होण्डाको ‘दशैंमा दश लाख’ योजना छठ पर्वसम्म चल्ने
काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको ‘दशैंमा दश लाख’ योजना अब छठ पर्व सम्म उपलब्ध हुने भएको छ । ग्राहकहरूको उत्साहजनक सहभागिता रहेकोले कम्पनीले छठ पर्व सम्मको लागि योजनाको अवधि थप गरेको जनाएको छ । कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी र१० लाख नगद जित्न सक्ने छन् । यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले १०,००० रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्ने वा १२,५०० रूपैयाँ बराबरको ५ वर्षै एएमसी प्याकेज पाउन सक्ने कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘१ फाइनान्स योजना’ मा पनि यो ‘दशैंमा दश लाख’ योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रूपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ । कम्पनीका अनुसार यस उपहार योजना अन्तर्गत स्क्र्याच कुपन मार्फत जितिने भनिएको अधिकतम उपहार दस लाख भने हाल सम्म पनि जितिएको छैन । हाल सम्मका सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिँदै कम्पनीले, ‘होण्डा दशैँमा दस लाख’ योजना मार्फत अझै पनि जित्ने सम्भावना रहेको प्रथम पुरस्कार दस लाखको भाग्यशाली विजेता चाँडै नै प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
गाजाको सबैभन्दा ठूलो अस्पतालमा इजरायलद्वारा हमला, उपचाररत बिरामीहरुको निधन
काठमाडौं । इजरायलले बिमारीहरुले उपचार गर्ने गाजाको सबैभन्दा ठूलो ‘अल सिफा अस्पताल’मा आक्रमण गरेको छ । शुक्रबार राति इजरायलले अस्पतालको भवनमा आक्रमण गरेको हो । हजारौं मानिसहरु रहेको अस्पतालमा गरिएको आक्रमणमा कति मानिसहरु मरेका छन् भन्ने बारेमा भने जानकारी बाहिर आएको छैन ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले दियो बीमा अभिकर्तालाई तालिम
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ बीमा अभिकर्तालाई तालिम दिएको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाका लागि तोकिएको तनहुँको देवघाट गाउँपालिकामा तालिम दिइएको हो । कार्यक्रममा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका अध्यक्ष तिलकबहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवरलगायतको उपस्थिति थियो । कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुका लागि कात्तिक २० देखि २२ सम्म तालिम दिइएको हो । तालिमपश्चात कम्पनीसँग आबद्ध भई कार्य गर्ने बीमा अभिकर्ताले कम्पनी र ग्राहकबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
तनहुँ जलविद्युत आयोजनाका सबस्टेशन निर्माण
तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ । सबस्टेशनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए । विद्युत् आपूर्तिमा सहज बनाउन सबस्टेशन निर्माण गरिएको हो । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएका हुन् । सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजनाले जिल्लामा विद्युतीकरणका लागि सबस्टेशन निर्माण गरेको उनले बताए । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको हो । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड भारतसँग २०७५ पुस १० गते भएको खरिद सम्झौता २०७५ फागुनमा कार्यान्वयनमा आएको थियो । चौतीस दशमलव सात किमी प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ६९ टावरको जग हालिएको छ भने ३३ टावर खडा गरिएका छन् । उक्त प्याकेजको समग्र निर्माणमा ६९ प्रतिशत प्रगति रहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले जानकारी दिए । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । रासस
अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो । कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९/८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए। ‘यस्तो प्रोत्साहनले समाजमा जातीय विभेद कम गर्न सहयोग पु¥याउँछ’, नगरप्रमुख भामले विश्वास व्यक्त गरे– ‘यस्तो कार्यक्रम देशका अन्य स्थानीय तहले पनि ल्याउन जरुरी छ ।’
हिमालयन एभरेष्टको नाफा १७.८८ प्रतिशत बढ्यो, ईपीएस कति छ ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१ को प्रथम त्रैमासमा ५ करोड ३४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५३ लाख ७४ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष १७.८८ प्रतिशत बढी नाफा गरेको हो । असोज मसान्तसम्म कम्पनीले ५४ करोड ७ लाख ४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड २५ लाख ५० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ३८ करोड २२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ४७ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्त पुँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा ५ करोड ४५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.३० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७.२५ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य अनुपात ५१.६४ गुणा रहेको छ ।
विद्युत् प्राधिकरणले माग्यो ४ सय जना कर्मचारी (सूचनासहित)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण विभिन्न पदका लागि झण्डै ४ सय जना कर्मचारी मागेको छ । प्राधिकरणले शुक्रबार सूचना प्रकाशन गर्दै सातै प्रदेशका लागि विभिन्न पदमा झण्डै ४ सय जना कर्मचारी मागेको हो । प्राधिकरणका अनुसार दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो । प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ । ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो । प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन भर्नका लागि प्राधिकरणको वेभसाइटमा गएर अनलाइन फाराम भर्नु पर्नेछ ।
आइएमई लाईफको नाफामा ७६ प्रतिशत छलाङ, ईपीएस १३ रुपैयाँ
काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासमा १३ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३९ लाख ९६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष ७६ प्रतिशत बढी नाफा गरेको हो । असोज मसान्तसम्म कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८७ करोड ७ लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले ६२ करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्त पुँजी ४ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ५३ करोड रुपैयाँ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको महाविपत्ती कोषमा १३ करोड ४५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३.०४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१.९९ रुपैयाँ रहेको छ ।