काठमाडौं । बैंक तथा वित्तीय संस्था चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय वितरण सार्वजनिक गर्ने तयारीमा छन् । पहिलो त्रैमास भएकोले पनि बैंकहरुले ‘गुड स्टार्टिङ’ गर्ने योजनामा थिए । तर, बैंकरको त्यो योजना पुरा हुन सकेन ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास पनि गत आर्थिक वर्ष सरह नै भएको छ । बैंकहरुले पहिलो त्रैमासमा बैंकको खराब कर्जा (एनपीएल) थप बढ्न सक्ने बताएका छन् । बैंकरले पहिलो त्रैमासमा खराब कर्जा बढेर नाफा घट्ने धारणा राखेका छन् ।
ब्यापार ब्यवसायमा सुधार नभएपछि बैंकहरुको नाफा पनि गत वर्षको पहिलो त्रैमासको तुलनामा घट्न सक्ने उनीहरुको भनाइ छ । गत वर्षको पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा (एनपीएल) औषत १.७१ प्रतिशत थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि बैंकहरुको खराब कर्जा २ प्रतिशतको हाराहारीमा पुग्न सक्ने अनुमान बैंकरले अनुमान गरेका छन् ।
लोन रिकभरी (कर्जा असुली)मा दबाब देखिएपछि प्रोभिजन धेरै राख्नु पर्ने भएकाले नाफामा असर गर्ने उनीहरुको धारणा छ । साथै, पछिल्लो समय बैंकहरुले लिलामीमा राखेको धितो पनि बिक्न छाडेपछि रिकभरीमा समस्या परेको उनीहरुले बताएका छन् ।
नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुजित शाक्य समग्र अर्थतन्त्रमा नकारात्मक असर कायमै रहेकाले बैंकहरुको व्यवसाय विस्तार गर्न कठिन भएको बताए । बजारमा उत्साजनक व्यवसाय नभएकाले अपेक्षाअनुसार वित्तीय विवरण नआउने उनको भनाइ छ ।
‘समग्र अर्थतन्त्रमा नकारात्मक अवस्था छ, त्यो नै बैंकहरुमा रिफ्लेक्ट हुने हो, हरेक क्षेत्र वा उपभोग क्षेत्र खासै उत्साहजनक छैन,’ उनले भने, ‘दशैंमा पनि रौनक भएन, बजारमा माग पनि घटेको छ, ब्यापार व्यवसाय ठप्प र सटर बन्द गरेर व्यवसायीहरु बसेपछि त्यसको असर बैंकहरुमा परेको छ ।’
बैंकर शाक्यका अनुसार रिकभरी पनि कम भएपछि प्रोभिजन गर्नु पर्ने हुन्छ । त्यसले बैंकको नाफामा असर पुग्छ । पछिल्लो समय बैंकहरुमा तरलता सहज भएपनि कर्जाको माग नै शून्य रहेको उनको भनाइ छ ।
नेपाल एसबिआई बैंकका चिफ रिस्क अफिसर विष्णु देव यादवले पहिलो त्रैमास सोचेजस्तो नभएको बताए । बैंकको नाफा गत वर्षको सोही त्रैमासको तुलनामा आउने उनको भनाइ छ ।
‘अहिले प्रोभिजन बढेको हुँदा गत वर्षको पहिलो त्रैमास भन्दा कम नाफा आउँछ, खराब कर्जा गत वर्षको जस्तै छ, गत वर्षको असार मसान्तसम्म औसतमा खराब कर्जा २.४३ प्रतिशतको हाराहारीमा थियो, पहिलो त्रैमासमा पनि सोही हाराहारीमा हुन सक्छ,’ उनले भने ।
राष्ट्रिय वाणिज्य बैंकका डीसीईओ देवेश लोहोनी पनि पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा बढ्ने बताउँछन् । रिपेमेन्ट नभएका कारण खराब कर्जा बढ्न पुगेको उनको भनाइ छ ।
‘पहिलो त्रैमासमा बैंकको नाफा घट्न सक्छ, चाडबाडको समयमा पनि खासै रिकभरी हुन सकेन, अर्थतन्त्रमा सुधार हुन नसक्दा त्यसको असर प्रत्यक्ष रुपमा बैंकमा परेको हो,’ उनले भने ।
गत वर्षको पहिलो त्रैमासमा बैंकहरुले १८ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेका थिए भने ४९ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । गत वर्षको असोजसम्म बैंकहरुको वितरणयोग्य नाफा ४२ अर्ब ५५ करोड १८ लाख रुपैयाँ थियो भने खराब कर्जा १.७१ प्रतिशत थियो ।
यस्तै साे अवधिमा बैंकहरुले ४४ खर्ब ७९ अर्ब ८२ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरी ४२ खर्ब १८ अर्ब १५ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।