आक्रामक बिजनेस रणनीति बनाएका बैंकको पहिलो त्रैमासमै धक्का, एनपीएल बढेपछि नाफा घट्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्था चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय वितरण सार्वजनिक गर्ने तयारीमा छन् । पहिलो त्रैमास भएकोले पनि बैंकहरुले ‘गुड स्टार्टिङ’ गर्ने योजनामा थिए । तर, बैंकरको त्यो योजना पुरा हुन सकेन । चालु आर्थिक वर्षको पहिलो त्रैमास पनि गत आर्थिक वर्ष सरह नै भएको छ । बैंकहरुले पहिलो त्रैमासमा बैंकको खराब कर्जा (एनपीएल) थप बढ्न सक्ने बताएका छन् । बैंकरले पहिलो त्रैमासमा खराब कर्जा बढेर नाफा घट्ने धारणा राखेका छन् । ब्यापार ब्यवसायमा सुधार नभएपछि बैंकहरुको नाफा पनि गत वर्षको पहिलो त्रैमासको तुलनामा घट्न सक्ने उनीहरुको भनाइ छ । गत वर्षको पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा (एनपीएल) औषत १.७१ प्रतिशत थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि बैंकहरुको खराब कर्जा २ प्रतिशतको हाराहारीमा पुग्न सक्ने अनुमान बैंकरले अनुमान गरेका छन् । लोन रिकभरी (कर्जा असुली)मा दबाब देखिएपछि प्रोभिजन धेरै राख्नु पर्ने भएकाले नाफामा असर गर्ने उनीहरुको धारणा छ । साथै, पछिल्लो समय बैंकहरुले लिलामीमा राखेको धितो पनि बिक्न छाडेपछि रिकभरीमा समस्या परेको उनीहरुले बताएका छन् । नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुजित शाक्य समग्र अर्थतन्त्रमा नकारात्मक असर कायमै रहेकाले बैंकहरुको व्यवसाय विस्तार गर्न कठिन भएको बताए । बजारमा उत्साजनक व्यवसाय नभएकाले अपेक्षाअनुसार वित्तीय विवरण नआउने उनको भनाइ छ । ‘समग्र अर्थतन्त्रमा नकारात्मक अवस्था छ, त्यो नै बैंकहरुमा रिफ्लेक्ट हुने हो, हरेक क्षेत्र वा उपभोग क्षेत्र खासै उत्साहजनक छैन,’ उनले भने, ‘दशैंमा पनि रौनक भएन, बजारमा माग पनि घटेको छ, ब्यापार व्यवसाय ठप्प र सटर बन्द गरेर व्यवसायीहरु बसेपछि त्यसको असर बैंकहरुमा परेको छ ।’ बैंकर शाक्यका अनुसार रिकभरी पनि कम भएपछि प्रोभिजन गर्नु पर्ने हुन्छ । त्यसले बैंकको नाफामा असर पुग्छ । पछिल्लो समय बैंकहरुमा तरलता सहज भएपनि कर्जाको माग नै शून्य रहेको उनको भनाइ छ । नेपाल एसबिआई बैंकका चिफ रिस्क अफिसर विष्णु देव यादवले पहिलो त्रैमास सोचेजस्तो नभएको बताए । बैंकको नाफा गत वर्षको सोही त्रैमासको तुलनामा आउने उनको भनाइ छ । ‘अहिले प्रोभिजन बढेको हुँदा गत वर्षको पहिलो त्रैमास भन्दा कम नाफा आउँछ, खराब कर्जा गत वर्षको जस्तै छ, गत वर्षको असार मसान्तसम्म औसतमा खराब कर्जा २.४३ प्रतिशतको हाराहारीमा थियो, पहिलो त्रैमासमा पनि सोही हाराहारीमा हुन सक्छ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंकका डीसीईओ देवेश लोहोनी पनि पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा बढ्ने बताउँछन् । रिपेमेन्ट नभएका कारण खराब कर्जा बढ्न पुगेको उनको भनाइ छ । ‘पहिलो त्रैमासमा बैंकको नाफा घट्न सक्छ, चाडबाडको समयमा पनि खासै रिकभरी हुन सकेन, अर्थतन्त्रमा सुधार हुन नसक्दा त्यसको असर प्रत्यक्ष रुपमा बैंकमा परेको हो,’ उनले भने । गत वर्षको पहिलो त्रैमासमा बैंकहरुले १८ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेका थिए भने ४९ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । गत वर्षको असोजसम्म बैंकहरुको वितरणयोग्य नाफा ४२ अर्ब ५५ करोड १८ लाख रुपैयाँ थियो भने खराब कर्जा १.७१ प्रतिशत थियो । यस्तै साे अवधिमा बैंकहरुले ४४ खर्ब ७९ अर्ब ८२ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरी ४२ खर्ब १८ अर्ब १५ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।
एनसेलले गर्यो एसियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा गोवर्धनको सम्मान
काठमाडौं । एनसेलले एसियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा गोवर्धनको सम्मान गरेको छ । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको हो । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजी मुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिईन् । यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मान हो । यस बाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिती (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ । एनसेलले बुधबार नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको हो । नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको यो एतिहासिक उपलब्धिबाट हामी हर्षित छौं । यो जित नेपालका पारा–एथलीटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा हो । पलेशा र अन्य सबै पारा खेलाडीहरूले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो । एनपीसीसँगको हाम्रो सहकार्यले पलेशा जस्ता सच्चा नायक पारा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने उदेश्य राखेको छ र हामी समावेशीतालाई सदा कदर गर्दै यसका लागि प्रतिबद्ध छौं ।’ ‘एसियाली पारा खेलकुदबाट पहिलो पटक देशको लागि पदक जितेर देशको लागि ल्याउन पाएकोमा म गौरवान्वित छु । हामी जस्ता पारा खेलाडीहरुको विकास र प्रशिक्षणको लागि एनसेलले गरेको सहयोगको लागि म हामी सबै पारा खेलाडीहरुको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु र एनसेल र एनपीसीको यो सहकार्य दीर्घकालीन रहोस् भन्ने कामना गर्दछु । पारा खेलाडीहरुको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझ धेरै पारा खेलाडीहरु लाभान्वित हुने र देशका लागि थप अन्तरराष्टिय सफलता दिलाउने विश्वास लिएको छु’, पलेशाले भनिन् । पलेशाले चाइनाकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा देशको लागि कास्य पदक ल्याउन सफल भएकी थिइन् । यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरि विभिन्न १० खेलका विधामा हाम्रा १९ जना पारा खेलाडीहरुले आफ्नो देशको प्रतिनिधित्व गरेका थिए । देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरु पार गदै आफ्नो सपना प्रति दृढ विश्वासका साथ अधि बढेका हाम्रा पारा खेलाडीहरुकोे खेल प्रतिको उहाँहरुको लगनशिलता र इच्छा शक्तिको एनसेल हार्दिक सम्मान गर्दछ । एनसेलले गत भदौ ३१ गते आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्नेछ ।
आईएफसी र एनसीएचएलबीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउन सहकार्य
काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच सम्झौता भएको छ । डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेपालमा डिजिटल भुक्तानीको क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी दुई निकायबीच सम्झौता भएको हो । उक्त सम्झौतामा आईएफसी नेपालका आवासिय प्रतिनिधि बाबाकार सेदिख फाये र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सो सम्झौतासँगै आईएफसीले एनसीएचएललाई नेशनल पेमेन्ट स्विच (एनपीएस) को प्रारम्भिक रोलआउट लगायत कार्यान्वयनका लागि विभिन्न गतिविधिहरूमा प्राविधिक सहायता उपलब्ध गराउनेछ । उक्त सहायता अनुरुप आईएफसीले मुख्य सञ्चालन नियमहरू, प्राविधिक तथा सुरक्षा मापदण्डहरूको समीक्षाका लागि एडभान्जरीको भूमिका निर्वाह गर्नेछ । एनसीएचएलको नयाँ डिजिटल पहलहरू डिजाइन रसञ्चालन गर्न, क्रस बोर्डर पेमेन्ट, इन्डस्ट्री स्यान्डबक्स स्थापना गर्न र विभिन्न वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने कम्पनीले जनाएकाे छ । आईएफसी र एनसीएचएल बीचको उक्तसम्झौतालाई डिजिटल भुक्तानी इकोसिस्टममा एक महत्वपूर्ण कोसेढुङ्गाको रुपमा लिइएको छ र नेपालमा डिजिटल पहलहरूलाई थप सुदृढ गर्न आईएफसीको सहयोग र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू मार्फत महत्वपूर्ण आयाम थप्ने अपेक्षा गरिएको छ । आईएफसी विश्व बैंक समूहकोसबैभन्दा ठूलो विकास संस्था हो जसले सदस्य राष्ट्रहरूमा उत्पादनमूलक लगानीमा स्वदेशी र विदेशी निजी पुँजीको अनुकूल प्रवाहलाई प्रोत्साहन र मद्दत गर्न केन्द्रित सदस्य गर्दै आएको छ । आईएफसीको डिजिटल वित्तीय सेवा सम्बन्धी नेपाल परियोजनाले डिजिटल वित्तीय प्रणालीलाई समृढ बनाउन आवश्यक सल्लाह तथा सहायता प्रदान गर्न डिजिटल भुक्तानी क्षेत्रमा नेपालका मुख्य सरोकारवालाहरूलाई प्राविधिक सहायता तथा सल्लाह प्रदान गर्दै आइरहेको छ । एनसीएचएल नेपाल राष्ट्र बैंक र अधिकांश सबै बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्रिय भुक्तानी प्रणाली तथा पूर्वाधारहरू सञ्चालन गर्ने उद्देश्यका साथ प्रवद्र्धन गरेको भुक्तानी प्रणाली सञ्चालक कम्पनी हो ।
चुनावको संघारमा आम आद्मी पार्टीमाथि धरपकड शुरु, केजरीवालाई प्रचारमा रोक लगाउने तयारी
काठमाडौं । भारतमा सन् २०२४ को लोकसभा चुनाव नजिकिँदै गर्दा आम आद्मी पार्टीमाथि केन्द्रीय सरकारले धरपकड गर्न शुरु गरेको छ । दिल्लीको रक्सी नीति घोटाला भन्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बिहीबार प्रवर्तन निर्देशनालय (ईडी)मा बयानका लागि हाजिर गराइएको छ । केजरीवालले प्रश्नहरुको जवाफ दिँदै आफूलाई सोधपुछको लागि पठाइएको नोटिस अवैध र राजनीतिक रुपमा प्रेरित भएको बताएका छन् । उनले भाजपाको निर्देशनमा नोटिस पठाएको बताउँदै आफूलाई चार प्रदेशमा चुनाव प्रचार गर्न रोक लगाउनको लागि सो कार्य गरिएको दाबी गरेका छन् । दिल्ली रक्सी नीति घोटालाको विषयमा आम आद्मी पार्टीका नेता तथा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया फ्रेबुअरीदेखि जेलमा रहँदै आएका छन् । सिसोदियाको गिरफ्तारी पछि चुनाव नजिकिँदै जाँदा आम आद्मी पार्टीका राज्यसभा सांसद सञ्जय सिँहलई पनि गिरफ्तार गरेको छ । दिल्ली रक्सी घोटालाको विषयलाई लिएर ईडीले आम आद्मी पार्टीका धेरै नेताहरुमाथि निगरानी गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । आज बिहीबार मात्रै ईडीलपे मनी लाउन्डरिङ प्रकरणमा दिल्लीका बहालवाला क्याबिनेट मन्त्री आनन्दकुमारको घरमा छापा मार्ने काम गरेको छ । एजेन्सीको सहयोगमा ।
राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै
चितवन । चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दैआएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो । सो म्याद आज सकिँदैछ । ‘शुक्रबारदेखि घरटहरा भत्काउन थाल्छौँ’, उनले भने । उक्त ठाउँमा सिँचाइ विभागको दुई बिघा १० कट्ठा तथा हुलाकको पाँच कट्ठा जग्गा छ । विसं २०५० मा राप्ती नदीको बाढीले घरवारविहीन बनाएका परिवारलाई त्यहाँ राखिएको थियो । ‘तत्कालीन समयमा १० वर्षका लागि राखिएको पाइएको छ, जग्गाको स्वामित्व भएका दुई कार्यालयले खाली गरिदिन पत्राचार गरेपछि सहजीकरण गर्न लागेका हौँ’, प्रमुख लामाले भने । सो ठाउँमा सुरुआतमा दुई सय २३ परिवार बसेका थिए । पछि केही पुरानै ठाउँमा फर्किएपछि हाल सो ठाउँमा एक सय ४६ परिवारको बसोबास छ । प्रमुख लामाका अनुसार १७ परिवार मात्रै भूमिहीन रहेका छन् । उनीहरुलाई विकल्प दिएर खाली गर्न लागिएको उहाँको भनाइ छ । भूमिहीनलाई राप्ती–७ मा जग्गा दिनका लागि राष्ट्रिय भूमि आयोगसँग छलफल गरिएको प्रमुख लामा बताउँछन् । उनले सो ठाउँमा घर बनाउनका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको बताए । सो ठाउँमा अधिकांश थारु समुदायको बसोबास रहेको छ । थारु कल्याणकारिणी सभा (थाकस) चितवनले थारु समुदायको घर नभत्काउन आग्रह गरेको छ । सभाले विज्ञप्ति जारी गरी बिना विकल्प घर भत्काउन अगुवाइ नगर्न नगरपालिका र दलहरुलाई आग्रह गरेको छ । थाकस चितवनका सभापति ललित चौधरी र सचिव सन्तुकमार चौधरीले विज्ञप्ति जारी गर्दै विकल्प खोजेर मात्र जग्गा खाली गराउन आग्रह गरेको छ । रासस
‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’
वालिङ । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर ६ लाख आम्दानी गरेका थिए । यसपाली बजार अभावका कारण कागती बोटमै छ । उनले हालसम्म बिक्री गर्न सकेका छैनन् । कागतीले बजार नपाउँदा पौडेल चिन्तित छन्। उत्पादन भएको कागतीले बजार नपाउँदा चिन्तित छन् । ‘गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो’, उनले भने, ‘यस वर्ष सिजन (याम) मै बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।’ बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेल बताउछन् । ‘कसैले बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ’, उनले भने। स्थानीय बजारमा दैनिक १०-१५ किलोमात्रै कागती खपत हुने गरेको उनले बताए । ‘दिनभर बजार डुलाउँदा मुश्किलले १०-१५ किलो मात्र बिक्री हुन्छ । बजार नपाउँदा दिक्क लागेको छ’, पौडेल भन्छन् । पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आएका छन् । उनले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एकसय ५० कागतीका बोट लगाएका थिए । ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाउनुभएका पौडेलको अहिले दश रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट छन् । आठ वर्ष पहिला विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमीएको पौडेलको भनाइ छ । ‘सुरुका दिनमा पाँच रोपनी क्षेत्रफलमा एक सय पचास कागतीका बिरुवा लगाएँ’, उनले भने, ‘कागतीको उत्पादन र बजार राम्रो भएपछि पुनः पाँच रोपनी जग्गा किनेर फेरि एकसय ५० बिरुवा थपेँ ।’ सुरुमा लगाएका बोटले केही वर्षअघिदेखि उत्पादन दिँदै आएको र पछि लगाएको बोटले आगामी वर्ष फल दिने उनले बताए । विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो रु एक सय ३० देखि रु दुई सयसम्म बिक्री गर्ने गरिएको थियो । कागतीले बजार पाए यस वर्ष रु १२ लाखसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ । अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिकरुपमा कागती खेती गरेको उनी बताउछन् । कागती भण्डारण गर्न शीतभण्डार नहुँदा पनि पौडेललाई समस्या भएको छ । ‘भण्डारण गर्न पाए पछि उचित मूल्य पाइन्थ्यो कि भन्ने लागेको छ’, उनले भने । रासस
गुराँस लघुवित्तको नाफा धनात्मक, ब्याज आम्दानी ११८.९१ प्रतिशत छलाङ
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक थियो । असोज मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ११८.९१ प्रतिशत बढेर १ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५९ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । तीन महिनाको अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ५५.७८ प्रतिशत बढेर १ करोड ९४ लाख रुपैयाँ, सञ्चालन मुनाफा १४ लाख ६६ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४ प्रतिशत बढेर १० करोड १४ लाख रुपैयाँ, जगेडा कोष ६.९७ प्रतिशत घटेर २ करोड ४८ लाख रुपैयाँ, सापटी रकम १०.४९ प्रतिशत बढेर ९१ लाख ४५ हजार रुपैयाँ, निक्षेप २७ करोड ५६ लाख रुपैयाँ र कर्जा प्रवाह ५.५८ प्रतिशत बढेर १ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३.६८ रुपेयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४.५४ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा ०.३२ प्रतिशत बढेर ४.२७ प्रतिशत पुगेको छ ।
नेपाल पुनर्बीमाको सेयर बिक्री नभएपछि मूल्य घटाएर बेच्दै विशाल ग्रुप
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री नभएपछि विशाल ग्रुपले दोस्रो पटक संस्थापक बिक्रीमा राखेको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन खोजिरहेको छ । तर, उक्त सेयर बिक्री नभएपछि पुनः लिलामीमा राखेको हो । यसअघि कम्पनीले गत असोज ८ गतेदेखि असोज १४ गतेसम्म १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । तर, उक्त समयमा ५ लाख कित्ता सेयर मात्रै बिक्री भएको देखिन्छ । विशाल ग्रुपले आज कात्तिक १६ गतेदेखि कात्तिक २० गतेसम्म ५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । साथै, उक्त सेयरको मूल्य पनि घटाएर बोलकबोलमा राखेको हो । ग्रुपले प्रतिकित्ता न्यूनतम २७७ रुपैयाँमा बिक्रीमा राखेको हो । यसअघि उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकेको थियो । कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कात्तिक २० गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।