिददेखि सेटलमेन्ट र बीमा सम्बन्धिका सबै कार्य एउटै प्लेटफर्मबाट गर्ने गरी कम्पनीले एसपीआईएल डिजी सञ्चलानमा ल्याएको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डिजिटल माध्यमबाट बीमालेख जारी गर्न थालेको एक महिना बढी भयो । यो अवधिमा कस्तो प्रतिक्रिया आएको छ ? कम्पनीका सबै बीमालेख एसपीआईएल डिजीमार्फत खरिद गर्न सक्ने व्यवस्था गरेको छ । तत्कालका लागि दुर्घटना बीमा, ट्राभल्स मेडिकल बीमा र सवारी साधन बीमालाई प्राथमिकतामा राखेर एसपीआईएल डिजीमार्फत् खरिद गर्न सकिन्छ । स्वदेश तथा विदेशमा भ्रमण गर्दा ट्राभल मेडिकल इन्स्योरेन्स खरिद गर्न सकिन्छ । जस्तो कुनै ठाउँको यात्रा गर्नु पर्नेछ भने एसपीआईएल डिजीमार्फत् बीमा गर्न सकिन्छ । विदेशको यात्राका लागि एयरपोर्टमा हुनु हुन्छ भने एयरपोर्टबाटै ट्राभल्स बीमा लेख खरिद गर्न सकिन्छ । चाडपर्वको समयलाई लक्षित गरी सवारी साधन बीमालाई कम्पनीले जोड दिएको छ । मोटरसाइकल वा निजी सवारी खरिद गर्ने बित्तीकै आफैंले एसपीआईएल डिजी माध्यमबाट उक्त सवारीको बीमा गर्न सकिन्छ । प्राकृतिक विपत, बाढी, पहिरो, भूकम्प, आगजनी लगायत क्षतिलाई कभर हुने गरी एसपीआईएल डिजीबाट बीमा लेख खरिद गर्न सकिन्छ । यस्ता घटनाहरुमा सरकारबाट क्षतिपूर्ति लिने भन्दापनि विपतबाट सुरक्षित हुन आफ्नो सम्पत्ति घरको बीमा गर्न सकिन्छ । ब्यक्तिका लागि अतिआवश्यक स्वास्थ बीमा पनि एसपीआईएल डिजीमार्फत खरिद गर्न सकिन्छ । स्वास्थ उपचार महँगो भएको बेला यो प्रडक्टले धेरै राहत पुर्याउनेछ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग ४० वटा अस्पतालहरु आवद्ध छन् । यदि स्वास्थ बीमा गरेको छ भने सो अस्पतालहरुबाट ग्राहकहरुले नगदरहित सेवा पाउनु हुन्छ । कम्पनीले नगदरहित कार्ड बनाइ दिएको हुन्छ । उक्त कार्ड अस्पतलामा देखाएपछि बीमालेखको सीमाभित्र रहेर कम्पनी उपचार वापतको रकम भुक्तानी गरिदिन्छ । बिरामी पर्दा ऋण निकालेर उपचार गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । अब सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा बीमा गरेर स्वास्थ उपचार, सम्पत्तिको सुरक्षा, सवारीको मर्मतको खर्च र ढुक्क भएर यात्रा गर्न सकिन्छ । एसपीआईएल डिजीमार्फत हालसम्म कतिको कारोबार भयाे ? एक/डेढ महिनाको अवधिमा एसपीआईएल डिजीमार्फत् ५० वटा बीमालेख बिक्री भइसकेका छन् । जसमध्ये मोटरसाइकल र निजी सवारी साधनका बीमालेख बढी छन् । क्याम्पेनिङ गरेर एसपीआईएल डिजीको प्रचार प्रसार गर्ने योजना छ । भुक्तानी प्रदायक कम्पनी डिजिटल वालेट सुरुमा आउँदा चोकचोकमा बसेर क्याम्पेनिङ गरेका थिए । आजभन्दा १०/१२ वर्षअघि डिजिटल वालेटप्रति सर्वसाधारण विश्वास नै थिएन । त्यसकारण एसपीआईएल डिजी प्ल्याटफर्मलाई सहज बनाउन मोबाइल एप ल्याइरहेका छौं । दशैं तिहारमा एसपीआईएल मोबाइल एप लञ्च गर्ने तयारी भइरहेको छ । त्यसपछि कम्पनीको पोर्टलमा गएर खोजिराख्नु पर्दैन । ग्राहकहरुले मोबाइल एपबाटै बीमा खरिद र दाबी भुक्तानी लिन सक्ने छन् । मोबाइल एप आइसकेपछि शाखामा आउन पर्दैन । एसपीआईएल डिजीमार्फत चालू आर्थिक वर्षमा २ करोड बढीको प्रिमियम संकलन गर्ने लक्ष्य छ । एसपीआईएल डिजीमार्फत् हालसम्म ४ सय दाबी आएका छन् । जसमध्ये २८० वटा दाबीको सेटलमेन्ट भइसकेको छ । बाँकी रहेका दाबी भुक्तानी पनि प्रक्रियामा छन् । डकुमेन्ट पठाउने बित्तीकै सेटलमेन्ट गर्छाैं । बीमालेख बिक्री गर्ने मात्रै नभएर दाबी भुक्तानीमा छिटोछरितो सेवा दिएर ग्राहकलाई सन्तुष्ट बनाउनु कम्पनीको मुख्य लक्ष्य हो । त्यसैले एसपीआईएल डिजी प्लेटमर्फ पोलिसी बिक्रीसँगै बिक्री भइसकेको पोलिसीलाई छिटोछरितो सेवा दिन सञ्चालनमा ल्याइएको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘फर्ष्ट च्वाइस अफ ननलाइफ’ बनाउने योजना छ । सर्वसाधारण आफै आएर कम्पनीमा बीमा खरिद गर्ने गरी सेवालाई छिटोछरितो बनाएका छौं । कागज वा फोटोका आधारमा कसरी विश्वास गर्नु हुन्छ ? र, भुक्तानी दिनु हुन्छ ? स्थलगत अध्ययन आवश्यक पर्दैन ? बीमा व्यवसाय विश्वसनीय वातावरणमा मात्रै हुन्छ । यदि अविश्वास भयो भने बीमा नै गरिँदैन । जस्तो बीमा खरिद गर्दा ग्राहकहरुले नगद रकम दिनु हुन्छ । र, कम्पनीले एउटा कागज मात्रै दिएको हुन्छ । एउटा कागजको आधारमा ग्राहकले करोडौं, अर्बाैं रकमको उद्योगको बीमा गरेका हुन्छन् । दुई पक्षको विश्वासको आधारमा मात्रै चल्ने कारोबार भनेको बीमा हो । त्यसकारण जब ग्राहकले बीमा कम्पनीलाई विश्वास गरेर पैसा दिन्छ भने ग्राहकलाई पनि बीमा कम्पनीले विश्वास गर्नु पर्छ । कहिलेकाँही १ सयमा १० प्रतिशत ठगी हुन सक्छ । तर, त्यसलाई हामीले रियल टाइमको फोटो मात्रै स्वीकार गर्छाैं । पुरानो फोटो देखाएर दाबी नगरोस् भन्ने हिसाबले रियल टाइमको फोटोलाई चारैतर्फबाट स्पष्ट देखिने गरी अपलोड गरेपछि मात्रै हामीले स्वीकार गर्छाैं । ताकी भोलिका दिनमा कुनै झण्झट नआओस् । कहिले लागत बढि आएको हुन्छ । बीमामा मूल्य धेरै राखेर दाबी गर्याे भने बढी रकम पाइन्छ भन्ने सोच छ । त्यो सोचलाई पनि चिर्ने काम भएको छ । हिजोका दिनमा भुक्तानी पाउन पनि एक/डेढ महिना लाग्थ्यो । आजको दिनमा मर्मतको प्रक्रियामै ग्राहकको खातामा दाबी भुक्तानी पाइन्छ । सोही रकम वर्कसपलाई भुक्तानी गर्छ । यो प्रडक्टबाट कसलाई कति लाभ ? बीमितलाई कसरी लाभ हुन्छ ? सर्भेयरलाई कसरी लाभ हुन्छ ? कम्पनीलाई कसरी लाभ हुन्छ ? एसपीआईएल डिजीबाट ग्राहक र कम्पनीलाई मात्रै लाभ हुन्छ । यसमा सर्भेयरको भूमिका न्यून हुन्छ । यदि कम्पनीलाई शंकास्पद लाग्यो भने मात्रै सर्भेयर, मिडियटर वा कम्पनीबाट प्रतिनिधि गएर निरिक्षण गरिन्छ । अन्यथा यसमा सर्भेयरको भूमिका न्यून रहन्छ । कम्पनी र ग्राहकहरुको विनविन अवस्था रहन्छ । किनभने दाबी परेकै समयमा भुक्तानी गर्याे भने कम्पनीको बारेमा सकरात्मक सन्देश प्रवाह हुन्छ । अस्वस्थ प्रतिस्पर्धा र अण्डर टेबल भुक्तानी चिर्न एसपीआईएल डिजी प्ल्याटफर्म सफल भएको छ । ग्राहकहरुले विश्वास जितेपछि कम्पनीको व्यवसाय वृद्धिमा टेवा पुग्छ । छिटोछरितो सेवा पाएपछि ग्राहकको समय पनि जोगिन्छ । एकडेढ महिना लाग्ने समय एकैछिनमा भयो भने शाखा कार्यालयमा धाउनु पर्ने बाध्यता अन्त्य भयो । ग्राहकको समय, इन्धन लगायतक बच्यो । त्यसैले अबको भविष्य भनेको एसपीआईएल डिजी वा डिजिटल बीमा हो । ग्राहकलाई चाहिने भनेको सस्तो र लागत कम हो । यो बीमा योजनाबाट कसरी यसलाई सरलीकरण गर्नु हुन्छ ? बीमा खरिद गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हुन्छ । ग्राहकले आफ्नै मोबाइलबाटै बीमालेख खरिद गर्नु भयो भने बीमालेखको प्रकृति अनुसार ५ प्रतिशतदेखि १० प्रतिशतम्मि छुटसम्म पाइन्छ । किनभने मिडियटरले लिने शुल्क उसले लिन पाउँदैन । त्यसैले एसपीआईएल डिजीमार्फत खरिद गर्दा बीमालेख सस्तो पर्न जान्छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका १३० वटा आउटलेटमा बजार विभागतर्फ ३ सय जना कर्मचारी कार्यरत छन् । आगामी दिनमा पूर्णरुपमा एसपीआईएल डिजीमार्फत् बीमालेख बिक्री हुन थालेपछि थोरै कर्मचारी भएपनि हुन्छ । यसले पनि कम्पनीलाई फाइदा नै हुन्छ । जसरी ईसेवा, एफवान सफ्ट लगायत डिजिटल वालेट उदाएका छन् त्यसरी एसपीआईएल डिजीले आक्रामक ब्यापार गर्न सक्ला ? समयअनुसार अघि बढ्न सकिएन भने पछाडि परिन्छ । समयको दौरानमा कम्पनीहरु पनि अगाडि बढ्नु पर्छ । बीमा प्राधिकरणले डिजिटल सम्बन्धि ऐन ल्याउने भनेर प्रक्रिया अघि बढाइसकेको छ । डिजिटल सम्बन्धि निर्देशिका ल्याएर सबै कम्पनीमा सर्कलर जारी गरिसकेको छ । अब डिजिटलको विकल्प छैन भनेर केही कम्पनीहरु अघि बढिसकेका छन् । बीमा कम्पनीहरु दूरदराजमा पुग्न सकेनन् भनेर हालै ७ वटा लघुबीमा कम्पनीले इजाजतपत्र अनुमति पाए । दूरदराजका जनताहरुलाई पनि बीमाको सेवा दिनु पर्छ भनेर लाइसेन्स दिइएको हो । तर, हामीलाई लाग्दैन की उहाँहरु दूरदराज पुग्नु हुन्छ । किनभने भौतिक रुपमा बीमा गर्दा लागत बढाउँछ । भौतिक रुपमा कार्यालय सञ्चालन गर्नु पर्याे, नियम अनुसार ५ जना कर्मचारी राख्नै पर्याे । जसमा बीमाको प्रिमियम संकलन १५÷२० लाख रुपैयाँ मात्रै हुन्छ । त्यसकारण ती शाखा दीर्घकाल सञ्चालन हुन सक्दैनन् । आजको दिनमा कूल जनसंख्याको ८० प्रतिशत मान्छेहरु मोबाइल प्रयोग गरिरहेका छन् । इसेवा, खल्ति लगायतका वालेट कम्पनीको जस्तै अघि बढ्ने एसपीआईएल डिजीको लक्ष्य छ । देशको दूरदराजमा बसेको मान्छेले पनि एसपीआईएल डिजीमार्फत बीमा लेख खरिद गर्न सक्छन् । त्यसैले बीमा कम्पनीहरु दूरदराजमा पुग्न एसपीआईएल डिजीले सहयोग गर्छ । कम्पनीहरुले नयाँ योजना बनाउँछन्, प्रविधिमैत्री बनाउँछन्, तर कार्यान्वयन कमजोर हुन्छ । प्रचार प्रसारको कमीले हो कि अरु कारण छन् ? कम्पनीले कुनै पनि प्रडक्ट ल्याएपछि तत्काल रिजल्ट खोज्छन् । पक्कैपनि यस्ता प्रडक्ट ल्याउँदा केही न केही चुनौति आउँछन् । त्यसमा कम्पनीले लगानी गर्नु पर्ने हुन्छ । एसपीआईएल डिजी सुरु गरेपछि अन्य कम्पनीहरु पनि यसमा आइसकेका छन् । नियाकको दृष्टिकोण र अनुगमन नरम हुनु पर्छ । बीमितहरुको हस्ताक्षरदेखि हार्ड कपी नै चाहियो भनेपछि यस सफ्टवेयरको काम छैन । यसलाई नियमन र अनुगमन गर्न नियामकले छुट्टै नीति ल्याउनु पर्छ । र, बीमा कम्पनीहरुले पनि यसमा लगानी थप्नु पर्छ । अहिले सानो लगानीमा सुरुवात मात्रै गरिएको हो । दीर्घकालिन अपेक्षा पुरा गर्न प्रविधिलाई विश्वसनीय बनाउन जरुरी छ । कम्पनीका सञ्चालकहरु लगानी थप्ने आह्वासन दिनु भएको छ । १४ वटा निर्जीवन बीमा कम्पनीको साझा सफ्टवेयर बनाउन आवश्यक छ । पछिल्लो समय डिजिटलाइजेशनसँगै ठगीको जोखिम पनि बढेको पाइन्छ । बीमा क्षेत्र पनि डिजिटल बन्दै गर्दा डिजिटल ठगी न्यूनीकरणमा कस्ता प्रयास भइरहेका छन् ? हरेक कुराको सकरात्मक र नकरात्मक पक्ष हुन्छन् । नयाँ प्रडक्ट ल्याउँदा चुनौति अवश्य हुन्छन् । डिजिटल बीमामा भारत धेरै अगाडि बढिसकेको छ । त्यसैले कम्पनीको आइटि डिपार्टमेन्टका हेड र डेपुटी हेडलाई डिजिटल ठगी न्यूनीकरण सम्बन्धि तालिम लिन भारतमा पठाएको थियो । उहाँहरु अध्ययन गरेर आउनु भएको छ । त्यहाँको प्रविधिलाई नेपालमा कसरी प्रयोगमा ल्याउन सकिन्छ, कति लगानी आवश्यक पर्छ, कस्ता किसिमका चुनौति हुन्छन्, कस्ता प्रकृतिका ठगी हुन्छन् भनेर अध्ययन गर्नु भएको छ । उहाँहरुको सुझाव अनुसार कम्पनीले त्यस्ता समस्या नियन्त्रणका लागि थप कार्य अघि बढाउने छ । हामीले एसपीआईएल डिजीलाई विश्वसनीय बनाउन कोसिस गरिरहेका छौं । कम्पनीका कर्मचारीहरुबाटै ग्राहकहरुको गोपनियता पनि भङ्ग भएको देखिन्छ । यो विषयमा कम्पनी कति सतर्क छ ? ग्राहको गोपनियता कायमै राख्न पेमेन्ट गेटवेहरुसँग सम्झौता गरेका हुन्छौं । ग्राहकको गोपनियता भङ्ग हुने कार्य गरेको खण्डमा कारवाही गर्ने र सम्झौता रद्द गर्छाैं । पेमेन्ट गेटवेमार्फत ग्राहकहरुको गोपनियता भ्ग हुन नदिनबाट हामी सचेत छौं । एसपीआईएल डिजीसँग लिंक भएका ग्राहकको समस्या भने छैन । हालसम्म कस्ता किसिमका चुनौति खेप्नु पर्याे ? एसपीआईएल डिजीको प्रयोग कसरी गर्ने र विश्वसनीयता कसरी दिलाउने भन्ने चुनौति खेप्नु पर्याे । कुनै पनि प्रडक्ट लञ्च गर्दा सजिलो हुन्छ तर, त्यसलाई निरन्तरता दिन गाह्रो हुन्छ । जबसम्म ग्राहकहरुले विश्वास गर्नु हुन्न तबसम्म गाह्रो हुन्छ । त्यसकारण त्यसको विश्साव दिलाउन हामीले हरप्रयास गरिरहेका छौं । सामाजिक सञ्जालमा क्याम्पेनिङदेखि सातै प्रदेशमा कर्मचारीहरुले जानकारी दिने काम भइरहेको छ । एकएक ग्राहकलाई सिकाइरहेका छौं । यदि कुनै ग्राहकले दाबी भुक्तानीका लागि पत्र पेश गर्नु भयो भने हामीले उहाँलाई फोन गरेर एसपीआईएल डिजीबाट सेटलमेन्ट गर्न सिकाइरहेका छौं । संखुवासभाको खाँदवारी शाखामा एक जना ग्राहकले ५० हजार रुपैयाँको गाडीको क्षतिवापत दाबी गर्नु भयो । तर, शाखा प्रमुखले ग्राहकलाई एसपीआईएल डिजीमार्फत दाबी गर्न भनेर सझाउनु भएछ । दाबी गरेकै दिन खातामा रकम जम्मा भएपछि उहाँले त्यो क्षेत्रभरिका मान्छेहरुलाई यो प्रडक्टका बारेमा मार्केटिङ गर्नु भएछ ।
कृषि पेसाबाट वार्षिक १२ लाख आम्दानी गर्दै तनहुँका धनबहादुर थापा
दमौली । तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक १२ लाख आम्दानी गरिरहेका छन् । विसं २०७५ मा ‘सप्तरङ्गी कृषि तथा पशु फार्म’ दर्तापछि भीमाद बजारबाट सात किलोमिटरमाथि सुरुङमार्गको किनारामा उनले उक्त फार्म सञ्चालन गरेसँगै व्यावसायिक रुपमा कृषि पेसा सुरु गरेका हुन् । ‘बारीका ढिस्कामा मौरीका घार लहरै बनाएको छु । बारीका वरपर बुट्यान भएकाले मौरीलाई फूलका रस ल्याउन सजिलो हुन्छ’, थापाले भने । पाँच वर्षदेखि कृषि पेसा गर्दै आएका उनले यसवर्ष १२ लाख आम्दानी गरेको बताए । उनका अनुसार फार्ममा हाल ४० वटा मौरीसहितका घार रहेका छन् । यसवर्ष मौरीको गोला र मह उत्पादनबाट मात्रै चार लाख आम्दानी भएको थापाले जानकारी दिए । उनका अनुसार एक गोला मौरीसहितको घार रू दश हजार र महको मानाको एक हजारमा बिक्री हुने गरेको छ । त्यस्तै एक हजार एक सय कुखुरा बिक्री गरी पाँच लाख र बाख्राबाट तीन लाख आम्दानी भएको थापाको भनाइ थियो । मौरीपालन व्यवसाय गर्नका लागि कृषि ज्ञान केन्द्र तनहुँले दुई लाख, भीमाद नगरपालिकाले खानेपानीको पाइप खरिदका लागि ७० हजार अनुदान दिएको उनले जानकारी दिए । उनका अनुसार उक्त आम्दानी फार्मको स्तरोन्नतिमा खर्च भएको छ । चालीस रोपनी जग्गामा कृषि पेसा सुरु गरेका थापाले आठ रोपनी जग्गामा उन्नत जातका घाँस तथा फलफूल खेती गरेका छन् । उनले भने, ‘विसं २०४८ देखि सामाजिक क्षेत्रमा लागेको थिए । यसबाट गाउँसमाजमा सहयोग पुगे पनि आफ्नो आर्थिकस्तरका कारण अब आत्मनिर्भर बन्नुपर्छ भन्ने लागेर कृषि पेसा सुरु गरेको हुँ ।’ स्थानीय जनज्योति क्याम्पस र माझकोट साना किसान सहकारी संस्थाको अध्यक्ष तथा कोष प्राथमिक विद्यालयका संस्थापक अध्यक्ष भइसकेका थापाको दैनिकी यतिबेला बिहान ४ बजेदेखि राति १० बजेसम्म कृषि फार्ममा बित्ने गरेको छ । ‘युवाहरु रोजगारीको खोजीमा दैनिक ठूलो सङ्ख्यामा विदेशिएका छन् । उनीहरुलाई रोक्नका लागि सरकारले कृषि क्षेत्रमा लगानी गरी काम गर्ने वातावरण बनाउनुपर्छ’, थापाले भने, ‘दुःख गर्दा स्वदेशमै कमाउन सकिन्छ ।’ उनको बगैँचामा आँप, लिची, सुन्तला लगायतका फलफूलका बिरुवा देखाउँदै यस वर्ष लिची र आँप बिक्री गरी तीन लाख आम्दानी गर्ने लक्ष्य रहेको बर्ताए । सरकारले कृषि कर्जा सहुलियत दरमा उपलब्ध गराएमा कृषि व्यवसायतर्फ सबैको आर्कषण बढ्ने उनको भनाइ थियो । रासस
टिकट बुकिङका लागि बसपार्कमा भीड, दसैँ मनाउन २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने
काठमाडौं । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ । सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरु घरजानका लागि टिकट काट्न नयाँबसपार्कमा जम्मा भएका छन् । नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दुई दिनमा झण्डै ४० हजार अग्रिम टिकट बुकिङ भइसकेको जानकारी दिए । उनका अनुसार असोज २२ गते २४ हजार तीन सय ४० र असोज २३ गते १५ हजार २५ टिकट बुकिङ भइसकेको छ । असोज २२ गते बुकिङ भएका टिकटमध्ये कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार दुई सय ३०, गण्डकी प्रदेशका लागि नौ सय ७५, लुम्बिनी प्रदेशका लागि १३ हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार सात सय र सुदूरपश्चिम प्रदेशका लागि छ हजार नौ सय टिकट बुकिङ भएको छ । यस्तै, असोज २३ गते कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार एक सय ७०, गण्डकी प्रदेश पाँच सय, लुम्बिनी प्रदेश सात हजार पाँच सय ३५, कर्णाली प्रदेशमा एक हजार छ सय २० र सुदूरपश्चिम प्रदेशमा चार हजार दुई सय टिकट बुकिङ भएको छ । सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनको टिकट खुला गरेको हो । पश्चिम नेपालको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, रोल्पा तथा पूर्वी नेपालको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ । लामो समयदेखि काठमाडौंदेखि धनगढीसम्म डिलक्स बस चलाउँदै आएका वर्दियाका रामानन्द थारु बाटोको कारणले बसलाई ओहोरदोहोर गर्न समस्या भएको बताउँछन् । ‘विभिन्न ठाउँमा बाटो विग्रँदा भनेको समयमा बस गन्तव्यस्थल पु¥याउन सकिँदैन’, उनले भने । काठमाडौंदेखि दाङसम्म सवारी सञ्चालन गर्दै आएका घोराहीका चेतनाथ भट्टपनि पानीको कारण बाटो खाल्डाखुल्डी हुँदा आवतजावतमा समस्या भएको बताउँछन् । ‘बाटो राम्रो भए यात्रुलाई ओसार्न समस्या हुँदैन, बाटो राम्रो नहुँदा बसहरु सञ्चालनमा समस्या भएको छ’, उनले भने । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्छन्। ‘राजमार्ग बिग्रिएको कारण काठमाडौं आउजाउ गर्न बसलाई समस्या पर्नसक्छ, तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन’, उनले भने । सरकारले दसैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि ‘रोड परमिट’ यही असोज २६ गतेदेखि खुला गर्ने निर्णयसमेत गरिसकेको छ । असोज २३ गते यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले यही असोज २६ गतेदेखि कात्तिक ८ गतेसम्म खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी साधनहरु उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । उक्त बैठकले पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमि काठमाडौंतर्फको सडक सवारी साधन सञ्चालन गर्न सहज हुने हिसावले सडक विभागबाट तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो । यस वर्षको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बुकिङ काउण्टर थप गरेको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले बताए । यस सङ्घीय राजधानी काठमाडौंबाट दसैँ मनाउनका लागि २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उपत्यकामा सुरक्षा योजना दसैँको समयमा हुने आपराधिक घटनालाई रोक्नका लागि प्रहरीले नयाँबसपार्क क्षेत्रमा छुट्टै सुरक्षा योजना बनाएर लागू समेत गरिसकेको छ । प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक दिनेश गुरुङले बसपार्कमा हुने आपराधिक घटना न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउँछन् । प्रहरीले दुई दिनमा नयाँ बसपार्कभित्र आपराधिक क्रियाकलापमा सङ्लग्न पाकेटमार, हुलहुज्जत गर्ने, ठगी, लुटपाटलगायतका घटनामा सङ्लग्न १७ जनालाई नियन्त्रणमा लिएर कारबाही समेत गरिसकेको छ । त्यस्तै, प्रहरीले बढी भीडभाड हुने स्थानलाई लक्षित गरी ड्रोन, वडीवान, गोप्रो क्यामराबाट समेत सुक्ष्म अनुगमन गर्नेछ । दसैँमा सुरक्षाका लागि नयाँ बसपार्कमा थप प्रहरी जनशक्तिसमेत तैनाथ गरिसकिएको छ । यस्तै, ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा चाडपर्व लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट यात्रु सहायता कक्ष १३ स्थानमा राखिएको बताउँछन् । ‘अहिले उपत्यकाका विभिन्न स्थानमा १३ वटा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ, आवश्यक परेमा अन्य स्थानमा समेत थप गर्न सकिन्छ’, उनी भन्छन् । रासस
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लिफान नेपालको ईभि स्कुटरको खरिदमा विशेष छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको ईभि स्कुटरहरुको खरिदमा विशेष छुट हुने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता ‘पिनाकल मोटोराड’ सँग लिफान नेपालको ईभि स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका ईभि स्कुटरहरुको खरिदमा विशेष क्यास छुट र एक्सेन्जमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसस नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
माई खोला हाइड्रोको सञ्चालक समिति गठन, अध्यक्षमा गुरागाईं नियुक्त
काठमाडौं । माई खोला हाइड्रोपावरको सञ्चालक समिति गठन भएको छ । असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित ७ जनाको सञ्चालक समिति गठन गरेको हो । नयाँ सञ्चालक समितिको अध्यक्षमा श्रीजेश गुरागाई निर्वाचित भएका छन् । त्यस्तै, सञ्चालकमा दिपेश गुरुङ्ग, संदीप अधिकारी, रोजीना न्यौपाने, प्रकाश भुजेल र धिरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । स्वतन्त्र सञ्चालकमा भने शोभा घिमिरे निर्वाचित भएकी छिन् । असोज १८ गते सम्पन्न कम्पनीको तश्रो वार्षिक साधारण सभाले उक्त सञ्चालकहरुलाई निर्वाचित गरेको हो ।
तरकारी खेतीबाटै अर्घाखाँचीका पुष्करले जोडे तीन करोडको घरघडेरी
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र काँक्रो मात्रै अहिले एक हजार आठ सय बोट लगाएका छन् । सबै बोटमा लटरम्मै काँक्रो फलेको छ । हाइटेक प्रविधिबाट टमाटर खेती सुरु गरेका उनले एउटा हाइटेक प्रविधिबाट र स्थायी टनेलमा लगाएको काँक्रो खेतीबाट यो याममा सात लाख रुपैयाँ बराबरको काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन् । दैनिक तीन/चार क्विन्टल फलेका काँक्रोले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्म थोक मूल्यमा काँक्रा बिक्री गर्नाका साथै दैनिक दस हजार रुपैयाँ बराबरको अन्य तरकारी पनि सन्धिखर्क बजारमा बञ्जाडेले बिक्री गरिरहेका छन् । उनले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन् । अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा २० रुपैयाँलाख आम्दानी हुँदै आएको छ । बञ्जाडेले गरेको देखासिकीबाट सिङ्गो गाउँवासी नै अहिले तरकारी खेतीमा लागेका छन् । उनले भने, ‘अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेकोे मान्छे भनेर इष्र्या गर्थे तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।’ बञ्जाडे जिल्लाकै नमूना कृषक छन् । सामान्य परिवारमा जन्मेएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमूलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । उनले भने, ‘गरेपछि जुन काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेती सुरुआत गरेका उनलाई पाँच रुपैयाँकरोडभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ ।’ तरकारीबाट वर्षमा १०/१५ रुपैयाँलाख सजिलै कमाएपछि बञ्जाडेले तीन करोड रुपैयाँभन्दा बढीको घर र घडेरी जोडिसकेका छन् । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए । पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साह्रै समस्या छ । बारीमा आकाशे पानी सङ्कलन गर्न ५० हजार लिटरको पानी सङ्कलन गर्ने पोखरी ४० हजार लिटरको ट्याङ्की बञ्जाडेले बनाएका छन् । त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिइएकाले धेरै यतातिर तानिएका छन् । बर्सात्को समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो । ‘अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा बढी गर्व भयो,’ पुष्करनाथले भने, ‘पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्याए ।’ रासस
बुधबार पनि दुई हाइड्रोको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । मंगलबार जस्तै बुधबार पनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार मात्रै मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ सूचीकृत भएको हो । यससँगै यी दुई वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बुधबार सूचीकृत भएको कम्पनीहरुको सेयर भोलिपल्ट अर्थात बिहीबार असोज २५ गतेदेखि कारोबारमा आउने छ । जसमध्ये मिड सोलुको ७४ लाख ८४ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि ओपनि न्यूनतम १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर बिहीबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने एमएसएचएल रहेको छ । त्यस्तै, नेप्से सिम्बोल बीजीडब्लूटी सिम्बोल नम्बर तोकिएको भगवती हाइड्रोको ५७ लाख २० हजार ६४७ कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम १२०.४१ र अधिकतम ३६१.२३ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै बिहीबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ ।
सत्रौँ एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर
फाइल फोटो काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध एयरको २६ वर्षे उडान यात्रामा दुई करोडभन्दा बढी स्वदेशी तथा विदेशी यात्रुले सेवा प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । हाल तीनवटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ जहाजमार्फत सेवा दिइरहेको बुद्ध एयरले यही अक्टोबरभित्रै अर्को एउटा एटीआर जहाज भित्र्याउन लागेको छ । योसँगै कम्पनीको जहाज सङ्ख्या १७ पुग्ने छ । वातावरणमैत्री जहाजका साथै हवाई कम्पनीमा कार्यरत टेक्निकल, पाइलट तथा ग्राउन्ड अपरेसन टिमका आफ्ना जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमनकारी निकायको आवश्यकतानुसार निरन्तर क्षमता अभिवृद्धि गरिरहेको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए । उनले भने, ‘बुद्ध एयरको उडान सेवालाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट नियमित अडिट एवं मूल्याङ्कन गराउँदै आएका छौँ ।’ जहाज मर्मतसम्भारका लागि बुद्ध एयरसँग अत्याधुनिक ह्याङ्गर छ, जुन दक्षिणपूर्वी एसियाकै उत्कृष्टमध्ये एकमा पर्छ । जहाँबाट स्वदेशी तथा विदेशी कम्पनीले पनि सेवा लिइरहेका छन् । बुद्ध एयरले ‘यात्रुको समय हाम्रो उडान’ भन्ने मन्त्रका साथ विभिन्न गन्तव्यमा उडान सङ्ख्या अभिवृद्धि गरेको छ । कम्पनीले पोखराका लागि दैनिक १७, विराटनगर तथा भैरहवाका लागि क्रमशः ९ र १० उडान भरिरहेको छ । यसबाहेकका गन्तव्यहरूमा पनि आधा दर्जनभन्दा बढी उडान गिररहेको छ । सुर्खेत, तुम्लिङटार तथा धनगढीमा पनि विस्तारै उडान सङ्ख्या थप्ने कम्पनीले जनाएको छ ।