विकासन्युज

जाजरकोटमा भूकम्प : ३७ जनाको निधन, सयौं घाइते

जाजरकोट । गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् । उनका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताए । जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उनको भनाइ छ । रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उनले बताए । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो । रासस

भारतमा एप्पलको व्यापारमा नयाँ रेकर्ड, सीईओ कुकले साटे खुसी

एजेन्सी । भारतीय बजारमा आईफोन निर्माता कम्पनी एप्पलको व्यापार फस्टाएको छ । सेप्टेम्बरमा कम्पनीले आम्दानीमा नयाँ रेकर्ड कायम गरेको छ । भारत एक ‘अविश्वसनीय रूपमा रोमाञ्चक’ बजार बनेको कम्पनीकाे भनाइ छ । एप्पलले आर्थिक वर्ष २०२३ को तेस्रो त्रैमासिकको नतिजा सार्वजनिक गरेको छ । कम्पनीले याे अवधिमा ८९.५ अर्ब डलरकाे काराेबार गरेकाे छ । कम्पनीका सीईओ टीम कुकले भारतको आम्दानी ‘अल टाइम रेकर्ड’ भएको बताएका छन् । कुक आफैंले पनि भारतमा कम्पनीको व्यापार फस्टाउँछ भन्ने कल्पना नै गरेकाे प्रतिक्रिया दिएका छन् । ‘हामी भारतमा दोहोरो अंकको बलियो वृद्धिसँगै अगाडि बढेका छौं, यो हाम्रा लागि धेरै राम्राे बजार भएको छ र एक ठूलो फोकस पनि हो,’ कुकले भारतीय बजारबारे भने, ‘यो ठूलो बजारमा हाम्रो हिस्सा एकदमै कम छ, त्यसैले यहाँ धेरै काम गर्ने अवसर छ ।’ कुकले भारत एक ‘असाधारण बजार’ भएको पनि बताएका छन् । भारतका धेरै मानिस मध्यम वर्गतर्फ लागेको पनि उनको भनाइ छ । ‘हामीले यहाँ दुईवटा स्टाेर खोलेका छौं। यिनीहरूले हामीले सुरुवाती दिनमा नै राम्रो गरिरहेका छन् । र, म अहिले जसरी चलिरहेको छ त्यसमा खुसी हुन सक्दिनँ,’ उनले भनेका छन् । एकातिर एप्पलले चीनबाट हुने आम्दानीमा एकपछि अर्को झट्का सामना गरिरहेको छ । काउन्टरप्वाइन्टको मासिक भारत स्मार्टफोन ट्र्याकरले २०२३ को जुलाई–सेप्टेम्बर त्रैमासमा एप्पलको ढुवानी वार्षिकरू पमा ३४ प्रतिशत बढेर २५ लाख नाघेको जनाएको छ । बीक्यू प्राइमका अनुसार एप्पलले भारतमा लगभग ५० प्रतिशत आम्दानी वृद्धि गरेको छ । यसको आम्दानी लगभग ५ खर्ब भारु पुर्‍याएको छ । योसँगै नाफामा पनि राम्रो वृद्धि भएको उल्लेख गरेकाे छ ।

‘इन्डो नेपाल वेडिङ समिट’ काठमाडौंमा सुरु

काठमाडौं । नेपाललाई ‘वेडिङ डेस्टिनेसन’ का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ पहिलोपटक ‘इन्डो नेपाल वेडिङ समिट–२०२३’ आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आयोजना भएको दुईदिने सम्मेलनमा छिमेकी मुलुक भारतका २५ भन्दाबढी ‘वेडिङ अर्गनाइजेसन’कम्पनीको सहभागिता रहेको छ । सम्मेलनको पहिलो दिन आज ‘बिजनेस टु बिजनेस’(बिटुबी) कार्यक्रम आयोजना गरिएको छ । बिटुबीअन्तर्गत नेपाल र भारतका सरोकारवालाबीच व्यावसायिक प्रवर्द्धनका कार्यक्रम तय भएको बताइएको छ । नेपाललाई वेडिङ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए । ‘धेरैभन्दा धेरै भारतीयलाई नेपालमा आइ विवाह गर्न कसरी आकर्षित गर्ने तथा विवाहका लागि कपडा र गरगहना सहजरूपमा ल्याउने वातावरण बनाउन नीतिगत सुधारका लागि सरोकारवाला निकायसँग बहस गर्ने उद्देश्यले सम्मेलन गरिएको हो,’ उनले भने। भारतीयले विवाहमा सुन र साडी बढी प्रयोग गर्ने भएकाले उनीहरूका सामान सहजरूपमा यहाँ ल्याएर वैवाहिक कार्यक्रम सम्पन्न गर्ने वातावरण बनाउन सके नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने डा. रेग्मीको विश्वास छ । भारतको चर्चित इभेन्ट म्यानेजमेन्ट कम्पनी ‘इइमा’ अध्यक्ष समिट गार्जले नेपाल र भारतबीचको सांस्कृतिक, रहनसहन पनि मिल्दोजुल्दो भएकाले नेपालमा वेडिङ महोत्सवको प्रचुर सम्भावना भएकाले पहिलोपटक नेपाललाई गन्तव्यका रूपमा रोजिएको बताए। उनले यस किसिमको कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई थप मजबुद तुल्याउने र व्यावसायिक लाभ हासिल गर्न पनि सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। बिटुबी कार्यक्रममा पुष्प व्यवसायी, कपडा व्यवसायी, इभेन्ट म्यानेजमेन्ट कम्पनी, ‘मेहन्दी र मेकअप’सम्बन्धी व्यवसायीलगायतलाई भारतका वेडिङ कम्पनीसँग छलफल गराई व्यावसायिक साझेदारीको अवसर प्रदान गर्न कार्यक्रमले सहयोग पुग्ने जनाइएको छ । सम्मेलनमा नेपालका पाँचतारे र चारतारे होटल तथा लक्जरी रिसोर्टको सहभागिता छ । त्यस्तै पर्यटन विभाग, अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख र प्रतिनिधिको पनि कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा भारतका चर्चित कलाकार अमिताभ बच्चन, ऐश्वर्या राय तथा चर्चित व्यवसायी मुकेस अम्बानीको विवाह गराउने कम्पनी पनि सहभागी रहेको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीका अनुसार नेपालका पाँचतारे र चारतारे सबै होटलमा विवाह गराउन सकिन्छ । नेपालमा विवाहपछि तारे होटलमा पार्टी दिने प्रचलन छ तर भारतमा विवाह नै विदेशमा गएर गर्ने चलन छ । कतिपय सम्भ्रान्त परिवारका विहेहरू वर्षमा करिब एक हजारको थाइल्याण्डमा तथा नेपालमा वार्षिक एक सय हाराहारीमा यस्ता विवाह हुने गरेका छन् । यस्ता विवाहमा मध्यम परिवारले एकदेखि १० करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । भारतमा पछिल्लो समय विदेशमा गएर विवाह गर्ने करिब २० प्रतिशतले बढेको पाइएको तथ्यांक भेटिन्छ । वेडिङ समिट ‘माइस टुरिजम्’को महत्वपूर्ण अङ्ग भएकाले आगामी दिनमा नेपालमा ठूला अन्तर्राष्ट्रिय ‘इभेन्ट’मार्फत गन्तव्य प्रवर्द्धन गर्ने बोर्डको योजना रहेको कार्यकारी प्रमुख रेग्मीले जानकारी दिए। यस किसिमको कार्यक्रमले विवाह पर्यटनका रूपमा पनि नेपाल गन्तव्यको प्रचारप्रसारका साथै आर्थिकरूपमा समेत नेपाललाई फाइदा पुग्ने आयोजकको विश्वास छ । आगामी दिनमा यो सम्मेलनलाई वार्षिकरुपमा थप व्यवस्थित ढङ्गले आयोजना गर्ने बोर्डको योजना छ ।

क्रिकेट सन्दर्भ : कहिलेबाट शुरु भयो क्रिकेट खेल ?

काठमाडौं । दक्षिण-पूर्वी इंग्ल्याण्डको घना जंगल र खाली क्षेत्र वेल्डमा बस्ने केटाकेटीहरूले स्याक्सन वा नर्मन कालमा क्रिकेटको आविष्कार गरेको हुन सक्छ भन्ने विज्ञहरूको रायमा एकमत छ । पहिलो पटक सन् १६११ मा युवा खेलको रूपमा क्रिकेट खेलिने उल्लेख गरिएको थियो र सोही वर्ष एउटा शब्दकोशले क्रिकेटलाई केटाहरूको खेलको रूपमा पनि परिभाषित गरेको थियो । बललाई आफ्नो लक्ष्यमा पुग्नबाट रोक्न खोज्ने ब्याट्सम्यानको हस्तक्षेपबाट पनि क्रिकेटको उत्पत्ति कचौराबाट भएको हुन सक्छ भन्ने सोचाइ पनि छ । १७ औं शताब्दीको मध्यसम्ममा ग्रामीण क्रिकेटको विकास भएको थियो र शताब्दीको उत्तरार्धमा पहिलो अङ्ग्रेजी ‘काउन्टी टोलीहरू’ गठन गरिएको थियो, किनकि ग्रामीण क्रिकेटका ‘स्थानीय विशेषज्ञहरू’ प्रारम्भिक पेशेवरहरूको रूपमा कार्यरत थिए। पहिलो ज्ञात भएको खेलमा टोलीहरूले काउन्टी नाम प्रयोग गरेका थिए, जुन खेल १७०९ मा भएको थियो । १८ औं शताब्दीको पूर्वार्द्धमा क्रिकेटले लण्डन र इंग्ल्याण्डको दक्षिण(पूर्वी काउन्टीहरूमा एक प्रमुख खेलको रूपमा आफूलाई स्थापित गर्यो । यसको विकासको सीमितता बाबजुद यसले बिस्तारै इङ्गल्याण्डको अन्य भागहरूमा लोकप्रियता प्राप्त गर्दै विकास भयो । सन् १७४५ मा महिला क्रिकेट म्याच सरेमा भएको रेकर्ड पाइन्छ । सन् १७४४ मा क्रिकेटको पहिलो नियम लेखिएको थियो र पछि सन् १७७४ मा संशोधन गरिएको थियो । जब एलबीडब्लु, तेस्रो स्टम्प, मध्य स्टम्प र अधिकतम ब्याटचौडाइ जस्ता आविष्कारहरू थपिएका थिए । कोडहरू ‘स्टार र गार्टर क्लब’ द्वारा कोरिएका थिए जसका सदस्यहरूले अन्ततः १७८७ मा लर्ड्समा प्रसिद्ध मेरिलेबोन क्रिकेट क्लबको स्थापना गरे । एमसिसी तुरुन्तै कानूनको संरक्षक बन्यो र त्यसबेलादेखि आजसम्म संशोधन गर्दै आएको छ । सन् १७६० को केही समयपछि बललाई मैदानमा रोलिङ गर्ने काम हटाइएको थियो, पुरानो ‘हकी(स्टिक’ शैलीलाई प्रतिस्थापन भएको थियो । सन् १७८७ मा एमसीसीको गठन र लर्ड्स क्रिकेट मैदान को उद्घाटन सम्म ह्याम्पशायरको ह्याम्बल्डन क्लब लगभग तीस वर्ष सम्म खेलको केन्द्र बिन्दु बनेको थियो । क्रिकेट १७ औं शताब्दीको सुरुमा अङ्ग्रेजी उपनिवेशहरू मार्फत उत्तरी अमेरिकामा सुरु भएको थियो र १८ औं शताब्दीमा यो विश्वका अन्य भागहरूमा पनि विकास विस्तार भयो । यसलाई उपनिवेशवादीहरूले वेस्ट इन्डिजमा र भारतमा ब्रिटिस इस्ट इन्डिया कम्पनीका नाविकहरूले परिचित गराएका थिए । सन् १७८८ मा उपनिवेशीकरण सुरु हुनासाथ यो खेल अष्ट्रेलियामा पनि विस्तार भयो र १९ औं शताब्दीको सुरुका वर्षहरूमा यो खेल न्युजिल्यान्ड र दक्षिण अफ्रिकासम्म पुगेको पाइन्छ । स्रोत : आइसीसी

नेपाल लाइफ एक्लैको १० अर्ब बीमा शुल्क संकलन, एलआईसी र हिमालयनबीच दोस्रो बन्न प्रतिस्पर्धा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ४१ अर्ब रुपैयाँ बराबरको कूल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका हुन् । प्राधिकरणका अनुसार असोज मसान्तसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १० अर्ब ९५ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ४ अर्ब ५० करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ, नेशनल लाईफले ४ अर्ब १९ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्क छ । यस्तै, असोजसम्म सुर्यज्योति लाइफले २ अर्ब ३० करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ८६ करोड रुपैयाँ, सानीमा रिलायन्स लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ३६ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, आइएमई लाइफले १ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ र सन नेपाल लाइफले ८८ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साथै, तीन महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले पौने ७ अर्ब रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका हुन् । सबैभन्दा धेरै नेपाल लाइफले १ अर्ब ५९ करोड रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफलाई नेशनल लाइफले टक्कर दिँदै ९० करोड ७२ लाख रुपैयाँको प्रथम बीमा शुल्क संकलन गरेको हो । यस्तै, हिमालयन लाइफले ५२ करोड ८७ लाख रुपैयाँ, सुर्यज्योति लाइफले ५१ करोड ९३ लाख रुपैयाँ, एलआइसी नेपालले ५० करोड ५० लाख रुपैयाँ, सिटिजन लाइफले ४१ करोड ६० लाख रुपैयाँ र आइएमई लाइफले ३३ करोड ५० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, रिलायबल नेपाल लाइफले ३२ करोड ३६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३२ करोड २२ लाख रुपैयाँ, एशियन लाइफले ३२ करोड १ लाख रुपैयाँ, सन नेपालले ३० करोड ४२ लाख रुपैयाँ, मेट लाइफले ३० करोड ३५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले २१ करोड ५९ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले १२ करोड ५४ लाख प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

भाटभटेनीको एक वर्षमै करिब ३० अर्बको व्यापार, पौने १३ अर्ब ऋण लिएर थप आक्रामक बन्दै गुरुङ

काठमाडौं । भाटभटेनी सुपरमार्केटले एक वर्षमा २९ अर्ब ७० करोड रुपैयाँको व्यापार गरेको छ । इक्रा नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार भाटभटेनीले सन् २०२३ मा सो रकम बराबरको व्यापार गरेको हो । कम्पनीले सन् २०२२ मा २६ अर्ब ९३ करोड रुपैयाँको व्यापार विवरणमा उल्लेख छ । कम्पनीले सन् २०२१ मा १९ अर्ब ९९ करोड ७० लाख, सन् २०२० मा १९ अर्ब ३६ करोड २० लाख रुपैयाँ र सन् २०१९ मा १७ अर्ब ९९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै, कम्पनीले व्यवसाय थप विस्तार गर्नका लागि पौने १३ अर्ब रुपैयाँ ऋण लिने भएको छ । व्यवसाय विस्तारका लागि कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १२ अर्ब ८७ करोड ६ लाख रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ अर्ब २५ करोड ८१ लाख रुपैयाँ अर्थात् एलबीबी र अल्पकालीन कर्जाका लागि ७ अर्ब ६१ करोड २५ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको इक्राले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । कम्पनीले भाट–भटेनीमार्फत् विभिन्न वस्तुको खरिदबिक्री गर्दै आएको छ । कम्पनीको हालसम्ममा २४ वटा शाखा छन् । थप तीन आउटलेटहरु विस्तारको तयारीमा कम्पनी छ । व्यवस्थापनमा अब्बल भाटभटेनी ग्रुपमा अधिकांश अनुभवी व्यवस्थापकहरु छन् । अध्यक्ष मीनबहादुर गुरुङको नेतृत्वमा अन्य ८ जनाको टोली सञ्चालक समितिमा छ । ३५ हजार रुपैयाँमा व्यवसायिक जीवनको सुरुवात गरेका गुरुङ अहिले अर्बौं सम्पत्तिका मालिक छन् । गुरुङले करिब ५ हजार कर्मचारीलाई रोजगारी दिएका छन् । देशका मुख्य शहर र ठाउँहरुमा भाटभटेनीका स्टोरहरु छन् । उनले प्रत्येक वर्ष नयाँ-नयाँ ठाउँमा स्टोर सञ्चालन गरिरहेका छन् ।

खाडीबाट फर्किएकी कौशिलाको सुझाव : घरेलु कामदार बनेर खाडी नजानू

बलेवा । सात समुन्द्र पारीको देश, मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ । हातभरी कुवेती डलर बोकेको वयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु मैले भनेको मान ।’ कौशिला विकले भएभरको बल लगाएर त्यसव्यक्तिसँग प्रतिकार गरिन् । आफूलाई अँठ्याउन खोजेको पुरुषलाई भुइँमा पछारिन् । हतारहतार कोठाको चुकुल लगाइन् र आफूलाई बचाइन् । त्यसपछि सुरु भए उनका थप कष्टका दिन । घरेलु कामदारका रुपमा कुवेत पुगेकी बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीकी २३ वर्षीया कौशिलाले व्यहोरेको व्यथा हो यो । आफन्तकै सल्लाहमा सरसफाइ मजदुर बनेर कुवेत पुगेकी उनी त्यहाँ पुग्दा घरेलु कामदार बनिन् । कुवेत पुगेको दुई साता नबित्दै कौशिलामाथि हिंसाको प्रयास भयो । हिंसात्मक घटनामा प्रतिकार गरेकैले उनलाई २८ दिनमा तीन ठाउँमा काम फेरियो । जहाँ गए पनि कामको अवस्था भने उस्तै । नेपालमा हुँदा खाडी मुलुकमा महिलामाथि हुने हिंसाका घटनाका विषयमा धेरैथोरै समाचार सुनिरहेकी कौशिलाले कुवेतमा बसेर घरको ऋण तिर्नभन्दा पनि स्वदेश नै फर्किने निर्णय लिइन् । ‘मेरै आँखा अगाडि एक एजेन्टले नौ सय कुवेती डलरमा एक नेपाली दिदीलाई कुवेतीको घरमा काम गर्न बेचे, अनि मेरो मन थामिएन’, कौशिलाले भनिन्, ‘मैले नेपाल फर्किने बाटो खोजेँ ।’ उनले नेपाल फर्किन खोजेको यहाँ रहेका एजेन्टले थाहा पाएपछि कौशिलाको मोबाइल खोसियो । बन्द कोठमा बिना काम राखेर मानसिक तनाव मात्रै दिने गरेको उनले सुनाइन् । ‘नेपालमा क्लिनर हो भने, विमानस्थल पसेपछि बल्ल डकुमेन्ट दिए, दुईथरी डकुमेन्ट दिएका थिए, उता देखाउने र यता देखाउने दुईथरी भनेर, हामीलाई दिएको कागजमा कुवेतको भिजिट भनेर लेखिएको थियो’, कौशिलाले भनिन्, ‘नेपालकै विमानस्थलमा दुईथरी डकुमेन्ट र भिजिट भनेर होटलसमेत बुक गरेको कागज देखेपछि नजाने भनेकी थिएँ तर विमानस्थलमै बसेका एजेन्टले फर्किन दिएनन्, कुवेत पुगेपछि कम्पनीको प्रतिनिधि आएर लिएर गयो । घरेलु काममा लगायो । केही दिन काम राम्रै थियो, ठाउँ फेरिदियो र हिंसाको प्रयास भयो ।’ कुवेतमै रहेकी एक नेपालीको मोबाइलको सहारामा माइती नेपाल र सुरक्षित आप्रवासन परियोजनामा सम्पर्क गरेकी उनले सबै कागज भने सुरक्षित राखेकी थिइन् । बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रमले उनको सबै डकुमेन्ट मगायो । कौशिलाले समय समयमा लुकीलुकी डकुमेन्ट उपलब्ध गराइन् । उक्त कार्यक्रमले विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको सहकार्यमा कौशिलासम्म पुगेर सकुशल उनलाई नेपाल ल्यायो । ‘मैले एजेन्टलाई कि मलाई नेपाल फर्काऊ होइन भने चार तलामाथि छु, हाम फालेर मर्छु, तँ पर्छस् भनेँ’, कौशिलाले भनिन्, ‘मरे शव ल्याउन पहल गर्छु भनेर उसले जवाफ दियो ।’ सुरक्षित आप्रवासन कार्यक्रमले दिनरात नभनी आफ्नो उद्धार गरेको उनले बताइन् । ‘कौशिला सचेत हुनुहुँदो रहेछ, हामीसँग समयमा सम्पर्कमा आउनुभयो र आवश्यक कागजात सबै उपलब्ध हुँदा उद्धारमा सहज भयो’, सुरक्षित आप्रवासन कार्यक्रमका परामर्शदाता गङ्गा रिजालले भनिन्, ‘गाउँपालिकाकी कार्यपालिका सदस्य पूर्णमाया विकको सहयोगमा हामी उनीसम्म पुग्यौँ, कौशिलाले रातभरि पनि म्यासेज गरिन्, हामीले दिनरात नभनी उनको उद्धार ग¥यौँ ।’ वैदेशिक रोजगारीका विषयमा राम्रोसँग जानकारी नलिइ जाने र गइसकेपछि पनि फर्किन सक्ने बाटाको विषयमा जानकारी नहुँदा धेरै नेपाली कामदार श्रम शोषण र हिंसाको सिकार हुने गरेको कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले बताए । पासपोर्ट बनाउने बेला नै कौशिलाले कोरिया जाने भनेकी थिइन् । आफन्तले कुवेतमा काम लगाइदिने भनेपछि काठमाडौँसम्म बसमा पासपोर्ट पठाएको बताएकी उनले मेडिकल जाँच गरेको दस दिनमै भिसा आएपछि विमानस्थल प्रवेश गरेपछिमात्रै आफू कुवेत जान लागेको थाहा पाएको बताइन् । ‘मलाई आफन्तले नै फसाए’, कौशिलाले भनिन्, ‘घरेलु कामदारका रुपमा कोही दिदीबहिनी पनि खाडी नजानु, त्यहाँ दिदीबहिनीको हालत खराब छ ।’ कुवेत पुगेको २८ दिनका दिनपछि नेपाल फर्किएकी कौशिला अब भने कोरियाको तयारी गर्ने बताइन् । रासस

उपत्यका बाहिरका ए लेभल बन्द हुँदै, ८१ वटा संस्थामा सीमित विदेशी शैक्षिक कार्यक्रम

काठमाडौं । कुनै बेला विद्यार्थीको अत्याधिक आकर्षण बनेको ए लेभल काठमाडौं उपत्यका बाहिरका शैक्षिक संस्थामा भने बन्द हुने अवस्था सिर्जना हुँदै गएको छ । काठमाडौं युनिभर्सिटीले शैक्षिक सत्र ०७५ मा अन्तिम भर्ना लिएर बन्द गरेको ए लेभल गण्डकी बोर्डिङ स्कुल पोखरामा पनि दुई वर्षदेखि विद्यार्थी अभावमा सञ्चालन हुन सकेको छैन । विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने कलेज तथा स्कुलहरुले प्रत्येक महिनाको माघ महिनाभित्र संघीय शिक्षा मन्त्रालयमा संस्था नवीकरण गर्नुपर्ने हुन्छ । तर, विगतमा ८७ वटा शैक्षिक संस्थाले विदेशी कार्यक्रम सञ्चालन गर्दै आएकोमा यसपटक भने ८२ वटामा मात्रै सिमित हुन पुगेको छ । मन्त्रालयका अनुसार ए लेभलको शैक्षिक कार्यक्रम नै बन्द गरेर काठमाडौं यु्निभर्सिटी स्कुल काभ्रेले कार्यक्रम नै बन्द गरेको छ । कस्मस इन्टरनेशनल कलेज पोखरा र कृतिका एजुकेसन एन्ड हेल्थ फाउन्डेसन प्रालि विराटनगरले नवीकरणका लागि निवेदन दिएपनि आवश्यक भौतिक पूर्वाधार तय गर्न नसकेको कारणले नवीकरण हुन सकेका छैनन् । द इन्स्टिच्युट सिभिल इन्जिनियर भारतबाट सम्बन्धन लिएर डिप्लोमा इन सिभिल इन्जिनियर कार्यक्रम सञ्चालन गरेको जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी प्रमाणपत्रमा समकक्षता प्राप्त गर्न नसक्दा अदालतमा विचाराधिन रहेको अवस्था छ । पढ्ने विद्यार्थी नै नआएपछि बन्द भए ए लेभल कार्यक्रम गण्डकी स्कुलका पोखराका प्रिन्सिपल बिरेन्द्र खड्काका अनुसार सो स्कुलमा २ वर्षदेखि ए लेभल पढ्ने विद्यार्थी नै आवश्यक संख्यामा नआएपछि बन्द गर्नुपर्ने कार्यक्रम नै सञ्चालन हुन सकेन । ‘अघिल्लो वर्ष ६÷७ जना विद्यार्थी आएका थिए, यो वर्ष ३÷४ जना विद्यार्थी मात्रै आए’, उनले भने, ‘एक सेक्सनमा २८ जना विद्यार्थीको कोटा भएकोमा आवश्यक विद्यार्थी नै नआएपछि कार्यक्रम सञ्चालन हुन सकेन ।’ काठमाडौं युनिभर्सिटी स्कुल काभ्रेले ए लेभलको कार्यक्रममा ०७५ मा अन्तिम भर्ना लिएर कार्यक्रम नै बन्द गरेको छ । स्कुलका प्रिन्सिपल तेजेन्द्रप्रकाश राजभण्डारीले पहिले सो संकायमा विद्यार्थीको आकर्षण राम्रै भएपनि पछिल्लो समयमा नभएपछि कार्यक्रम बन्द गरिएको बताए । उनले उपत्यकाभित्र ए लेभल सञ्चालन गर्ने स्कुल कलेजहरुमा जनशक्तिको उपलब्धता जस्तो बाहिर नभएकोले पनि ए लेभल कार्यक्रम सञ्चालन गर्न कठिन भएको बताए । नेपाली विश्वविद्यालयले नै सञ्चालन गरेका अधिकांश कार्यक्रम विदेशी विश्वविद्यालयबाट नेपालमा ८१ वटा शैक्षिक संस्थाले सञ्चालन गरेको अधिकांश विदेशी शैक्षिक कार्यक्रम नेपाली विश्वविद्यालयले सञ्चालन गर्ने कार्यक्रम रहेको देखिन्छ । चिकित्सा शिक्षा, इन्जिनियरिङ, आदि लगायतका पूर्ण प्राविधिक शैक्षिक कार्यक्रमलाई भने विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गर्न भने सरकारले अनुमति दिने गरेको छैन । तर, अन्य आइटी, मानविकी र व्यवस्थापनसँग सम्बन्धित कार्यक्रम भने नेपाली विश्वविद्यालयहरुले नै सञ्चालन गर्दै आएका कार्यक्रम विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपाली कलेजहरुले सञ्चालन गर्ने गरेका छन् । केही वर्षयता भने शिक्षा मन्त्रालयले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति नयाँ शैक्षिक संस्थालाई दिएको छैन । तर, स्वीकृतिको पहलका लागि मन्त्री फेरिएपिच्छे नीति परिवर्तनका लागि मन्त्रालयमा दबाब दिन आउने गरेको मन्त्रालयका अधिकारी बताउँछन् ।