विकासन्युज

मदन भण्डारी विश्वविद्यालयमा पढ्ने विद्यार्थीलाई पिएचडी गर्न मासिक तिस हजार छात्रवृत्ति

मकवानपुर । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यार्थीलाई मासिक ३० हजार रुपियाँसम्मको छात्रवृत्तिसहित स्नातकोत्तर र विद्यावारिधिको शैक्षिक कार्यक्रम सुरु गरेको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा यही वर्षबाट स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक २५ हजार र विद्यावारिधिमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३० हजार रुपियाँको छात्रवृत्तिसहितको भर्ना कार्यक्रम सुरु गरेको छ । यो वर्ष विश्वविद्यालयले ३२ जना विद्यार्थीलाई अध्ययनका लागि भर्ना आह्वान गरेको हो । चित्लाङमा बिहीबार आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार विश्वका राम्रा विश्वविद्यालयसँग प्रतिस्पर्धा गराउन र अनुसन्धानमा आधारित अध्ययनलाई अघि बढाउने उद्देश्यले चार वटा विषयमा भर्ना सुरु गरिएको हो । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिका अध्यक्ष प्रा। राजेन्द्रध्वज जोशीले विश्वका उत्कृष्ट विश्वविद्यालय सहयोग रकमबाटै सञ्चालन भएको चर्चा गर्दै कम्तीमा एक लाख मानिसबाट एक अर्ब रुपियाँ संकलनको लक्ष्यसहित भर्ना कार्यक्रम शुभारम्भ गरेको जानकारी दिए । उनले विश्वविद्यालयसँग रहेको भौतिक प्रगतिका बारेमा जानकारी दिँदै विश्वविद्यालयसँग हाल ३० लाख रुपियाँ मात्रै मौज्दात रहेको उल्लेख गरे। विश्वविद्यालयसँग हाल तीन वटा सुविधासम्पन्न भवनसहित १८० रोपनी जग्गा रहेको छ । सो जग्गा स्थानीय स्वछन्द भैरव माध्यमिक विद्यालयले विश्वविद्यालयलाई उपलब्ध गराएको थियो । उनका अनुसार नेपाल सरकारले विश्वविद्यालयको भौतिक पूर्वाधारका लागि ९५ करोड रुपियाँ विनियोजन गरिसकेको छ । सरकारले एक अर्ब ४० करोडको बजेट सुनिश्चितसमेत गरिसकेको छ । विश्वविद्यालयले वन क्षेत्रमा त्यसै खेर गइरहेको कुकाठलाई कसरी आम्दानीको स्रोत बनाउन सकिन्छ भनेर अध्ययन गर्ने उद्देश्यले वनमा आधारित अध्ययनको स्नातकोत्तर तथा विद्यावारिधिको कक्षा सञ्चालन गर्न लागेको जनाइएको छ । यसले नेपालको वन क्षेत्रको आम्दानीका आधार खुला हुने अपेक्षा गरिएको छ । त्यसका लागि विश्वविद्यालयमा सुविधासम्पन्न ल्याबसमेत निर्माण भइसकेको छ । विश्वविद्यालयका वित्त प्रमुख शम्भु अधिकारीका अनुसार प्राङ्गारिक कृषिमा विद्यावारिधि तथा स्नातकोत्तरको कक्षा सुरु गर्न लागिएको हो । उनले नेपाल कृषिप्रधान मुलुक भएकाले प्राङ्गारिक खेती प्रणालीको खोज तथा अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विश्वमा पहिलो पटक पर्यटन पूर्वाधारको विधावारिधि कक्षा सुरु भएको दाबी विश्वविद्यालयको छ । डा. सबिना श्रेष्ठले नेपालमा पर्यटनको अत्यधिक सम्भावना रहेको तथा पर्यटन पूर्वाधारको विकास हुन नसकेको अवस्थामा यसले ठुलो सहयोग पुर्याउने बताए। चार वटा सङ्कायमा पहिलो वर्ष चाररचार जना विद्यार्थीलाई भर्ना लिइने जनाइएको छ । विश्वविद्यालयले कुनै पनि प्राध्यापक तथा कर्मचारीलाई स्थायी नगर्ने अवधारणा अघि सारेको छ । काम गरेको दिनमा सुविधा दिने तर काम नगरेको दिनमा सेवा नपाउने गरी प्राध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले २० क्रेडिट आवरको सैद्धान्तिक र ५० क्रेडिट आवसर अनुसन्धानमूलक कक्षा सञ्चालन गर्ने जनाइएको छ । गाेरखापत्रबाट ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले देशभरिका महिला स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालेको जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ को नियमितरूपमा पहिलो चरणमा यही कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले आज र भोलि खुवाउन थालिएको हो । स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई यसअघि नै परिपत्र गरिसकेको छ । यस आवको पहिलो चरणमा आज र भोलि तथा दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाखमा महिनामा सञ्चालन गरिन्छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने नेपाल एसबिआई बैंकको प्रतिवद्धता

काठमाडौं । नेपाल एसबिआई बैंकका कर्मचारीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने प्रतिवद्धता गरेका छन् । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण दिवस’ का अवसरमा उनीहरूले बैंकको सेवा, माध्यम र खाता सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल–सीएफटी प्रावधान ग्रहण एवं पालना गर्न प्रतिज्ञा गरेका हुन् । नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल र अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराएका हुन् ।

कामना सेवा विकास बैंकले १७ कार्यक्रमका साथ वार्षिकोत्सव मनाउने

काठमाडौं ।  कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औँ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गर्ने शुभ अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । १७ औँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न १७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको बैंकले जनाएको छ । जस अन्तर्गतः १७ गते शुक्रवारदेखि २३ गते बिहीबारसम्म कामना सेवा फुटसलकप सिजन ३, हाईकिङ्ग कार्यक्रम, सरसफाई कार्यक्रम, सातै क्षेत्रमा रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण, ट्राफिक सचेतना वोर्ड हस्तान्तरण, वाकाथुन कार्यक्रम, स्वास्थ्य ल्याव हस्तान्तरण, डिजिटल मेला, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, डिजिटल दान पेटिका हस्तान्तरण, नेत्रहिनहरुको वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ । जसअन्तर्गत १७ गते शुक्रवारदेखि बैंकले हरेक वर्ष आयोजना गर्ने फुटसल प्रतियोगिताको तेस्रो संस्करण शुरुवात गर्नेछ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागीतामा सम्पन्न हुने उक्त प्रतियोगिता बैंकले हरेक वर्ष गर्दै आएको छ । बैंकले आफ्ना १३५ वटा संजाल तथा ७७ वटा एटिएम वुथहबाट आफ्ना अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको जनाएको छ ।

एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

कास्की । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो । एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग उनको कार्यकक्षमा भेटवार्ता गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे । राममूर्ति बैंकको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ हुन् । भेटवार्ताका क्रममा राममूर्तिले एडिबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाका बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल गरेको महानगर प्रमुख आचार्यले बताए । उनका अनुसार पूर्वाधार निर्माणसहित दिगो पर्यटन विकासका लागि सञ्चालित विभिन्न परियोजनामा एडिबीको सहयोग रहेको छ । “हाल सञ्चालित परियोजनाका बारेमा छलफल भयो । थप परियोजनामा समेत सहयोग गर्न एडिबी सकारात्मक छ”, प्रमुख आचार्यले भने । उनले पोखराको पूर्वाधारसहित पर्यटन विकासका सन्दर्भमा एडिबीले गरेको सहयोगप्रति आभार प्रकट गर्दै सहयोग तथा सहकार्यका थुप्रै सम्भावनाको पहिचान गरिएको जनाए । पोखरा पर्यटनको राजधानी सहरका रूपमा घोषणा हुने क्रममा रहेको उल्लेख गर्दै प्रमुख  आचार्यले दिगो पर्यटन विकास आवश्यक रहेको बताए । एडिबीको सहयोगमा हाल ठूलो परियोजनाका रूपमा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको काम भइरहेको छ । यसैगरी पोखराको दिगो पर्यटन विकासका सम्बन्धमा विभिन्न १५ परियोजनामा सम्झौता भई काम अघि बढिरहेको छ । एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजनाअन्तर्गत सडक सुरक्षा उपायहरूको योजनासहित विद्यमान सडक र ढलको स्तरोन्नति गर्ने यसअघि नै सम्झौता भइसकेको छ । महानगरका अनुसार एडिबीले पोखराका विभिन्न परियोजनामा आर्थिक सहयोग गर्ने भएको छ । त्यस्ता परियोजना छनोट भइसकेका छन् । जसअन्र्तगत सहिदचोक–तीनकुने–राधाकृष्णमार्ग–एसओएस–घलेचोक–हरियो खर्क–पिआइए आठ किमी आठ सय मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि पाँच दशमलव ३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजनाअन्तर्गत दमदमेबाट भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्र, भन्ज्याङबाट पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका सर्भिस प्वाइन्ट स्थापना, विद्यमान घरबास (होमस्टे)को एकीकृत प्रवर्द्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि तीन दशमलव पाँच मिलियन अमेरिकी डलर खर्च हुनेछ । पञ्चासे एक सयभन्दा बढी प्रजातिका अर्किड र पोखरी रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो । एडिबीकै सहयोगमा ‘लेक टु लेक’ साइकल ट्रयाक र फेवाताल सुधार परियोजनासमेत सञ्चालनका क्रममा रहेको छ । परियोजनाअनुसार नौवटा ताल र १८ वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुनेछ । फेवाताल सुधार परियोजनाअन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्सन बोर्ड, साइकल पार्किङ, सर्भिस प्वाइन्टसहित साइकल स्ट्यान्डको निर्माण गरिनेछ । यसमा तीन दशमवल पाँच मिलियन अमेरिकी डलर खर्च हुने महानगरले जनाएको छ । रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजनाअन्तर्गत ड्यामसाइटबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृतरूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना छ । रासस

दश क्विन्टल चिनी बरामद

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको छ । प्रहरीले उक्त राजमार्गमा अहिले नियमितरुपमा यातायातका साधन जाँच गरिरहेको उनले बताए । प्रहरीले यसअघि यही कात्तिक पहिलो साता सोही राजमार्गबाट राजस्व छली गरेर ल्याएको ९२ बोरा चिनी ट्रकबाट बरामद गरेको थियो । ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।

सर्वाेत्तम सिमेन्टले मंसिर ६ गतेदेखि बुक विल्डिङ्गमा आईपीओ बिक्री गर्ने

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले मंसिर ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुको लागि बोलकबोल मार्फत बिक्री खुला गर्ने भएको हो । कम्पनीको जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक विल्डिङ्ग विधि मार्फत निष्काशन गर्ने भएको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म रहेकोमा सोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागि गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा मंसिर १० गतेभित्र शीलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।

एनआईसी एशिया बैंकको नाफासँगै ईपीएस पनि घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४२.४९ प्रतिशत घटेर १ अर्ब १ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १७.५५ प्रतिशत घटेर २ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३३ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असोजसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी २७.४१ प्रतिशत बढेर ७३ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.११ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ, सञ्चालन मुनाफा ३८.९४ प्रतिशत घटेर १ अर्ब ५४ करोड २९ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ८२ लाख ४२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २९ प्रतिशत बढेर १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ, जगेडा कोष १४.६१ प्रतिशत घटेर १५ अर्ब २२ करोड २७ लाख रुपैयाँ, निक्षेप संकलन १६.७९ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ६४ करोड रुपैयाँ र कर्जा १२.३५ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ३२.५३ रुपैयाँ घटेर २७.०९ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०२.०५ रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा ०.५९ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८०.८९ प्रतिशत र आधारदर १०.५६ प्रतिशत रहेको छ ।