धितोपत्र बोर्डले सात दर्जन बढी कम्पनीलाई सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधेको छ । सोमबार बसेको बोर्डको बैठकले धितोपत्र नियमअनुसार समयमा नै विवरण नबुझाउने ८८ कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बोर्डले गत साउन ११ गते सूचीकृत कम्पनीलाई समयमा नै विवरण बुझाउन सूचित गरेको थियो । तर, ८८ वटा कम्पनीले अटेरी गरेपछि बोर्डले कारबाहीको प्रक्रिया थालेको हो । समयमा विवरण नबुझाए बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ अनुसार सूचीकृत कम्पनीले बोर्डमा त्रैमासिक विवरण बुझाउनु पर्ने हुन्छ । तर, यो अनुसूचीअनुसार कम्पनीले विवरण नबुझाए ऐनबमोजिम कारबाही गरिने बोर्डले जनाएको छ ।
एनएलजी इन्स्योरेन्सले पायो ए माइनस रेटिङ
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ए माइनस रेटिङ प्राप्त गरेको छ । रेटिङ कम्पनी इक्रा नेपालले इन्स्योरेन्स कम्पनीलाई ए माइनस रेटिङ प्रदान गरेको हो । वित्तीय दायित्वका आधारमा इक्रा नेपालले एनएलजी इन्स्योरेन्सलाई (इक्राएनपी आइआर) ए माइनस रेटिङ प्रदान गरेको हो । जसले वित्तीय दायित्वको समयमै पुरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुले कम जोखिम बहन गर्दछन् ।
किचन क्राफ्ट क्रियशनले भित्र्यायो विश्वप्रसिद्ध काफ ब्राण्ड, एकैपटक ४ स्टोर सञ्चालन
काठमाडौं । किचन अपलायन्सेसका लागि विश्वप्रसिद्ध काफ ब्राण्ड नेपाल भित्रिएको छ । भारतमा उत्कृष्ट किचन सामग्रीको अवार्ड प्राप्त गरिसकेको काफ ब्राण्डलाइ किचन क्राफ्ट क्रियशन प्रा.लि.ले नेपाल भित्र्याएको हो । किचन क्राफ्ट क्रियशनलाई नेपालको आधिकारिक बिक्रेता नियुक्त गरी एकैपटक देशभरिका विभिन्न ४ स्थानबाट काफ ब्राण्डका उत्पादित सामाग्री बिक्री वितरण गर्नेछ । आज कात्तिक २२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वर, कमलादी, पोखरा र बुटवल गरी ४ वटा ठाउँमा स्टोर सञ्चालन गरेको किचन क्राफ्ट क्रियशनकी कार्यकारी निर्देशक अंकिता राठीले जानकारी दिइन् । कार्यकारी निर्देशक राठीका अनुसार काफ ब्राण्डका कुकर हुड्स (फिल्टरलेस कुकर ड्राइहिट अटो क्लिन टेक्नोलोजी), बुइल्ड इन हब्स, बुइल्ड इन इन्डक्सन हब्स, बुइल्ड इन बार बि क्यू, बुइल्ड इन ओभन, बुइल्ड इन डिसवासर, बुइल्ड इन माइक्रोवेभ, कुकिङ रेञ्ज, वाइन कुलर, बुइल्ड इन रेफ्रिजेरेटर, ओटीजी, कुक टप्स, भेन्टिलेसन फ्यान, सिन्क्स, किचन एसोसरिज, हार्डवेयर एण्ड ड्रयर सिस्टम लगायतका सामाग्राी उपभोक्ताले खरिद गर्न सक्ने छन् । काफ किचनका सामग्रीको लागि स्थापित प्रिमियम ब्राण्ड हो । जुन नेपाली उपभोक्ताले स्वदेशी बजारबाटै सहज रुपमा खरिद गर्न सक्ने कम्पनीले बताएको छ । काफ ब्राण्डलाई नेपालमा पहिलो पटक किचेन क्रियशनले भित्र्याएको हो । अन्य कम्पनीभन्दा काफ ब्राण्डका सामाग्रीहरु सस्तो, गुणस्तरीय र टिकाउ रहेको कम्पनीको भनाइ छ । काफका उपकरणले प्रयोगकर्ताको अवश्यकता पूरा गरी भान्साको सौन्दर्यतालाई बढावा दिने कार्यकारी निर्देशन राठीले बताइन् ।
कामना सेवाको १७ औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर र वाल्काथन कार्यक्रम सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवनको अमृतचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मनकामना अस्पताल, भरतपुरको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा १८५ जना व्यक्तिहरुले स्वास्थ्य परिक्षण गरेका छन् । अस्पतालका वरिष्ठ फिजिसियन उत्सव अधिकारी समेतको स्वास्थ्य टोलीले उक्त कार्यक्रममा स्वास्थ्य परिक्षण गरेको बैंकले जनाएको छ । बैंकको वार्षिकोत्सवका कार्यक्रमहरु अन्तर्गत बैंकको केन्द्रीय कार्यालयमा कर्मचारीहरुको वाल्काथन कार्यक्रम सम्पन्न गरेको छ । उक्त ध्बपिबतजयल कार्यक्रम बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर देखी मैतीदेवी मन्दीर, डिल्लीबजार, पुतलीसडक, हात्तीसार, नक्साल, नारायणचौर, नक्साल भगवती मन्दीर हुँदै पुनः बैंकको केन्द्रीय कार्यालय सम्म भएको थियो । उक्त कार्यक्रममा बैंकका उच्च व्यवस्थापन, विभागिय प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको वाक्लो उपस्थिती रहेको थियो । बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।
ओएलईडी टिभी ५५ प्रतिशत बढी बजार ओगट्न सफल
काठमाडौं । एलजी ओएलईडी टिभीले २०२३ को अर्धवार्षिक अवधिसम्म १३ लाख ३० हजारभन्दा बढी सिपमेन्ट गरी नयाँ बेन्चमार्क निर्माण गर्न सफल भएको छ । मार्केट रिसर्च फर्म ओम्डियाका अनुसार एलजीले कुल सिपमेन्टका आधारमा पहिलो ६ महिनामा विश्वव्यापी ओएलईडी टिभी बजारको ५५ प्रतिशतभन्दा बढी बजार ओगट्न सफल भएको छ । परिचित ओएलईडी टिभी लिडरका रूपमा उत्पादनको १० वर्ष मनाउँदै गर्दा, ओएलईडी टिभी सेगमेन्टको नेतृत्व स्थापना गर्न सफल भएको छ । साथै, एलजीले ओएलईडी टिभीको प्रतिष्ठालाई प्रिमिएम टिभी सेगमेन्टको शिखरमा राख्न सफल भएको कम्पनीले जनाएकाे छ। एलजी यसैमा सीमित नरही १ करोड टिभी युनिटको (ओएलईडी र एलसीडी आक्रमक बिक्री गर्न सफल भएको छ, फलस्वरूप एलजी कम्पनीले विश्वव्यापी टिभी बजारको १६.२ प्रतिशत सेयरको खुद नाफा हासिल गरेको छ । एलजीले आफ्नो प्रिमियम र अल्ट्रा–लार्ज डिस्प्लेका लागि रणनीतिक बजारीकरण सक्रियताका साथ अपनाउँदै आफ्नो भन्डारणको व्यवस्थापनलाई सुदृढ गर्दै र उच्चतम नाफाको लागि निरन्तर लागिरहेको छ र यो प्रतिबद्धताले उत्कृष्ट प्रतिफल हासिल गरिरहेको छ । कम्पनीले आफ्नो कुल आम्दानीको लगभग ३०५ नाफा एलजी ओएलईडीमार्फत प्राप्त गरिरहेको कम्पनीले जनाएको छ । २०२३ को अर्धवार्षिक अवधिमा भएको टिभीको सिपमेन्ट कुल ९ करोड २० लाख युनिट छ, जुन गत वर्षको पहिलो अर्धवार्षिक अवधिको कारोबारसँग तुलनात्मकरूपमा समान छ । एलजी जसले ओएलईडी टिभी सेगमेन्टमा केहि वर्षदेखि नेतृत्व गर्दै आएको छ, यस वर्षको अर्धवार्षिकसम्म मात्र एलजीले २० लाख युनिट बिक्रि गरेको छ जुन बाँकी अर्धवार्षिक अवधिको लागि पनि सकारात्मक रहनेछ । एलजी ओएलईडी टिभीले अर्धवार्षिक अवधिमा कुल नाफाको ९.३५ हासिल गरी विश्वव्यापी टिभी बजारमा आफ्नो पहिलो स्थान कायम राखेको छ । ओम्डियाले ओएलईडी टिभीले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न तथा २ लाखभन्दा बढी मूल्य पर्ने टिभी सेगमेन्टको ४३ प्रतिशतसम्म बजार ओगट्ने प्रक्षेपण गरेको कम्पनीले जनाएको छ । आफ्नो भिजनलाई दिगो तथा वातावरण मैत्री प्रविधिसँग एकबद्ध गरेको एलजीले ओएलईडी टिभीहरू विगत लामो समयदेखि नेपाली बजारमा पनि उपलब्ध गराइरहेको छ । ४२ इन्चदेखि ८३ इन्चसम्म उपलब्ध यी टिभीमा अहिले चलिरहेको क्रिकेट वर्ल्ड कपको मज्जा लिन उत्कृष्ट विकल्प रहेको कम्पनीको दाबी रहेको छ। नेपालभरि एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
विश्व बजारमा घट्दैछ ब्याज, नेपाली बैंकले पनि घटाउन थाले प्रिमियम
काठमाडौं । पछिल्लो एक/दुई वर्षदेखि सर्वसाधारण, उद्योगी व्यवसायी तथा सेयर बजारका लगानीकर्ताका लागि सबैभन्दा टाउको दुखाइको विषय बनिरहेको छ बैंकको ब्याज । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासपछि बैंकिङ प्रणालीमा तरलताको अभाव भयो र वित्तीय संस्थाले धमाधम ब्याज बढाउन थाले । सोही अवस्था नेपाली बैंकिङ क्षेत्रमा मात्रै होइन, विश्व बजारमा पनि देखा पर्यो । नेपाली बैंक तथा वित्तीय संस्थाहरूले बैंकमा तरलता अभावको खाडल पुर्न बचतका विभिन्न स्कीमहरू सार्वजनिक गरे । बैंकमा पैसा जम्मा गर्दा २० गुणासम्म फिर्ता पाइने महत्वाकांक्षी स्कीमहरू नेपाली बैंकहरूले ल्याए । त्यसले बैंकिङ प्रणलीमा एक किसिमको सहज अवस्था सिर्जना भएपनि उद्योगी व्यवसायीले भने नयाँ व्यवसाय सुरू गर्न तथा व्यवसाय विस्तार गर्नका लागि ऋण पाउन सकस भोग्नु पर्यो । पाए पनि महँगो ब्याज तिर्नु पर्ने बाध्यता अहिलेसम्म पनि छ । परिणामस्वरूप नेपाली उद्योगी व्यवसायीले बैंकको ब्याजदरको विरोधमा सडकमा उत्रिनेदेखि शक्ति केन्द्रमा धाउनेसम्मका गतिविधिहरू गर्न भ्याए । अहिले पनि त्यो शिलशिला कायमै छ । सार्वजनिक मञ्चहरूबाट बैंकरको आलोचना गर्ने व्यवसायीहरूको संख्या पनि कम छैन । तर, खुला बजारले निर्धारण गर्ने ब्याजदरलाई न बैंकरले चाहेर घटाउन/बढाउन सक्थे नत शक्ति केन्द्रले दिएको निर्देशनका आधारमा घटबढ हुन सक्थ्यो । त्यसको एउटा उदाहरण हो, अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीको दोहोरी । गत शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको संस्थाको १५औं स्थापना दिवसमा प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री डा. महतले सबै बैंकरले ब्याज घटाएर आफुलाई सहयोग गरेपनि बैंकर्स संघका अध्यक्ष समेत रहेका एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले भने ब्याज बढाएर असहयोग गरेको टिप्पणी गरे । उनले कार्यक्रममा भने, ‘यो अवस्थामा नाफाभन्दा पनि सबैले एक अर्कालाई सहयोग गरेर अगाडि बढ्ने हो, बैंकले पनि ब्याज कम गरेर सहयोग गर्नु पर्छ, यो महिना धेरै बैंकले ब्याज घटाए पनि । तर, बैंकर्स संघकै अध्यक्षज्यूले ब्याज बढाउनु भयो ।’ अर्थमन्त्रीको सो टिप्पणीपछि पंक्तिकारले तिनै बैंकर्स संघका अध्यक्ष केसीसँग तपाईंले बैंकको ब्याज बढाएर अर्थमन्त्रीलाई असहयोग गर्नु भएको हो ? भन्ने प्रश्न गरे । उनले जवाफमा भने, ‘यसलाई असयोगका रूपमा लिनु हुँदैन, खुला अर्थतन्त्रमा ब्याज घटबढ हुन्छ नै, पैसा चाहेको बैंकले ब्याज बढाउँछन् नचाहेकोले घटाउँछन्, हामीले पहिले घटाएका थियौं, यो महिना बढायौैं, यसलाई अन्यथा लिनु हुँदैन, ब्याजदर अझै घट्न सक्छ ।’ विश्व बजारमा घट्ने ट्रेण्डमा छ ब्याज पछिल्लो एक वर्षको अवधिमा विश्वका विभिन्न देशको बैंकको ब्याज घट्ने अवस्थामा देखिन्छ । विभिन्न देशका केन्द्रिय बैंकले लिएको नीतिका आधारमा त्यहाँको ब्याजदर निर्धारण भइरहेको छ । कतिपय देशमा मौद्रिक नीतिको कडाइले ब्याज घट्न सकिरहेको छैन भने कतिपय देशमा नियमित ब्याजदर घटिरहेको छ । छिमेकी देश चीन र भारतमा पनि ब्याजदर घट्दो अवस्थामा छ । एक वर्षअघि ३.६५ प्रतिशत रहेको चीनको ब्याज अक्टुबरमा ३.४५ प्रतिशतमा झरेको छ । लामो समयसम्म ३.६५ प्रतिशत रहेको चीनको ब्याज अहिले ३.५५ प्रतिशत हुँदै ३.४५ मा झरेको छ । अब चीनमा बैंकको ब्याजदर घट्दै जाने संकेत देखिएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा परिचित चीनको केन्द्रीय बैंकले आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरूप ब्याजदर घटाउने नीति अघि सारेको हो । यस्तै, छिमेकी देश भारतको ब्याज पनि विगत एक वर्षदेखि स्थीर छ । सन् २०२२ को डिसेम्बरमा औसत ५.९ प्रतिशत ब्याजदर रहेको भारतीय बैंकको त्यसपछि ६.३ र विगत केही महिनायता ६.५ प्रतिशत कायम भएको छ । यो एक वर्षको अवधिमा भारतीय बैंकहरूको ब्याजदर औसत ६.५ प्रतिशत छ । भारतको केन्द्रिय बैंकले पनि ब्याज बढाउने नीति लिएको छैन । भारतीय सञ्चार माध्यमले पनि अब बैंकको ब्याज घट्दै जाने समाचार सम्प्रेषण गरिरहेका छन् । यस्तै, विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकाले पनि ब्याजदर स्थीर राख्ने प्रयास गरिरहेको छ । एक वर्षको अवधिमा अमेरिकमा एक प्रतिशत बिन्दु ब्याजदर मात्रै परिवर्तन भएको देखिन्छ । नोभेम्बरमा अमेरिकाको ब्याजदर औसत ५.५ प्रतिशत कायम छ । यस्तै, जापानले पनि ब्याज स्थीर राख्ने प्रयत्न गरिरहेको छ । एक वर्षको अवधिमा जापानको ब्याजदर -०.१ प्रतिशतमै स्थीर छ भने पाकिस्तानी बैंकहरूको ब्याज पनि पछिल्लो चार महिनादेखि परिवर्तन भएको छैन । पाकिस्तानको ब्याजदर औसत २२ प्रतिशतमै रोकिएको छ । एक वर्षअघि ६.९२ प्रतिशत रहेको भुटानको ब्याजदर हाल ६.८५ प्रतिशत र अष्ट्रेलियाको पछिल्लो पाँच महिनामा ४.१ प्रतिशतको हारहारीमा छ । यी बैंकले पनि ब्याज घटाउने नीति अघि सारेका छन् । यस्तै, विश्वमै बढी ब्याजदर हुने देशमध्येको अर्जेन्टिनामा भने ब्याज बढिरहेको देखिन्छ । एक वर्षअघि औसत ७५ प्रतिशत ब्याज रहेको अर्जेन्टिनामा अक्टुबरसम्म १३० प्रतिशतसम्म पुगेको छ । यस्तै, यूकेको ब्याजदर ५.३ प्रतिशत कायम छ भने युक्रेनको २० प्रतिशत छ । युक्रेनमा पनि ब्याजदर घटिरहेको तथ्यांकले देखाउँछ । भेनेजुएलामा एक वर्षअघि ५९ प्रतिशत रहेको बचतको ब्याज हाल ५५ प्रतिशतमा झरेको छ भने जिम्बाबे एक वर्षअघि २०० प्रतिशत रहेको ब्याज अक्टुबरसम्म १४० प्रतिशतमा झरेको छ । विश्वका अधिकांश देशहरूलाई कोरोना भाइरसले ठूलो समस्या सिर्जना गरेपछि अर्थतन्त्रमा नकारात्मक असर परेको छ भने कोरोनापछिको रूस–युक्रेनको युद्घले पनि अर्थतन्त्रमा धक्का लाग्यो । त्यसले पनि विभिन्न देशको मुद्रास्फीति र कर्जाको ब्याजदर बढ्दै गयो । तर, पछिल्लो केही महिनायता भने बैंकको ब्याजदर घट्दै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारी पनि ब्याज घट्न सक्नेमा आशावादी देखिन्छन् । उनले पनि पछिल्लो समय अर्थतन्त्र केही सुधारको दिशामा गएको धारणा व्यक्त गरे । विश्व बजारमा पनि केही सुधारका संकेतहरू देखिन थालेका छन्, नेपाली बैंकमा पनि अहिले तरलता प्रयाप्त छ, रेमिट्यान्स बढ्दै गइरहेको छ, यसले अन्य सूचकमा सकारात्मक प्रभाव पार्छ, हामी नकारात्मक अवस्थामा छैनौं, विस्तारै सुधार हुँदै जाँदा बैंकको ब्याज पनि घट्दै जान सक्छ,’ उनले भने । यस्तै, उनले अर्थतन्त्र चलायमान बनाउनका लागि नयाँ तथा ठूला परियोजनाको निर्माणमा जुट्नु पर्ने धारणा राखे । ‘नयाँ परियोजनाहरू बढाउने र भएका परियोजनामा रकम परिचालन गरियो भने आर्थिक चलायमान हुन्छ, त्यसमा बैंकको लगानी पनि बढ्छ,’ गभर्नर अधिकारीले भने । उनका अनुसार अहिले नेपाली बैंकिङ क्षेत्रमा अहिलेको चुनौति भनेको ऋण र एसेटको गुणस्तरको हो । बैंकको खराब कर्जाले एक किसिमको चुनौति देखिएपनि विश्व बजारको तुलनामा नेपाली बैंकको खराब कर्जा सामान्य नै भएको उनको तर्क छ । । नेपाली बैंकले घटाउन थाले प्रिमियम विश्व बजारमा बैंकको ब्याज घट्ने ट्रेण्ड सुरू भएसँगै नेपाली बैंकमा पनि ब्याज घट्ने संकेत देखिएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष केसीले पनि अब बैंकको ब्याज घट्ने धारणा राखेका छन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका केसीले अब बैंकको ब्याज घट्दै जाने बताएका हुन् । ‘बैंकहरुको रिकभरी नहुँदा खराब कर्जा बढेको छ, गत वर्ष ७ अर्ब मात्रै प्रोभिजन गरेकोमा यस वर्ष १६ अर्ब गर्नु परेको छ, बैंकहरुले व्यवसाय पनि विस्तार गर्न सकेका छैनन्, विश्वव्यापी रूपमा बढेको उच्च ब्याजदर, बिजनेसमा देखिएको सुस्तता लगायत कारणले बैंकको बिजनेसमा पनि प्रभाव परेको हो, त्यसैले ब्याज बढेको हो, अब ब्याज घट्दै जान्छ, बैंकहरूले प्रिमियम पनि घटाउन थालिसके,’ उनले भने । उनका अनुसार बैंकको बचतको ब्याज घटेसँगै ऋणको पनि घट्छ । यस्तै, हिमालयन बैंकका सीईओ अशोक राणाले पनि बैंकको ब्याजदर घट्दै जाने बताए । यसअघि नियामकको नीतिले ब्याजदरमा प्रभाव पारेको भएपनि आगामी दिनमा ब्याज घट्दै जाने तर्क उनको छ । ‘अब ब्याजदर घट्ने देखिन्छ, यसअघि नियामकको नीतिले ब्याजदर केही माथि गएको थियो, आगामी दिनमा घट्न सक्ने हाम्रो अनुमान छ, अब बैंकहरूले सम्पूर्ण ध्यान ऋण असुलीमा दिन जरूरी छ,’ उनले भने । गत एक वर्षको तुलनामा नेपाली बैंकको औसत ब्याज १ प्रतिशत बिन्दुले घटेको छ । एक वर्षअघि औसत ८.५ प्रतिशत रहेको बैंकको ब्याज हाल ७.५ प्रतिशत छ । यो एक वर्षको अवधिमा ६ महिना ८.५ प्रतिशत कायम भएको ब्याज ६ महिनादेखि औसत ७.५ प्रतिशत हारहारी छ । ‘अर्थतन्त्र सुधारको गतिमा छ’ अर्थमन्त्री डा. प्रकाश शरण महत अर्थतन्त्र सुधारको गतिमा रहेको धारणा राख्छन् । उनले यसअघि बैंकको उच्च ब्याजदरको कारण उद्योगी व्यवसायीहरूले केही समस्याहरू भोग्नु परे पनि अहिले अहिले अर्थतन्त्र सुधारको दिशामा रहेको धारणा राखेका हुन् । ‘आर्थिक गतिविधि चलायमान हुन थालेका छन्, बजारमा आफुखुसी ब्याज निर्धारण गर्ने प्रविति छ, त्यसलाई हामीले ठाउँमा लाउनु पर्छ, आर्थिक गतिविधि र विकास निर्माणले अर्थतन्त्र चलायमान गर्न सहयोग पुग्छ, राजश्व पनि गर्त वर्षको तुलनामा बढ्ने क्रममा छ, सबैमा आत्मविश्वास आवश्यक छ,’ उनले भने । उनले विश्वव्यापी रूपमा नै समस्या रहेको सुनाउँदै त्यसको केही असर नेपालमा पनि परेको तर्क गरे । उनले बैंक तथा वित्तीय संस्थालाई ब्याज घटाउन आग्रह गरेपनि नटरेको गुनासो गरे । अब भने अर्थतन्त्रले विस्तारै लय समात्ने उनको विश्वास छ ।
स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन् : मन्त्री बस्नेत
पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा उनले आफू स्वास्थ्यमन्त्री भएर आएपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको प्रयासबारे जानकारी गराउँदै धेरै सुधारमा काम गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए। ‘१६ वर्षदेखि स्वास्थ्य क्षेत्रका रणनीति पास हुनसकेका थिएनन् । म आएपछि ती सबै पास गरेर काम गर्ने वातावरण बनाएको छु । अहिले एउटा पनि बाँकी छैनन्’, मन्त्री बस्नेतले भने, ‘सुआहारा परियोजनाले स्वस्थ जीवनशैलीको कुरा गर्छ । हामीले अरुलाई स्वास्थ बनाउन आफू स्वस्थ्य रहनुपर्छ । एउटा मान्छे स्वास्थ नहुँदा परिवारका साथै समाजलाई पनि असर पर्छ । हामीले राम्रो कामको सुरुवात आफैँबाट गर्ने हो ।’ उनले बाल मृत्युदर घटाउन स्वस्थ्य क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको धारणा राख्दै बच्चालाई कुपोषणबाट बचाउन गर्भदेखि नै हेरचाह गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले समाजको तल्लो तह, दुर्गम बस्तीसम्म गएर गरेको सुआहारा कार्यक्रम परियोजनाका कार्यक्रमले सकरात्मक सन्देश दिइरहेको तर्क गरे । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको तथ्याङ्कमा ३३ हजार कर्मचारी भए पनि व्यवहारिक काममा २७/२८ हजार मात्रै रहेको जनाउँदै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको बताए । जनताको सेवामा स्थापित स्थानीय पालिकाका स्वास्थ्य संस्थालाई आवश्यकपर्ने स्वास्थ्य उपकरण मन्त्रालयले प्राथमिकता दिएर उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ थियो । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहले सुआहारा परियोजना स्वास्थ्य क्षेत्रको एक सफल कार्यक्रम भएको बताए । यो परियोजनाले तीन सय ८० भन्दाबढी स्थानीय तहका नागरिकको घरदैलोमा पुगेर जनस्वास्थ्यको विषयमा सचेत गराउन सकेको बताउँदै उनले सरकार र नागरिकलाई जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे । स्वास्थ्य सेवा विभागकी महानिर्देशक सङ्गीता कौशल मिश्रले सुआहारा कार्यक्रमले महिला स्वास्थ स्वयंसेविकामा सकरात्मक प्रभाव पारेको भन्दै नेपालको स्वास्थ्य प्रणालीमा सुधार ल्याएको बताइन् । राष्ट्रिय योजना आयोगका सामाजिक विकास महाशाखा सहसचिव डा किरण रुपाखेतीले कार्यक्रम नेपालको स्वास्थ्य क्षेत्रलगायतका क्षेत्रमा काम गर्ने एक भरपर्दो साझेदार भएको बताए। सन् २००६ देखि सुरु भएको यो परियोजनाको दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको बताउँदै उनले तेस्रो बहुपक्षीय पोषण कार्यक्रम परियोजनाको ड्राफ्ट गरेर मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइएको जानकारी दिए । रासस
पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोड बढी सहयोग
काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा चार करोड १३ लाख ९८ हजार नौ सय ८८ रुपैयाँ सङ्कलन भएको रकम जम्मा गरेको हो । मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । सहयोग रकम जम्मा गर्नेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण एक करोड, नेपाल वायुसेवा निगम पच्चीस लाख, पर्यटन बोर्ड ५० लाख, पशुपति क्षेत्र विकास कोष २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घ एकतीस लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर एघार लाख एघार हजार एक सय ११, कैलाश हेलिकप्टर दश लाख रुपैयाँ रहेका छन् । त्यस्तै क्यासिनो मोजाङ पाँच लाख, क्यासिनो मोजाङ नेपालगञ्ज पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौं पाँच लाख, क्यासिनो वेलिज काठमाडौं पाँच लाख, क्यासिनो प्राइड काठमाडौं पाँच लाख, क्यासिनो प्यालेस काठमाडौ पाँच लाख, क्यासिनो प्यालेस झापाले पाँच लाख रुपैयाँ पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् ।