देउराली सहकारीका निक्षेपकर्तालाई जाहेरी दिन अनुरोध
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन अनुरोध गरेको छ । प्रहरीले उजुरी दिनका लागि भोलिसम्मको समयसीमा तोकेको छ । केही पीडित उजुरी लिएर आएका र उनीहरुको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेको भए जाहेरी दिन बचतकर्तासमक्ष अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार उक्त सहकारीबाट अहिलेसम्म झण्डै ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ । जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उनले बताए । निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी दरखास्त पेश भएको उनले बताए । उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी व्यूरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो । उनले भोलि कात्तिक २४ गतेभित्र सम्पर्कमा आई जाहेरी दिन पनि सिआइपीले अनुरोध गरेको बताए। सिआइबीका प्रहरी उपरीक्षक अधिकारीले भने, ‘ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका सेवा केन्द्रमा निक्षेपकर्ता सदस्यले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिउपर प्रमाणसहित ब्यूरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध छ ।’
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
एजेन्सी । यूरोपको जलवायु अनुगमनकारी संस्थाले सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष भएको बताउँदै गत महिना विश्वकै सबैभन्दा तातो अक्टोबर भएको जनाएको छ । असाधारण सीमाले तापक्रम अघिल्लो औसतभन्दा माथि उक्लँदै गर्दा, वैज्ञानिकहरूले ग्रहमा तातो हरितगृह ग्याँस प्रदूषण रोक्न विश्वका नेताहरूमाथि यस महिना संयुक्त राष्ट्र सङ्घको कोप २८ जलवायु सम्मेलनका लागि दुबईमा भेट्ने तयारी गरिरहेका बेला कहिल्यै पनि त्यति दबाबका लागि आवश्यक नभएको बताएका छन् । यूरोपेली सङ्घ (ईयू)को ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)’ का अनुसार अक्टोबर महिनामा अमेरिका र मेक्सिकोका केही भागमा खडेरी परेको थियो भने पृथ्वीको ठूलो भूभाग सामान्य अवस्थाभन्दा बढी ओसिलो देखिएको थियो । आँधीलाई अधिक क्रूर र विनाशकारी बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वव्यापी तापक्रम वृद्धिद्वारा प्रेरित एक घटना समुद्री सतहको तापक्रम यस महिनाको लागि अहिलेसम्मकै उच्च रेकर्ड गरिएको छ । ‘अक्टोबर २०२३ मा असाधारण तापमानको विसङ्गति देखिएको छ, जसले यस पहिलेको चार महिनाको विश्वव्यापी तापमान रेकर्डलाई मेटाएको छ’, सी ३ एसका उपनिर्देशक सामन्था बर्गेसले भने, ‘सन् २०२३ रेकर्डमा सबैभन्दा न्यानो वर्ष हुनेछ, र हाल यो पूर्वऔद्योगिक औसतभन्दा १।४३ डिग्री सेल्सियस बढी छ ।’ कोप २८ मा जाने महत्वाकांक्षी जलवायु कार्यको लागि तात्कालिकताको भावना कहिल्यै उच्च भएको छैन । सन् २०१५ को ऐतिहासिक पेरिस सम्झौतामा करिब २०० देशले औद्योगिक युगभन्दा अघिदेखि नै विश्वव्यापी तापमान वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा कममा सीमित राख्ने र सम्भवतः सुरक्षित १।५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएका थिए । यी तापमान सीमाहरू एक वर्षको सट्टा धेरै दशकहरूमा औसतको रूपमा मापन गरिनेछ । यस वर्ष पनि एक तापमान वृद्धिका कारण ‘एल निनो’ मौसम घटनाको सुरुवात भएको छ, जसले दक्षिणी प्रशान्तमा पानीलाई न्यानो पार्छ र बाहिर तातो मौसमलाई बढावा दिन्छ । वैज्ञानिकहरूले सन् २०२३ को अन्त्यमा र अर्को वर्ष यसको सबैभन्दा नराम्रो असर महसुस हुने अनुमान गरेका छन् । कोपर्निकसका अनुसार औद्योगिक युगभन्दा अघिको उक्त महिनाको औसतभन्दा अक्टोबर १.७ डिग्री सेल्सियस बढी तातो थियो । सन् १८५० देखि सन् १९०० सम्मको औद्योगिक औसतभन्दा १.४३ डिग्री सेल्सियस बढी सन् १९४० को जनवरीयताको विश्वव्यापी औसत तापक्रम मापन गरिएको छ । यी आधिकारिक रेकर्डहरू बाहेक, जलवायु अझ पछाडि जाने अनुमानित तथ्याङ्क अध्ययनपछि सार्वजनिक भउका वैज्ञानिकहरूले बताएका छन् । यस वर्ष देखिएको तापमान मानव इतिहासमा अभूतपूर्व हुन सक्छ, सम्भवतः एक लाख वर्षभन्दा बढीमा सबैभन्दा तातो हुन सक्छ । ध्रुवीय क्षेत्रहरू बाहेक गत महिनाको महिनाको लागि औसत समुद्री सतह तापमान २०.७९ डिग्री सेल्सियस सम्म पुगेको बताइएको छ । वैज्ञानिकहरूका अनुसार औद्योगिक युगको सुरुवातदेखि नै मानव गतिविधिबाट उत्पन्न हुने अतिरिक्त तापको ९० प्रतिशत महासागरले सोसेको छ ।
महसुल नतिर्नेको विद्युत् लाइन काटियो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ । कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताए । उनीहरुबाट १ करोड ३७ लाख रुपैयाँ बक्यौता रकम असुली गरिएको छ । उनले भने, “प्राधिकरणले ६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियानअन्तर्गत बक्यौता रकम असुली गरिएको हो ।” ३ हजार ४ सय बढी सेवाग्राहीको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ । अभियान सुरु भएसँगै एक हजार पाँच सय सेवाग्राहीले लाइन काट्नुभन्दा अघि नै बक्यौता तिरेको श्रेष्ठले जानकारी दिए । अभियानअन्तर्गत लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घटेको छ । अहिले बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या नौ सय ८१ मा झरेको प्रमुख श्रेष्ठले बताए । मिटर रिडिङ्को समयले ४० दिनसम्म पनि विद्युत् महसुल नबुझाउँदा थप २५ प्रतिशत दस्तुर लाग्ने उनले जानकारी दिए । प्रमुख श्रेष्ठले भने, “मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाइन्छ ।” सुरुआती दिनमा धेरै रकम बक्यौता भएका सेवाग्राहीको लाइन काटिएको भए पनि विस्तारै बक्यौता नतिर्ने सबैको लाइन काटिने कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले बताए । उनले “लाइन काट्ने अभिायनलाई तीव्र बनाइँदै लगिने छ ।” लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाउने उनले बताए । तिहारपछि लाइन काट्ने प्रक्रियालाई अझै तीव्ररुपमा अघि बढाउने प्रमुख श्रेष्ठले जानकारी दिए ।उनले
विजय लघुवित्तबाट एकैपटक १० जना संस्थापक बाहिरिँदै
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाका १० जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । संस्थाका १० जना सेयरधनीहरुले कूल कित्ता ९३ हजार २७२ कित्ता सेयर बेच्न लागेका हुन् । लघुवित्तका संस्थापक किरण विष्टको नाममा रहेको ८ हजार ७०४ कित्ता, माधब प्रसाद अधिकारीको १० हजार २८८ कित्ता, नरेश ढकालको १० हजार ८३२ कित्ता, बद्री कुमार घिमिरेको १२ हजार कित्ता र तारा पति खरेलको ९ सय कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, हैदर अली मोमिनको ६ हजार कित्ता, लक्ष्मी प्रसाद अर्यालको ३ हजार ६४४ कित्ता, दुर्गा प्रसाद उप्रेतीको १८ हजार ३७५ कित्ता, शिव प्रसाद पाण्डेको ८ हजार २८८ कित्ता र डम्मर बहादुर कुवरको १४ हजार २४१ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थाको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय धुलिखेल काभ्रेमा सम्पर्क गर्नु पर्नेछ ।
प्रभु क्यापिटलले प्रतिकित्ता ११० रुपैयाँमा संस्थापक सेयर बेच्दै
काठमाडौं । प्रभु क्यापिटलले संस्थापक सेयर बिक्री गर्ने भएको छ । क्यापिटलले संस्थापक समूहतर्फको साढे १८ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । क्यापिटलका अनुसार आज कात्तिक २३ गतेदेखि संस्थापक समूहतर्फको १८ हजार ७५८ कित्ता सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । इन्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले मंसिर २७ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।
लेकसाइड २४ घण्टा खुला गर्न दिन उच्च अदालतको आदेश
पोखरा महानगरपालिका वडा नं २२ अन्दुडाँडा तथा विश्व शान्ति स्तुपाबाट देखिएको फेवातालको सुन्दर दृश्य । तस्वीरः जमुना वर्ष शर्मा, रासस काठमाडौं । उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टानै खुला गर्न दिन अल्पकालीन आदेश दिएको छ । उच्चका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो । यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिएका थिए । बरालले दिएको रिट निवेदनउपरमा बहसपछि अदालतले अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि कानुनविपरीतको कार्य भएको अवस्थामा बाहेक कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न इजलासबाट आदेश भएको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । अर्यालका अनुसार निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीका नाममा अन्तरिम आदेश गरिएको हो । अदालतले निवेदन मागअनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले १५ दिनभित्र विपक्षीका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत, लिखित जवाफ पेस गर्न विपक्षीलाई आग्रह गरेको छ । रिटमा निवदेकले गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको दाबी थियो । यसअघि रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता त्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले पक्षमा बहस गरेका थिए ।
बागमती प्रदेशले २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने
काठमाडौं । बागमती प्रदेश सरकारले सन् २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने भएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले बताए । बैठकले सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने, प्रदेशका केही उपसचिवलाई प्रदेश सचिवमा (अधिकृतस्तर एघारौँ तह) बढुवा गरी नियुक्ति र पदस्थापन गर्ने, प्रदेश प्रमुखको कार्यालय सवलीकरण गर्ने, उपसभामुखको अष्ट्रेलिया भ्रमणका लागि मनोनयन गरी सरकारी प्रवेशाज्ञाका लागि सिफारिस गर्ने र पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तामन्त्री श्रेष्ठले जानकारी दिए ।
एमएडब्ल्युको थापाथली सोरुमबाट गाडी हरायो
काठमाडौं । एम.ए.डब्ल्यु इण्टरप्राइजेज प्रा.लि.को सोरुमबाट सवारी साधन हराएको छ । एम.ए.डब्ल्यु इण्टरप्राइजेजको काठमाडौंको थापाथलीस्थित सोरुममा राखेको बा.प्र.०१–०२५–१०६६ नम्बरको सेतो रङको स्कोडा गाडी हराएको कम्पनीले जनाएको छ । हालसम्म उक्त सवारी फेला नपरेको हुँदा फेलापार्ने ब्यक्तिले नजिकैकको प्रहरी कार्यालय वा एम.ए.डब्ल्यु इण्टरप्राइजेजमा सम्पर्क गर्न अनुरोध गरेको छ । कम्पनीका अनुसार उक्त सवारी वि.सं. २०७८ मंसिर १५ गते बिहान हराएको हो । कम्पनी स्रोतका अनुसार उक्त गाडी २ वर्ष अगाडि हराएको भएपनि बीमा दावी प्रयोजनका लागि सूचना जारी गरिएको हो ।