विकासन्युज

नेपाल भित्रिँदै हाइगर ब्राण्डका विद्युतीय गाडी, यस्ता छन् विशेषता

काठमाडौं । कमर्सियल गाडीहरुको बिक्री वितरणमा स्थापित डिलर शशिला मोटर्स प्रा.लि.ले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । जसका लागि मोटर्सले शुक्रबार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनीसँग सम्झौता गरेको हो । हाइगर बस कम्पनीले विश्वका १ सय ३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो । यो सम्झौतासँगै शशिला मोटर्स प्रा.लि. हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक वितरक बनेको छ । सुरुमा प्रा.लि.ले १६ सिट क्षमताका इभी मिनि भ्यान र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो । जुन वातावरणमैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्सका प्रवन्ध निर्देशक सन्तोष खतिवडाले बताए । यस्ता छन् हाइगर इभी भ्यानका प्रमुख विशेषताहरु कम्पनीका अनुसार १६ सिट क्षमताको हाइगर इभी भ्यानको सिङ्गल चार्जमा २५० किलोमिटर रेञ्ज, ७० किलोवाट आवर ब्याट्री, कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक रहेको छ । त्यस्तै, कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका विशेषतायुक्त एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान रहेको कम्पनीको दावी छ । यो इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ, यात्रुको सुविधाका लागि एअर कण्डिसनसहित आन्तरिक सजावट भएको र नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स भएको कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार हाइगर इभी भ्यानमा ९० किलोवाट पावर र ३५० एनएम टर्कसहित उत्कृष्ट तान्ने क्षमता छ । त्यस्तै, एलोइ हृवील र २१५ आर ७५ टायर साईज, १६ पिआरसहितको पहिलो इभी भ्यान जसले गाडीको रेञ्ज र स्ट्याबिलिटी बढाउने कम्पनीको भनाई छ ।

युवा उद्यमी पाण्डे बने सिटिजन्स बैंकको अध्यक्ष, व्यवसायिक अब्बलता प्रयोग गर्ने अवसर

काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्ष बनेका छन् । बैंकको १७औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाले उनीसँगै सीता कार्की केसी, सजन शर्मा र दिग्विजय बिष्टलाई बैंकको सञ्चालकमा निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित पाण्डे लोमस ग्रुपको कार्यकारी निर्देशक र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यका रुपमा काम गरिरहेका छन् । बैंक, बीमा, सिमेन्ट, मेडिकल, पर्यटन लगायत क्षेत्रमा लगानी गरेर नेपाली उद्योग व्यवसायमा उदाहरणीय उद्यमीको छवि पाण्डेले बनाएका छन् । नेपाली व्यवसायमा पाण्डे समूहले पृथक किसिमको छाप बसालेको छ । पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् । नेपालमा बुवासँगै व्यवसाय गरेर पृथक किसिमको छवि निर्माण गरेकामध्ये उनका दाजुभाइहरु पर्छन् । उनीहरु आफ्नै मिहेनतले नेपाली उद्योग व्यवसाय क्षेत्रमा स्थापित भएका छन् । भारतको बैंलोरबाट इन्जिनियरिङमा स्नातक गरेका पाण्डे दुई दशकभन्दा बढी समयदेखि व्यवसायमा सक्रिय छन् । अध्यक्ष पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन् । अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता गरेका छन् । यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए । निवर्तमान अध्यक्ष राजनसिंह भण्डारीले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने बताए । आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्द रहेको बताए ।

टेरामक्स परियोजना सम्बन्धी कागजात सात दिनभित्र बुझाउन समितिको निर्देशन

फाइल फोटो काठमाडौं । सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ । सार्वजनिक लेखा समिमिको शुक्रबार बसेको बैठकले दूरसञ्चार प्राधिकरणलाई सात दिनभित्र टेरामक्स परियोजना सम्बन्धि सबै कागजात समितिलाई बुझाउन निर्देशन दिएको हो । बैठकमा समितिले गरेको निर्णय सुनाउँदै लेखा समिति सभापति ऋषिकेश पोखरेलले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएको भन्दै यो प्रविधि खरिद प्रक्रियाको प्रारम्भदेखि अहिलेसम्मका कागज एवं निर्णयका विषयमा भएका गतिविधि सात दिन भित्र समितिमा बुझाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका हुन् । उनले निजी दूरसञ्चार सेवा प्रदायक संस्थानहरुलाई सेवा सञ्चालन अनुमति लाइसेन्समध्ये बन्द भइसकेको टेलिकमको लाइसेन्स बिक्रीको कार्य गैरकानूनी तवरबाट प्रक्रिया अगाडि बढेको भन्दै कम्पनीले तिर्नुपर्ने दायित्व भुक्तानी नगरी सकेकाले स्मार्ट टेलिकमको लाइसेन्स बिक्री कार्यलाई स्थगित राखी यस सम्बन्धमा भएका निर्णयका कागजात समितिमा उपलब्ध गराउन पनि निर्देशन दिए । नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायकहरुबाट राज्यलाई बुझाउन बाँकी रहेको कुनै पनि राजश्व तीन महिनाभित्र अशुल गर्न पनि उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । निर्धारित समयभित्र राजस्व नबुझाउने सेवा प्रदायकलाई कानुन बमोजिम कारबाही गरी त्यसको जानकारी समितिलाई गराउन पनि समितिले निर्देशन दिएको छ । त्यस्तै, ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत कार्यान्वयनमा रहेका परियोजनाहरुको कार्यप्रगति सुस्त रहेको निष्कर्ष समितिले निकालेको छ । सूचना महामार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यले गति नलिएकाले सो कार्यलाई शीघ्र अगाडि बढाउन समितिको बैठकले प्राधिकरणलाई निर्देशन दिएको छ । लेखा समिति सभापति ऋषिकेश पोखरेलले प्रतिष्पर्धाका कारण विश्वबजारको दूरसञ्चार सेवाको मूल्य घट्ने क्रममा रहेको तर,नेपालको सम्बन्धमा मूल्य न्युनिकरणको उपाय नखोजिएको बताए । दूरसञ्चार सेवामा न्युनतम मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउनेतर्फ यथोचित पहल गर्न र गराउन पनि समितिले प्राधिकरणलाई निर्देशन दिएको उनले जानकारी गराए ।

व्यवसाय खस्किएपछि सूचीकृत कम्पनीको लाभांश दर घट्यो

काठमाडौं । पछिल्लो तथ्याङ्क अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये ११ वटा बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हालसम्म ६ वटा वाणिज्य बैंक, २ वटा लघुवित्त वित्त, एक/एक वटा विकास बैंक, जलविद्युत कम्पनी र होटल सेक्टरका कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । वाणिज्य बैंकहरुमध्ये सिद्धार्थ बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र मछापुच्छ्रे बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । यस्तै, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक, ओरियन्टेल होटल, सानिमा माई हाइड्रोपावर, आरएसडिसी लघुवित्त र युनिक नेपाल लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । तर, घोषणा गरेका अधिकांश कम्पनीहरुको लाभांश दर भने अघिल्लो वर्षको तुलनामा घटेको छ । ११ वटा कम्पनीमध्ये ६ वटा कम्पनीको लाभांश दर घटेको हो । गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरेको सिद्धार्थ बैंकको लाभांश दर सबैभन्दा उच्च घटेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको लाभांश दर ६८ प्रतिशत घटेर ४.२१ प्रतिशत मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । जबकी बैंकले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा सेयरधनीहरुलाई १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, तीन वर्षपछि घोषणा गरेको ओरियन्टल होटलको लाभांश दर ६६.६६ प्रतिशत गत वर्षको नाफाबाट ५.२६ प्रतिशत मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । जबकी कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, सिटिजन्स बैंकको पनि अघिल्लो वर्षको तुलनामा ३५.६६ प्रतिशत लाभांश दर घटेर ५.७९ प्रतिशत मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश हालसम्म कै कम हो । जबकी बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, विकास बैंकहरुमा सबैभन्दा पहिला घोषणा गरेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश दर २१.०७ प्रतिशत घटेर ११ प्रतिशत मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । जबकी बैंकले अघिल्लो वर्ष १४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आरएसडिसी लघुवित्तको लाभांश दर १७.७० प्रतिशत घटेर ९.१ प्रतिशत मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । जबकी अघिल्लो वर्ष लघुवित्तले ११ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, एभरेष्ट बैंकको अघिल्लो वर्षको तुलनामा लाभांश दर ०.७२ प्रतिशत घटेर २०.५३ प्रतिशत मात्रै बाँड्ने भएको छ । अघिल्लो वर्ष बैंकले २०.६८ प्रतिशत लाभांश वितरण गरेको थयो । तीन कम्पनीको बढ्यो लाभांश वितरण गर्ने प्रस्ताव गरेका कम्पनीहरुमध्ये तीन कम्पनीको लाभांश दर भने बढेको देखिन्छ । जसमध्ये सानिमा माई हाइड्रोपावरको ९०.४७ प्रतिशत लाभांश दर वृद्धि भई ११ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ । जबकी अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ५.५२ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो । यस्तै, तीन वर्षपछि लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको लाभांश दर ५२.६ प्रतिशत बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत मात्रै लाभांश वितरण गरेको बैंकले गत वर्ष भने बम्फर ३१ प्रतिशत प्रस्ताव गरेको छ । यस्तै, निरन्तर सेयरधनीहरुलाई मख्ख बनाउँदै आएको सानिमा बैंकको लाभांश दर ३३.८७ प्रतिशत वृद्धि भएर १५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ । जबकी अघिल्लो वर्ष बैंकले १०.९८ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो । माछापुच्छ्रे बैंकले भने अधिल्लो वर्ष जति नै गत वर्ष लाभांश वितरण गरेको हो । बैंकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गरेको हो । अघिल्लो वर्ष पनि सोही दरमा लाभांश वितरण गरेको थियो । युनिक नेपाल लघुवित्तले यस वर्षदेखि सेयरधनीहरुलाई लभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले २० प्रतिशत लाभांश बाँड्ने जनाएको छ । एक लगानीकर्ताले आर्थिक मन्दीका कारण कम्पनीहरुको व्यवसाय खस्किएपछि लाभांश दर पनि घट्न पुगेको बताए । साथै, बैंकको ब्याजदर बढेका कारण कम्पनीहरुले कमाएको नाफा सबै प्रोभिजन राख्नमा ठिक्क हुने भएकाले लाभांश घटेको उनको भनाइ छ । ‘आर्थिक मन्दीले कम्पनीहरुले धेरै नाफा गर्न सकिरहेका छैनन्, उच्च ब्याजदर हुँदा कम्पनीहरुको नाफा ब्याज तिर्नमा ठिक्क भइरहेको छ, बैंकहरुलाई प्रोभिजन राख्दैमा ठिक्क छ, त्यसकारण लाभांश दर घटेको हो,’ उनले भने । उनका अनुसार विगतका वर्षहरुमा बुलिस ट्रेण्ड भएकाले लाभांश दर पनि राम्रो थियो । तर, राष्ट्र बैंकको कडाइका कारण कम्पनीहरुको व्यवसाय घटेको उनले बताए । कम्पनीहरुको लाभांश दर घटेपछि सेयर बजारप्रति लगानीकर्ताहरुको वितृष्णा जागेको उनको भनाइ छ । ‘सबै क्षेत्र प्यानिक भएपछि सेयर बजार मात्रै सुकिलो हुँदैन, अहिले सेयर बजार धेरै घटिसकेको छ, कम्पनीहरुको लाभांश दर घटेपछि सेयर बजारप्रति लगानीकर्ताहरुको वितृष्णा जागेको छ,’ उनले भने, ‘सेयर बजारले उत्साहित गर्न सकिरहेको छैन, जुन बेला सरकार गतिशिल र अर्थतन्त्र चलायमान हुन्छ, त्यसपछि लगानीकर्ताहरुको मनोबल बढ्दै जान्छ, अहिले अन्यौलता नै कायम छ ।’

सिटिजन्स बैंकको लाभांश पारित, सञ्चालकमा चार जना निर्वाचित

काठमाडौं । सिटिजन्स बैंकको प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज २६ गते सम्पन्न बैंकको १७औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीहरुले आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ८२ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबरको नगद लाभांश पाउने छन् । सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत गरेको छ । त्यस्तै, सभाले सञ्चालक समितिको सदस्यमा चार जनालाई निर्वाचित गरेको छ । सभाले प्रवल जङ्ग पाण्डे, सीता कार्की (के .सी.), सजन शर्मा र दिग्विजय विष्टलाई बैंकको सञ्चालकमा निर्वाचित गरेको हो । बैंकका अध्यक्ष राजनसिंह भण्डारीले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले थप प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई जानकारी गराए । साथै, आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिवद्ध रहेको अध्यक्ष भण्डारीले बताए । बैंकले हाल १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

एनएमबि बैंकले पुतलीसडक शाखामा खोल्यो ई-पेमेन्ट हब

काठमाडौं। एनएमबि बैंकले पुतलीसडक शाखामा एनएमबि ई-पेमेन्ट हबको उद्घाटन गरेको छ । यस हबको प्रयोग गरी ग्राहकले भिसा शुल्क भुक्तानी, विदेशस्थित शिक्षण संस्थामा विद्यार्थी भर्ना आवेदन शुल्कलगायतका अनलाइन भुक्तानी सेवा लिन सक्नेछन् । एनएमबि ई-पेमेन्ट हब स्वीकृत विद्युतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकका लागि सहज र झन्झटमुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले जनाएको छ । ‘द फाइनान्सियल टाइम्स, लन्डनको द बैंकर म्यागजिन’ ले बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ। बैंकले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ। एनएमबि बैंकले हाल २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

नेप्सेमा एक संस्थाको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको ६.५ प्रतिशत बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । संस्थाको ६ लाख ८४ हजार ४५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जुन अबको बजारमा किनबेच गर्न मिल्ने छ ।

लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकालाई सरसामाग्री तथा खाद्यान्न सहयोग

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चार सयभन्दा बढी बालबालिकाहरुलाई विविध सरसामाग्री तथा खाद्यान्न सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरीका विभिन्न संस्थाहरुसंग सहकार्य गरी उक्त सहयोग गरेको हो । त्यस्तै, बैंकले नेपाल बाल संघठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दशैंमा नयाँ लुगा प्रदान गरेको छ । साथै, नक्सालस्थित बाल मन्दिरलाई पनि आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । यसैगरी, बैंकले कोशी प्रदेशको उर्लाबारीमा नमुना बाल गृह र इटहरीमा हेल्पलेस चिल्ड्रेन वेलफेयर मिसन, मधेस प्रदेशको गरुडामा श्री बन्सिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौंडामा मामाघर नेपाल, गण्डकीको प्रदेशको पोखरामा रहेको रेनवो चिल्ड्रेन होम नेपाल, लुम्बिनी प्रदेशको कोरीहवाको अविनास आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको न्यू लाइफ चिल्ड्रेनस् हेभन लगायत सुदूरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रबासका बालबालिकाको लागी विभिन्न खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेको छ ।