अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री महत

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिकोत्सव समारोहमा उनले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताएका हुन् । महतले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने खाँचो औँल्याए । ‘देशको अर्थतन्त्र विस्तारै सकारात्मकतर्फ उन्मुख छ, अब आमजनमानसमा [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिकोत्सव समारोहमा उनले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताएका हुन् ।

महतले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने खाँचो औँल्याए ।

‘देशको अर्थतन्त्र विस्तारै सकारात्मकतर्फ उन्मुख छ, अब आमजनमानसमा आत्मविश्वास र सकारात्मका सोचको खाँचो छ”, अर्थमन्त्री डा. महतले भने, ‘सबैले नकारात्मक कुरा गरेर लगानीकर्ता निरुत्साहित र उपभोक्तामा द्विविधा सिर्जना हुन दिनु हुँदैन, त्यसैले अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको अवस्थामा आत्मविश्वास बढाउनुपर्ने अपरिहार्यता छ ।’

उनले विभिन्न चुनौतीबीच लयमा रहेको अर्थतन्त्रलाई चलायमान बनाएर दिगो हिसाबले आर्थिक वृद्धि गर्दै त्यसलाई आमनागरिकको पहुँचमा पु¥याइनुपर्ने खाँचो औँल्याए । ‘विश्वव्यापीरुपमा सिर्जित विभिन्न सङ्कट र मन्दीले समग्र अर्थतन्त्रमा नकारात्मक असर परेकाले अर्थतन्त्रमा देखिएको चुनौतीको समाधान गर्न समय लाग्छ । नेपालका सन्दर्भमा बाह्य सूचाङ्क राम्रो छ, राजस्व पनि अघिल्लो वर्षको तुलनामा बढेको, घरजग्गा कारोबार पनि बढेको र विप्रेषण पनि बढिरेहको तथा विदेशी पर्यटक आगमन पनि ऐतिहासिकरुपले बढेकाले यसबाट आर्थिक गतिविधि चलायमान गर्न मद्दत गर्ने विश्वास छ,’ उनले भने ।

अर्थमन्त्री डा महतले विश्व बैंक, एशियाली बैंकलगायत दातृ निकायलाई नेपालको आर्थिक विकासमा सहभागी हुन पहलकदमी गरिएको र आगामी दिनमा थप लगानी भित्रनेमा विश्वास व्यक्त गरे ।
नेपालमा छिट्टै लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउने र स्वदेशी लगानीलाई पनि प्रोत्साहन गर्ने सरकारको योजना रहेको जानकारी दिए ।

यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको बताए । उनले विदेशी मुद्रा सञ्चिति राम्रो रहेको तथा अर्थतन्त्रका अन्य क्षेत्रहरुमा सकारात्मक रहेकाले अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

गभर्नर अधिकारीले सरकार र निजी क्षेत्रको साझेदारीतामा ठूला परियोजना अघि बढाउन जरुरी भएको उल्लेख गरे । ‘फलाम खानी उत्खनन्, ठूला सडक निर्माणलगायत उद्योग परियोजना अघि बढाउन जरुरी छ, जसले रोजगारी सिर्जना हुने, पैसा परिचालन हुने र समग्र अर्थतन्त्रलाई नै चलाउमान बनाउन मद्दत पुग्छ,’ उनले भने ।

अर्थतन्त्रलाई थप चलायमान बनाइनुपर्छ– निजी क्षेत्र

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सकारात्मक दिशामा रहेको मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकार र निजी क्षेत्रले समन्वय र सहकार्य फराकिलो बनाउन जरुरी भएको उल्लेख गरेका छन् ।

‘अर्थतन्त्र सहज अवस्थामा छ, यसको प्रभावकारी सुधारका लागि नयाँ सोचका साथ अघि बढ्न जरुरी छ । विदेशी मुद्रा सञ्चिति राम्रो रहेको, विदेशी पर्यटक बढेको अवस्थाले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्नेछ,’ उनले भने ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्रललाई सुधारको दिशामा अघि बढाउन नीतिगत र संरचनागत सुधार अपरिहार्य भएको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई पूर्ण चलायमान बनाउन सबै सरोकारवालाबीच बहज र पैरबी आवश्यक भएको बताए । यस्तै नाफिजका अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारिता र अर्थतन्त्रको श्रीवृद्धिमा संस्थाले भूमिका खेल्दै आएको बताए ।

तीन पत्रकार पुरस्कृत

नाफिजको वार्षिकोत्सवका अवसरमा आर्थिक पत्रकारितामा योगदान गर्ने तीन पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको छ । नगद एक लाख रुपैयाँ सहित शारदा–ढुन्डिराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई प्रदान गरिएको छ । त्यस्तै जनही ५० हजार रुपैयाँ राशिको बैंकिङ पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय क्रमशः आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का अध्यक्ष रोयल आचार्य र विकासन्युज डटकमका पत्रकार सन्तोष रोकायालाई प्रदान गरिएको छ ।

Share News