राहुल महरालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महाराका छोरा राहुल महरालाई थुनामा पठाउन आदेश दिएको छ । इलेक्ट्रिक चुरोट (भेप) मा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन अदालतले शुक्रबार आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो । महरा भेपमा नौ किलो सुन लुकाएर ल्याएको प्रकरणमा मुछिएका थिए ।
गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश
जेरुसेलम । इजराइली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजराइलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो । उक्त आदेशले यस अघिदेखि नै इजराइली हवाई हमला र नाकाबन्दीको सामना गरिरहेका सर्वसाधारण र सहायताकर्मीहरू आतङ्कित भएका छन् । इजराइली सेनाले गाजा सिटीका लाखौँ नागरिकलाई गहिरो दक्षिणी गाजापट्टी (साँघुरो तटीय क्षेत्र) तर्फ भाग्न चेतावनी दिँदै बिहान गाजा सिटी खाली गर्ने आदेश दिएको थियो । गाजा सिटीका सुरुङमुनि हमास लडाकुहरू लुकेर बसेको इजराइलको आदेशमा आरोप लगाइएको थियो । ‘यो निष्काशन तपाईं आफ्नै सुरक्षाका लागि हो’, गाजा सिटीका नागरिकहरूलाई पठाइएको चेतावनीमा इजराइली सेनाले भनेको छ । बिहीबार संयुक्त राष्ट्रसङ्घले इजराइली सेनाबाट न्युयोर्कमा उत्तरी गाजाका सबै ११ लाख सर्वसाधारणलाई दक्षिणतिर भाग्न २४ घन्टाको समय दिएको एउटा छुट्टै निर्देशन प्राप्त गरेको बताएको छ । सन् २००७ देखि गाजामा शासन गरेको हमासले उक्त आदेशलाई खारेज गरेको छ । उसले प्यालेस्टिनीहरूलाई आफ्नो घरमै रहन र कब्जा गरेर छेडिएको मनोवैज्ञानिक युद्धको सामना गर्न दृढ रहन आह्वान गरेको छ । “यो अराजकता हो, के गर्नुपर्ने कसैले बुझेको छैन”, गाजा सिटीमा संयुक्त राष्ट्रसङ्घ प्यालेस्टिनी शराणार्थी एजेन्सीकी अधिकारी इनास हमदानले भने । उनले गाजा सिटी र उत्तरी गाजामा रहेका राष्ट्रसङ्घका सबै कर्मचारीहरूलाई दक्षिणी रफाहमा जान भनिएको बताए । रासस/एपी
सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको डिपीआर ३० महिनाभित्र तयार हुने
काठमाडौं । नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनःस्थापन अध्ययन, बाढी नियन्त्रणबाट हुने लाभजस्ता विषयको महत्वपूर्ण बाँकी अध्ययनलाई प्राथमिकीरण गरी ३० महिनामा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सहमति भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवीनराज सिंहका अनुसार सप्तकोशी उच्च बाँध बहुउद्देशीय आयोजना तथा सुनकोशी स्टोरेज डाईभर्सन आयोजनाको अध्ययन सम्बन्धमा गठित नेपाल भारत संयुक्त विज्ञ टोलीको बैठक यही असोज २२ देखि २४ गतेसम्म विराटनगरमा सम्पन्न भएको हो । बैठकमा नेपाल सरकारकोतर्फबाट विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौत र भारत सरकारकोतर्फबाट केन्द्रीय जल आयोगका नदी प्रबन्धक सदस्य तथा अतिरिक्त सचिव पीएम स्कटले संयुक्तरुपमा बैठकको अध्यक्षता गरेका थिए । सो बैठकमा संयुक्त जलस्रोत समिति (जेसिडब्ल्यु)को नवौँ बैठकको निर्देशनबमोजिम आयोजनाबाट तयार गरिएको परिमार्जित आकार प्रकारसम्बन्धी अध्ययनको प्रतिवेदन प्रस्तुत भएको थियो । प्रतिवेदनमा विस्तृतरुपमा छलफल हुँदा सप्तकोशी आयोजनाको डुबान क्षेत्र, माथिल्लो तटीय क्षेत्रमा प्रस्तावित सञ्चालित गरिएका आयोजना, सामाजिक तथा वातावरणीय र प्राविधिक पक्षहरुलाई समेत मध्यनजर गरी बाँधको उचाइलाई घटाउने सहमति भएको प्रवक्ता सिंहले जानकारी दिए । यस्तै, प्रस्तावित रिनेगुलेटिङ ब्यारेजको विकल्पमा उपयुक्त नयाँ स्थानमा रिजेगुलेटिङ ब्यारेजका साथै नेपाली भू-भागमा सिँचाइसम्बन्धी अध्ययन कार्य जलस्रोत तथा सिँचाइ विभागको सहकार्यमा अगाडि बढाउने सहमति भएको छ । रासस
कपन क्षेत्रमा खोला उत्खननको बाँकी काम प्राधिकरणले गर्ने, २३ करोडमा लियो ठेक्का
काठमाडौं । गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको आरम्भ चोकमाथिको बहाव क्षेत्र छुट्याउने काम काठमाडौं उपत्यका विकास प्राधिकरणले गर्ने भएको छ । चावहिल, कपन क्षेत्रको रुद्रमती (धोबीखोला) बाट आरम्भ चोकसम्मको खोला उत्खननको काम काठमाडौं महानगरपालिकाको नेतृत्वमा गरिएको थियो । आरम्भचोकसम्म खोलिएको खोलालाई त्यसमाथिको भागमा खोलेर आरसिसी ढलान गर्ने कामका लागि प्राधिकरणले ठेक्का गरी काम अघि बढाएको छ । यसका लागि प्राधिकरणले २३ करोड रुपैयाँको ठेक्का गरेको हो । ड्रागन आरबि कम्पनीले ठेक्का पाएर काम अघि बढाउन लागेको महानगरपालिका वडा नं. ६ का अध्यक्ष भुवन लामाले राससलाई जानकारी दिए । प्राधिकरणले ठेक्का गरेर काम अघि बढाएपछि महानगरपालिकाले आरम्भ चोकमै यो काम छोडेको छ । खोला छुट्याउने कामसँगै आरम्भचोकसम्म जग्गाको नापजाँच पनि गरिएको छ । काठमाडौं उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर सडक बनाई घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र चाहिलको सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको थियो । आरम्भचोकसम्म खोला खोलेपछि असोज दोस्रो साता भएको वर्षाद्मा आएको बाढीले कपन क्षेत्र डुबानमा नपरेको पनि वडा अध्यक्ष लामाले जानकारी दिए । यसबाट स्थानीयवासी खुसी हुनुका साथै यज्ञडोलसम्म नै खोला खोलेर खुला बनाउनुपर्ने आवाज उठाउन थालेका छन् । केही जग्गा व्यवसायीको स्वार्थमा खोला पुर्ने कामले समस्यामा परेको बुझेपछि अहिले स्थानीयवासी खोला खोल्नुपर्ने अभियानमा एकबद्ध भएको स्थानीयवासी चुडामणि कोइरालाले बताए । महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको थियो । तर बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ । खोलाको दायाँबायाँ चार/चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भएपनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ । महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमलकुमार होडा नापी कार्यालयले यस क्षेत्रको नापी गरी सक्ने र पूर्जा भएको जग्गामात्र व्यक्तिको कायम गराएर बाँकी जग्गा सरकारी पर्तीका रुपमा कायम गरिने बताउँछन् । यसका लागि प्राधिकरणसँग पनि समन्वय गरेर काम गर्न लागिएको उनले सुनाए । नापजाँच गरेर आएको पर्ती जग्गामा महानगरले आकर्षक बगैँचा बनाएर खुला क्षेत्रका रुपमा स्थापित गर्ने जनाइएको छ । यसरी बनेको खुला क्षेत्र भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला पनि उपयोगमा ल्याउन सकिने वडा कार्यालयले जनाएको छ । रासस
देशको अर्थनीति डामाडोल छ : नेता कोईराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले काँग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक उपलब्धि धेरै भइसकेको बताउँदै उनले जनताको मनमा छुनसके कसैले पनि पराजित गर्न नसक्ने बताए । देशको अर्थनीति डामाडोल रहेको बताउँदै उनले नेपाली काँग्रेसलाई एकजुट पार्न आवश्यक रहेको बताए । ‘राजनीतिक उपलब्धि त धेरै भइसक्यो, ७० वर्षपछि संविधान पायौँ, यो सबैभन्दा ठूलो उपलब्धि हो । चुनौति त धेरै छन् । हामी एकजुट भयौँ भने जतिसुकै अरु दल मिलुन्, हामीलाई परास्त गर्न सक्दैनन् । मलाई न भाषण गर्न आउँछ न केही, तर मैले जनताको मन छोएको छु । हाम्रो अर्थनीति डामाडोल छ । तर हाम्रो दृष्टि प्रष्ट हुनुपर्छ । नेपाली काँग्रेसलाई एकजुट पारौँ । एकजुट भए योजना आयोगको तर्जुमा गर्दा दीर्घकालीन योजना कुन कस्तो बनाउने ? जनतालाई छुनेगरी बनाउने हो की होइन ।’ उनले भने । नेता कोईरालाले एकजुट योजना तर्जुमा गर्दा दीर्घकालीन योजना बनाउनुपर्ने समेत बताए ।
स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण हुँदैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताएका छन् । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु गरेको ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो-२०८०’ को उद्घाटन गर्दै उनले व्यापारघाटा कम गर्न र राष्ट्रको अर्थतन्त्र समृद्ध बनाउन साना तथा घरेलु र हस्तकला उद्योगलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताएका हुन् । सरकारको राष्ट्रिय कार्यभार सामाजिक आर्थिक रुपान्तरण र आर्थिक समृद्धि भएको भन्दै गृहमन्त्री श्रेष्ठले देशको उत्पादनलाई निर्यात गर्न नसकेसम्म व्यापारघाटा कम गर्न नसकिने बताए । सांसद वासुदेव घिमिरेले हस्तकला तथा साना उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । यस्ता उद्योगहरुलाई बचाएर मात्रै जनताको आयस्तर माथि उठाउन सकिने उनको भनाई थियो । एक्स्पोका संयोजक कपिल अधिकारीले एक्स्पोमा अमेरिका, क्यानडा, युरोप, चीन र भारतलगायत मुलुकबाट पाँच सयभन्दा बढी विदेशी क्रेताको सहभागिता रहेको जानकारी दिए । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको उनले बताए । उनका अनुसार एक्स्पोको क्रममा हस्तकलासम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र बिक्रेताबीच अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ । विश्वका विभिन्न देशबाट क्रेता भित्र्याउने र बढीभन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीसँग सम्बन्ध विस्तार गराई निर्यात बढाउने लक्ष्य राखिएको उनले बताए । करिब ५० हजारले एक्स्पो अवलोकन गर्ने आयोजकको अनुमान छ । एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक अधिकारीले बताए । यसैगरी जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताए । यसका साथै पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र सँस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीका आकर्षणका रुपमा रहने आयोजक पक्षले जनाएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले यसपाली आयोजना गर्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरि एक सय स्टल रहेका छन् । एक्स्पोको क्रममा हस्तकला सम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र बिक्रेता बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ । विश्वका विभिन्न देशहरुबाट क्रेताहरु भित्र्याउने र बढी भन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीहरुसँग सम्बन्ध विस्तार गराई निर्यात बढाई आर्थिक सम्बृद्धि साथै पर्यटन विकास र प्रवर्द्धन गर्ने यो प्रदर्शनीको प्राथमिकता रहेको एक्स्पो आयोजक पक्षले जनाएको छ । स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन तथा विश्वबजारमा पहुँच गराई निर्यातमा सघाउने उद्देश्यले आयोजना गरिएको एक्स्पो आगामी असोज २९ गते सोमबारसम्म चल्ने आयोजक पक्षले जनाएको छ ।
कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने
काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने भएको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा परेकोले ओपिडी सेवा बन्द गर्ने जानकारी गराएको हो । असोज २८ गते आइतबार घटस्थापना परेकोले सरकारले सो दिन सार्वजनिक बिदा दिएको हो । यद्यपि सो दिन इमरजेन्सी सेवा भने खुला रहने अस्पतालले जानकारी गराएको छ । ‘असोज २८ गते यस वर्षको बडादसैंको घटस्थापना पर्वको सार्वजनिक विदा परेकोले उक्त दिन अस्पतालको ओपिडी सेवा बन्द रहने तर ईमरजेन्सी सेवा भने २४ सै घण्टा खुला रहने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ ।’ अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
एनआरएनए निर्वाचन : २४ प्रतिबद्धतासहित शर्मा प्यानलले गर्यो उम्मेदवारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनका लागि राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको प्यानलले औपचारिक उम्मेदवारी घोषणा गरेको छ । शुक्रबार कार्यक्रमको आयोजना गर्दै शर्मा प्यानलले उम्मेदवारी औपचारिक घोषणा गरेको हो । एनआरएनएको ११औँ महाधिवेशन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त महाधिबेशनबाट नयाँ नेतृत्वको चयन हुनेछ । एनआरएनए आगामी नेतृत्वको लागि उम्मेदवारहरूले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् । अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्दै शर्माले विदेशमा आर्जन गरेको ज्ञान, सीप र आम्दानी स्वदेशको उद्योग तथा व्यवसायमा लगानी गर्ने बताए । ‘एनआरएनए भए पनि माया स्वदेशको छ, यहाँको विकास र सम्बृद्धिको लागि मेरो उम्मेदवारी हो, मैले लामो समयदेखि नेपालको हितका लागि काम गर्दै आएको छु,’ उनले भने । आफूले गरेका प्रतिबद्धता २४ महिनाभित्र पूरा गर्ने बताउँदै उनले नेपाल र नेपालीको हितमा काम गर्ने धारणा राखे । शर्मा टिमको उपाध्यक्षमा गोविन्द प्रसाद श्रेष्ठ (रोविन्द), खगेन्द्र न्यौपाने, अभिमान सिंह बस्नेत, विजय मोक्तान, शसिकान्त पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै , युवातर्फको उपाध्यक्षमा अब्दुल वासिदले उम्मेदवारी घोषणा गरेका छन् । उपमहासचिवमा प्रवीण गुरुङ, सचिवमा आरसी पोखरेल, टंक गैरे, लोक दाहाल, मनोज कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् । कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना उम्मेदवारी दिने भएका छन् । यस्तै, महिला संयोजक देवकी केसीको पनि उम्मेदवारी दिने तयारी रहेको छ । ११औँ महाधिवेशनमा ६९ भन्दा बढी देशका ४२ हजार सहभागी हुने बताइएको छ । कोषाध्यक्षका उम्मेदवार ठाकुर प्रसाद ढुंगानाले लामो समय विदेशी पर्यटन क्षेत्रमा संलग्न रहेको बताउँदै देशमा पर्यटन तथा आर्थिक विकास गर्न अफ्नो अहम् भूमिका रहने बताए । शर्मा प्यानलले २४ बुँदे बाचापत्र सार्वजनिक पनि गरेको छ । सो प्यानलले २४ महिनामा २४ काम गर्ने भन्दै बाचापत्र सार्वजनिक गरेको हो । बाचापत्रमा :- -एनआरएनहरुबीचको एकता : पहिलो प्रतिबद्धता -वैदेशिक रोजगार : दक्ष जनशत्ति सुरक्षित वातावरण, सामाजिक सुरक्षा -हाम्रो नीति : सुधारौँ श्रमिकको आर्थिक स्थिति -विप्रेषणको प्रयोग कहाँ उत्पादनमूलक उद्यम हुन्छ जहाँ -एनआरएनएको निरन्तर खटन : गैरआवाशीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठन -सांगठनिक पुनर्संरचना : कार्यदलबाट गहन योजना -मानव संशाधनः सबलीकरणयुक्त कार्यसम्पादन -संस्थागत सुशासन : शून्य सहनशील स्वअनुशासन – एनआरएनए निर्वाचन : सबैले गर्न पाउन् मतदान -आर्थिक कुटनीतिः लगानी प्रवर्द्धन मुख्य नीति – गरौं उच्चतम प्रयोग सूचना प्रविधि : हुन्छ विकास र सम्बृद्धि -नेपाली रोजौं, नेपाली खोजौं : निर्यात बढाउन जोडतोडले लागौं -गैरआवासीय सरोकारस् जहाँ भए पनि नागरिक र मताधिकार -नेपाल समृद्धिको दस्ता: गैरआवासीय दोस्रो पुस्ता -अबको समृद्धि : जगेर्ना गरौँ भाषा र संस्कृति -एनआरएनए शक्ति : अधिकारसम्पन्न एनसीसी -विदेशमा सिकेको ज्ञान : देश निर्माण अभियान -देश विकासको बलः एक एनसीसी, हजार पर्यटक – घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम -अग्रजलाई सम्मानः युवा परिचालन र विज्ञबाट ज्ञान -नेपाली धन, नेपाली श्रमः अबको उद्यम -समावेशी अभियानः महिला सदस्यलाई प्रोत्साहन -प्रभावकारी सञ्चार व्यवस्थापन तथा सम्बन्ध विस्तार कार्यक्रम – योजनाबद्ध कार्यान्वयनः न्यायपूर्ण कार्यसम्पादन र मूल्यांकन