
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नाे १० दिने युरोप भ्रमण स्थगित गरेका छन् ।
राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले भ्रमण स्थगित गरिएको हो ।
गत शुक्रबार राति जाजरकोटमा गएको भूकम्पले देश संकट परेको असहज परिस्थिति भएकाले राष्ट्रपतिले भ्रमण नगर्ने निर्णय गरेको उनले बताए ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तालिका थियो ।
जाजरकोटमा गत शुक्रबार ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १५३ जनाको ज्यान गएको थियो भने ३३८ जना घाइते भएका थिए ।