
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रकै अग्रज तथा एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा मंगलबार निधन भएको छ । जीवनको उत्तरार्धसम्म पनि बैंकको सफल नेतृत्व गरेका श्रेष्ठ जिम्मेवारीमा रहँदा रहँदै संसारबाट विदा भएका छन् । नेतृत्व क्षमता र निरन्तर सफल बैंकर बनिरहने दृढ इच्छाशक्ति भएका श्रेष्ठले एभरेष्ट बैंकलाई भारतको पञ्जाव नेशनल बैंकसँग जोइन्ट भेन्चर गरेर सञ्चालन गर्न सफल भएका थिए ।
एभरेष्ट बैंकलाई सापेक्षित रुपमा सफलतामा पुर्याएका बैंकर श्रेष्ठले एक वर्ष अगाडि गतसाल मंसिरमा भएको बैंकको साधारणसभामा आफू अस्वस्थ भएपनि बैंक स्वस्थ भएको र नेपाली सिइओ बनेपछि ढुक्क भएको बताएका थिए ।
बैंकको वित्तीय सूचकहरु सकारात्मक रहेकाले अझै प्रगति गर्नुपर्नेमा श्रेष्ठले जोड दिएका थिए । पछिल्ला दुई वर्षमा विश्वव्यापी कोरोना महामारी, डेंगु, रूस-युक्रेन युद्धले गर्दा बैंकलाई पनि असर गरेको अध्यक्ष श्रेष्ठले बताएका थिए। साथै तरलता संकटका कारणले पनि अर्थतन्त्र नाजुक अवस्थामा रहेकाले रिकभरीको समस्या बैंकले खेप्नु परेको उनले उक्त साधारसभामा भनाइ राखेका थिए ।
‘बैंकले राम्रो प्रगति गरेको छ, अहिलेको कठिन अवस्थामा पनि बैंकले सेयरधनीहरुलाई राम्रो प्रतिफल दिएको छ, मेरो आफ्नो स्वास्थ राम्रो नभएपनी बैंकको स्वास्थ राम्रो छ,’ उनले भनेका थिए । आफूलाई स्वास्थ्यले साथ नदिएको भएपनि बैंकलाई अझै उचाईमा पुर्याउने गरी बैंकका सीईओले काम गरिरहेको उनको भनाइ थियो । पहिलो पटक नेपाली नै बैंकको सीईओ भएकाले बैंकको थप ग्रोथ हुनेमा स्वर्गीय श्रेष्ठले विश्वास व्यक्त गरेका थिए ।