विकासन्युज

अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेच गर्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताए । प्रधानमन्त्रीले भने, ‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो । तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र सङ्कटमुक्त भएको छ । विदेशी मुद्राको सञ्चिति, राजस्व सङ्कलन र परिचालन, पर्यटक आगमन, विप्रेषणलगायत क्षेत्रका सूचक हेर्दा हामी प्रगति तिरै छौँ ।’ अर्थतन्त्र अझै पनि दबाबमुक्त भइनसकेको उल्लेख गर्दै उनले अर्थतन्त्रको दबाब हटाउने विषय सबैभन्दा ठूलो कार्यभार हुन आएको बताए । उनले भने, ‘सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ । तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत् बैठकको आयोजना गर्छौँ ।’ नेपालको बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको जनाउँदै उनले परम्परागत ढङ्गले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने बताए । प्रधानमन्त्री दाहालले भने, ‘नीति कार्यक्रम पेस गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत छ ।’ लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल, अन्तरक्रिया र संशोधन हुने उल्लेख गर्दै उनले नीति कार्यक्रम तथा बजेट हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्ति एकठाउँ उभिएर त्यसलाई परास्त गरिने बताए । उनले भने, ‘हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्ति नै शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन् । जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ, त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ ।’

आइसिटी अवार्ड छनौटको लागि पब्लिक भोटिङ हुने

काठमाडौं । प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षका लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड २०२३, प्रडक्ट आइसिटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरुको छनौटको आधारमा आज उत्कृष्ट ५ को घोषणा गरिएको हो । उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड प्रालि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, रासन टेक्नोलोजिज प्रालि र यार्सा टेक प्रालि रहेका छन् । यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी-१ रहेका छन । राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा ब्लाङ्सेर, ड्रेसन, द्रिश्य, इन्टर्नसाथी र प्रष्ट नेपाली रहेका छन् । आइसिटी अवार्ड २०२३ का यि ३ विधाहरुमा २०० बढीको नोमिनेसन प्राप्त भएको थियो । उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टले गत असोज १९ र २० गते काठमाडौंमा आयोजना भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा सहभागी भएर प्रडक्ट र स्टार्टअप प्रदर्शनीमा राखेका थिए । यसैगरी उनिहरुले असोज २७ गते आयोजना भएको ग्राण्ड जुरी सेसन अन्तर्गत प्रिजेन्टेसन एण्ड स्पिड डेटिङमा पनि सहभागी भएर प्रस्तुती दिएका थिए । उनिहरुको प्रस्तुती, आइडिया र स्टार्टअपको बारेमा कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन शो पनि प्रशारण हुने आयोजकले जनाएको छ । विभिन्न ३ विधामा छनौट भएका उत्कृष्ट ५ हरुले केहि समयपश्चात सञ्चालन हुने पब्लिक भोटिङमा सहभागी हुनेछन भने स्र्टाअप लगायतका विधामा जुरी समितीले कार्यालय भिजिट पनि गर्नेछ । उत्कृष्ट ५ मा पर्र्न असफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टारहरुले पनि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ विधामा सहभागी हुन पाउनेछन । सर्वोत्कृष्टलाई पुस ६ गते आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रममा विशेष सम्मान गरिने अयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यसैगरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रकृया जारी रहेको छ । प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरुमा दोश्रो चरणको छनौट प्रकृया सञ्चालनमा छ । त्यस्तै, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा पहिलो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको छ । साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा नोमिनेसन अवधी समाप्त भएर स्क्रिनिङ भइरहेको आयोजकले जानकारी दिएको छ । साउथ एसिया स्र्टाटअप अवार्डमा विभिन्न ६ देशबाट ६० बढीको नोमिनेसन प्राप्त भएको छ । यस विधामा सर्वोत्कृष्ट छनौटकोे लागि भारत, बंगलादेश, पाकिस्तान र श्रिलंकाबाट जुरी सदस्यहरु रहेका छन । क्रम लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड सन् २०१६ बाट सुरु भएको हो । यस वर्ष आठौ सस्करण अन्तगर्तको आइसिटी अवार्डमा १३ विधामा ५५० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको छ । छनौटको लागि १४ जना बिज्ञ जुरी सदस्यहरु रहेका छन भने १३ जनाको शिशिष्ट सल्लाहकार समिती रहेको छ । अवार्डमा छनौट प्रकृयाको लागि २५ बढी जुरी मिटिङ र प्रवद्धनको १० बढी प्रि-इभेन्ट क्याम्यिनसँगै टेलिभिजन शो पनि सञ्चालन हुनेछ । यस अवार्ड कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, नास्ट, एफएनसिसिआई, न्यास आइटीलगायतका राष्ट्रिय, अन्तराष्ट्रिय सस्थाहरुको सहकार्य रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा एक दिवसीय विजनेश रिभ्यू मिट सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय विजनेश रिभ्यू मिट सम्पन्न भएको छ । “पराक्रमी गति आक्रामक निती” नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८०/८१ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दी बाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सम्पूर्ण प्रगतिका सहयात्रिहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका थिए । नेपाल लाइफ आफैमा जीवन बीमा क्षेत्रमा गौरवशालि इतिहास बोकेको स्थापित ब्रान्ड रहेको बताए । अहिलेको विषम परिस्थितिमा यस कम्पनीले जीवन बीमा बजारको २७ प्रतिशत बजार हिस्सा ओगटदै बजारको लिडरको रूपमा आफुलाई स्थापित गराउन योगदान पुर्याउनु हुने सबैको मुक्तकण्ठले प्रसंशा गरे । विभिन्न परिस्थितिबाट गुज्रिदै र त्यसबाट पाठ लिदै आजको अवस्थामा आएको यस कम्पनीले बीमा बजारलाई मार्गनिर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्ने कुरा बताए । यस कम्पनीको सेल्स टिम तथा अभिकर्ता अत्यन्तै अनुभवी र परिपक्क भएको कारण आहिलेको विषम अवस्थामा पनि कम्पनीले उत्कृष्ट व्यापार गर्नेमा आफु विश्वस्त रहेको बताए । यस सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकाश र बीमाको पहँुचलाई आम नागरिक बीच पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । कार्यक्रमामा बाल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कर्मचारी तथा अभिकर्ताहरुलाई चालु आ.ब. को पहिलो त्रैयमासको कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न दत्तचित्त भई कार्य गर्न आव्हान गरे । कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाइजेशनको कार्य थालनी गरिसकेको बताए । निकट भविष्यमा बीमितहरुले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा बताए । कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरे । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको लेजेशीलाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकि नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले बताए । समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले हाल सम्मको उपलब्धिका लागि सबैलाई धन्यबाद ज्ञापन गरे । साथै जीवन बीमा बजारको हिस्सालाई थप बृहत बनाउनका निम्ति आग्रह गरे । नेपाल लाइफ मार्केट लिडर भएको कारण यस कम्पनीको जिम्मेवारी पनि अधिक रहेको र सोलाई मनन गर्दै कार्यसम्पादन गर्न सबैमा अनुरोध गरे ।

ऊर्जा क्षेत्रमा यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले उक्त कुरा बताएका हुन् । सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरहरुका बारेमा जानकारी दिंदै कार्कीले नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आव्हान गरेका थिए । त्यसैगरी उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत परियोजनाहरुमा लगानीको ठूलो अवसर भएको बताए । भारत तथा चीनसँग विद्युत विकास तथा खरीदका लागि भएका सम्झौताहरु एवं जलविद्युत् विकासका लागि नेपाल सरकारको आगामी योजनाको बारेमा उल्लेख गर्दै देवले यसका लागि यो क्षेत्रमा ठूलो पूँजीको आवश्यकता र अवसर रहेको बताएका थिए । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका थिए । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय श्रोतहरुमार्फत् बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताएका थिए । नेपालले विद्युत व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेशमासमेत विद्युत निर्यात गर्ने तयारी गरेको बताउँदै उनले नेपालको जलविद्युतबाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताएका थिए । सम्मेलनमा ब्रिटिश इण्टरनेशनल इन्भेष्टमेन्टका प्रवन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टीम गोचरले नेपालमा आफूले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको बताएका थिए । यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका बिभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्ड (दुई खर्ब ४२ अर्ब रुपैयाँ) सम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको बताएका थिए । नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्दी भएको १०० वर्ष पूरा भएको अवसरमा आयोजित उक्त सममेलनमा इप्पानका अध्यक्ष कार्की सहित उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी भएका थिए । त्यस्तै ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय र विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी र बुद्धिजीवीहरुको समेत सम्मेलनमा सहभागीता रहेको थियो ।

करोडौंको लगानीमा बन्यो ‘मिस यू पार्क रिसोर्ट,’ ४ रोपनी क्षेत्रफलमा सिनेमा हलदेखि फिटनेसको सुविधा

संखुवासभा । स्वदेशी तथा विदेशी पाहुनालाई उत्कृष्ट आतिथ्य सत्कार उपलब्ध गराउन संखुवासभा खाँदबारी नगरपालिका–३ सुमनचोकमा आधुनिक डिजाइनको ‘मिस यू पार्क रिसोर्ट’ सञ्चालनमा आउने भएको छ । आधुनिक र सुविधासम्पन्न उक्त मिस यू पार्क रिसोर्ट सञ्चालक कम्पनीले निर्माणको काम अन्तिम चरणमा पुर्याएपछि रिसोर्ट पूर्णरूपमा सञ्चालनमा आउन लागेको हो । निर्माणको सबै काम पूरा गरेर पार्कसहितको रिसोर्टलाई आगामी ६ महिनाभित्र पूर्णक्षमतामा सञ्चालनमा ल्याउने तयारी भइरहेको मिस यू पार्क रिसोर्टका सञ्चालक गजेन्द्र राईले जानकारी दिए । यो रिसोर्टको ‘प्रि–ओपनिङ’ भने गत असारमै भएको थियो । ‘रिसोर्टको अधिकांश संरचना तयार भइसकेको छ, फिनिसिङका काम बाँकी छन्। यसलाई ६ महिनाभित्र सकेर ग्रान्ड ओपनिङ गर्ने तयारी गरिरहेका छौं,’ सञ्चालक राईले विकासन्युजसँग भने । रिसोर्टका लगानीकर्तामा सञ्जय देवान, गजेन्द्र राई र अजयराज सुमार्गी छन् । रिसोर्ट सञ्चालक राईका अनुसार मिस यू पार्क रिसोर्ट निर्माण कोभिड–१९ प्रकोप सुरु हुनुभन्दा अगाडिदेखि भएको थियो । यो रिसोर्ट तीनतारे स्तरको हुनेछ । रिसोर्ट निर्माण गर्न हालसम्म करिब १८ करोड २४ लाख रुपैयाँ खर्च भइसकेको छ । ‘हाम्रो यो परियोजना ३ करोडदेखि ५ करोड रुपैयाँको थियो, तर बनिसक्दा १८ देखि २० करोड रुपैयाँ खर्च हुने अनुमान पनि गरेका थियौं,’ राईले भने, ‘निर्माण गर्दै जाँदा लागत पनि बढ्दै गयो, धेरै विषय थप हुँदै गए। रिसोर्टको सबै काम सक्दा करिब २५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौं ।’ मिस यू पार्क रिसोर्टले करिब ४ रोपनी क्षेत्रफल ओगटेको छ । रिसोर्टमा लिफ्टसहितको ४१ कोठा, दुई स्विट रुम, १ सय सिट क्षमताको सिनेमा हल, मार्ट, फिटनेस हल, गेम जोनलगायत हुनेछन् । रिसोर्ट सञ्चालक कम्पनीले योसँगै तुम्लिङटारमा ६ करोड रुपैयाँ लगानीमा मिस यु होटल सञ्चालन गर्न भवन पनि खरिद गरेको छ । यी दुवैको उद्घाटन एकैपटक गर्ने योजना रहेको राईले बताए । के छन् सुविधा ? गत असारबाट आंशिक सञ्चालनमा आएको मिस यू पार्क रिसोर्टमा स्वदेशी र विदेशी पाहुनासँगै स्थानीयहरु पनि आउने गरेका छन् । त्यहाँ गएर बर्थडे सेलिब्रेशन, अफिसियल मिटिङ, विवाह, गोष्ठी, तालिमलगायत आयोजना गर्न सकिन्छ । यस्ता किसिमका कार्यक्रम गर्नेहरूका लागि पनि रिसोर्ट उपयुक्त गन्तव्य हो । बालबालिकाका लागि पर्याप्त खेल्ने ठाउँ हुनुका साथै पारिवारिक डिनरका लागि पनि रिसोर्ट गजबको गन्तव्य हुने देखिन्छ । रिसोर्टमा अर्गानिक खानेकुरा उपलब्ध हुने सञ्चालकको भनाइ छ । जसका लागि सञ्चालक टिम आफैंले सयौं रोपनी जग्गा भाडामा लिएर खेती तथा पशुपालन सुरु गरेको छ । पार्क घुम्न आउने ह्वात्तै बढे पूर्णक्षमतामा सञ्चालन नहुँदै मिस यू पार्क रिसोर्ट घुम्न आउनेको घुइँचो दिनहुँ बढ्दो छ । यहाँ दैनिक ३ सय बढीले भ्रमण गर्ने गरेको रिसोर्टका अर्का सञ्चालक सञ्जय देवानले बताए । रिसोर्ट रहेको स्थानबाट वरपरका डाँडा तथा नजिकैका हिमशृङ्खला नियाल्न सकिने भएकाले मानिसहरू त्यहाँ पुग्ने गर्छन् । सहर नजिक रहेका पहाडी भूभागलाई कसरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ भन्ने मोडेल देखाउन रिसोर्ट निर्माण गरिएको देवानले जानकारी दिए । उनले आन्तरिक तथा वाह्य पर्यटकलाई संखुवासभामा आकर्षित गर्न थप एक गन्तव्यका रूपमा मिस यु रिसोर्ट हुने बताए । देवानका अनुसार हाल रिसोर्टमा १३ जनाले रोजगारी पाएका छन् । रिसोर्ट पूर्णक्षमतामा सञ्चालनमा आएपछि ५० भन्दा बढीले रोजगारी पाउनेछन् । ‘यहाँ विभिन्न ठाउँबाट मानिस आइपुग्छन् । सबैका लागि प्रवेशमा सहज पहुँच भएकाले बढी नै भीड देखिन्छ,’ उनले भने, ‘खाँदबारीमा रिसोर्टले एउटा नयाँ आयाम थपेको छ । आर्थिक र पर्यटकीय हिसाबले पनि खाँदबारीलाई एकखालको मद्दत पुग्ने विश्वास छ ।’  

गोली प्रहार गरी गोठाटारबाट लागुऔषध कारोबारी पक्राउ

काठमाडौंं । काठमाडौंं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी काठमाडौंको गोठाटारबाट दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल घर भएका ४८ वर्षीय मोहम्मद करिम तथा झापा केचन गाउँपालिका–८ बस्ने ३५ वर्षीय हर्क लिम्बू रहेका काठमाडौँ उपत्यका अपराध अनसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए । उनले भने, “प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गर्दा मोहम्मद करिम घाइते भएका छन्, उनको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।” यसैगरी प्रहरीले मोहम्मद करिमको साथबाट ६ दशमलव ७५ एमएमको पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोलीसहित दुई सय ग्राम खैरो हेरोइनजस्तो पदार्थ र तराजु फेला परेको जनाएको छ ।

डिशहोमले खेलाडीका लागि घोषणा गर्यो २० लाखको नगद पुरस्कार

काठमाडौं । डिशहोमले खेलाडीको हौसला बढाउदै २० लाखको नगद पुरस्कार घोषणा गरेको छ । । नेपालमा जारी आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोमले खेलाडीका लागि पुरस्कार घोषणा गरेको छ । बुधबार डिशहोमको डिशहोम फाइबर नेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित पुरस्कार घोषणा गरेको हो ।  डिशहोमले नेपाली क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै खेलाडीहरुको प्रोत्साहनका लागि २० लाख सम्मको नगद पुरस्कार घोषणा गरेको हाे । अहिले नेपाली खेल मैदानमा भईरहेको टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपाली क्रिकेट खेलाडीहरुका हरेक रन, हरेक विकेट र हरेक माइल्स्टोनलाई सम्मान गर्दै हरेक इनिङ्गमा नेपाली खेलाडीहरुको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गरेको कम्पनीले जनाएकाे छ । खेलाडीहरुले एकै खेलमा १०० रन र पाँच विकेट दुबै लिएमा २० लाख, १०० रन गरेमा १० लाख, पाँच विकेट लिएमा ५ लाख, हाल्फ सेन्चुरी गरेमा एक लाख, ३ विकेट लिएमा १ लाख, ३५ रनको ५० हजार र ३ क्याच (स्टम्पिङ्) गरेमा ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको हो ।

सेयर बजारको ओरालो यात्रा कायमै, सोनापुरमा लगानी गर्ने फसे

काठमाडौं । सेयर बजार बुधबार पनि घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८३ अंकले घटेर १८५८ बिन्दुमा पुगेको छ। कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार बढेको छ । मंगलबार ५७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार ८१ करोड २० लाख रुपैयाँ बराबरको भएको छ । ६८ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ८ को स्थीर रह्यो । बुधबार सयपत्रि हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ९.३९ प्रतिशतले बढेर प्रतिकित्ता ५५८ रुपैयाँ पुगेको छ। यस्तै आज हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि ८.५४ प्रतिशतले बढेर प्रतिकित्ता ६०० रुपैयाँ पुगेको छ । आज पनि अधिक गुमाउनेमा सोनापुर मिनिरल्स एन्ड वेल लिमिटेडका लगानीकर्ता छन् । कम्पनीको सेयरमूल्य आज ७.९९ प्रतिशतले घटेको छ । कारोबारका आधारमा भने आज सबैभन्दा बढी सोनापुर मिनिरल्स एन्ड वेल लिमिटेडको भएको छ । यस कम्पनीको आज १४ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । गानीकर्ताले सोनापुरको एक कित्ता सेयरमा २३७ रुपैयाँ लगानी गरेका थिए । तर, बुधबार यस कम्पनीको सेयर मूल्य २३४.८० रुपैयाँ कायम भएको छ । कम्पनीको सेयर मूल्य अझै घट्न सक्ने देखिन्छ । महँगोमा सेयर खरिद गर्ने लगानीकर्ताको रकम यस कम्पनीमा फसेको छ ।