विकासन्युज

ग्लोबल आइएमई बैंकका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरुले नेपालभरका पस मेसिनमा एक हजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबारमा ३०० रुपैयाँ अथवा  ५ वटा कारोबारमा ५०० रुपैयाँ क्यासब्याक पाउनेछन् । पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म रहेको बैंकले जनाएको छ । यसैगरि बैंकको मोबाइल बैंकिङ्ग ए्याप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड ‘तिहार’ लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

भारतमा टेस्ला कारकाे व्यापार सुरु गर्ने एलन मस्कको घोषणा

एजेन्सी । संसारकै सबैभन्दा धनी तथा टेस्ला इंकका मालिक ए लन मस्कले छिट्टै भारतमा आफ्नो व्यापार सुरु गर्ने घोषणा गरेका छन् । टेस्लाका मालिक मस्कले अर्को हप्ता भारतीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेट गर्ने भएका छन् । यो भेट अमेरिकामा हुन सक्ने बताइएको छ । यस बैठकका माध्यमबाट यो सुनिश्चित गर्न सकिन्छ कि भारतमा टेस्लाको सञ्चालनलाई द्रुतरूपमा स्वीकृत गर्ने प्रयासहरू भइरहेका छन् । भारतीय वाणिज्यमन्त्री गोयल अर्को साता अमेरिका जाँदैछन् जहाँ उनले टेस्लाका मालिक मस्कलाई भेट्ने बताइएको छ । दक्षिण एसियाली बजार विश्वका कार निर्माताहरूका लागि आकर्षणको केन्द्र हो र मस्क जतिसक्दो चाँडो भारतमा टेस्ला कार बेच्न चाहन्छन्। गत जुनमा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आफू भारतमा ठूलो लगानी गर्न तयार रहेको बताएका थिए । मस्क र गोयलबीचको हुने छलफलमा भारतमा टेस्लाको २४ हजार डलर मूल्यका कार उत्पादन गर्न सकिने कारखाना खोल्ने योजनाबारे कुराकानी हुने बताइएको छ । मस्क अब भारतीय कम्पनीहरूबाट टेस्ला कारका लागि अधिक कम्पोनेन्ट किन्न तयार छन् र देशभरि चार्जिङ स्टेसन स्थापना गर्न कोसिस गर्दैछन् । यस विषयमा सरकारी तहका अधिकारीहरूले जानकारी दिएका छन् । बैठकमा भारत सरकारको नयाँ विद्युतीय सवारी नीतिबारे पनि छलफल हुनेछ । भारत सरकारले विश्वका विद्युतीय कार कम्पनीहरूलाई पूर्णरूपमा निर्मित कार भारतमा १५ प्रतिशतको संशोधित भन्सार शुल्कमा आयात गर्न अनुमति दिन सक्ने छ । अहिले भारतमा पूर्णरूपमा निर्मित विद्युतीय कार आयात गर्दा सतप्रतिशत महसुल तिर्नुपर्छ । भारत सरकार यस मामिलामा कार निर्माताहरूलाई राहत दिने मूडमा छ । अमेरिकी कार निर्माता कम्पनी टेस्लाले भारतमा कारखाना खोल्ने तयारी गरे पनि पूर्णविद्युतीय सवारीसाधन आयातमा उच्च करका कारण अहिलेसम्म काम सुरु गर्न सकेको छैन । गत सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले नयाँ विद्युतीय सवारी नीतिका सम्बन्धमा धेरै मन्त्रालयका अधिकारीहरूसँग कुराकानी गरेको थियो ।

पढ्दै कमाउँदै : फुलखेतीमा रमाउँदै नमोबुद्धका विद्यार्थी

काठमाडौं । नमोबुद्ध नगरपालिकामा रहेको जनक माध्यामिक विद्यालय प्रवेश गर्ने वित्तिकै मनमोहक दृष्य देख्न पाईन्छ । ढकमक फुलेका रङ्गीविरङ्गी सयपत्री फुलको सुन्दरताले विद्यालयको गरिमालाई उचाईमा पुराएको छ । विद्यालय भवन वरपरका खाली जमिन बगैंचा बनाईएको छ । जसले खाली जमिनको सदुपयोगिता मात्र हैन विद्यालयको सुन्दरतालाई बढाएको छ । विगतका बर्षहरूमा वनमारा, कूरो र विभिन्न झारहरूले ढाकेको ठाँउहरूमा यो बर्ष ढकमक सयपत्री फक्रिएको छ । जनक माविमा अध्ययनरत कक्षा ८ देखि कक्षा १२ सम्मका १५ जना विद्यार्थीहरु फुलखेतीमा संलगन रहेको विद्यालयले जनाएको छ । विद्यालय परिसरको २ रोपनी क्षेत्रमा सयपत्री फूल रोपेका हुन । सयपत्रीका बिरुवा खरिदका लागि करिब ३० हजार रुपैयाँ विद्यालयले लगानी गरेको छ भने संघीय सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । विद्यालयका परिसरमा रोपिएकका करिब १५ सय वोट फूलहरु विक्रीका लागि तयारी छन् । घटस्थापनादेखि नै विद्यालय बन्द भएपनि विद्यार्थीहरुले फूलबारीको रेखदेखमा व्यस्त छन् । उनीहरुले दैनिक बिहान र साँझ एक एक घण्टाको समय फुलको रेखदेखका लागि छुट्याएका छन् । नमोबुद्ध नगरपालिका वडा नं ४, मेथिनकोटमा रहेको जनक माविका शिक्षक र विद्यार्थीले पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा रहेको खाली जग्गामा फूलखेती गरेका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनक माविमा २०७८ चैत्रदेखि ‘पढ्दै कमाउदै कार्यक्रम’ लागू गरिएको छ। विद्यालयले फूलखेतीलाई आम्दानीको स्रोत मात्र नभई व्यवहारिक र सैद्धान्तिक ज्ञान प्राप्तिको अवसर रूपमा लिएको छ । तिहारलाई लक्षित गरी उत्पादीत सयपत्री फूल बिक्री गर्न थालिएको विद्यालयले जनाएको छ । तिहारको अवसरमा आवश्यक फुल खरीद गरी विद्यार्थीहरुमा हौसला थपिदिनका लागि विद्यालयले स्थानीयरुलाई अनुरोध गरेको छ । फुलखेती राम्रोसंग फस्टाएपछि कमाइ पनि राम्रै हुने अपेक्षा विद्यार्थीहरुले गरेका छन् । तिहारको अवसरमा फूल बिक्रि गरी करिब १ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेका छन् । फुल बिक्रिबाट संकलित रकमबाट विद्यार्थीहरुले मुस्ताङ घुम्न जाने योजना बनाएका छन् ।

अल न्यू २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक

काठमाडौं । अल न्यू २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गरेको छ । टीभीएस मोटर कम्पनीले नेपाली बजारमा सर्वाधिक शक्तिशाली फ्युल ईन्जेक्टेड १५९.७ सीसी ईन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टीभीएस स्मार्टकनेक्ट र ग्लाइड थ्रो प्रविधि लगायत विशेषता सुसज्जित स्पोर्ट्स मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गरेको छ । नेपाली बजारमा सार्वजनिक यस नयाँ संस्करणमा हरेक मौसम र बाटोको अवस्थालाई विशेष ध्यानमा राखि राइड मोड्सका साथै रेस ईनेबल्ड कनेक्टिभिटीका लागि टीभीएस स्मार्टएक्सकनेक्टको सुविधा समेत उपलब्ध गरिएको छ । टीभीएस आपाचे आरटीआर नेपाली बजारमै सर्वाधिक सफल मोटरसाइकल ब्राण्डका रुपमा रहेको छ । नयाँ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईले टीभीएसको परिधिभन्दा माथि उठेर आफ्ना उपभोक्तालाई तिनका आवश्यकता अनुसार रेसिङ परफरमेन्स सुविधा सहित विशेषतह: दैनिक कार्यमा यात्रा गरिरहनुपर्ने जागिरे वर्गलाई ध्यानमा राखि नविन उत्पादन उपलब्ध गराउने प्रतिबद्धता प्रदर्शित गरेको छ । बजारमा उपलब्ध श्रेणीकै सर्वाधिक शक्तिशाली मोटरसाइकलका रुपमा टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआईले ट्राफिक तथा हाइवेको यात्रामा समेत स्मूथ र आरामदायी यात्राको सुनिश्चितता दिने कम्पनीले जनाएकाे छ। सार्वजनिक नयाँ मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआइका बारेमा बोल्दै टीभीएस मोटर कम्पनीका कन्टिनेन्ट हेड, एम जे ठङगाराजनले भने ,’नेपाल हाम्रालागि एक प्रमुख बजारका रुपमा रहेको छ । हामीले विशेष प्राथमिकताका साथ दूई तथा तीन पाङ्ग्रेका रेञ्जहरु मार्फत उपभोक्तालाई निरन्तर खुशी प्रदान गर्दै आइरहेका छौँ । २०२४ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक गर्दै नेपाली राइडर्सका लागि वल्र्ड क्लास अफरिङ प्रदान गर्ने हाम्रो उद्देश्यमा थप एक नयाँ पाइला हो । परफरमेन्स मोटरसाइकलका पारखी नेपाली उपभोक्तालाई नयाँ मोटरसाइकलले थप सन्तुष्टि प्रदान गर्दै कम्पनी प्रतिको माया तथा विश्वास बढाउन सघाउनेमा हामी विश्वस्त छौँ ।’ टीभीएस आपाचे आरटीआर १६० भीफोर एफआई मोटरसाइकल आकर्षक रेस ग्राफिक्सका साथै नयाँ हेडल्याम्प्सका साथमा उपलब्ध गरिएका छन् । मोटरसाइकलमा ईन्जिनको जीवन अवधिभर हरेक ड्राइभिङ अवस्थामा रमाइलो यात्राको सुनिश्चितताका लागि रेस ट्युन्ड फ्य्ल ईन्जेक्शन आरटीएफआई प्रविधि जडान गरिएको छ । टीभीएस आपाचे सिरिजमा नयाँ क्रान्तिले समान शक्ति सञ्चारका साथै ईन्धन मित्ब्ययीता प्रदान गर्ने क्षमतमा राख्छ । त्यसैगरी सुदृढ ईञ्जिनले लामो आयुका साथै उत्सर्जन नियन्त्रण क्षमतापनि उपलब्ध गराउँछ । नयाँ मोटरसाइकलमा ब्युल्टइन फस्र्ट ईन सेग्मेन्ट जीटीटी प्रविधि, ग्लाइड थ्रो ट्राफिक जडान गरिएको छ । यसले भिड सहितको सडकमा कम गतिको राइडमा अत्यधिक स्मूथ, आरामदायी र नियन्त्तण सहितको राइड प्रदान गर्छ । सहरी सडकमा बढ्दो चापका कारण यो फिचर नेपाली उपभोक्ता माझ सान्दर्भिक हुनका साथै निकै लोकप्रिय हुने कम्पनीले जनाएकाे छ। साथै नयाँ मोटरसाइकलमा फेदर टप स्टार्ट, वेभ बाइट ईग्निशन कि र नयाँ एयरोडायनामिक क्ल मिरर्स लगायत रोमाञ्चक फिचर्सपनि उपलब्ध रहेका छन् । त्यसैगरी, नयाँ मोटरसाइकलमा थप हल्का तर सुदृढ कार्य क्षमता सहितको बुलपप् एक्जस्टपनि जडान गरिएको छ । यसमा जडिट अत्याधुनिक फ्युल ईन्जेक्शन प्रणाली मार्फत बाइकलले १७ दशमलव ५५ पीएसको शक्ति र १४ दशमलव ७३ एमएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्छ । श्रेणीमै पहिलो पटक उपलब्ध गरिएको थ्री राइड मोड (अर्बन, रेन र स्पोर्ट्स मोड) मार्फत राइडरले मौसमको अवस्था र बाटो हेरि अनुकुल ईन्जिन परफरमेन्स तथा एबीएस प्रतिक्रियाको छनोट गर्न सक्छन् । आरटीआर ओभरस्क्वायर ईन्जिनद्वारा सन्चारित टीभीएस आपाचे आरटीआर फाइभ स्पिड गियरबक्सका साथमा जडित १६० फोरभी एफआई फ्य्ल ईन्जेक्टेड १५९.७ सीसी सिंगल सिलिन्डर फोर भल्भ एसओएचसी आयल कुल्ड मोटरले १७.५५ पीएसको अधिकतम शक्ति ९हजार २ सय ५० आरपीएममा र १४.७३ एनएम पिक टर्क, ७ हजार २ सय ५० आरपीएममा उत्पादन गर्ने कम्पनीले जनाएकाे छ ।

नेप्सेमा माथिल्लो मैलुङ खोलाको आईपीओ सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १ करोड कित्ता सेयर कात्तिक १९ गते नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार कम्पनीको प्रतिकित्ता १ सय अंकित मूल्य दरका १ करोड कित्ता सेयर सूचीकरण भएको हो । धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको सूचीकरण शाखाकी सहायक प्रवन्धक सरिता पाण्डेयले जानकारी दिइन् । नेप्सेका अनुसार सर्वसाधारण समूहको ३० प्रतिशत अर्थात् ३० लाख कित्ता र संस्थापक समूहको ७० प्रतिशत अर्थात् ७० लाख कित्ता सेयर सूचीकृत भएको हो । दोस्रो बजारमा कम्पनीको सेयर एमएमकेजेएल संकेतबाट कारोबार हुनेछ । साथै नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९६.१४ रुपैयाँदेखि अधिकतम २८८.४२ रुपैयाँ तोकेको छ । सोही आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

व्यवसाय दोब्बर बनाएर सीआईटीबाट बाहिरिए नेपाल, को बन्दैछ लक्ष्मी सनराइज बैंकको अध्यक्ष ?

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)का कार्यकारी निर्देशक रमण नेपाल पाँच वर्षे कार्यकाल पुरा गरेर कात्तिक २४ गते शुक्रवारदेखि बाहिरिँदै छन् । वि.सं.२०७५ कात्तिक २५ गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोषको प्रमुखमा नियुक्त गरेका उनी आज कोषबाट बाहिरिँदै छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका कार्यकारी निर्देशक नेपाल सीआईटीमा ५ वर्षे कार्यकाल सफल भएको बताउँछन् । आफ्नै कार्यकालमा कोषको भवन निर्माणसम्पन्न गरी सेवा सञ्चालन गरेको उनको भनाइ छ । ९० करोडको लागतमा ६ रोपनी जग्गामा कोषले ७ तले अत्याधुनिक भवन निर्माण गरेको विषय उनी गर्वका साथ बताउँछन् । ‘नागरिक लगानी कोषको अत्याधुनिक सुविधा सम्पन्न भवन मेरै कार्यकालमा सम्पन्न भयो, अहिले सोही नयाँ भवनबाट सेवा दिइरहेका छौं,’ उनले भने । आफ्नो कार्यकालमा कोषका सेयरधनीहरुलाई वार्षिक औषत २५ प्रतिशत लाभांश वितरण गरेको उनको दावी छ । उनको कार्यकालमा कोषले औषत २२ प्रतिशत बोनस सेयर र २.८२ प्रतिशत नगद लाभांश वितरण गरेको तथ्याङ्कले देखाउँछ । कोषले आर्थिक वर्ष २०७४/७५ मा सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद गरी कूल २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६मा सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद गरी कुल २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७मा सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद गरी कूल १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी ३१.५८ लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९मा २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद गरी २६.३१ लाभांश वितरण गरेको थियो । साथै, आफू कायर्कारी निर्देशक भएपछि तीन वर्षदेखि हुन नसकेको लेखापरीक्षण र साधारणसभा सम्पन्न गरी निरन्तरता दिएको नेपाल बताउँछन् । ‘तीन वर्षदेखि लेखापरीक्षण र साधारणसभा सम्पन्न हुन सकेको थिएन, त्यो सम्पन्न गरेर नियमित गराएको छु, मेरो कार्यकालमा सेयरधनीहरुलाई वार्षिक औषत २५ प्रतिशत लाभांश वितरण गरेको छु, आगामी वर्ष पनि उच्च लाभांश दिन सक्ने गरी संस्थालाई अब्बल बनाएको छु,’ उनले भने । नेपाल कार्यकारी निर्देशक हुनुअघि कोषको चुक्ता पुँजी ९० करोड रुपैयाँ मात्रै थियो । बोनस सेयर वितरण र एकपटक हकप्रद सेयर जारी गरेको कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड रुपैयाँ पुर्याएको उनको भनाइ छ । साथै, कोषको जगेडा कोष २३ अर्ब ३८ करोड रुपैयाँको छ । साथै, ५ वर्षअघि कोषसँग १ खर्ब १४ अर्ब रुपैयाँ मात्रै निक्षेप थियो भने अहिले २ खर्ब ३२ अर्ब पुर्याएको उनले बताए । राष्ट्र सेवक कर्मचारीहरुको सावधिक बीमा शुल्क संकलन गरेर बीमा संस्थानलाई बुझाउने व्यवस्था गरेको उनले बताए । वार्षिक साढे ३ अर्ब रुपैयाँ बीमा संस्थानलाई बुझाउँदा पनि ५ वर्षमा दोब्बर बचत वृद्धि भएको उनको भनाइ छ । साथै, आफ्नो कार्यकालमा थप ३ वटा शाखा कार्यालय विस्तार गरेर कोषको सेवालाई सहज बनाएको उनले बताए । ‘कोषमा आईटी सिस्टम थिएन, तथ्याङ्कहरु पनि मिसम्याच हुन्थ्यो, अहिले कोषको आफ्नै आईटी सिस्टम छ, क्लाइन्टहरूले अनलाइनबाटै पैसा तिर्न सक्नुहुन्छ, भुक्तानीको लागि चेक काट्न छाडिसक्यौं, फाराम बुझाएको १५ मिनेटमा सिधैं बैंक खातामा जम्मा गरिदिन्छौं,’ उनले भने, ‘थप ३ वटा शाखा विस्तार गरेर ५ वटा शाखा सञ्चालन भइरहेका छन् ।’ सेयर बजारसँग सम्बन्धित कारोबार गर्न कोषले सहायक कम्पनीको रूपमा नागरिक स्टक डिलर सञ्चालनमा ल्याएको उनले बताए । दीर्घकालमा कम्पनीले राम्रो पिकअप लिने गरी काम गरिरहेको कार्यकारी निर्देशक नेपाल बताउँछन् । ‘सेयर बजार सम्बन्धि कार्य गर्न सहायक कम्पनीका रुपमा नागरिक स्टक डिलर सञ्चालनमा ल्यायौं, ५ अर्ब पुँजी छ, यसले ब्रोकरेज सेवा पनि दिइरहेको छ, यस कम्पनीले अहिले पनि राम्रो काम गरिरहेको छ,’ उनले भने । साथै, नागरिक पेन्सन योजना कार्यक्रम ल्याई निरन्तर चलिरहेको उनले बताए । नागरिक लगानी कोषलाई सिस्टममा चलेको संस्थाका रुपमा उभ्याएको उनको दावी छ । आफ्नो कार्यकालमा नयाँ आयोजनामा लगानी गर्न नसकिए पनि प्रतिवद्धता भने गरेको उनले बताए । ‘पुराना आयोजना तामाकोशी, जनक शिक्षा सामाग्रीमा लगानी नियमित छ । तर, नेपाल वायु सेवा निगम (वाइडबडि)मा भने लगानी नियमित छैन,’ उनले भने, ‘नयाँ आयोजनामा लगानी गर्न नसकिए पनि लगानी गर्ने प्रतिवद्धता गरेका छौं, नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने माथिल्लो अरुण लगायतका परियोजनामा लगानी गर्ने भनेर प्रतिवद्धता जनाएका छौं ।’ चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ । साथै, कोषले १२ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश भएका नेपाललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सीआईटीको प्रमुख जिम्मेवारी दिएका थिए । राष्ट्र बैंकमा नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव भएका नेपालको स्थायी घर मोरङको बुढीगंगा गाउँपालिकामा हो । को बन्छ लक्ष्मी सनराइज बैंकको अध्यक्ष ? लक्ष्मी सनराइज बैंकमा नागरिक लगानी कोषको पनि सेयर लगानी छ । कोषको प्रतिनिधित्व गर्दै नेपाल लक्ष्मी सनराइज बैंकको अध्यक्ष बनेका छन् । तर, कोषबाट उनी बाहिरिएपछि लक्ष्मी सनराइज बैंकको अध्यक्ष को बन्ला भन्ने विषयलाई चासोका साथ हेरिएको छ । आफू कोषको प्रतिनिधित्व गर्दै अध्यक्ष बनेको हुँदा स्वतः बैंकको अध्यक्ष पदबाट हट्ने कार्यकारी निर्देशक नेपालले बताए । तर, बैंकलाई पुर्याएको योगदानका आधारमा सञ्चालकहरूले बोलाएमा आगामी वार्षिक साधारणसभाबाट आफू अध्यक्ष बन्न तयार रहेको उनको भनाइ छ । ‘कोषको प्रतिनिधित्व गर्दै बैंकको अध्यक्ष बनेको हुँ, कोषबाट बाहिरिने बित्तिकै अध्यक्षबाट स्वतः हट्छु,’ उनले भने । साविक लक्ष्मी बैंकमा कोषको ९ प्रतिशत लगानी थियो । तर, सनराइज बैंकसँग मर्जर भएपछि उक्त स्वामित्व ४ प्रतिशतमा झरेको छ । सो आधारमा कोषले बैंकमा सञ्चालक पद पनि नपाउने देखिन्छ । यदि अन्य लगानीकर्ताहरुसँग समन्वय गरेर १५ प्रतिशत पुर्यायो भने मात्रै कोषले एउटा सञ्चालक पद पाउन सक्ने सम्भावना छ । यस्तै, लक्ष्मी सनराइज बैंकका सञ्चालक मनिष थापा अहिले कायम भएका सञ्चालकमध्येबाट सनियिर व्यक्ति निमित्त अध्यक्षको रूपमा काम गर्ने बताए । ‘तत्काल हाल भएका सञ्चालकहरू मध्ये सिनियर ब्यक्ति निमित्त अध्यक्ष बन्छन्, वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक बनेर अध्यक्ष पनि नयाँ चुन्ने छन्,’ थापाले भने । लक्ष्मी सरनराइ बैंकको अध्यक्ष बन्न साविक सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले दौडधुप गरेका थिए । तर, लक्ष्मी बैंकबाट कर्जा लिएका कारण उनी सञ्चालक समेत बन्न सकेनन् । यसपटक पनि अध्यक्ष नेपाल बाहिरिएपछि उनै दुगडको नाम चर्चामा छ । तर, उनले हालसम्म बैंकको कर्जा चुक्ता नगरेको र अध्यक्ष बन्न पनि चासो नराखेको स्रोतको भनाइ छ । ‘उहाँ पहिला एक समय अध्यक्ष बन्न खुब लाग्नु भयो । तर, अहिले उहाँको अध्यक्ष बन्ने इच्छा हटिसकेको छ,’ बैंक स्रोतले भन्यो ।

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाखको चेक हस्तान्तरण

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकहरुलाई ४० लाख ब्यालेन्स बराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको जनाएको छ । एनसेलले बिहीबार आफ्नो प्रतिबद्धता अनुरुप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत पुगेर   ५० लाखको चेक हस्तान्तरण गरेको हो । चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले कर्णाली प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री कृष्ण बहादुर बिसीलाई हस्तान्तरण गरेका थिए । ‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गदै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत, पुर्नस्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठुलो अर्थ राख्दछ’  मन्त्री बिसीले भने । कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरुमा आफ्नो तर्फबाट एनसेलले कसरी सहयोग पुर्याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरूसँग छलफल जारी राखेको जनाइएको छ । ‘यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी कामगर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं,’ एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले भने । यस सहयोगसँगै भुकम्पपीडितको सहयोगमा एनसेलको सहयोग भन्डै १ करोड पुगेको छ । विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति एनसेल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यस दुखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुको साथ रहेको कम्पनीले जनाएको छ ।

धौलागिरी लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक २२ गते बसेको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।