विकासन्युज

अर्गानिक उत्पादनको ‘हब’ बन्न सम्भव छ कर्णाली

कर्णाली । कर्णाली प्रदेशको सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई अर्गानिक प्रांगारिक) प्रदेश निर्माणको थालनी गर्ने गरी ऐतिहासिक निर्णय गरेको थियो । उक्त निर्णयपश्चात् प्रदेश सरकारले अर्गानिक प्रदेश निर्माणको अभियान पनि भयो । त्यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत आयात प्रतिस्थापन गर्न निर्यातमा जोड दिन उत्पादनमा वृद्धि गर्ने योजना तथा कार्यक्रम ल्याइयो । बाँझो जमिनको उपयोग, बैंकबाट प्रवाह हुने ऋणको ब्याजमा अनुदान, सहकारी विकास, मेरो किसान मेरो अन्नदाता, गोठालो भत्ता, उत्कृष्ट किसानलाई सुनको हलो, मुख्यमन्त्री कृषक पुरस्कार, पशुपंक्षी प्रवर्द्धन, कृषि तथा पशुपालन व्यवसायीलाई अनुदान रकम वितरणलगायतका कार्यक्रमहरु सञ्चालन गरिए। त्यस्तै रैथानेबाली उत्पादन, प्रवर्द्धन र बजारीकरण, शीतभण्डार निर्माण, हाइटेक नर्सरी स्थापना, दूधमा अनुदानजस्ता कार्यक्रम सञ्चालनमा आए । विश्व महाव्याधीका रुपमा फैलिएको कोभिड-१९ ले दुई वर्षको अन्तरालमा धेरै ठूलो प्रभाव पार्‍यो। सरकारले सञ्चालन गरेका अधिकांश कार्यक्रमहरुले अपेक्षित प्रतिफल दिन सकेनन् । यद्यपि, प्रदेश सरकारले उक्त अभियानलाई अहिले पनि बहस बनाएर नीतिगतरुपमै अगाडि बढाएको छ । जुम्लाका वरिष्ठ कृषक रामकृष्ण बुढ्थापाले सरकारले ल्याउने योजना र कार्यक्रम भन्दा त्यसको प्रभावकारी कार्यान्वयन तथा दिगोपन प्रमुख कुरा रहेको बताए । ‘हामीले विगतदेखि सरकारी नीति, बजेट तथा कार्यक्रम, योजना हेर्दै आएका छौँ,’ उनले भने, ‘देख्दा हिराजस्तै निकै राम्रो लाग्छन् तर खान मिल्दैन भने जस्तै हाम्रो विकास प्रणाली कार्यान्वयन प्रक्रियामा गएर कमजोर भइदिन्छ र बर्सेनि बजेट खर्च नहुने समस्याले नागरिकहरु मारमा परिरहेका छन् ।’ उनका अनुसार जल, जमिन, जंगल, जडिबुटी, प्राकृतिक स्रोतले भरिपूर्ण क्षेत्र भनेकै कर्णाली हो। यो प्रदेश रासायनिक विषादीले धेरै प्रभाव नपारेको र रैथानेबाली उत्पादनको केन्द्र हो । यहाँ काली मार्सी धान, सिमी, फापर, जौ, कोदो, मकै, चिनो, कागुनो, उवा, लट्टे, गहतजस्ता परम्परागत अन्नबाली फल्छन् । ती सबै बालीहरुमा थुप्रै औषधीय गुण भएको उनको भनाइ छ । वरिष्ठ कृषक बुढ्थापाले भने, ‘यहाँ मह, स्याउ, ओखर, आरु, घ्यू पनि त्यत्तिकै अर्गानिक पाइन्छ । जडीबुटी, अन्नबाली, फलफूल र पशुपंक्षी सबै अर्गानिक पाइने यस ठाउँमा प्रदेश सरकारको नेतृत्व, संघ सरकारको सहयोग तथा स्थानीय तहको सहकार्यमा अर्गानिक कृषि कार्यक्रम सघनरुपले सञ्चालन र प्रभावकारी बनाउन सकिन्छ ।’ यसमा सरकारको दृढ इच्छाशक्ति भने देखिनुपर्ने उनले प्रतिक्रिया दिए । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रांगारिक कृषि प्रदेश निर्माणको सवाल समयसापेक्ष सान्दर्भिक रहेको बताए । उनले भने, ‘प्रदेश सरकारले प्रांगारिक प्रदेश निर्माणका लागि अभियान थालेको छ। यो चुनौतीपूर्ण भएता पनि महत्त्वपूर्ण मुद्दालाई गम्भीरताका साथ सरकारले लिएको छ। यसमा सबै सरोकारवालाहरुले अभियानमा साथ दिनु पर्दछ ।’ प्रांगारिक कृषि उत्पादनको अभियानले यसको महत्त्व, आवश्यकता बढ्दै गइरहेको बताउँदै मुख्यमन्त्री शर्माले सरोकारवालाहरुबीचको बुझाइमा एकरुपता कसरी ल्याउने भन्नेमा ध्यान दिनुपर्ने बताए । उनका अनुसार प्रांगारिक कृषिका लागि रासायनिक मलको विकल्प दिन सक्छौँ/सक्दैनौँ भन्नेमा पनि गहिरिएर मनन गर्नुपर्नेछ। वातावरणीय प्रभावलाई नियन्त्रण गर्ने विषयवस्तुमा रहेर छलफललाई सघनरुपमा चाल्नुपर्ने उनको भनाइ छ । ‘कर्णालीमा भोक र रोगको अन्तर छ। गरिबी छ। अर्गानिकभन्दा पनि पेट भर्न पाए हुन्थ्यो भन्ने समस्या पनि हामीमा छ’, उनले भने, ‘यस्ता चुनौतीलाई क्रस गर्दै उत्पादनको परिमाण नघट्ने गरी कृषि क्षेत्र विकास गर्न सक्यौँ भने पर्यटकहरुको आकर्षण पनि त्यत्तिकै बढ्ने देखिन्छ।’ प्रांगारिक कृषिबाट पर्यटनको विकासका लागि संघ र प्रदेशको बीचमा बहस एवं छलफल हुनुपर्ने भन्दै उनले प्राकृतिक विपत्तिको सामना गर्न प्रकृतिको संरक्षणका लागि सबै सरोकारवालालाई साझा चिन्तनका साथ ऐक्यबद्ध भएर लाग्नसमेत आग्रह गरे । केही दिनअघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘कर्णालीको प्रांगारिक कृषि, वर्तमान अवस्था तथा भावी कार्यदिशा’का विषयमा यहाँका प्रदेशसभा सदस्य तथा सरोकारवालाहरुसँग अन्तरक्रिया आयोजना गरेको थियो । कार्यक्रममा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशलाई अर्गानिक उत्पादनको ‘हब’ बनाउन सकिने पर्याप्त आधारहरु भएको बताए । उनले भने, ‘कर्णाली अर्गानिक उन्मुख प्रदेश हो। यसका लागि सरकारले उत्पादनमुखी नीति, योजना र कार्यक्रममा जोड दिनुपर्छ ।’ प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले प्रथमतः कर्णालीको अन्न भण्डार मानिने सल्यान जिल्ला अर्गानिक बन्नुपर्ने प्रस्ताव गरे । अर्गानिक प्रदेश निर्माण गर्नका लागि सरकारले लिएको अभियान अत्यन्तै महत्त्वपूर्ण भएको जनाउँदै उनले अर्गानिक सवाललाई लक्ष्यबिन्दुमा पुर्‍याउन मिश्रित मोडलमा नगएसम्म टालटुले विकासले कर्णाली अगाडि बढ्न नसक्ने बताए । ‘खाना नै नपुग्ने भनिएको ठाउँमा अर्गानिक प्रदेश निर्माण निकै चुनौतीपूर्ण छ,’ उनले भने, ‘प्रदेश सरकारले अर्गानिक उत्पादनलाई कसरी वृद्धि गर्ने भन्ने कुरामा नीति बनाउनुपर्दछ ।’ यहाँ भोकमरी नभइ भातमारीको अवस्था सिर्जना भएको टिप्पणी गर्दै उनले हामीसँग पर्याप्त भएको भनिए पनि भारतबाट कोदो मात्र.चार अर्ब रूपैयाँको आयात भएको जिकिर गरे । कृषिमन्त्री भीमप्रकाश शर्माले जुम्लामा स्याउ, रुकुम, सल्यान र सुर्खेतमा अदुवा बेसार तथा माथिल्लो कर्णालीमा रैथानेबालीको प्रचुर सम्भावना हुनुका साथै कृषि जैविक विविधताका दृष्टिकोणले यो प्रदेश निकै धनी रहेको बताए । अर्गानिक कृषि खेतीबाट माटो र मानव जीवन बचाउन तथा कर्णालीको समृद्धिमा सहयोग पुर्‍याउन यसको उत्पादन र प्रमाणीकरणमा जान सकिने बताउँदै उनले १५ वर्षीय अर्गानिक कृषि विकास योजना निर्माण गरिएको जनाए । सहकारी मन्त्रालयका सचिव डा.नरहरिप्रसाद घिमिरेले कर्णालीमा अर्गानिक कृषिको आधार तथा सम्भावना, भौगालिक बनावट र खेती प्रविधि, कृषि जैविक विविधता, प्रांगारिक उत्पादन र प्रमाणीकरणमा रैथाने बालीको सम्भावना, अर्गानिक प्रदेश निर्माणको तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको खाका निर्माण गरिएको बताए । उनका अनुसार यहाँको अर्गानिक कृषि विकास योजना तथा रणनीति कार्यान्वयमा तीन तहबीचका सरकारहरुको समन्वय तथा सहकार्य अपरिहार्य छ । त्यस्तै, जलवायुविज्ञ लक्ष्मीदत्त भट्टले पछिल्लो समयमा बढ्दै गएको विश्वव्यापी उष्णता, त्यसले पारेको प्रभाव, विश्व समुदायसहित नेपालले भोग्नुपरेको विपत्ति र त्यसमा सरकारले गर्नुपर्ने नीति र कामका बारेमा सरकारलाई प्रतिवेदन प्रेषण गरिएको जनाए । उनले परम्परागत ज्ञानसँग आधारित खेती मानव जीवनका लागि निकै लाभदायक भएको बताए । विज्ञ भट्टले जलवायुमैत्री विकास आजको प्रमुख आवश्यकता रहेको र यो प्रभावको उच्च जोखिममा नेपाल र त्यसमा अझ बढी कर्णाली भएकाले प्रदेश सरकारलाई नीतिगत सवालमा अगाडि बढ्न सुझाए । यहाँको सुख्खा जमिनमा सिंचाइको व्यवस्था र बाँझो जमिनको उपयोग गरी कृषि कर्ममा लाग्ने किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन सके प्रदेश सरकारले अर्गानिक प्रदेश निर्माण गर्न तय गरेको लक्ष्य पूरा हुने उनीहरुको भनाइ थियो । कर्णालीमा सबै उपजहरु जैविक मानिन्छन् । विकाससँग भित्रिएका थुप्रै विकृतिहरुले केही हदसम्म यहाँको भूमि र पर्यावरणमा प्रभाव पर्दै जाँदा कर्णाली तलका जिल्लाहरुको माटोमा केही हदसम्म अम्लियपन बढ्न थालेको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका कार्यालय प्रमुख परशुराम रावतले बताए। उनका अनुसार अन्य प्रदेशभन्दा कर्णाली उर्बर नै छ । कर्णाली प्रदेश सरकारले २०७५ सालमा अर्गानिक प्रांगारिक) कृषि प्रवर्द्धनसम्बन्धी ऐन पनि ल्याएको छ । त्यस्तै, प्रदेश सरकारले अर्गानिक कृषि उत्पादनमा सघाउ पुग्ने गरी कृषि व्यवसाय प्रवर्द्धनसम्बन्धी विधेयक छलफलका लागि प्रदेशसभाको सामाजिक विकास विकास समिति पठाइएको छ तर पारित हुने पाइपलाइनमा छ । प्रांगारिक ऐन कार्यान्वयनका लागि नियमावली र त्यसअन्तर्गत कार्यविधि बनाउने काम भइरहेको प्रदेश सरकारले जनाएको छ । रासस

किसान धान काट्न र थन्क्याउन व्यस्त, उत्पादन बढ्ने अनुमान

नवलपरासी । दसैं सकिएलगत्तै नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । खेतीमा विगतमा जस्तो श्रमिक परिचालन गर्नुपर्ने अवस्थाको भने अन्त्य हुँदै गएको छ । खेतीमा कृषि उपकरणको प्रयोग बढेको हो । अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेको कावासोतीस्थित विष्णुनगर कृषि सहकारी संस्थाका अध्यक्ष खुमकान्त गौडेलले बताए । ‘खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको छ,’ उनले भने, ‘अहिले धान काट्ने मेसिन र धान झाँट्ने थ्रेसरको प्रयोगले किसानलाई सजिलो बनाएको छ ।’ धान झाँट्ने थ्रेसरको प्रयोगले एकै दिनमा धेरैको धान झाँट्न सकिने भएकाले काम गर्न छिटो र सहज भएको किसान धनपती अधिकारीले बताए । जिल्लामा यो वर्ष करिब १९ हजार हेक्टरमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । यो वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए । ‘यो वर्ष करिब १९ हजार हेक्टरमा धान लगाइएकोमा करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ,’ तिवारीले भने । यस वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेर रोपाइँ भएकाले उत्पादन राम्रो हुने अनुमान गरिएको उनको भनाइ थियो । जिल्लामा अहिलेसम्म ४५ प्रतिशत किसानले धान थन्काइसकेका छन् । तिवारीले अबको १५ दिनभित्र सबै धान थन्क्याइसक्ने बताए । ‘जिल्लामा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार किलो हुने गरेको छ,’ उनले भने, ‘जिल्लामा सिफारिस भएका ८६ जातमध्ये सात जातका मात्र रैथाने धानको खेती हुने गरेको छ ।’ यस वर्ष जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान बढी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस

सेरेसको नयाँ शोरुम थसिखेलमा, घरको वातावरण गाडीमा

काठमाडौं । सिल्भर मुन मोटर्सले सेरेसका कारहरू बिक्री गर्नका लागि ललितपुरको थसिखेलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले बिहीबार नयाँ शोरुमको उद्घाटन गरेको हो । शोरुम उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्धक निर्देशक विष्णुकुमार अग्रवाल र सिल्भर मुन मोटर्सका अध्यक्ष विष्णु भण्डारी तथा सेरेसका चिनियाँ प्रतिनिधिहरूको उपस्थिति थियो । शोरुमको उद्घाटनका क्रममा प्रबन्धक निर्देशक अग्रवालले सेरेसका कारहरू आधुनिक प्रविधिका रहेको बताउँदै आकर्षक डिजाइनको भएकाले धेरैको रोजाइमा पर्न सफल भएको पनि बताए । ‘सेरेसका कारहरू घरको वातावरण गाडीमा दिन खोजिएको छ, आधुनिक प्रविधिबाट तयार यी गाडी रोबटबाट पनि निर्मित छन्,’ उनले भने । कम्पनीले नयाँ शोरुममा सेरेस ३ र मिनी इभीलाई राखेको छ । यही शोरुमबाट दुवै मोडलका गाडी लन्च पनि गरिएको छ ।

६३ वर्षदेखि भेडा पाल्दै आएका किसान भन्छन् : कृषि अनुदान भन्ने थाहा छैन

बागलुङ । शिरमा हरियो गलबन्दी । शरीरमा मैलिएका कपडा । बुढ्यौली उमेर । चाउरिएको अनुहार । ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोस जाँगर भने कत्ति घटेको देखिन्न । हिजोआज पहेँलो त्रिपालले छाएको गोठ छेउमै भटिन्छन्, रनबहादुर सिर्पाली । बागलुङको सबैभन्दा दुर्गम गाउँ तमानखोला गाउँपालिका ५ का सिर्पालीले व्यावसायिक रुपमा भेडापालन गर्न थालेको ६३ वर्ष भयो । ९ वर्षकै उमेरदेखि गोठालो गर्न थालेका उनी अहिले ७२ वर्षका भए । एउटै पेसामा यति लामो समयसम्म निरन्तरता दिइ राख्ने यासदै होलान् । सरकारी कर्मचारी भए पनि २० वर्षमात्रै जागिरमा रहन्छन् । तर, सिर्पाली दशकौँसम्म एउटै पेसामा अनवरत लागिरहेका छन् । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहारमै व्यस्त हुन्छन् । विकट गाउँमा जन्म हुँदा सानैबाट गोठालो लाग्नुपरेको गुनासो उनले गरे । बाल्यकालमा अहिलेको जस्तो पढ्ने-लेख्ने चलन नभएको हुँदा पढ्न नपाएको उनले बताए । अहिले पनि तमानखोला दुर्गम नै मानिन्छ । पहाडैपहाडले घेरिएको तमानखोलाका अधिकांश नागरिक रनबहादुर जस्तै पशुपालनमा लागेका छन् । अग्ला भीरपाखा र पशुपालनका लागि राम्रो वातावरण रहेको हुँदा पशु पाल्न सहज हुने उनीहरु बताउँछन् । अझै १० वर्ष एक डेढ सय भेडा पाल्न सक्ने उनले बताए । गाउँमा पाका पूर्खादेखि खेतीपाती गर्ने र पशुपालन गर्दै आएको हुँदा आफूले पनि सानैदेखि यही पेसा अंगालेको उनको भनाइ छ । नयाँ पुस्ताले भने भेडापालनमा चसो नदिएको उनको अनुभव छ । चार वर्ष अगाडिसम्म बुकीमा हजारौँ भेडा र सयौँ गोठाला भेटिने गरेकामा अहिले त्यो संख्या निकै न्यून भएको सिर्पालीले बताए । समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिँदै गएको हुँदा व्यापार व्यवसाय गर्ने बढ्न थालेको उनको भनाइ छ । ‘सहर बजारमा सुविधा धेरै हुन्छ, हाम्रा गाउँठाउँमा बल्ल अलिअलि विकास हुन थालेको छ, पहिले मोटर गाडी देख्न सहर जानुपर्‍यो, अहिले गाउँमै गाडी गुड्छन्, भेडाबाख्राले पनि अहिले त गाडी देख्न पाए, हाम्रो जमानामा साह्रै दुःख थियो, नुन, चामल बटौली (बुटवल) पुगेर ल्याउनुपर्थ्यो, हिजोआज घरमै पाइन्छ,’ उनले भने, ‘हामी सानो हुँदा गाउँभरिका मान्छेले भेडाबाख्रा पाल्थे, एउटा घरमा कम्तीमा पनि १ सय भेडाबाख्रा र गाईभैँसी हुन्थे, अचेल त्यस्तो छैन, युवा बजार जान थाले, विदेश जान थाले, त्यही भएर गोठालो गर्ने पनि घटे ।’ सिर्पालीका भेडाको बथानमा काला, सेता र खैरो रङ्गा पाठापाठी र माहु भेडाबाख्रा छन् । हुलमूलमा हराउने हुँदा ती सबैका सिङमा रातो, हरियो लगायतका रंग लगाइएका छन् । बर्खामा बुकी र हिउँदमा बेँसी झर्ने गर्दा घाँस र दाना पुर्‍याउन सहज हुने भएको छ । भेडापालनबाटै परिवार चलाउँदै आएको उनी बताउँछन् । पाँच भाइबहिनी छोराछोरी यही पेसाबाटै हुर्काएको र पढाएको जनाउँदै तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उनको भनाइ छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासो नै नदिएको उनले बताए । उनले भेडा र गोठको सुरक्षाका लागि दुई कुकुर पालेका छन् । दुई कुकुरलाई गोठको दुई पट्टि बाँधेका छन् । यसले गर्दा गोठ सुरक्षित हुने उनी बताउँछन् । पहिले-पहिले गोठ बलाङ, मान्द्रो (बाँसको चोयाबाट बनेको सामान)ले बनाउने गरेका उनले अचेल त्रिपाल र टेन्टले छाएका छन् । स्थानीय, प्रदेश र संघीय सरकारले कृषिकका लागि हरेक वर्ष अनुदानका कार्यक्रम ल्याउने गरेको छ । तर ती कार्यक्रमले रनबहादुर जस्ता सयौँ किसानलाई अझै पनि छुनसकेको छैन । उनी भन्छन्, ‘कृषि अनुदान भन्ने मलाई थाहा छैन ।’ रासस

अपाचे आरटीआर १६० भी फोर एफ आइको संस्करण नेपालमा सार्वजनिक गर्ने

काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० भी फोर एफ आइको विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० भी फोर एफ आइ को विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो । अपाचे आरटीआर १६० भी फोर एफ आइ सेग्मेन्टमा ग्राहकहरुका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भएरहेको कम्पनीले जानकारी दिएको छ । अपाचे आरटीआर १६० भी फोर एफ आइ को विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचरपनि उपलब्ध गराउने छ । कम्पनीले सेग्मेन्टमै पहिलो पटक तीन राइडिब मोड तथा समायोजनको सुविधा सहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभरपनि उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ । साथै अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्ट संगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकता अनुसार ड्राइभिब मोड छनोट गर्न सक्नेछन् । अपाचे आरटीआर १६० भी फोर एफ आइ को विशेष संस्करणलाई स्पोर्टी बडी डिलक्स र स्पेशल कलर थीममा तयार गरिएको कम्पनीको भनाइ छ । जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

मनाङमा ६ महिनामा नौ हजारभन्दा बढी पर्यटक

मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ । यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दवै क्षेत्रको भ्रमण गर्ने गरेका एक्यापका प्रमुख ढकबहादुर भुजेलले बताए । उनका अनुसार आन्तरिक तथा बाह्य गरी नौ दुई सय २८ पर्यटकले अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् भने पाँच सय २८ पर्यटकले नार्पाभूमिस्थित लार्केपास गरेका छन् । यस क्षेत्रबाट गोरखाको चुङनुम्री हुँदै पर्यटक गन्तव्यतर्फ निस्कने गर्दछन् । असोज मसान्तसम्ममा मात्रै चार हजार तीन सय ५७ बाह्य पर्यटक भित्रिएका छन् । भुजेलका अनुसार वैशाखमा तीन हजार दुई सय ६६, जेठमा छ सय ६१, असारमा दुई सय ५९, साउनमा दुई सय ९६, भदौमा नौ सय १३ बाह्य पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ । गतवर्षको साउनदेखि मङ्सिरसम्ममा एक हजार ७२ पर्यटक भित्रिएका उनले जानकारी दिए । गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रुपमा पर्यटक वृद्धि भएको प्रमुख भुजेलले बताए । ‘यहाँको मुख्य आयस्रोत नै पर्यटन क्षेत्र हो । पर्यटकको आगमन बिना यहाँको राजस्वसमेत उठ्न मुस्किल हुन्छ । यसले नै यहाँका स्थानीयवासीलाई यही बस्ने वातावरण बनाएको छ’, उनले भने । यहाँका स्थानीयवासी होटल तथा पर्यटन व्यवसायसँगै कृषि क्षेत्रमा आवद्ध रहेका छन् । आयातित वस्तुभन्दा यहीँ उत्पादित खाद्यवस्तु पर्यटकलाई उपलब्ध गराउने गरेका पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । ‘सिजनमा यसवर्ष उल्लेख्य पर्यटकको आगमन भएको छ । यसले व्यावसायिकलाई उत्साह थपेको छ’, उनले भने, ‘आजभोलि आन्तरिक पर्यटकको आगमन पनि वृद्धि भएको छ ।’ बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकको पनि उल्लेख्य आगमन भएको गुरुङको भनाइ थियो । ‘बाह्य पर्यटकले पहिले नै बुकिङ गरेका हुन्छन् । जसले गर्दा उहाँहरुलाई सहज रुपमा बस्ने स्थानको निश्चित भइसकेको हुन्छ । आन्तरिक पर्यटकले यहीँ आएर मात्रै होटल खोज्दा समस्या हुने गरेको छ’, उनले भने, ‘यस सिजनमा मनाङ आउँदा पहिलेदेखि नै होटल बुकिङ भइसक्ने भएकाले होटल तथा अन्य व्यवस्थासम्बन्धी जानकारी लिएर आउन न आग्रह गर्दछु ।’ अहिलेको मौसममा अलिअलि हिमपात, सेता हिमाल टल्कने, डाँडापाखामा नै हिउँ देखिँदा पर्यटकलाई लोभ्याउने गर्दछ । अहिले नेपालीहरु प्नि घुम्ने, नयाँ पर्यटकीय गन्तव्यमा पुग्ने गर्न थालेकाले मनाङ आउने आन्तरिक पर्यटक पनि बढे्का गुरुङले बताए । आन्तरिक पर्यटकको तथ्याङ्क नराखिए पनि दैनिक रुपमा यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एक्यापका प्रमुख भुजेलले जानकारी दिए । दैनिक रुपमा एक हजार बढी आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी बाबुराम गुरुङले बताए । पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा बन्द भएका व्यापारव्यावसायमा उत्साह थपिएको उनको भनाइ थियो । ‘हिउँद लाग्ने बेलामा र वर्षायाम सुरुआतको समय गरी दुई सिजनमा मनाङ घुम्नका लागि अनुकूल समय मानिन्छ । यसै समयलाई मध्यनजर गरी यहाँ पर्यटक आउने गर्दछन्’, व्यवसायी गुरुङले भने, ‘पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै यहाँबाट थोराङ्लापास गरी कोही मुस्ताङ त कोही पोखरा पुग्दछन् ।’ अन्नपूर्ण पदमार्गमार्फत पदयात्रा गरी पर्यटक आ–आफ्नो गन्तव्यतर्फ जाने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । पर्यटकले यहाँबाट सुरु गरेको यात्रा विशेष गरी मुस्ताङ पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । रासस

मौसम परिवर्तनसँगै अस्पतालमा बिरामीको चाप, डेङ्गु सङ्क्रमित बढ्दै

वीरगञ्ज । मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी, बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता आएको मौसमी परिवर्तनले अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । मौसममा आएको परिवर्तनका कारण रुघाखोकी, ज्वरो, निमोनियालगायत बिरामी दैनिक करिब २० देखि २५ जनासम्म उपचारका लागि आउने गरेको उनले बताए । यस्तै पछिल्लो केही दिनयता दैनिक चार/पाँच जनासम्म डेङ्गु सङ्क्रमित बिरामी उपचारका लागि आउने गरेको प्रवक्ता डा सिंहको भनाइ थियो । अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले श्ययाको अभाव भएको र भूइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए । यसैबीच बढ्दो डेङ्गु सङ्क्रमणलाई दृष्टिगत गरी वीरगञ्ज महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा डेङ्गु सङ्क्रमण बढ्दै गएपछि महानगरपालिकाले डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । अभियानका क्रममा महानगरपालिकाले डेङ्गु सङ्क्रमणका लागि विभिन्न स्थानमा जमेका पानी सफा गर्ने, स्प्रे गर्ने र वीरगञ्ज भित्रिने यात्रुबाहक बसदेखि अन्य सवारी सवारीसाधनमा स्प्रे गर्न थालिएको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए। महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा गत भदौ २६ गतेदेखि सुरु भएको अभियानकै क्रममा लामखुट्टे र लार्भा नष्ट गर्न र सवारीसाधन  तथा पानी जमेको स्थानमा स्प्रे गर्न थालिएको छ । प्रमुख मियाँका अनुसार सो अभियानका लागि महानगरको स्वास्थ्य महाशाखासँगै सरसफाई शाखा र नगर प्रहरीको टोलीलाई  स्प्रे गर्न परिचालन गरिएको छ । मानिसको अत्यधिक भीडभाड हुने सार्वजनिक स्थानमा पनि किटनाशक औषधि स्प्रे गर्ने क्रमलाई महानगरले निरन्तरता दिएको उनले बताए। रासस

तार्जन गुरुङले जिते डिशहोमको एक लाख पुरस्कार

काठमाडौं । डिशहोमको हरेक हप्ता ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत तार्जन गुरुङले एक लाख रुपैयाँको पुरस्कार जितेका छन् । गत सोमबार भएको ‘लक्की ड्र’ मार्फत उनले नगद एक लाख जितेका हुन् । नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिशहोमले दशैँ–तिहार लक्षित ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना ल्याएको हो । यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता ‘लक्की ड्र’ मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद १० लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । गत १ असोजमा सुरु भएको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सीमित अवधिका लागि नेपालभर सञ्चालन भइरहेको डिशहोमले जनाएको छ ।