विकासन्युज

टेलिकमले ल्यायो विभिन्न भ्वाइस तथा डाटा अफर, बिहीबारदेखि लागू हुने

काठमाडौं । नेपाल टेलिकमले असोज २५ गते बिहीबारदेखि लागू हुनेगरी अटम अफर ल्याएको छ । विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाउन कम्पनीले उक्त अफर ल्याएको हो । कम्पनीले उक्त अफर अन्तर्गत अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने छ । त्यसैगरी, सोही अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रुपैयाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने पनि कम्पनीले बताएको छ । त्यस्तै, अल नेट भ्वाइस प्याक अन्तर्गत १८ रुपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ । यसैगरी अल टाइम डाटा प्याक अन्तर्गत ९५ रुपैयाँमा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २।५ जीबी डाटा उपलब्ध हुनेछ । यसका साथै आकर्षक सुविधासहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुनेछ । त्यस्तै कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ । यसअनुसार ६३६ रुपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ-नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ । कम्पनीले सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउदा १ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुने बताएको छ ।

परराष्ट्रमन्त्री साउद पनि इजरायल जाने

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल जाने भएका छन् । इजरायलमा रहेका नेपालीलाई लिन उनी बुधबार इजरायल जान लागेका हुन् । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने तय भएको छ । सोही जहाजमा परराष्ट्रमन्त्री साउद पनि जान लागेका हुन् ।

चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्री गरे कारबाहीमा परिने

चितवन । चितवनको रत्ननगर नगरपालिकाले दशैं, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको बताए । उनले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजा पाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गरे । ‘बजारमा प्रशस्त प्लास्टिकजन्य फूलको सामग्री हुन्छन्’, सापकोटाले भने- ‘किसानले उत्पादन गरेको फूलले बजार पाएका छैनन् । पालिकाले गरेको यस निर्णयले नगरभित्र उत्पादित फूलले बजार पाउने आशा छ ।’ प्लास्टिकजन्य फूल तथा मालासैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ । दशैंमा चितवन प्रहरी चौबिसै घण्टा हाइअलर्टमा नजिकिँदै गरेको दशैं, तिहार र छठमा चितवन प्रहरी चौबिसै घण्टा ‘हाइअलर्ट’मा रहने भएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै चितवन प्रहरीले चाडपर्वमा भरपर्दो शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले बसपार्कलगायत मानिसको भीडभाड हुने ठाउँमा हाइअलर्टमा रहने जनाएको हो । चाडपर्वमा हुनसक्ने लुटपाट, डकैती, सवारी दुर्घटना र समाजमा हुनसक्ने चोरी, लुटपाट, मादक पदार्थ सेवन गरी होहल्ला, झै-झगडा, गुण्डागर्दी जस्ता आपराधिक गतिविधिहरुलाई दृष्टिगत गरी त्यस प्रकारका कुनै पनि घटना हुन नदिने तयारी प्रहरीको सुरक्षा योजनामा समावेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार समाजलाई भयमुक्त वातावरण बनाउने र कुनै अप्रिय घटना घटेमा तत्काल सुरक्षा कारबाही गरी भरपर्दो शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले चाडपर्व लक्षित विशेष सुरक्षा योजना निर्माण गरिएको हो । प्रनाउ पण्डितले सुरक्षा योजना सार्वजनिक गर्दै सहरका भीडभाड हुने ठाउँ र बसपार्कहरुमा चौबिसै घण्टा प्रहरी अलर्टमा रहने बताए । प्रहरीले बसपार्कमा यात्रुको पीरमर्का बुझ्न यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ । उनका अनुसार जिल्लामा पुलचोक, पोखरा बसपार्क, केन्द्रीय पारस बसपार्क, मुग्लिन बजारमा सहायता कक्षा रहने छन् । ‘यस्तै चितवनका एक सय १७ टोलसुधारसँग समन्वय गरेर प्रहरीले सुरक्षाको रणनीति बनाइएको छ । प्रहरीको सुरक्षा योजनामा कमान्ड पोष्ट, रिजर्भ, स्ट्रइकिङ, क्युआरटी परिचालन, सिमानामा चेकजाँच, अस्पतालमा उद्धार टोली र १२ वटा समूहमा ट्राफिक सहितको संयुक्त चेकिङ हुनेछ’, प्रनाउ पण्डितले भने, ‘प्रहरीले दशैंतिहार र छठलाई लक्षित गरेर ठाउँठाउँमा सरप्राइज चेकिङ, सवारीसाधनद्वारा मोबाइल गस्ती, पैदल गस्ती, पिकेट डिउटी, राजमार्ग गस्ती सञ्चालन गर्नेछ ।’ प्रहरीले चितवनका धार्मिक र पर्यटकीयस्थलको सुरक्षा गर्नाका साथै बैङ्क, सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ । सादा पोसाकमा चेकजाँच र बजार अनुगमन गर्नाका साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्ने प्रहरीले जनाएको छ । रासस

चार महिनापछि खुल्यो अवरुद्ध सडक, स्थानीय भन्छन्- महिनौंपछि गाउँमा गाडी आउँदा पनि खुसी लाग्दो रैछ

बागलुङ । वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ । पहिरोले क्षति पुर्याएका सडक वर्षा रोकिँदा बित्तिकै खुलाएर गाडी सञ्चालन गरे पनि खोलामा पानीको सतह नघट्दा खुङ्खानी, नर्जाखानी, तमान लाम्मेला लगायतका गाउँबाट पालिकाको केन्द्र बोङ्गादोभान आउन समस्या थियो । गाउँपालिकाले सोमबारदेखि अवरुद्ध सबै सडक सञ्चालनका लागि मेसिन प्रयोग गरेको छ । खोलामा ढुङ्गा हालेर यातायातका साधान वारपार गर्ने सक्ने बनाइएको छ । चार महिनापछि सडक सञ्चालनमा आएपछि स्थानीयमा खुसी छाएको छ । बोङ्गादोभान बजार हुँदै पालिकाका सबै वडामा पुग्नुपर्छ । बोङ्गादोभानकै छेउमा बोङ्गाखोला र तमानखोला बग्ने हुँदा वारपारमा निकै समस्या थियो । वडा नं २ को खोलेस्बाङबाहेक सबै वडामा पुग्न खोला पार गर्नुपर्ने हुँदा वर्षातका चार महिना सिधा यातायात हुन सकेन । बोङ्गाखोलामा मोटरेबल पुल निर्माण हुन थालेको वर्षौं बितिसक्दा पनि अहिलेसम्म काम नसकिँदा यात्रुले सास्ती खेप्नु परेको छ । बोङ्गाखोलामा पुल बने वडा नं ३ को तमान र ४ को लाम्मेलाबाहेक अन्य वडामा बर्खामा पनि सिधा यातायात सञ्चालन हुन सक्थ्यो । दुई वर्ष अगाडिसम्म बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपर्थ्यो । ढोरपाटन नगरपालिका-४ हुद्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । अहिले पालिकाको केन्द्रदेखि वडा नम्बर २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । वडा नम्बर ३ को तमान गाउँ र लाम्मेला बुर्तिबाङदेखि खुङ्खा हुँदै सञ्चालन भए पनि पालिकाको केन्द्र बोङ्गादोभानदेखि भने हुन सक्दैन । करिब चार महिना सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानी तथा यात्रा गर्न निकै समस्या भोग्नुपरेको स्थानीय शेरबहादुर सिर्पालीले बताए । तमानखोला-५ का सिर्पालीले गाउँको सडक निकै साँघुरो र अप्ठ्यारो रहेको भन्दै हिउँदमा जसोतजो गाडी चले पनि बर्खामा ठप्प हुने गरेको बताए । सडकले गाउँमा नजोडिँदा हिँडेरै बजार पुग्ने र सामान बोकेरै ल्याउने गरेको सुनाउँदै उनले सडक आए पनि अहिले खोलाहरुमा पुल नबन्दा पहिलेको जस्तै हिँड्नु पर्ने अवस्था रहेको सिर्पालीले गुनासो पोखे । पहिले गाउँमा नुन, चामल ल्याउनु परे घोडा खच्चडको प्रयोग गरेको भन्दै गाउँ सडकले जोडिएपछि घोडाखच्च विस्थापित हुँदा मान्छेले नै बोक्नु परेको उनको भनाइ छ । ‘गाउँमा सडक आयो अब त भारी बोक्न नपर्ला, टाढा-टाढा जाँदा गाडीमै चढेर जान पाइएला भनेका थियौँ, तर बर्खामा त्यो सुविधा पाएनौँ, त्यस बोल अहिलेको जस्तो यस्तो ठूला-ठूला सडक थिएनन्, साना गोरेटो बाटोमा हिँड्थ्यौँ, घोडाखच्चड पनि तिनै बाटोमा हिँड्थे’, सिर्पालीले भने, ‘टाढा जानु पर्यो भने घोडा चढेर जान्थ्यौँ, अहिले गाडी घरमै पुगेका छन्, तर बर्खामा चल्दैनन् ठूलो पुल चाहियो, पहिला काठको पुल बनाएर खोला तर्थ्यौं, खोला तर्दा धेरैले ज्यानसमेत गुमाए, गाउँगाउँमा सडक पुगेपछि मान्छेले खच्चड पाल्न छाडे, भारी मान्छेले नै बोक्नु पर्यो ।’ तमानखोला-६ नर्जाखानी सबैभन्दा टाढाको वडा हो । बोङ्गादोभानदेखि नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँच मोटरेबल पुलको आवश्यक पर्छ । वडा नं ५ को खुङ्खानी तीन, पहिरा तीन, स्याउला र हिजा पुग्न एउटा पुल तर्नुपर्छ । अहिलेसम्म कुनै पनि स्थानमा पुल नबन्दा स्थानीय मर्कामा छन् । स्थानीय तिलबहादुर घर्तीले बर्खामा गाडी नचल्दा बिरामीलाई अस्पताल पुर्याउन र सामान ढुवानी गर्न सबैभन्दा बढी समस्या हुने गरेको बताउनुभयो । यहाँका धेरै गाउँ खोला पार गरेपछि मात्रै पुग्न सकिने हुँदा अहिलेसम्म एउटा पनि बन्न नसकेको घर्तीको गुनासो छ । उनले भने- ‘अहिले खोलामा पानी घटेको छ, गाउँपालिकाले त्यही भएर होला डोजर लगाएर गाडी चलाउन थालेको छ, असारको पहिलो सातादेखि खोलामा गाडी तर्न छोडेको, खोला बढेर आएपछि गाडी पनि वारीको वारी, पारीको पारी भएका थिए, हिजोबाट अलिअलि चल्न थालेका छन्, महिनौंपछि गाउँमा गाडी आउँदा पनि खुसी लाग्दो रैछ, बर्खाको समयमा दुर्गम गाउँमा मान्छेले निकै दुःख पायौँ, राज्यले हाम्रो दुःख, समस्या कहिले देखेर पुल बनाउला ?’ तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले चाडबाड नजिकिएसँगै अवरुद्ध सडक सञ्चालन गर्न थालेको बताए । खोलामा पानीको बहाव पनि केही कम भएको हुँदा यातायातका साधान सञ्चालन हुने गरी सडक खुलाउन थालेको उनको भनाइ छ । बोङ्खानीखोलामा दुई वर्ष अगाडिदेखि पुल निर्माण गर्न थाले पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । पुल बनेको भए पालिकाका अधिकांश वडामा बर्खामा पनि यातायातका साधन सञ्चालन हुने अध्यक्ष बुढा मगरले बताए । निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा तमानखोलाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उनको भनाइ छ । नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङनीघाट, खुङ्गानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेबल पुल आवश्यक परे पनि अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनाउन नसकिएको अध्यक्ष बुढा मगर बताउँछन् । बर्खाका लागि स्थानीयले हिउँदमै सामान खरिद गरेर राख्नुपर्ने अवस्था रहेको भन्दै हिउँदमा खरिद गरेर राखेको सामानको म्याद बर्खा भरिमा गुज्रिसक्ने उनले बताए । त्यही सामान स्थानीयले उपभोग गर्दा बिरामीसमेत पर्ने गरेको बुढा मगरको भनाइ छ । वडा नं ३ को तमान, लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमइघाट र शेर्माखोला घाटमा पुल आवश्यक भए पन यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नं २ को बोङ्गानी, मुठाचौर लगायतका गाउँसम्म पुग्न बेसीघाट र बोङ्गानीघाटमा मोटरेबल पुल आवश्यक पर्ने उनको भनाइ छ । ‘तमानखोलामा धेरै खोला छन्, एक गाउँदेखि अर्को गाउँसम्म पुग्न खोला तर्नुपर्छ, सबै ठाउँमा मोटरबाटो त पुर्यायौं, तर मोटरेबल पुल निर्माण गर्न सकेको छैनौं, एउटै पुल निर्माण गर्न करोडौं बजेट लाग्छ, त्यो बजेट पालिकासँग हुँदैन’, अध्यक्ष बुढा मगरले भने- ‘धेरै पुल निर्माण गर्नुपर्ने छ, माथिल्लो सरकारसँग नै माग गर्नुपर्छ, माथिल्लो निकायबाट सहयोग भयो भने पुल बनाउन सहज हुने थियो ।’ रासस

डेङ्गुबाट हालसम्म ३८ हजार ५९ जनासङ्क्रमित

काठमाडौैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको संख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् । महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । हालसम्म कूल सङ्क्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना (६२ दशमलव आठ प्रतिशत) सङ्क्रमित भएका छन् भने सबैभन्दा कम सङ्क्रमित प्रदेश कर्णाली एक सय २८ जना (शुन्य दशमलव ३ प्रतिशत) छन् । त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० जना (एक दशमलव छ), बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना (१२ दशमलव आठ प्रतिशत), गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना (१७ दशमलव नौ प्रतिशत), लुम्बिनी प्रदेशमा छ सय ५५ जना (१ दशमलव सात प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना (दुई दशमलव आठ प्रतिशत) सङ्क्रमण देखिएको छ । जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना (४२ दशमलव तीन प्रतिशत) सङ्क्रमित भएका छन् । तनहुँमा चार हजार छ सय ५१ जना (१२ दशमलव दुई प्रतिशत), झापामा तीन हजार पाँच सय ८१ जना (नौ दशमलव ४ प्रतिशत), धादिङमा तीन हजार एक सय ३० जना (आठ दशमलव दुई प्रतिशत), मोरङमा दुई हजार दुई सय ७४ जना (छ प्रतिशत), कास्की जिल्लामा एक हजार चार सय ८१ जना (तीन दशमलव नौ प्रतिशत), र काठमाडौँमा आठ सय दुई जना (दुई दशमलव एक प्रतिशत) सङ्क्रमित भएका छन् भने अन्य जिल्लामा छ हजार ४४ जना (१५ दशमलव नौ प्रतिशत) डेङ्गुबाट सङ्क्रमित भएका छन् । कुल डेङ्गु सङ्क्रमित सङ्ख्यामा अगष्टमा मात्र सङ्क्रमित सङ्ख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो । सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११ सम्म चार हजार सात सय ९० जना सङ्क्रमित भएका छन् । गतवर्ष अक्टोबर महिनामा १७ हजार आठ सय ८९ मा डेङ्गु सङ्क्रमण देखिएको थियो । डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । महाशाखाले एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कनाले लामखुट्टेले फूल पार्न सक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडा खोजी सफा गरौँ र लामखुट्टेको फूल नष्ट गरौँ लगायतका डेङ्गु नियन्त्रणका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

विभागले अनुगमनको नाममा पैसा उठाइरहेको व्यवसायीको आरोप, ‘एकपछि अर्को ग्याङ्गले हतोत्साहित बनायो’

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा असोज १ गतेदेखि संयुक्त रुपमा बजार अनुगमन सुरु भएको छ । चाडपर्वको समयमा बजारमा अनौतिक गतिविधि हुने भन्दै विभागले नेतृत्व गरेर बजार अनुगमन गर्दै आएको छ । संयुक्त रुपमा सुरु गरिएको बजार अनुगमनको २२ दिनको अबधिमा करिब ६ सय व्यवसायिकक फर्मको अनुगमन भएको छ । विभागले सार्वजनिक गरेको २२ दिनको तथ्यांक अनुसार ५ सय ९७ फर्मको अनुगमन गरिएको हो । अनुगमन गरिएका उक्त फर्ममध्ये १५९ वटा फर्मलाई जरिवाना गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी कारवाही खाद्य वस्तुसँग सम्बन्धित फर्मलाई जरिवाना गरिएको छ । अनुगमनका क्रममा अनुचित कारोबार गरेको भेटिएपछि विभागले ६२ वटा फर्मलाई कारवाही स्वरुप जरिवाना गरेको थियो । उक्त फर्मलाई जरिवाना गर्दा विभागले १९ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, १७ वटा अन्य फर्म, १६ वटा किराना पसल, १० वटा तरकारी तथा फलफूल पसल, ८ वटा माछा मासु पसल, ७ वटा रेडिमेट तथा थान कपडा, ५ वटा हार्डवयर, ५ वटा जुत्ता चप्पल, मार्ट, मिठाई, भाँडाकुडा र विविधका ४÷४ वटा फर्म र पानीका २ फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ । विभागले २४ प्रकारका फर्मका १५९ वटा उद्योगलाई कारवाही गर्दा ४९ लाख ३२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । विभागले अनुगमन गरेका फर्ममध्ये १६३ फर्मसँग कागजात माग गरेको, ११ फर्म सामान्य अवस्थामा रहेको र २५६ फर्मलाई अन्य निर्देशन दिएको बताएको छ । यस्तै, २० फर्मका १ करोड २ हजार ८२३ रुपैयाँ बराबरको वस्तु नष्ट गरेको छ । संयुक्त अनुगमनमा विभागसँगै आन्तरिक राजस्व विभागा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरु छन् । विभागले बजार अनुगमनको जिम्मा ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा ७५३ वटा स्थानीय तहका उपप्रमुखलाई बजार अनुगमनका लागि अधिकार प्रत्यायोजन गरिसकेको छ । सबै स्थानीय तहलाई अधिकार दिएपनि बजार अनुगमन प्रभावकारी नभएको विभागले बताउँदै आएको छ । व्यवसायी भन्छन् : अनुगमनले हातोत्साही बनायो उद्योगी तथा व्यवसायीहरुले छुट्टा छुट्टै निकायबाट हुने अनुगमनले हतोत्साही भएको बताएका छन् । बजारमा बढी कारोबार हुने समयमा सरकारले अनुगमनको नाममा व्यवसायीलाई आतंकित पार्ने र पैसा असुल्ने काम गर्दै आएको उनीहरुको आरोप छ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष देवेन्द्र श्रेष्ठले छुट्टा छुट्टै निकायबाट आउने अनुगमनले व्यवसायीलाई हत्तोसाहित बनाएको बताएका हुन् । ‘चाडपर्वको सिजन भनेको ब्यापारको सिजन हो, यही बेला विभिन्न निकायबाट अनुगमनका लागि भन्दै आउने लाइनले हामीलाई धेरै समस्या बनायो’, उनले भने, ‘हामी पनि अनुगमन होस, गैरकानूनी काम गर्नेलाई कारवाही होस भन्ने चाहन्छौँ, तर अनुगमनका नाममा हुने गरेको दुःखको अन्त्य होस् भन्ने हाम्रो माग हो ।’ उनले साना व्यवसायीले समेत नेपालमा व्यापार गर्नु भनेको पाप जस्तो हो भन्न थालेको बताउँदै सरकारले यसमा ध्यान दिनुपर्ने बताए । उपभोक्ता जागरण नेपालका अध्यक्ष कृष्ण प्रसाद भण्डारी चाडपर्वको समयमा हुने बजार अनुगमनको औचित्य नभएको बताउँछन् । उनले बजार अनुगमनका क्रममा गरिने जरिवानाले ठूलालाई पानपराग र सानाको उठिबास हुने गरेको बताए । यस्तै, उनले भारतको नाकाबन्दी र विश्व महामारीका रुपमा फैलिएको कोरोना कालमामा समस्या नभोगेका नेपाली उपभोक्ताले अहिले समस्या भोग्ने गरेको बताए । उनले विभागले सार्वजनिक गर्ने गरेको अनुगमनको तथ्यांक राजश्व केन्द्रीत मात्र भएको भन्दै जरिवानाले मात्रै बजारको अवस्था नसुध्रिने दाबी गरे । ‘अहिले ठूला औद्योगिक घरानाले दिने गरेको सामग्रीमा नै कैफियत भेटिने गरेको छ, विभागले साना उद्योग केन्द्रीत अनुगमन गर्दा ठूलाहरु उम्किएका छन्’, उनले भने, प्रभावकारी रुपमा बजार अनुगमन गर्ने निकाय राजनितीक हस्तक्षेपको अखडा बन्यो ।’ उनले राम्रा काम गर्न खोज्ने विभागका महानिर्देशकलाई सरकारले नै सुरुवा गर्ने गरेको भन्दै राजनीतिक हस्तक्षेप नरोकिँदासम्म विभागले काम गर्न नसक्ने बताए । ‘राजनितीले बजार ध्वस्त बनायो, यसमा सरकारले ध्यान दिन सकेन भने उपभोक्ताले सरकार भएको अनुभूति गर्नै सक्दैनन्, सबैले वाणिज्य विभागको मुख ताक्ने अनि सरकारले राम्रो काम गर्न खोज्ने विभागका डिजिको सरूवा गर्ने प्रविधिको अन्त्य हुनु पर्छ’, उनले भने । विभागका महानिर्देशक तीर्थराज चिलुवालले विभागले २३ वटा वस्तुमा केन्दीत भएर बजार अनुगमन गरिरहेको बताए । ‘चाडपर्वको समयमा बजारमा अनैतिक गतिविधिहरु बढ्ने गर्छन, विगतका वर्षको अनुभव बटुलेर यस वर्ष संयुक्त रुपमा बजार अनुगमन सुरु गरेका छौं, अहिले दैनिक १० समूहले बजार अनुगमन गर्ने गरेको छ’, उनले भने । उनले गत वर्षहरुमा विभिन्न निकायहरुले छुट्टा छुट्टै बजार अनुगमन गर्ने गरेकोमा यस वर्षबाट संयुक्त रुपमा अनुगमन गरिएको बताए । ‘अहिले बजार प्रणालीमा स्वच्छता छैन, यसको तथ्यांक कारवाहीको तथ्यांकले नै देखाउँछ’, उनले भने ।

दशैंमा नयाँ गाडी खरिदमा छुटै छुट, लाखौंको उपहारदेखि विदेश घुम्नेसम्म

काठमाडौं । बजारमा दशैंको चहलपहल सुरु भइसकेको छ । उद्योगी व्यवसायीहरु आफुले उत्पादन गरेको वस्तु बिक्रीका लागि मार्केटिङ गरिरहेका छन् भने ग्राहकहरु चाडपर्वमै नयाँ सामान खरिद गर्न चाहन्छन् । यतिखेर अटो बजारमा पनि नयाँ–नयाँ मोडलका सवारीहरु भित्र्याएर फरक किसिमको रौनक सिर्जना भइरहेको छ । दशैंका लागि चारपाँग्रे गाडीका बिक्रेताहरुले पनि विभिन्न किसिमका अफरहरु ल्याएर ग्राहकलाई तानिरहेका छन् । ग्राहकलाई आफ्ना सवारी साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नयाँ गाडी खरिदमा गाडी उपहार, नगद छुटदेखि विदेश भ्रमणसम्मका अफरहरु सार्वजनिक गरेका छन् । आइशरको गाडी किन्दा मिनी इभी कार पाइने आइशर गाडीको आधिकारिक विक्रेता बतास एमएडब्लु कमर्शियल भेहिकल (बी.एम.सी.वी.) ले नयाँ गाडी खरिद गर्नेमध्येबाट एक जनालाई मिनी इभी कार उपहार दिने घोषणा गरेको छ । कम्पनीले दशैं र तिहारको अबसरमा नयाँ आइशर गाडी खरिद गर्नेमध्येबाट एक जनालाई उक्त कार दिने घोषणा गरेका हो । यस्तै, कम्पनीले घोषणा गरेको चाडपर्वको स्कीममा आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाइनेछ । यस्तै, कम्पनीले उक्त उपहार बाहेक चालकलाई पाँच लाख रुपैयाँ र २५ लाख रुपैयायँको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करमा छुट दिएको छ । निसानका गाडी किन्दा पौने १४ लाख छुट नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले दशैं, तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले निशानको गाडी खरिद गर्दा १३ लाख ७५ हजार रुपैयाँसम्म छुट सुविधाको घोषणा गरेको हो । कम्पनीले निसान फेष्टिभ ड्राइभ २०८० भन्दै १३ लाख ७५ हजार २२६ रुपैयाँसम्मको अफर योजना ल्याएको हो । उक्त अफरसँगै कम्पनीले नगद छुट मात्र ८ लाखसम्म हुने जनाएको छ । यस्तै एक वर्षको बीमा र एक वर्षको सडक कर पनि निःशुल्क प्रदान गर्ने जनाएको छ । टाटाका गाडी किन्दा ७ लाख ३० हजार छुट दशैं, तिहारमा टाटाका गाडी किन्दा ७ लाख ३० हजार रुपैयाँसम्म छुट पाइने भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको अफरअन्तर्गत टाटा आइस रेञ्जका गाडीको खरिदमा ग्राहकहरुले ७ लाख ३० हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । हुन्डाईको गाडी किन्दा ६ लाखसम्म छुट हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चाडपर्व लक्षित अफर ‘फेष्टिभ डिलाइट–२०८०’ योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त योजना अनुसार हुन्डाईका गाडी किन्ने ग्राहले ६ लाख रुपैयाँसम्म छुट पाउनेछन् । उक्त छुटसँगै कम्पनीले हुन्डाइ फेष्टिभ डिलाइट २०८० अन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्म ग्राहकले जित्न सक्नेछन् । एक वर्षको लागि निःशुल्क सवारी बीमा र सडक कर ग्राहकले पाउनेछन् । यस्तैगरी, कम्पनीले क्रेटा गाडी खरिदमा २ लाख नगद छुटको घोषणा गरेको छ । कम्पनीले क्रेटा गाडीको खरिदमा स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँ, एक वर्षको लागि निःशुल्क सवारी बीमा र सडक करमा छुटको घोषणा गरेको छ । फोटोनको गाडी किन्दा थाइल्यान्डदेखि बालीसम्म घुम्न पाइने दशैं तिहारमा फोटोनका गाडी किन्नेहरुले थाइल्यान्डदेखि इन्डोनेसियाको बालीसम्म घुम्न पाउने भएका छन् । नेपालका लागि फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले दशैं, तिहारका लागि उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको अफर अन्तरगत फोटोनका जुनसुकै गाडी किन्नेहरुले उपहार पाउनेछन् । फोटोनका गाडी बुकिङ गर्नेहरुमध्ये कम्पनीले एक जनालाई बाली र एक जनालाई थाइल्याण्ड घुम्न जान अवसर घोषणा गरेको हो । यस्तै, कम्पनीले गाडी खरिद गर्नेमध्ये एक जनालाई स्मार्ट टिभी, २ जनालाई स्मार्टवाच, २ जनालाई रेफ्रिजिरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनालाई मोबाइल फोन प्रदान गर्ने जनाएको छ । एमजीका गाडी किन्दा २ लाखसम्म फाइदा एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित अफर योजना सार्वजनिक गरेको छ । मोरिस ग्यारेज (एमजी) का विद्युतीय गाडी किन्ने ग्राहकले २ लाख रुपैयाँसम्म फाइदा पाउने भएका छन् । विद्युतीय गाडीको मात्र बिक्री गर्दै आएको कम्पनीले नयाँ गाडी खरिदमा स्पेयर टायर, चार्जर र एक वर्षको बीमा निशुल्क दिने घोषणा गरेको हो । कम्पनीले घोषणा गरेको उक्त अफर २ लाख रुपैयाँ बराबरको भएको जनाईएको छ ।

चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्री गरे कारबाहीमा परिने

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो । नगरप्रमुख प्रल्हाद सापकोटाले प्लास्टिकजन्य फूल तथा सामग्रीको प्रयोग गर्दा वातावरण प्रदूषण हुने भएकोले त्यसको प्रयोगमा रोक लगाइएको बताए । उनले नगरभित्र नै किसानले धेरै मात्रामा फूल लगाएकाले उक्त फूल पूजा पाठका लागि राम्रो हुने भन्दै प्लास्टिकजन्य फूल प्रयोग नगर्न आग्रह गरे । ‘बजारमा प्रशस्त प्लास्टिकजन्य फूलको सामग्री हुन्छन्’, सापकोटाले भने, ‘किसानले उत्पादन गरेको फूलले बजार पाएका छैनन् । पालिकाले गरेको यस निर्णयले नगरभित्र उत्पादित फूलले बजार पाउने आशा छ ।’ प्लास्टिकजन्य फूल तथा मालानै प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने नगरपालिकाले जनाएको छ । रासस