काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु सुन्धारा
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साझ ५ बजे काठमाडौंको सुन्धारा केन्द्रविन्दु भई भूकम्प गएको हो । केन्द्रका अनुसारे ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
अन्तर कलेज हाजिरी जवाफका पहिलो विजेताले पायो एक लाख रुपैयाँ नगद
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आयोजना गरेको अन्तर कलेज हाजिरी जवाफका विजेताले पाए एक लाख रुपैयाँ नगद पुरस्कार पाएको छ । अन्तिम चरणको ग्राण्ड फिनालेमा पहिलो विजेता भएको काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम)ले एक लाख रुपैयाँ नगद पुरस्कारसहित पाएको हो । त्यस्तै, नेपाल कलेज अफ म्यानेजमेण्ट कलेज फस्ट रनर अप भएको छ । जसले ट्रफी र ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ । त्यसैगरी, क्वेस्ट इन्टरनेशनल कलेजले अन्तिम राउण्डमा उत्कृष्ट प्रदर्शन गर्यो र २५ हजार रुपैयाँसहित तेस्रो स्थानको ट्रफी हात पारेको छ । संघले गत साता एमबीएएन अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता-२०२३ आयोजना गरेको थियो । गत असोज १५ गतेदेखि असोज २१ गतेसम्म भएको विश्व लगानीकर्ता सप्ताह-२०२३ को अवसरमा संघले उक्त प्रतियोगिता आयोजना गरेको हो । उक्त कार्यक्रममा पहिलो चरणमा छनोट भएका ८ वटा कलेजका विजेता टोलीहरु काठमाडौं कलेज अफ म्यानेजमेण्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेण्ट, युनिग्लोब कलेज र एपेक्स कलेज द्धितीय चरणका सेमिफाइनल राउन्डको लागि योग्य साबित भएका थिए । द्धितीय चरणमा प्रवेश गर्न सफल भएका ८ वटा टोलीमध्ये काठमाडौं कलेज अफ म्यानेजमेण्ट, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज र नेपाल कलेज अफ म्यानेजमेण्ट गरी चार वटा थिए । कार्यक्रमका मुख्य अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले यस किसिमको क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता पहिलो पटक भव्यसाथ आयोजित गरिएको तर्क गरे ।
यसवर्ष ८८ दशमलव पाँच प्रतिशत मनसुनी वर्षा
काठमाडौं । नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलब पाँच प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ । नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् सुदर्शन हुमागार्इंले आँकलन गरेअनुसार यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा भएको बताए । उनले सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि जोमसोममा दुई सय दस दशमलव सात मिलिमिटर वर्षा भएको छ, जुन सरदरको एक सय ३३ दशमलव पाँच प्रतिशत हो । त्यस्तै काठमाडौंमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको एक सय नौ प्रतिशत हो । काठमाडौँमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ । त्यसैगरी ओखलढुङ्गामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्ष भएको छ, जुन सरदरको एक सय ७ प्रतिशत हो । यसपाली जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ । यस वर्ष छ सय ३७ दशमलब एक लिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलब आठ मिलिमिटर हो । मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू–भागमा मौसम कायमै रहेको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक असर रहेकाले अझै एक/दुई दिन देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिन अझै केही दिन लाग्नेछ । ‘देशको पूर्वी र मध्य भागमा मनसुन कायमै रहेकाले बदली र हल्का वर्षाको सम्भावना छ’, उनले भने । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको हो । बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको असरले मनसुन बहिर्गमनमा ढिलाइ भएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो । रासस
नेपाल लाइफ क्यापिटलद्वारा मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल लाइफ क्यापिटलले मधेश प्रदेशको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा ‘लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । असोज १९ गते दिउँसो ३ बजेदेखि ६ बजेसम्म मसला, कटेज– जनकपुरधाम, जनकपुरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ व्यक्तिहरुको सहभागिता थियो । नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र शेयर बजारको महत्व बारे प्रकाश पारेका थिए । उनले निम्न आय भएका व्यक्तिले शेयर बजारमा कसरी पहुँच पुर्याउन सक्छन् र यस्तो बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिए । त्यसैगरी कोष प्रबन्धक नवराज सिलवालले ‘लगानीका आधारभूत कुरा, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा प्रस्तुतिकरण गरे । उनले शेयर बजारको महत्व, यसले कसरी काम गर्छ र लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा सर्वसाधारणमा साक्षरता ल्याउने कुरामा जोड दिए । धितोपत्र बजारमा हुने जोखिम, बजारमा लगानीलाई कसरी पृथकीकरण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थप जानकारी दिए । कार्यक्रमको बिचमा प्रश्न उत्तर सत्र पनि भएको थियो ।
चार गुणा सम्पत्ति बढाउँदै एक नम्बर धनाड्य बने अम्बानी, पछि परे अडानी
काठमाडौं । भारतीय धनाड्य मुकेश अम्बानीले गौतम अडानीलाई पछाडि पारेका छन् । हुरुन इन्डिया रिच लिस्ट २०२३ अनुसार यसअघि धनीको सूचीमा अगाडि रहेका गौतम अडानीलाई मुकेश अम्बानीले पछाडि पारेका हुन् । नयाँ सूचीका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले अडानी समूहका अध्यक्ष गौतम अडानीलाई पछि पार्दै सबैभन्दा धनी भारतीयको उपाधि हासिल गरेका हुन् । हिन्डनबर्ग रिपोर्टपछि गौतम अडानीको सम्पत्तिमा ठूलो गिरावट आएको देखिएको छ । हुरुन इन्डियाले १२ भारतीय धनाड्यको सूची सार्वजनिक गरेको हो । मुकेश अम्बानीको सम्पत्ति चार गुणाले बढेको देखिएको छ । सन् २०१४ मा १६५,१०० करोड भारतीय रुपैयाँबाट बढेर २०२३ मा ८०८७०० करोड भारतीय रुपैयाँ पुगेको छ । गत ९ वर्षमा अम्बानीको सम्पत्ति चार गुणाले बढेको रिपोर्टमा उल्लेख छ । गौतम अडानी भारतीय धनाड्यको दोस्रो नम्बरमा झरेका छन् । उनी ४७४८०० करोड भारतीय रुपैयाँको सम्पत्ति सहति दोस्रो नम्बरमा झरेका हुन् । योसँगै सेरम इन्स्टिच्युट अफ इन्डियाका संस्थापक साइरस एस पुनवाला २७८५०० करोड भारतीय रुपैयाँको सम्पत्ति सहित तेस्रो स्थानमा छन् । यस्तै, एचसीएलका शिव नाडर २,२८,९०० करोडको सम्पत्ति सहित चौथो स्थानमा छन् भने गोपीचन्द हिन्दुजा १,७६,५०० रुपैयाँ बराबरको सम्पत्ति सहित पाँचौ स्थानमा छन् । सन फार्मास्युटिल इन्डस्ट्रीका संस्थापक दिलिप सांघवी १६४३०० करोडको सम्पत्ति सहित छैटौं स्थानमा छन् । भारतीय धनाड्यको पहिलो स्थान ओगटेका अम्बानीले सन् १९६६ मा टेक्सटाइल मिलको स्थापना गरेर व्यवसायिक जीवन अगाडि बढाएका थिए । त्यही मिलले नै उनको जीवन परिवर्तन गरिदियो । पढ्ने रहर हुँदाहुँदै पनि बीचमै पढाई छोड्न बाध्य भएका अम्बानीले केमिकल इन्जिनियरिङमा डिग्री हासिल गरेपछि एमबीए गर्न चाहान्थे । तर व्यवसाय अगाडि बढाउनको लागि उनको पिताले उनको पढाई बीचमै रोकिदिए । त्यसपछि उनले सन् १९८१ मा उनले पितासँग मिलेर रिलायन्स पेट्रोलियम रसायनको शुरुवात गरे । पछि उनले रिलायन्स इन्फोकाँम लिमिटेडको स्थापना गरे । अहिले उक्त कम्पनीलाई रिलायन्स कम्युनिकेन्सस लिमिटेडको नामबाट चिनिन्छ ।
जर्मनीले अनुमान गरेभन्दा धेरै गहिरो मन्दीको सामना गर्नुपर्छ : आईएमएफ
जर्मनी । जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ । उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचन आउने आईएमएफले प्रक्षेपण गरेको छ । उसले जुलाईमा शून्य दशमलव तीन प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी यस वर्ष जी-७ का धनी सदस्यमध्ये आर्थिक वृद्धि नहुने एउटा मात्र मुलुक बन्ने अद्यावधिक गरिएको प्रक्षेपणले पुष्टि गरेको छ । आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार जर्मनीले कमजोर संवेदनशील ब्याजदर क्षेत्र र सुस्त व्यापार-साझेदार मागलगायतका थुप्रै परिस्थितिको सामना गर्नुपरेको छ । सन् २०२३ को प्रारम्भमा मन्दीमा पुगेको र दोस्रो त्रैमासिकमा स्थिर रहेको जर्मनीले यस वर्षको दोस्रो छ महिनामा अर्को ‘थोरै आर्थिक सङ्कुचन’ तिर गएको पनि प्रतिवेदनमा उल्लेख छ । आईएमएपफले जर्मनीको अर्थतन्त्र सन् २०२४ मा सुधारको दिशामा जाने तर जुलाईको एक दशमलव तीन प्रतिशतको वृद्धिबाट शून्य दशमलव नौ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ । जर्मनीको अर्थतन्त्रमा देखिएको समस्याले युरोजोनमा पनि अवरोध देखिने छ । आईएमएफले सन् २०२३ मा २० राष्ट्र सम्मिलित युरोजानको अर्थतन्त्र थोरै घटाएर शून्य दशमलव सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । रासस
नेप्सेमा एकैदिन दुई कम्पनीको आईपीओ सूचीकृत, बुधबारदेखि किनबेच गर्न पाइने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । मंगलबार मात्रै हाथवे इन्भेष्टमेन्ट र माण्डू हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो । यससँगै यी दुई वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । मंगलबार सूचीकृत भएको कम्पनीहरुको सेयर भोलिपल्ट अर्थात बुधबार असोज २४ गतेदेखि कारोबारमा आउने छ । जसमध्ये हाथवे इन्भेष्टमेन्टको २ करोड ३४ लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि ओपनि न्यूनतम ९५.०९ रुपैयाँ र अधिकतम २८५.२७ रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर बुधबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने एचएटीएचवाई रहेको छ । त्यस्तै, नेप्से सिम्बोल एमएएनडीयू सिम्बोल नम्बर तोकिएको माण्डु हाइड्रोको एक करोड ३६ लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम १२४.४२ र अधिकतम ३७३.२६ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै बुधबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ ।
बेल्ट एन्ड रोडले २० खर्ब डलरभन्दा बढीको सम्झौता गरेको छ : बेइजिङ
एजेन्सी । चीनले उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको मङ्गलबार घोषणा गरेको छ । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो । चीनको स्टेट काउन्सिलको श्वेतपत्रमा उक्त परियोजनामा सहभागी मुलुकहरूमाथि एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना ९एक्जिमबैंक० को तीन खर्ब डलरभन्दा बढी ऋण रहेको बताइएको छ । एक विज्ञका अनुसार उक्त आँकडा कम हुने बताइएको थियो तर यसले विश्वव्यापी पूर्वाधारमा भएको ठूलो ऋणलाई नजरअन्दाज गर्छ । चीनले यसै महिना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १०औँ वार्षिकोत्सव मनाउँदै छ । यसलाई बेइजिङले राष्ट्रपति सि जिनपिङका लागि परिभाषित भूराजनीतिक परियोजनाका सन्दर्भमा विश्वभरका परियोजनाहरूमा खर्बौँ डलर खर्च गरेको रूपमा हेरिएको छ । तर आलोचकहरूले चीनले न्यून आम्दानी भएका मुलुकहरूलाई विशाल र बहन गर्न नसकिने ऋण प्रस्ताव गरेर ऋणको पासोमा फसाउन खोजेको आरोप लगाएका छन् । बेइजिङले मङ्गलबार साझेदारहरूसँग निर्माण सम्झौताहरूमा गरिएको रकम अहिले २० खर्ब अमेरिकी डलर पुगेको बताएको छ । उक्त रकम रुस र क्यानाडाको अर्थतन्त्रको आकार हाराहारी हो । साथै उसले चिनियाँ निर्माण व्यवसायीहरूको लगानी वास्तविक रूपमा १३ खर्ब डलर पुगेको बताएको छ । बेइजिङले एक्जिमबैंकबाट बीआरआई परियोजनाहरू लागि ऋणको सन्तुलन कूल २२ खर्ब युआन ९तीन खर्ब ७४ करोड डलर० पुगेको जनाएको छ । ‘यसले एक सय ३० भन्दा बढी सहभागी मुलुक, चार खर्ब डलर लगानी र २० खर्ब डलरभन्दा बढीको व्यापारलाई समेट्छ’, ऋणमा प्रतिमुलुक औसत दुई अर्ब ४० करोड डलर रहने उल्लेख गर्दै श्वेतपत्रमा भनिएको छ । तर श्वेतपत्रमा कुन मुलुकलाई ऋणको भार धेरै छ भन्नेबारे केही उल्लेख गरिएको छैन । साथै ऋणमा लाग्ने ब्याज दर पनि उल्लेख गरिएको छैन । एक विज्ञका अनुसार उक्त आँकडा ठूलो हुँदाहुँदै पनि सम्भवतः धेरै कम आकलन गरिएको थियो । ‘अर्को एउटा शैक्षिक अनुसन्धान पत्र पनि छ जसमा लुकाइएका ऋणका बारेमा लेखिएको छ र यसले आठ खर्ब डलरसम्म ऋण थप्न सक्छ’, एटलान्टिक ग्लोबल चाइनना हबका गरआवासीय अधिकारी निभा याउले भने, ‘हामीसँग सामान्य अवस्थामा ती परियोजना र यो आँकडा कसरी थपिए भन्नेबारेमा केही जानकारी छैन ।’ रासस