लक्ष्मी सन्राइज बैंकले ल्यायो ‘दशैँ आयो’ योजना
काठमाडौं । लक्ष्मी सन्राइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । उत्साह र उमङ्ग सहित मनाइने महान चाड दशैँलाई लक्षित गरी विभिन्न अफरहरु सहित लक्ष्मी सन्राइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । दशैँको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको हो । असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सन्राइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ। परम्परागत रूपमा दशैंमा गरिने गतिविधीहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खान(पिन, भ्रमण, शपिङ्ग तथा रमाईलोलाई ध्यानमा राखी सो योजना ल्याइएको बैंकले जनाएको छ । पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सन्राइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशस् २५० र ५०० को क्यासब्याक पाउन सकिनेछ । यो अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ। अर्को अफर ‘शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १००० रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागू रहने बैंकले जनाएको छ । यसै गरी ‘खाउँला पिउँला’ योजनामा असोज् २८ गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एप बाट अर्डर गरी लक्ष्मी सन्राइज बैंकको डेबिटर क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ । यसै अफर अन्तर्गत के एफ सीको तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने छ। त्यसै गरी, ‘रमाईलो गरौँला’ अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सन्राइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ। क्यासब्याक अफरहरु बाहेक असोज २५ गते देखि कात्तिक २५ गते सम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि ५० हजार रुपैयाँ भन्दा बढि रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ। सबै योजनाहरुमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिनेछ । लक्ष्मी सन्राइज बैंकका सेवाग्राहीका लागि यो ‘दशैँ आयो’ योजना दशैँका विभिन्न खर्च तथा गतिविधिमा क्यासब्याकको लाभ लिई दशैँलाई अझ रमाइलो बनाउने सुनौलो अवसर हो । अफरहरु बारे विस्तृत जानकारीका लागि फेसबूक र इन्स्टाग्राम लागायतका सोसल मिडिया फलो गर्नुपर्नेछ ।
यी हुन् सानिमा बैंकका १४ ठूला सेयरधनी, कसको स्वामित्व कति ?
काठमाडौं । सानिमा बैंकमा १४ जना सेयरधनीको सबैभन्दा बढी सेयर स्वामित्व देखिएको छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार १४ जना सेयरधनीहरुको ४९.९३ प्रतिशत अर्थात् ६ करोड २२ लाख १३ हजार ४१७ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका १४ व्यक्ति तथा संस्थाहरुमध्ये सबैभन्दा धेरै सेयर अरुण कुमार ओझाको ७.९४ प्रतिशत अर्थात् ९८ लाख ९१ हजार ३२३ कित्ता रहेको छ । त्यस्तै, टेक राज निरौलाको ६.८१ प्रतिशत अर्थात् ८४ लाख ८३ हजार ५५० कित्ता, जिवनाथ लामिछानेको ५.५१ प्रतिशत अर्थात् ६८ लाख ६७ हजार २९४ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४.५० प्रतिशत अर्थात् ५६ लाख १० हजार कित्ता र विनय कुमार श्रेष्ठको ४.३८ प्रतिशत अर्थात् ५४ लाख ६० हजार ६०९ कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, कर्मचारी संचय कोषको ४.२८ प्रतिशत अर्थात् ५३ लाख ३३ हजार ९६० कित्ता, अमला इन्भेष्टमेन्ट प्रा.लि.को ३.९७ प्रतिशत अर्थात् ४९ लाख ४७ हजार ३२३ कित्ता, घनश्याम थापाको ३.७० प्रतिशत अर्थात् ४३ लाख ५७ हजार १७६ कित्ता, खेम राज लामिछानेको ३.५० प्रतिशत अर्थात् ४३ लाख ५६ हजार २६५ कित्ता र राम कृष्ण शाहको २.४९ प्रतिशत अर्थात् ३१ लाख ५ हजार ८२७ कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, जय गणेश इन्भेष्टमेन्ट प्रा.लि.को ०.९५ प्रतिशत अर्थात् ११ लाख ८७ हजार १७३ कित्ता, दिलीप श्रेष्ठको ०.७६ प्रतिशत अर्थात् ९ लाख ४५ हजार ६४५ कित्ता, शाम्बा लामाको ०.७१ प्रतिशत अर्थात् ८ लाख ८५ हजार ६३७ कित्ता र गीता श्रेत्रीको ०.६३ प्रतिशत अर्थात् ७ लाख ८१ हजार ६३५ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार कूल सेयरको १७.९८ प्रतिशत सेयर स्वामित्व संस्थाहरुको रहेको छ । त्यस्तै, सर्वसाधारणको भने ८२.०२ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको रहेको बैंक्को तथ्याङ्क छ ।
कतिमा भयो हाथवे र माण्डू हाइड्रोको पहिलो कारोबार ?
काठमाडौं । बुधबारदेखि दोश्रो बजारमा हाथवे इन्भेष्टमेन्ट नेपाल र माण्डू हाइड्रोपावरको पहिलो कारोबार भएको छ । मंगलबार नेप्सेमा सूचीकृत भएसँगै दुबै कम्पनीको आजदेखि दोश्रो बजारको यात्रा शुरु भएको हो । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा हाथवेको पहिलो कारोबार प्रतिकित्ता २८५.२० रुपैयाँमा र माण्डु हाइड्रोको प्रतिकित्ता ३७३.२० रुपैयाँमा भएको छ । स्पेशल प्रि सेसनमा भएको उक्त कारोबारमा दुबै कम्पनीको सेयर नेप्सेले ताकिदिएको रेञ्ज भित्र भएको छ । नेप्सेले हाथवेको पहिलो सेयर कारोबारको लागि ओपनिङ रेञ्ज न्यूनतम ९५.०९ रुपैयाँदेखि अधिकतम २८५.२७ रुपैयाँसम्म तोकिदिएको थियो । जसको नेप्से सिम्बोल भने एचएटीएचवाई रहेको छ । त्यस्तै, एमएएनडीयू सिम्बोल नम्बर तोकिएको माण्डु हाइड्रोको पहिलो कारोबारको लागि न्यूनतम १२४.४२ र अधिकतम ३७३.२६ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको थियो ।
ग्लोबल आइएमई बैंकले २५ मिलियन डलर क्लाइमेट फन्डको ऋण लिँदै, स्वच्छ उर्जामा लगानी गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको छ । दुईपक्षबिच यससम्बन्धी सहमती पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ । उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई उर्जा दक्षता प्रवद्र्धन गर्न तथा नविकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सहायता प्रदान गर्न सहयोग पुग्नेछ । जीसीपीएफले जलवायु परिवर्तनसम्बन्धी व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले नेपालमा पहिलो पटक ग्लोबल आइएमई बैंकलाई ऋण प्रदान गरेको हो । वातावरण संरक्षणमा यसको महत्वपूर्ण वित्तीय भूमिका रहने विश्वास गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विश्वका विभिन्न २७ विकासोन्मुख तथा उदीयमान राष्ट्रहरुमा जलवायु परिवर्तन तथा दिगो विकासमा केन्द्रित रही वित्तीय लगानी गर्दै आएको जीसीपीएफसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र उर्जा क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालमा जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न, उर्जा क्षेत्रमा प्रभावकारीता एवं दक्षता वृद्धि गर्न तथा नविकरणीय ऊर्जा परियोजनाहरुमा वित्तीय सुविधा उपलब्ध गराउन यस क्लाइमेट फन्डले महत्वपूर्ण सहयोग पुर्याउने दुवै पक्षले विश्वास लिएक छन् । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।
सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ : सांसद तिवारी
काठमाडौं । ‘मुलुकमा अहिले उठिरहेका प्रमुख एवं समसामयिक मुद्दालाई सदनमा निरन्तर प्रवेश गराउन कोसिस गरेका छौँ, तर हामीलाई समय दिइन्न, पाइनुपर्ने समय पनि घटाइन्छ, प्रश्नको जवाफ आउन्न, अहिले सदनमा भइरहेको अभ्यास नाटक मञ्चनजस्तै लाग्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ लक्ष्मी तिवारीले सदनका नाममा राज्यको ढुकुटीबाट दैनिक १० लाख खर्च भए पनि त्यहाँ हुने सबै गतिविधि बजेट सक्न गरिएको नाटक मञ्चनजस्तो भान भएको प्रतिक्रिया दिइन् । चालु संसद् अभ्यासबारे उनी भन्छिन्, ‘नियत ठीक भए हामीले बोल्नै पर्दैन, उठाइएका विषयको सुनुवाइ छैन, एक दिन बैठक हुन्छ, पाँच दिन खाली, यो बीचमा जिल्ला पुग्न पनि गाह्रो छ । यहाँ बसौ विजनेस दिइन्नँ, सदन चल्दैन ।’ भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गर्दै सुशासन प्रवर्द्धनलाई मुख्य मुद्दा बनाएर छोटो राजनीति अभ्यासबाट सदनमा प्रवेश गरेको रास्वपालाई सरकारका काम र अहिले सदनमा भइरहेको अभ्यास चित्त नबुझेको सांसद तिवारीको भनाइ छ । सामाजिक अभियन्तासमेत रहेकी उनी १५ वर्षदेखि व्यक्तिगत तथा सङ्घसंस्थामा आबद्ध भई सामाजिक विकास, सचेतना, मानवअधिकार तथा महिला अधिकार र विविध मुद्दामा पैरवी गर्दै आएकी छिन् । आमाको नामबाट नागरिकता दिलाउने व्यवस्थाका लागि लामो समय सङ्घर्ष गरेकी उनी यतिबेला भने त्यही कानुन बनाउने प्रमुख थलो सदनमा छिन् । मुलुकमा भएका संविधान र कानुनको पहिले कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै नेतृ तिवारी भन्छिन्, ‘विद्यमान कानुन कार्यान्वयनमा जाँदा कुन जाति, भाषा, धर्म, व्यक्ति र समुदायलाई अप्ठेरो पर्यो, त्यसका आधारमा नयाँ कानुन बनाएर जान सकिन्छ, तर पहिले भइरहेका कानुन त कार्यान्वयन गरौँ ।’ संसद्मा प्रवेश पाएको विधेयक संसदीय समितिमा गहन छलफल गरी सदनमा लैजानुपर्नेमा स्वाभाविक प्रक्रियाका चरण नै उल्लङ्घन भएको आरोप लगाउँदै नेतृ तिवारीले नयाँ कानुन बनाउँदासमेत आवश्यक छलफल र बहस हुन नसकेको प्रतिक्रिया दिइन् । सदनमा रास्वपाका सांसदहरूले राष्ट्र, राष्ट्रियता र जनहितका मुद्दालाई प्रखररूपमा उठाइरहेको दाबी गर्दै उनले आफूहरूले जनताका आवाज उठाएकाले त्यसलाई सम्बोधन गर्नु राज्यको प्राथमिक दायित्व भएको धारणा राखिन् । पहिलोपटक सदनमा पुगेकाले अभ्यासका क्रममा आफूहरूबाट पनि कतिपय कमी–कमजोरी हुनसक्ने उल्लेख गर्दै सांसद तिवारीले प्रारम्भिक दिनको तुलनामा अहिलेसम्म आइपुग्दा अनुभवले धेरै निखारपन आएको विचार प्रकट गरिन् । उनले भनिन्, ‘हामी चाहन्छौँ, जनता र देशको सर्वोत्तम हित होस्, त्यसका लागि प्राप्त हुने सबैको सहयोग, सुझाव र असल अभ्यासलाई ग्रहण गर्छौ निरन्तर आवाज उठाउँछौँ ।’ भ्रष्टाचार र सुशासनका मुख्य एजेण्डा कार्यान्वयन गराउन पार्टी अडिग रही आवाज बुलन्द गरिहेको बताउँदै सांसद तिवारीले नागरिक पनि राज्यबाट प्राप्त हुने सेवा–सुविधा लिने प्रक्रियाबारे जानकार हुन आवश्यक रहेको धारणा राखिन् । उनले एउटा जनप्रतिनिधिका रूपमा आफूले निरन्तररूपमा सामाजिक मुद्दा, मानवअधिकार, महिला अधिकार तथा न्यायका लागि आवाज उठाइरहने बताइन् । संविधानले महिलाको हक तथा अधिकारका लागि सकारात्मक व्यवस्था गरे पनि कार्यान्वयन चरणमा अझै समस्या रहेको बताउँदै नेतृ तिवारीले महिलालाई बोल्न दिइए पनि अवसरबाट बञ्चित गरिँदै आएको घटना सुनाइन् । महिला, बालकालिका, ज्येष्ठ नागरिक र युवासमेत आधारभूत र असल शिक्षाको अभावमा जीवन नै बर्बाद हुने गलत बाटोमा संलग्न भइरहेका उदाहरण प्रस्तुत गर्दै नेतृ तिवारीले सामाजिक अभियानका माध्यमबाट पनि त्यसमा सुधार ल्याउन सकिने अनुभव सुनाइन् । उनले भनिन्, ‘देशले अवलम्बन गरेको हालको शिक्षा नीति ठीक छैन, मुलुकमै बसेर राष्ट्रसेवा गर्नेभन्दा विदेश पलायनका लागि युवा विद्यार्थीलाई प्रेरित गरिरहेको छ, यसमा व्यापक सुधारको खाँचो छ ।’ जनताले विकल्पसहितको परिवर्तन खोजेकाले पुराना दलकै कारण युवाले राजनीतिमा प्रवेश पाएका प्रसङ्ग उल्लेख गर्दै उनले साँच्चिकै देश निर्माणको अभियानमा जुट्ने हो भने युग सुहाउँदो कानुन निर्माणका साथ पुरानाका अनुभव र नयाँपुस्ताको गतिलाई पक्रनुपर्ने बताइन् । रासस
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद लाभांश कति ?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २३ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११.०५ को लाभांश घोषणा गर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्ने छन् ।
काभ्रेमा आठ सय ४९ सहकारी ‘अज्ञातअवस्थामा’
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आठ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये जिल्लामा १३ स्थानीय तहमा छ सय ४६ वटामात्रै सञ्चालनमा रहेको अनुगमनबाट पाइएको जिल्ला सहकारी सङ्घले जनाएको छ । बनेपा नगरपालिका बनेपामा सञ्चालित सहकारीको अनुगमन प्रतिवेदन बुझाउने क्रममा सङ्घका अध्यक्ष दिलीप शर्मा जङ्गमले काभ्रेमा क्रियाशील सहकारीमा छ लाख ७९ हजार आठ सय १८ सेयर सदस्य रहेको तथ्याङ्क फेला परेको बताए । उनले उक्त प्रतिवेदन मङ्गलबार नगरप्रमुख शान्तिरत्न शाक्यलाई हस्तान्तरण गरेका थिए । यसबाट जिल्लाको जनसङ्ख्या तीन लाख ६४ हजार ३९ भन्दा करिब तीन लाख १५ हजारले सेयर सदस्य बढी देखिएको अध्यक्ष जङ्गमले बताए । उनका अनुसार क्रियाशील सहकारीमा पाँच हजार सात सय ८२ जना सञ्चालक छन् भने दुई हजार छ सय ५५ कर्मचारी कार्यरत रहेका छन् । यस्तै सञ्चालमा आएका सहकारीमा रु पाँच अर्ब पाँच करोडको सेयरपुँजी रहेको छ भने ३६ अर्बको बचत कारोबार रहेको अनुगमनले देखाएको सङ्घले जनायो । उक्त कारोबारबाट सरकारका विभिन्न निकायमा वार्षिक २४ करोड ९१ लाख राजस्व बुझाइएको अध्ययनले देखाएको छ । पछिल्ला केही वर्षदेखि सहकारीमा देखिएको विकृति, विसङ्गति सुधार गर्न तथा सहकारीमा पारदर्शिता कायम गर्न अनुगमन गरिएको जङ्गमले बताए । प्रतिवेदनमा सबैभन्दा बढी जिल्लाको प्रमुख सहर बनेपामा रहेका दुई सय २० सहकारीमध्ये एक सय २३ क्रियाशील रहेको उल्लेख गरिएको छ । ती सहकारीमा तीन लाख १८ हजार सात सय ३८ सेयर सदस्य छन् । बनेपाको जनसङ्ख्या ६७ हजारमात्रै देखिन्छ । कुल सहकारी तथा सेयर सदस्यमध्ये बनेपामा मात्रै आधा रहेको पाइएको जनाइएको छ । बनेपामा दुई अर्ब सेयरपुँजी र १९ अर्ब बचत कारोबार रहेको प्रतिवेदनमा उल्लेख छ । दैनिकजसो सहकारी भाग्ने र सहकारीमा बचत गरिरहेका सेयर सदस्यको बचत रकम फिर्ता गर्न नसकेको गुनासो दर्ता हुन थालेपछि बनेपा नगरले जिल्ला सहकारी सङ्घमार्फत नगरभित्रका सहकारीको वास्तविक अवस्थाका बारेमा जानकारी लिन गरेको अनुगमनमा दर्ता भएकामध्ये ७७ वटा सहकारी संस्था बितेको चार महिनाको अवधिमा बेपत्ता भएको पाइएको सङ्घले जनायो । प्रतिवेदनमा केही सहकारीले कारोबार सुधार गर्न नसकेको बताएका छन् भने केही सहकारीमा २० वर्षसम्म एउटै अध्यक्ष, परिवारका सदस्य सञ्चालक र कर्मचारी, विनियम फरक–फरक, विनियममा केरमेट, विनियमबिना सञ्चालन भएकोजस्ता समस्या देखिएको उल्लेख गरिएको छ । यस्तै कार्यक्षेत्रभन्दा बाहिर सदस्य र कारोबार गरेकोजस्ता समस्या पनि सहकारीमा देखिएकाले तत्काल नगरपालिकाले त्यस्ता सहकारीलाई नियमन गर्न विज्ञहरूको समूहले प्रतिवेदनमार्फत सुझाव दिएको हो । हाल बनेपाका केही सहकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा दर्ता भएका छन् । डिभिजन सहकारी कार्यालयका अनुसार बनेपामा १४ वटा सहकारी एकीकरण भएका छन् भने १९ वटा सहकारी प्रदेशअन्र्तगतका छन् । चौसठ्ठीवटा सहकारीका कुनै कार्यालय र बोर्डसमेत नभएको र छवटा सहकारीले नियामक निकायमा प्रतिवेदन नबुझाएका जनाइएको छ । बनेपाको तीन सहकारीले नगरको अनुगमन टोलीलाई अनुगमन गर्न नदिएको सङ्घका अध्यक्ष जङ्गमले गुनासो गरे । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले हालको अवस्थामा सहकारीलाई नियमन गर्ने निकाय सक्रिय रहनुपर्ने आवश्यकता औँल्याउँदै बचतकर्ताको रकम जोखिममा पारेर भागेका सहकारीका सञ्चालकलाई नियमतः कारबाही गरी बचत फिर्ता गर्नुपर्ने बताए । बनेपा नगरप्रमुख शाक्यले नगरपालिकाभित्र भएका सबै सहकारीको वास्तविक तथ्याङ्कसहितको अवस्था प्राप्त भएकाले तत्काल यसको नियमन तथा सुधारका लागि योजना बनाउने बताए । नगर उपप्रमुख विमला सापकोटाले नगरले सुरु गरेको सहकारीहरूको वास्तविक अवस्था अध्ययन गरी बचतकर्ताको बचत सुरक्षित बनाउन तथा ऋण तिर्ने वातावरण बनाउन समन्वयकारी भूमिका खेल्ने बताए । उनका अनुसार अनधिकृतरूपमा सञ्चालित केही सहकारीको सम्पत्ति नगरमार्फत रोक्का गरिएको छ । रासस
टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती
सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–१ किमाथाङ्काबाहेक सबै वडामा समर्कविच्छेद भएको छ । गत असोज १७ राति परेको चट्याङले मकालु–५ भाटभटेनीडाडाँको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुर्याएको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेला–बेला टावरमा समस्या आउने गरेको छ । टेलिफोन सेवा अवरुद्ध भएपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङ्गम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट बञ्चित भएका छन् । अवरुद्ध टेलिफोन सेवा चाँडै सञ्चालन गरिने दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेम राईले बताए । उनले टेलिफोन सेवा मर्मतका लागि मङ्गलबार प्राविधिक टोली भाटभटेनी प्रस्थान गरिसकेको उनले बताए । सञ्चार सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीयले गुनासो गरे ।