करोडौंको लगानीमा बन्यो ‘मिस यू पार्क रिसोर्ट,’ ४ रोपनी क्षेत्रफलमा सिनेमा हलदेखि फिटनेसको सुविधा

<p>संखुवासभा । स्वदेशी तथा विदेशी पाहुनालाई उत्कृष्ट आतिथ्य सत्कार उपलब्ध गराउन संखुवासभा खाँदबारी नगरपालिका–३ सुमनचोकमा आधुनिक डिजाइनको ‘मिस यू पार्क रिसोर्ट’ सञ्चालनमा आउने भएको छ । आधुनिक र सुविधासम्पन्न उक्त मिस यू पार्क रिसोर्ट सञ्चालक कम्पनीले निर्माणको काम अन्तिम चरणमा पुर्याएपछि रिसोर्ट पूर्णरूपमा सञ्चालनमा आउन लागेको हो । निर्माणको सबै काम पूरा गरेर पार्कसहितको रिसोर्टलाई [&hellip;]</p>

संखुवासभा । स्वदेशी तथा विदेशी पाहुनालाई उत्कृष्ट आतिथ्य सत्कार उपलब्ध गराउन संखुवासभा खाँदबारी नगरपालिका–३ सुमनचोकमा आधुनिक डिजाइनको ‘मिस यू पार्क रिसोर्ट’ सञ्चालनमा आउने भएको छ ।

आधुनिक र सुविधासम्पन्न उक्त मिस यू पार्क रिसोर्ट सञ्चालक कम्पनीले निर्माणको काम अन्तिम चरणमा पुर्याएपछि रिसोर्ट पूर्णरूपमा सञ्चालनमा आउन लागेको हो ।

निर्माणको सबै काम पूरा गरेर पार्कसहितको रिसोर्टलाई आगामी ६ महिनाभित्र पूर्णक्षमतामा सञ्चालनमा ल्याउने तयारी भइरहेको मिस यू पार्क रिसोर्टका सञ्चालक गजेन्द्र राईले जानकारी दिए । यो रिसोर्टको ‘प्रि–ओपनिङ’ भने गत असारमै भएको थियो ।

‘रिसोर्टको अधिकांश संरचना तयार भइसकेको छ, फिनिसिङका काम बाँकी छन्। यसलाई ६ महिनाभित्र सकेर ग्रान्ड ओपनिङ गर्ने तयारी गरिरहेका छौं,’ सञ्चालक राईले विकासन्युजसँग भने । रिसोर्टका लगानीकर्तामा सञ्जय देवान, गजेन्द्र राई र अजयराज सुमार्गी छन् ।

रिसोर्ट सञ्चालक राईका अनुसार मिस यू पार्क रिसोर्ट निर्माण कोभिड–१९ प्रकोप सुरु हुनुभन्दा अगाडिदेखि भएको थियो । यो रिसोर्ट तीनतारे स्तरको हुनेछ । रिसोर्ट निर्माण गर्न हालसम्म करिब १८ करोड २४ लाख रुपैयाँ खर्च भइसकेको छ ।

‘हाम्रो यो परियोजना ३ करोडदेखि ५ करोड रुपैयाँको थियो, तर बनिसक्दा १८ देखि २० करोड रुपैयाँ खर्च हुने अनुमान पनि गरेका थियौं,’ राईले भने, ‘निर्माण गर्दै जाँदा लागत पनि बढ्दै गयो, धेरै विषय थप हुँदै गए। रिसोर्टको सबै काम सक्दा करिब २५ करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौं ।’

मिस यू पार्क रिसोर्टले करिब ४ रोपनी क्षेत्रफल ओगटेको छ । रिसोर्टमा लिफ्टसहितको ४१ कोठा, दुई स्विट रुम, १ सय सिट क्षमताको सिनेमा हल, मार्ट, फिटनेस हल, गेम जोनलगायत हुनेछन् ।

रिसोर्ट सञ्चालक कम्पनीले योसँगै तुम्लिङटारमा ६ करोड रुपैयाँ लगानीमा मिस यु होटल सञ्चालन गर्न भवन पनि खरिद गरेको छ । यी दुवैको उद्घाटन एकैपटक गर्ने योजना रहेको राईले बताए ।

के छन् सुविधा ?

गत असारबाट आंशिक सञ्चालनमा आएको मिस यू पार्क रिसोर्टमा स्वदेशी र विदेशी पाहुनासँगै स्थानीयहरु पनि आउने गरेका छन् । त्यहाँ गएर बर्थडे सेलिब्रेशन, अफिसियल मिटिङ, विवाह, गोष्ठी, तालिमलगायत आयोजना गर्न सकिन्छ । यस्ता किसिमका कार्यक्रम गर्नेहरूका लागि पनि रिसोर्ट उपयुक्त गन्तव्य हो ।

बालबालिकाका लागि पर्याप्त खेल्ने ठाउँ हुनुका साथै पारिवारिक डिनरका लागि पनि रिसोर्ट गजबको गन्तव्य हुने देखिन्छ । रिसोर्टमा अर्गानिक खानेकुरा उपलब्ध हुने सञ्चालकको भनाइ छ । जसका लागि सञ्चालक टिम आफैंले सयौं रोपनी जग्गा भाडामा लिएर खेती तथा पशुपालन सुरु गरेको छ ।

पार्क घुम्न आउने ह्वात्तै बढे

पूर्णक्षमतामा सञ्चालन नहुँदै मिस यू पार्क रिसोर्ट घुम्न आउनेको घुइँचो दिनहुँ बढ्दो छ । यहाँ दैनिक ३ सय बढीले भ्रमण गर्ने गरेको रिसोर्टका अर्का सञ्चालक सञ्जय देवानले बताए । रिसोर्ट रहेको स्थानबाट वरपरका डाँडा तथा नजिकैका हिमशृङ्खला नियाल्न सकिने भएकाले मानिसहरू त्यहाँ पुग्ने गर्छन् ।

सहर नजिक रहेका पहाडी भूभागलाई कसरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ भन्ने मोडेल देखाउन रिसोर्ट निर्माण गरिएको देवानले जानकारी दिए । उनले आन्तरिक तथा वाह्य पर्यटकलाई संखुवासभामा आकर्षित गर्न थप एक गन्तव्यका रूपमा मिस यु रिसोर्ट हुने बताए ।

देवानका अनुसार हाल रिसोर्टमा १३ जनाले रोजगारी पाएका छन् । रिसोर्ट पूर्णक्षमतामा सञ्चालनमा आएपछि ५० भन्दा बढीले रोजगारी पाउनेछन् ।

‘यहाँ विभिन्न ठाउँबाट मानिस आइपुग्छन् । सबैका लागि प्रवेशमा सहज पहुँच भएकाले बढी नै भीड देखिन्छ,’ उनले भने, ‘खाँदबारीमा रिसोर्टले एउटा नयाँ आयाम थपेको छ । आर्थिक र पर्यटकीय हिसाबले पनि खाँदबारीलाई एकखालको मद्दत पुग्ने विश्वास छ ।’

 

Share News