सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा २० प्रतिशत छुट
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २,००० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २,५०० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिनेछ । यो योजना कार्तिक २५ देखि २०८० मंसिर ६ गतेसम्म १२ दिनका लागि लागू हुने बैंकले जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
इन्डोनेसियामा ७.१ म्याग्निच्युडको भूकम्प
इन्डोनेसिया । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । एसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गरएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे छ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो । इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भूभौगर्भिक एजेन्सी (बिएमकेजी) का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो । ‘भूकम्प अत्यन्त तीव्र थियो तर यहाँका मानिस आत्तिएका थिएनन्, हामी भूकम्पको सामना गर्न अभ्यस्त भइसकेका छौँ’, सौमलाकी निवासी ल्याम्बर्ट टाटाङले एएफपीलाई भने, ‘विशेषगरेर सुनामीको कुनै खतरा छैन भन्ने थाहा भएपछि जनजीवन सामान्य भएको छ ।’ प्रशान्त क्षेत्रको ‘रिङ अफ फायर’ मा रहेका कारण इन्डोनेसियाले लगातार भूकम्पको अनुभव गर्दछ । जापानदेखि दक्षिणपूर्वी एसिया र प्रशान्त बेसिनसम्म फैलिएको ‘रिङ अफ फायर’ तीव्र भूकम्पीय गतिविधिको चाप हो । गत वर्ष नोभेम्बरमा मुलुकको मुख्य टापु जाभाको घना जनसङ्ख्या भएको पश्चिमी जाभा प्रान्तमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्पमा छ सय दुई जनाको मृत्यु भएको थियो । सन् २००४ मा सुमात्राको तटमा गएको नौ दशमलव एक म्याग्निुच्युडको भूकम्पका कारण आएको सुनामीमा उक्त सम्पूर्ण क्षेत्रमा इन्डोनेसियाका मात्रै एक लाख ७० हजारसहित दुई लाख २० हजार मानिसको मृत्यु भएको थियो । रासस
महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख सहयोग रकम प्रदान गरेको हो । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । महालक्ष्मी विकास बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थ मन्त्री प्रकाश शरण महतलाई उक्त रकम बाराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावितका लागि ५० लाख सहयोग गर्ने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग गर्ने भएको छ । बैंकले शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भुकम्प प्रभावित क्षेत्रमा पचास लाख रुपैयाँ सहयोग गर्ने भएको हो । आज बसेको बैंकको संचालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा जम्मा गर्ने बताएको छ ।
नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकममा भने गिरावट
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । मंगलबार ११.२२ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ५.१७ अंकले बढेर १८६३.९४ बिन्दुमा पुगेर बन्द भएको छ । आज १२४ कम्पनीको सेयर मूल्य बढ्यो भने ९३ कम्पनीको सेयर मूल्य घट्न पुग्यो । त्यस्तै, २२ कम्पनीको सेयर मूल्य घटबढ भएन । मंगलबारको तुलनामा आज कारोबार रकममा भने कमी आएको छ । आज ३१ लाख ५७ हजार ६२ कित्ता सेयर ७८ करोड २७ लाख ४३ हजार २ सय ६४ रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाको सेयर ८.७ प्रतिशत तथा पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर ७.४० प्रतिशतले बढेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैकको सेयर ६.३८ प्रतिशतले घटेको छ ।
भूकम्पपीडितको गुनासो : त्रिपाल पनि पाएका छैनौँ
त्रिवेणी । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्कुलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुमकापश्चिममा ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्याएको छ । भूकम्पबाट रुकुमपश्चिममा पनि ठूलै मानवीय क्षति भयो । हजारौं घरहरुमा पूर्ण रुपमा क्षति पुग्यो । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१३ भल्माका ४१ वर्षीया हरिबहादुर ओलीको घर नि बस्नै नमिल्ने गरी भूकम्पले पूर्णरुपमा क्षति गर्यो । उनको घरमा क्षति गर्नुका साथै परिवारका चार सदस्य घाइते भएका छन् । घाइते हुनेमा हरिबहादुरसहित उनकी श्रीमती र दुई छोरा छन् । भूकम्पले भत्काएको घरमा आफूसहित पूरै परिवार पुरिएको हरिबहादुरले सुनाए । ‘मरिन्छ कि भन्ने लागेको थियो धन्न बाचियो । स्थानीयवासीले रातिनै उद्धार नगरेको भए मेरो सबै परिवार सकिने थियो । स्थानीयवासीले तत्काल पुरिएको घरबाट निकाले अनि बाँच्न सफल भइयो’, उनले भने । उपचारका लागि चारै जनालाई नगर अस्पताल राडी पुर्याएको थियो । अस्पतालमा दुई दिनसम्मको उपचार गरेपछि डिस्चार्ज भएको ओलीले बताए । ‘राहतको नाममा त्रिपाल आयो । एउटा घरमै त्रिपाल थियो । अहिले राहतको असमा त्रिपाल मुनी बसिरहेका छौँ । चिसो बढेकाले रात कटाउन निकै मुस्किल भइरहेको छ’, ओलीले भने, ‘अन्य कुनै राहत सामग्री अहिलेसम्म पाएका छैनौँ । राहतको पर्खामै छौँ । पालिकामा धेरै सामग्री आएको छ भन्ने सुन्छु । हामीले त त्रिपाल बाहेक केही आएका छैनौँ ।’ घर नजिकै पसल भएकाले उदारोमा चामल, दाल, तेल, नून लिएर खाइरहेको उनले बताए । ‘राहत वितरण गरेको तीन दिन भइसक्यो केही अत्तोपत्तो छैन । अहिले पनि भूकम्पको त्रास गरेको छ । शुक्रबार एक्कासि भूकम्प आयो केही थाहा भएन’, ओलीले भने, ‘सुरुमा कसैले बम हानेको होकी जस्तो लाग्यो । पछि घर पुरिएर चेपिएपछि थाहा भयो, भूकम्प आएको रहेछ ।’ वडामै नौ जनाको मृत्यु भएको हुँदा आफ्नो घर पूर्णरूपमा क्षति भए पनि परिवार बाँच्न सफल भएकोमा खुसी लागेको उनले सुनाए । वडा नं १३ मा मात्रै चार सय तीस घर पूर्णरुपमा क्षति भएका वडा कार्यालयले जनाएको मा छ । एक सय सत्र घर आंशिक क्षति भएको र ५५ घर सामान्य क्षति भएको वडा सचिव चक्रबहादुर डिसीले जानकारी दिए । उनकाअनुसार पूर्णरुपमा क्षति भएका घरपरिवारका लागि त्रिपाल मात्रै आएको र अन्य खाद्यान्न सामग्री आइनसकेको छ । ‘आंशिक क्षति भएकाले भने त्रिपालसमेत पाएका छैनन् । पालिकाबाट राहत सामग्री आएपछि वितरण गर्ने छौँ’, डिसीले भने । उनका अनुसार मृतकका परिवारले २५ हजार किरिया खर्चसहित खाद्यान्न सामग्री पाइसकेका छन् । राहत वितरणको काम भइरहे पनि सबै ठाउँमा राहत वितरण गर्न नसकिएको नगर प्रमुख रवि केसीले स्वीकार गरे ।भूकम्पमा परी रुकुम पश्चिमका ५२ जनाको मृत्यु भएको थियो भने भौतिक संरचना पनि ठूलो क्षति पुगेको छ । रासस
‘चितवनमा चिनीको अभाव छैन’
चितवन । तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरुमा अनुगमन गरेको छ । गृहमन्त्रालयको परिपत्र अनुसार कार्यालयले बजारमा रहेका ठूला व्यवसायीको गोदाममा अनुगमन गरेको हो । कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कार्यालयले जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढमा रहेका १४ गोदामको अनुगमन गरेको छ । अनुगमनका क्रममा बजारमा चिनीको अभाव नरहेको पाइएको उनले बताए । ‘अन्य जिल्लामा जस्तो यहाँ चिनीको अभाव छैन’, शर्माले भने, ‘बजारमा खाद्य वस्तुमा लेबल र उत्पादन मितिसँगै बिक्री मूल्यसमेत टाँसी सामान बिक्रीका लागि राखिएको छ ।’ उहाँका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष बजारमा सुधार आएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले बजारमा रहेका ठूला गोदामको अनुगमन गरेको थियो । जिल्लामा आवश्यक पर्ने चिनी रहेको भेटिएकाले अहिले खासै समस्या नहुने किराना व्यवसायी सङ्घ चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए । उनले भने, ‘पहिलाको जस्तो खपत नहुने अनुमान गरेका छौँ । अहिलेसम्म त्यस्तो समस्या आएको छैन ।’ पसलेले सङ्घले तोकेको मूल्यमा बिक्री गरिरहेका पौडेलले जानकारी दिए । दशैंको समयमा जिल्लामा चिनीको केही अभाव भए पनि दसैँपछि बिस्तारै सहज हुँदै गएको उनले बताए। तिहारमा बढी मात्रामा मिठाई बनाइने हुँदा चिनीको खपत बढी हुने गर्दछ । रासस
कृषि गणना २०७८ : बागमती प्रदेशमा कृषिबाटै खान नपुग्ने परिवार ५६ प्रतिशत
काठमाडौं । बागतमी प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार यस प्रदेशमा ५५ दशमलव नौ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो । कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने प्रदेशमा ४४ दशमलव एक प्रतिशत मात्र छन् । नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए । बागमतीमा ७२ दशमलव छ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । हालै सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पावरट्रिलर प्रयोग गर्नेको सङ्ख्यामा बृद्धि भएको छ । चौध दशमलव आठ प्रतिशत फलामे हलो, ३० दशमलव आठ प्रतिशत ट्याक्टर र १६ दशमलव सात प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताए । तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा बृद्धि भए पनि सरदर दुईपटक मात्र बाली लगाएको देखिन्छ । यस प्रदेशमा १५ लाख ७० हजारभन्दा बढी घरपरिवार रहेकामा छ लाख ६८ हजार १७७ कृषक परिवार रहेको र दुई लाख ८२ हजार २९२ हेक्टर जमिन कृषिमा प्रयोग भएको उनले जानकारी दिए । नेपालमा सरदर एक दशमलव ९१ प्रतिशत बाली सघनता रहे पनि प्रदेशमा भने दुई प्रतिशत अर्थात् दुई पटकसम्म बाली लगाएको पाइएको निर्देशक कार्कीले जानकारी दिए । उनका अनुसार प्रदेशमा बगैँचाको रुपमा आँप ५३२ हेक्टरमा, केरा एक हजार १२० हेक्टरमा, सुन्तला ६८८ हेक्टरमा, कागती ४६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको छ । त्यस्तै प्रदेशमा गाई भैसी पालन घट्दो छ । २०६८ को गणनादेखि नै यसको क्रम घट्दो देखिन्छ । गाईगोरु र राँगाभैसीभन्दा खसीबाख्रा, सुङ्गुर र बङ्गुर पाल्नेको सङ्ख्या भने धेरै बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा उत्पादन गरिएको वस्तु सबै घरायसी उपभोग गर्ने ६६ दशमलव चार प्रतिशत कृषक छन् भने केही वस्तु बिक्री गर्ने २५ प्रतिशत, केही घरायसीका लागि राखी सबै बिक्री गर्ने सात दशमलव चार प्रतिशत र सबै वस्तु बिक्री गर्ने शुन्य दशमलव नौ प्रतिशत रहेका छन् । युवाहरू विदेशिने भएका कारण पनि नेपालमा पछिल्लो समय कृषिमा महिलाको सङख्या बढ्दो छ । विगत तीन दशकदेखीको नतिजा हेर्दा अहिले महिला कृषकको सङख्या बृद्धिभएको निर्देशक कार्कीले बताए । नेपालमा ३२ दशमलव चार प्रतिशत महिला कृषक छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रुपमा महिला ३७ दशमलव दुई प्रतिशत र पुरुष ६५ दशमलव आठ प्रतिशत रहेका छन् । विसं२०५८ को गणनामा महिला आठ दशमलव एक प्रतिशत र पुरुष ९१ दशमलव नौ प्रतिशत कृषक थिए । किसानको मुख्य चिन्ता भने समयमै मल, बिउ उपलब्ध नहुनुमा छ । कृषिगणनामा सहभागीमध्ये ५७ प्रतिशतले समयमै मल, बिउ उपलब्ध भए उत्पादन बढाउन सकिने बताए । त्यस्तै ४८ प्रतिशतले सिँचाईको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यका लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवं आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल सुधार र उन्नत बिउबिजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शुुन्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ । रासस