विकासन्युज

नबिल बैंकले दशैंका लागि यी ५ शाखाबाट मात्रै नयाँ नोट साट्ने

काठमाडौं । नबिल बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ । बैंकका अनुसार असोज २९ गतेदेखि लाजिम्पाट, गुसिंगल, मंगलबजार, कमल बिनायक र बौद्ध रामहिटी शाखाबाट मात्रै नयाँ नोट सटही सुविधा प्रदान गर्नेछ । साथै, उक्त शाखाबाट बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार बिहान १ बजेसम्म मात्रै नोट सटही सेवा दिने बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध हुने छन् ।

छुट्ला है ! चिरख्वा हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असोज २३ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आज असोज २६ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर बिक्री गरेको हो । स्थानीयले आवेदन नदिएको १ लाख ९५ हजार ३ सय कित्तासहित ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

मनपरी भाडा लिनेलाई कारबाही गर्ने मन्त्रीको चेतावनी, भन्छन्: निगमले जहाज थप्नुपर्छ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताएका हुन् । साथै, उनले नियमभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गर्न कसैलाई छुट नभएको चेतावनी दिँदै उनले निजी कम्पनीहरुलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने र निजी कम्पनीहरु ऐन, कानूनभन्दा बाहिर जान पनि नपाउने बताए । उहाँले भन्नुभयो – ‘नियमभन्दा बाहिर जान कसैलाई पनि छुट छैन । बजारमा भएको अनियन्त्रित भाडालाई नियन्त्रण गर्नको निम्ति नै, हस्तक्षेप गर्नको निम्ति नै नेपाल वायु सेवा निगममा जहाज चाहिन्छ । त्यही कारणले जहाज किन्ने प्रक्रियामा हामी प्रवेश गरिसकेका छौँ, त्योभन्दा अन्यथा हुँदैन । निजी कम्पनीहरुलाई हामीले बढी नियन्त्रण गर्दापनि फेरि निजी कम्पनीमैत्री हामी हुन सक्दैनौँ । तर उनीहरु पनि ऐन, कानूनभन्दा बाहिर जान पाउँदैनन् । मनपरी भाडा उठाउन कसैले पाउँदैन । स्वेच्छाचारी हुन कसैलाई छुट छैन । कानूनभन्दा बाहिर गएमा कारबाही हुन्छ । ऐन, कानूनभन्दा बाहिर छ भने म आजै एक्शन गर्छु ।’ कानूनभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गरेमा कारबाही गरिने चेतावनी दिए ।

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहेका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेका हुन् । उनले ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन आग्रह गरे । सन् २०१३ देखि इयुले नेपालका वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसले नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । इयुले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो । २०७९ फागुनमा इयुले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो । तर, गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि इयुको टोली नेपाल अनुगमनमा आएको थिएन । यस वर्ष गत साउन र भदौमा इयुको हवाई सुरक्षा कमिटीले नेपाली वायू सेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ । अघिल्लो वर्ष नोभेम्बरमा इयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायु सेवा कम्पनी हवाई सुरक्षा चासो मै थियो । हरेक ६ महिनामा हवाई सुरक्षा चासो सम्बन्धी प्रतिवेदन अध्यावधिक गर्ने इयूको हवाई सुरक्षा कमिटीले अहिले नेपालको स्थलगत अनुगमन गरेको अवस्थामा मन्त्री महतले हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन कमिसनको टोलीसँग आग्रह गरेका हुन् । सो भेटमा जुत्ता उर्पियालिनेनले नेपालमा रहेको दूतावासबाट काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने बताए ।

इजरायलबाट २५३ नेपाली लिएर फर्किंदै नेपाल एयरलाइन्स, सम्पर्कबिहीन जोशीको भने खोजी जारी

काठमाडौं । युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरु लिएर नेपाल वायुसेवाको विमान नेपाल फर्किँदै छ । बिहीबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विमान आज बिहान साढे तीन बजे इजरायल गइ अपरान्ह अवतरण भएको र अहिले फर्किसकेको बताएका हुन् । विमानमा अहिले २५३ जना रहेको र अन्य फर्किन चाहनेहरु व्यवसायिक उडानमार्फत पनि फर्किन सक्ने बताउँदै उनले छोटो समयमा इजरायलमा रहेका नेपालीहरु फर्काउन सरकार सफल भएको दावी गरे । उनले विद्यार्थीको उद्धारका लागि मन्त्रालयबाट भए गरेका कार्यहरु हामीले नियमित रुपमा प्रेस विज्ञप्ती ट्विटर मार्फत जानकारी गराइरहेको पनि बताए । ‘हामी छोटो समयमा उहाँहरुलाई नेपाल ल्याउने क्रममा सफल भएका छौँ । उहाँहरु आज राति नै नेपाल आउँदै हुनुहुन्छ । विद्यार्थीको उद्धारका लागि मन्त्रालयबाट भए गरेका कार्यहरु हामीले नियमित रुपमा प्रेस विज्ञप्ती ट्विटर मार्फत जानकारी गराएका छौँ, उनले भने- ‘विमान आज राति अवतरण हुन्छ । मन्त्रीज्यूले विमानस्थलमा प्रेस ब्रिफिङ गर्नुहुनेछ । अरु व्यवसायिक उडानमार्फत पनि फर्किन सक्नुहुनेछ । विपिन जोशीको खोजि कार्य जारी छ । मृतक १० जनाको शव इजरायल सरकारले हस्तान्तरण गर्न बाँकी छ । केही समय लाग्ने देखिन्छ ।’ प्रवक्ता लम्सालले इजरायलमा सम्पर्कबिहीन अवस्थामा रहेका विपिन जोशीको खोजि कार्य भइरहेको बताए ।

पानीको जारमा लामखुट्टेको लार्भा भेटिएपछि महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको बुढानीलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगलाई १ लाख जरिवाना तिराएको छ । उद्योगबाट उत्पादन भएको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि सो उद्योगलाई कारवाही स्वरुप एक लाख रुपैयाँ जरिवाना तिराइएको हो । ढुवानी गरेर बेच्न ल्याएको जारको पानीमा लामखुट्टेका लार्भा भेटिएको महानगरले जानकारी गराएको छ । त्यस्तै, महानगरले जरिवानासहित उक्त उद्योगलाई विभिन्न निर्देशनसमेत दिएको छ । जसअनुसार उद्योगले जारमा पानी भर्नु अगाडि जारलाई अनिवार्य निर्मलीकरण गर्नुपर्ने छ । यस्तै प्रत्येक महिना पानी परीक्षण रिर्पोट ढुवानीकर्तालाई दिन समेत निर्देशन दिएको महानगरको अनुगमन निरीक्षक डा.अवधेश झाले जानकारी दिए ।

आईपीओको मूल्यभन्दा तल झर्याे घोराही सिमेन्टको सेयर भाउ

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रिको सेयर मूल्य आईपीओको मूल्यभन्दा तल झरेको छ । कम्पनीको सेयर मूल्य बिहीबार प्रतिकित्ता ४३४.८० रुपैयाँ अन्तिम कारोबार भएसँगै आईपीओको मूल्यभन्दा तल झरेको हो । कम्पनीले सर्वसाधारणलाई अंकित मूल्यमा प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गरेको थियो । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ४३९ रुपैयाँमा कारोबार खुलेको थियो । आज दिनभरि कम्पनीको सेयर मूल्य अधिकतम ४४३ रुपैयाँसम्म पुगेको थियो भने न्यूनतम ४३० रुपैयाँसम्म झरेको थियो । बिहीबार कम्पनीको सेयर मूल्य ०.९६ प्रतिशत अर्थात् ४.२० रुपैयाँ घटेको छ । त्यस्तै, आज दिनभरिमा कम्पनीको ४४ हजार १४८ कित्ता सेयर १ हजर १९१ पटक खरिद बिक्री हुँदा १ करोड ९२ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएदेखि कम्पनीको सेयर मूल्य अधिकतम प्रतिकित्ता ५८१.४० रुपैयाँसम्म पुगेको थियो ।

इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गरेको छ । बढ्दो तनाव कम गर्न अन्तर्राष्ट्रिय समुदायले भूमिका खेल्न पनि आग्रह गरेको हो । राष्ट्रसंघको मुख्यालयमा एक भिडियो संदेशमा बोल्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वलाई कम गर्दै समाधानको उपाय खोज्न अपील गरेका छन् । यता अरब लिगका विदेशमन्त्रीहरुको बैठकले पनि शान्ति बहाली गर्दै वार्तामा आउन आग्रह गरेका छन् । इजरायल र प्यालेस्टाइन बीच अवरुद्ध वार्ता तत्काल शुरु गर्न आग्रह गरेका छन् । यस्तै, मोरक्कोका विदेश मन्त्री नासर बोरिटाले द्वन्द्वरत दुवै पक्षले आफ्नो प्रवचन छोडेर वार्तामा आउन आग्रह गरे । हिंशाले हिंशा मात्र निम्त्याउने भएकोले अतिवाद त्याग्न आग्रह गरे । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पनि गाजा पट्टीमा बढ्दो तनाव अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायको आवश्यकता रहेको बताएका छन् । हमास र इजरायलले एक अर्काको क्षेत्रमा आक्रमण गर्दा दुवै पक्षका २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । हमासको आक्रमणपछि इजरायलले देश युद्धमा होमिएको घोषणा गरेको छ भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो विपक्षी दल सम्मिलित अन्तरिम मन्त्रिपरिषद्को गठन गरेका छन् ।