विकासन्युज

बिवाइडी गाडी बिक्रेता साइमेक्स इन्कद्वारा भूकम्पपीडितलाई ११ लाख रुपैयाँ सहयोग

काठमाडौैं । बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले भूकम्पपीडितलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमार्फत् भूकम्पपीडितलाई राहत र पुनर्निर्माण लागि साइमेक्स इंकले उक्त रकम सहयाेग गरेकाे हाे। गत शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षति भएको छ ।

कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गरेका छन् । बुधबार काठमाडौं आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगण्य रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी भइसकेको बताए । ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी मुख्य चार क्षेत्रहरूमा लगानी साझेदारी बढाउन सकिने ढकालको भनाइ छ। यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यहि क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई विनविनको अवस्था सृजना हुने अध्यक्ष ढकालले उल्लेख गरे । नेपालमा ठूलो लगानीका ३ सय ५० भन्दा बढी कोरियाली उद्यमहरू भएकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइसकेको छ । यसरी बढ्दो साझेदारीलाई थप विस्तार गरी अत्याधुनिक कोरियाली प्रविधि र नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको मेल गराउने समय आएकोमा ढकालले जोड दिए । नेपालले विकासोन्मुख देशको रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न पनि कोरियासँगको साझेदारी महत्त्वपूर्ण रहने उनले बताए। कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने ढकालले बताए । केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै उनले त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउनु पर्ने बताए । औपचारिक र सहज बैंकिङ कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्ने उनले बताए । ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले निजी इक्विटी र नयाँ नयाँ उद्यममा यस्तो पुँजी परिचालनमा कोरियाले सघाउनु पर्ने बताए । कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरूमा पनि काम गर्नु पर्ने उनको भनाइ छ। त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपाल आउन, अवसर खोज्न र लगानीको सहज वातावरण बनाउन महासंघले सहयोग गर्न तत्पर रहेको प्रतिबद्ध रहेको पनि अध्यक्ष ढकालले जानकारी दिए ।  

एनआईएमबीको ‘एक खाता, एक विरुवा’ अन्तर्गत वृक्षारोपण सुरु

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सञ्चालन गरेको ‘एक खाता, एक विरुवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ । जसअनुसार बैंकले प्रत्येक एनआईएमबी ग्रीन फ्युचर सेभिङ अकान्उन्ट  खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ ।  बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा ५०० वटा विरुवा रोपी यस अभियानको सुरुवात गरेको हो । वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडाका जनप्रतिनिधीहरु, महिला स्वयंसेविकाहरु तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोश केसीलगायतको उपस्थिति थियो । खाताको मुख्य उद्देश्य ग्राहकवर्गहरुलाई भविष्यका लागि बचत गर्न प्रत्साहित गर्नुका साथसाथै वातावरण संरक्षणमा पनि योगदान पु¥याउनु रहेको बैंकले जनाएको छ ।

सेयरको माग बढाउन संस्थागत लगानीकर्ताको हस्तक्षेप आवश्यक

काठमाडौं । सेयर बजार ३२ सय अंक हुँदा बैंकिङ्क प्रणालीमा ४५/४६ खर्ब रुपैयाँ मात्रै निक्षेप थियो । अहिले बजारमा झण्डै ५९ खर्ब रुपैयाँ निक्षेप छ तर, सेयर बजार १८ सय अंकमा कारोबार भइरहेको छ । ३२ सय अंकमा हुँदा सेयर बजारमा दैनिक २० अर्ब बढीको कारोबार भइरहेको थियो । तर, पछिल्लो समय सेयर बजार घटेसँगै सेयर कारोबार रकम पनि दैनिक १ अर्ब रूपैयाँभन्दा कम भइरहेको छ । साथै, पछिल्लो समय आईपीओमा आवेदन दिने लगानीकर्ताको संख्या पनि उल्लेख्य रुपमा घटेको छ । कुनै समय २६ लाख लगानीकर्ताले एउटै कम्पनीको आईपीओमा आवेदन दिएका थिए । सो संख्या घटेर १०/१२ लाखमा झरेको छ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले धमाधम आईपीओ र हकप्रद सेयर निष्काशनको अनुमति दिएर सेयर सप्लाई मात्रै बढाएको आरोप लगानीकर्ताले लगाइरहेका छन् । साथै, अर्थतन्त्र नै समस्यामा परेका बेला लगानीकर्ताको मनोबल खस्किएको र कमजोर कम्पनीलाई समेत प्रिमियम मूल्यमा सेयर जारी गर्न दिँदा लगानीकर्तामा झनै निराशापन छाएको उनीहरूको भनाइ छ । लगानीकर्ताले बजारमा सप्लाई मात्रै बढेको भन्दै सेयर निष्काशन प्रक्रियालाई ढिला गरेर डिमाण्ड श्रृजना गर्नु पर्ने आवाज उठाउन थालेका छन् । प्रयाप्त तरलता हुँदा ब्याजदर घटिरहेको, लगानीयोग्य रकम हुनु, पर्यटकको संख्या बढ्नु, सूचना प्रविधिमा योगदान बढ्नु, उद्योग व्यवसायले गति लिनु, राजस्व संकलन बढ्दा पनि राज्यकाे नीतिगत व्यवस्थाले लगानीकर्तामा सकारात्मक प्रभाव परेको छैन । त्यसैले सेयर बजारमा डिमाण्ड सप्लाई बढाउन लगानीकर्ता मनोबल बढाउन जोड दिनुपर्ने लगानीकर्ताहरूले बताएका छन् । साथै, संस्थागत लगानीकर्ता, म्युचुअल फण्ड, प्राइभेट इक्विटी भेञ्चर क्यापिटल र बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेयर बजारमा लगानी गर्न दिनु्पर्ने उनीहरूको भनाइ छ । लगानीकर्ता तुलसीराम ढकाल नीतिगत व्यवस्था सहज नहुँदासम्म डिमाण्ड बढ्न नसक्ने बताउँछन् । पुँजी बजार तहसनहस पार्ने गरी राज्यका संयन्त्रहरुले नीतिगत व्यवस्था गर्दा बजारमा माग बढाउन कठिन रहेको उनकाे आरोप छ । प्रोफेसनल लगानीकर्ता र संस्थागत लगानीकर्तालाई प्रहार गरेर पुँजी बजारलाई ध्वस्त पार्न खोजेको आरोप उनले लगाए । ‘२०७८ भाद्र ८ गते सार्वजनिक गरेको मौद्रिक नीति पुँजी बजार सिध्याउन ल्याइएको थियो, जस्तो तत्कालीन समयमा ४/१२ कराेडको नीति ल्याइयो, साथै सेयर लगानीकर्तालाई कर्जाको जोखिमभार १ सय प्रतिशतबाट १५० प्रतिशत पुर्याइयो,’ उनले भने, ‘राज्यले लगानीकर्तालाई दोस्रो दर्जाको नागरिक जस्तै ब्यबहार गर्याे, हाम्रो सम्पत्तिलाई खोस्टो बनाउन खोज्यो, ‘प्रोफेसनल लगानीकर्तालाई बाहिर राखेर पुँजी बजारको विकास गर्छु भन्नु दिवा सपना मात्रै हो, त्यसैले लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्याे, हाम्रो सम्पत्ति राखेर कर्जा लिन पाउनु पर्छ ।’ सेयर कर्जा ब्यक्तिलाई १५ करोड र संस्थालाई २० करोड पुर्याउँदा राष्ट्र बैंकका गभर्नरले दक्षिणा बाँडे जस्तै गरेको गुनासो गरे । लगानीकर्ताले पनि कर तिर्ने भएकाले सेयर कर्जाको सीमालाई खुला छोड्नु पर्ने र जोखिम भार १ सय प्रतिशतमै झार्नु पर्ने उनको भनाइ छ । पुँजी बजारमा डिमाण्ड सिर्जना गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई पनि सेयर खरिद बिक्री गर्न दिनु पर्ने उनले बताए । साथै, म्युचुअल फण्ड र संस्थागत लगानीकर्तालाई सक्रिय गराउनु पर्ने उनको भनाइ छ । ‘बैंकलाई सेयर खरिद बिक्री गर्न बन्देज लगाउँदा माग नै घट्यो, निश्चित सीमाभित्र रहेर बैंकलाई पनि सेयर कारोबार गर्न दिनु पर्छ, म्युचुअल फण्ड लगायत संस्थागत लगानीकर्तालाई पुँजी बजारमा सक्रिय बनाउनु पर्छ,’ उनले भने । पुँजी बजारलाई नजिकबाट बुझेको र अध्ययन गर्न सक्ने ब्यक्तिले लगानी गर्ने भएकाले ठूला लगानीकर्तालाई भित्र्याउनु पर्ने लगानीकर्ता ढकाल बताउँछन् । साथै, घर-घरमा ब्रोकर कम्पनीको लाइसेन्स दिएपनि बजार बढ्न नसक्ने उनको भनाइ छ । ‘ठूला लगानीकर्तालाई सिध्याएर साना लगानीकर्ता भित्र्याउँछु भनेर राज्य लागेको छ, अब धितोपत्र बोर्डले नयाँ ब्रोकरको लाइसेन्स घर-घरमा दिएपनि केही हुने वाला छैन, किनभने लगानीकर्ताको मनोबल बढाउन नसकेपछि बजार पनि कमजोर बन्छ,’ उनले भने । साथै, राज्यका नीति कम्तिमा ५ वर्षसम्म स्थीर रहनु पर्ने उनको भनाइ छ । एक मर्चेन्ट बैंकरका अनुसार बजारमा माग बढाउन बैंक, बीमा कम्पनी, सरकारी संस्था, ब्रोकर कम्पनीको नीतिगत व्यवस्था सहज हुनु पर्छ । साथै, फण्ड भएका कम्पनी तथा संस्थासँग छलफल गरी बजारमा लगानी गर्न प्रोत्साहित गर्नु पर्ने उनको भनाइ छ । ‘सेयर बजार अनुत्पादक क्षेत्र हो, यसलाई खत्तम नै पार्नु पर्छ भन्ने मनोविज्ञानले पुँजी बजारको विकास हुँदैन, नीतिगत व्यवस्था सहजीकरण गरेर पनि कोही आउनेवाला छैन,’ उनले भने, ‘संकटको बेला नियामक, अर्थमन्त्रालय र सरकारले छलफल गरेर लगानीकर्ताको मनोबल बढाउनु पर्छ । बजारमा सेयर सप्लाई बढि भयो भन्दैमा सेयर निष्काशन प्रक्रिया रोक्नु भनेको अन्तर्घात नै हुने उनको भनाइ छ । सेयर निष्काशन प्रक्रिया रोक्नुभन्दा प्राइस मूल्याङ्कन वैज्ञानिक गर्नु पर्नेमा उनले जोड दिए । ‘प्रिमियम, बुक बिल्डिङ्गमा आउने आईपीओको सेयर मूल्यमा कडाइ गर्न सकिन्छ तर, आईपीओ, हकप्रद निष्काशन रोक्नु अन्तर्घाती विषय हो, बजार बन्द गर्नु पर्छ भने जस्तै हो,’ उनले भने, ‘बजारको मुख्य उद्देश्य भनेको पुँजी परिचालन गर्नु हो, कम्पनीहरुले पुँजी परिचालन गर्न नै नपाएपछि बजारको आवश्यक नै छैन ।’ ब्रोकर व्यवसायी सन्तोष मैनाली बजारमा उत्साह जगायो भने माग बढ्ने बताउँछन् । उनका अनुसार क्षमता भएका संस्थालाई लगानीमा गरेको कडाइ खुकुलो बनाउनु पर्छ । गैरआवासीय नेपालीलाई तत्काल बजारमा लगानी गर्न अनुमति दिँदा बजारमा माग बढ्ने उनको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्था, सरकारी स्वामित्व रहेका नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोषलगायत संस्थालाई पोर्टफोलियोको निश्चित प्रतिशत सेयरमा लगानी गर्नु पर्छ भनेर नीतिगत व्यवस्था गर्नु पर्छ,’ उनले भने, ‘वर्षाैंदेखि एनआरएनएलाई पुँजी बजारमा भित्र्याउने भनेपनि अहिलेसम्म ल्याउन सकिएको छैन, उनीहरुलाई ल्याउँदा डिमाण्ड सिर्जना हुन सक्छ ।’ अर्थतन्त्र सुस्ताएको बेला लगानीकर्तामा उत्साह जगाउन नीतिगत व्यवस्था परिवर्तन गर्नु पर्ने उनको भनाइ छ । बजेटबाट समाधान हुने भएपनि सरकारले पुँजीगत लाभकरलाई सहज बनाउनु पर्ने उनको माग छ । अर्थतन्त्र सुस्ताएको बेला नयाँ ब्रोकर कम्पनीको पनि केही सीप नचलेको उनले बताए । ‘समग्र अर्थतन्त्र सुस्ताएको छ, लगानीकर्ताहरू सेयर बिक्री गरेर अन्य क्षेत्रतर्फ डाइभर्ट भएको देखिन्छ, लगानीकर्ताहरू निष्क्रिय र ठूलो संख्यामा संस्थापकहरूले सेयर बिक्री गरेर पलायन भइरहेका छन्, नयाँ ब्रोकरको पहल पुगेन,’ उनले भने । साथै, प्रिमियममा आईपीओ निष्काशन गर्दा नियामकले मूल्याङ्कन नगरी अनुमति दिँदा लगानीकर्ताको मनोबल पनि घटेको उनको बुझाइ छ । एक ब्रोकर व्यवसायीका अनुसार पुँजी बजारमा डिमाण्डभन्दा पहिला लगानीकर्ताहरूको मनोबल बढाउन जरूरी छ । लगानीकर्ताहरूमा अर्थतन्त्र राम्रो छ भन्ने कन्फिडेन्स हुने बित्तीकै बजार अटोमेटिक बढ्ने उनको बुझाइ छ । साथै, सेयर बजारलाई सन्तुलन कायम गर्न संस्थागत लगानीकर्ताको हस्तक्षेप आवश्यक रहेको उनले बताए । ‘संस्थागत लगानीकर्ताको अभावले बजार बढेपछि बढेको बढ्यै र घटेपछि घटेको घट्यै भइरहेको छ, यदि संस्थागत लगानीकर्ताको बाहुल्यता भयो भने बजारलाई सन्तुलनमा राख्छन्, संस्थागत लगानीकर्तासँग लगानी हुन्छ, उनीहरुले योजना बनाएका हुन्छन्, कम्पनीको अध्ययन विश्लेषण गरेका हुन्छन्,’ उनले भने, ‘कुन कम्पनीको सेयर खरिद गर्ने वा बिक्री गर्ने, कुनै कम्पनीको सेयर अण्डरप्राइस वा ओभरप्राइस छ भनेर अध्ययन गरेका हुन्छन् ।’ संस्थागत लगानीकर्ताको अभावका कारण बजार अहिले ठूलो अंकले घटेको उनको भनाइ छ ।

भूकम्पपीडितले अझै पाएनन् त्रिपाल

जाजरकोट । गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किए । उनी निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन् । अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै उनी आएकी छन् । उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्या देखिएको छ । खुल्ला सडकभन्दा माथि त्रासले जान नसकेकी थापाकी १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बोल्ने गरेको रमिताले बताइन् । भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् । सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन् । राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरू हैरानीमा परेको उनको भनाइ छ। खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत, माग्दामाग्दा हैरान भएपछि हाम्रो कोही रहन्छ जनाउँदै निराश भए । त्यस्तै, अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरे । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुन: एक थान त्रिपाल पाएको उनले बताए । सुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताए । घर पूर्ण रुपमा भत्किएर समस्यमा परेको उनको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ। समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए । बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उनले। घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ । बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ । कुन पालिकामा कति क्षति भेरी नगरपालिकामा तीन सय ४४ घर पूर्णरुपमा भत्किएका छन् भने आंशिक सात सय १२, दुईवटा विद्यालय पूर्ण रुपमा भत्किएको र १७ वटा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै भेरी नगरपालिकामा पाँचवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । मृत्युको सङ्ख्या ३६ रहेको छ भने घाइते ६५ रहेको छ। नलगाड नगरपालिकामा दुई सय घर पूर्णरुपमा क्षति भएको र ६ सय घर आंशिक भत्किएका छन् । विद्यालय १२ पूर्ण रुपमा भत्किएका छन्भने आंशिक रुपमा २१ वटामा क्षति पुगेको छ । ६ वटा सरकारी कार्यालयमा क्षति भएको छ। मृत्यु हुनेको सङ्ख्या ५२ रहेको छ । ७३ जना घाइते भएका छन् । छेडागाडमा एक सय घरमा पूर्ण क्षति भएको र आंशिक रुपमा पाँच सयमा क्षति भएको छ । तीन विद्यालयमा आंशिक क्षति भएको पाइएको छ। मृत्यु दुईजनाको भएको छभने घाइते एकजना भएको बताएको छ। कुशे गाउँपालिकामा ९५ घर पूर्णरुपमा क्षति भएको छभने तीन सय एकवटा आंशिक रुपमा क्षति पुगेको छ । चारवटा विद्यालय पूर्णरुपमा भत्किएका छन्भने १७ वटा आंशिक रुपमा क्षति भएको पाइएको छ । सरकारी कार्यालय एकवटा पूर्णरुपमा भत्किएको छभने १७ आंशिक रुपमा क्षति पुगेको छ । दुईजनाको मृत्यु र एकजना घाइते भएको कुशेमा पाइएको छ । प्रहरीका अनुसार १६० घरहरू पूर्ण रुपमा बारेकोटमा भत्किएका छन्भने पाँच सय ६० घर आंशिकरुपमा क्षति पुगेको छ । पाँचवटा विद्यालय पूर्णरुपमा भत्किएका छन्भने दुईवटा आंशिकरुपमा भत्किएको पाइएको छ । एक सरकारी कार्यालय पूर्ण रुपमा भत्किएको र दुई कार्यालय आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ । चारजनाको मृत्यु तथा चारजना घाइते भएका छन् । शिवालय गाउँपालिकामा एक घर पूर्णरुपमा भत्किएको र ३७ वटा घर आंशिक क्षति भएको छ । पाँचवटा विद्यालयमा आंशिक क्षति पुगेको छ । एक सरकारी कार्यालयमा क्षति पुगेको बताएको छ । एकजना घाइते भएका छन् । जुनिचाँदे गाउँपालिकामा दुई सय ७० घर पूर्ण रुपमा भत्किएको र चार हजार ५६ घरमा आंशिक क्षति भएको छ। जाजरकोटमा एक हजार एक सय ७० घर पूर्णरुपमा क्षति भएको पाइएको छ । सात हजार एक सय ६६ वटा घर आंशिक रुपमा क्षति भएको पाइएको छ । २३ विद्यालयको पूर्ण क्षति र ७५ आंशिक क्षति भएको जानकारी आएको छ। एक सय एक जनाको मृत्यु भएको छ । एक सय ५२ घाइते भएको प्रहरीले जनाएको छ । रासस

इमर्जिङ्ग नेपालले घोषणा गर्याे लाभांश

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशतका दरले ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी आठौँ वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

डिशहोमका ग्राहक बोहोराले जिते एक लाख

काठमाडौं । डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गत सिहंं बोहोराले एक लाख जितेका छन् । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आन सिहंं बोहोराले नगद एक लाख रुपैयाँ जितेका छन् । कात्तिक २० गते सोमबार भएको लक्की ड्र मार्फत बोहोराले नगद एक लाख रुपैयाँ जितेका हुन् । डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ । सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सिमित अवधिको लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।