भाइ मसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा !
मलेखु । धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो । व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारेको भाइ मसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाइ, र बिस्कुट फेला परेको बजार अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । तिहार लक्षित बजार अनुगमनको क्रममा व्यापारीले आफैँ तयार गरी बिक्रीका पसलमा पु¥याएको विभिन्न किसिमका भाइ मसलाका ‘प्याकेट’मा म्याद सकिएका गुणस्तरहीन खानेकुरा भेटिएपछि यस्ता खाद्य सामग्री बिक्री नगर्न सचेत गरिएको उनले बताए । ‘तिहारमा प्रयोग हुने भाइ मसलामा म्याद गुज्रिएका चकलेट, किसमिस, काजु, सुपारीलगायतका सामग्री फेला परेको छ’, उनले भने, ‘सचेत गराउँदा अटेर गरेर बिक्री गरेको पाइए सर्वसाधारणको स्वस्थ्यमा असर पुग्ने सामग्रीको प्रयोग गरेको अभियोगमा कारबाही गर्नेछौँ ।’ व्यापारको मौका छोपेर व्यापारीले गुणस्तरहीन सामान हालेर महँगोमा भाइ मसला बनाएर बिक्री गर्न थालेको पाइएपछि जिल्लामा अनुगमनमा कडाइ गरिएको छ । व्यापारीले त्यस्ता सामान किनबेच गर्दा बिलसमेत लिने दिने नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताए । विभिन्न किसिमका सामान जम्मा गरेर आफैँले प्याकिङ गरिरहेकोसमेत फेला परेको उनले जानकारी दिए । तिहार लक्षित भाइ मसलाका सामान सदरमुकामका होलसेल पसलबाट गाउँगाउँमा समेत सप्लाइ भइसकेको हुनसक्ने भएकाले उपभोक्ता आफैँ सचेत रहन पनि आग्रह गरिएको छ ।
‘द वल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ मा डा. पन्त चयन
काठमाडौं । विज्ञान प्रविधिसम्बन्धी विश्वस्तरको प्राज्ञिक संस्था ‘द वल्ड एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी’ (ट्वास) को प्राज्ञ (फेलो) मा दक्षिण एशियका तर्फबाट नेपालका रसायनशास्त्री प्रा डा हेमराज पन्त चयन भएका छन् । आजीवन सदस्यसरहका हैसियतले प्रा डा पन्तले अन्तर्राष्ट्रिस्तरको सो संस्थाको प्राज्ञिकसभामा प्रतिनिधित्व गरी चुन्ने र चुनिने अवसर पाउने भएको छ । सो संस्थामा हाल करिब एक हजार चार सय प्राज्ञ सदस्य रहेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका केमिकल इञ्जिनियरिङ विभागका प्रमुख प्रा डा पन्तले आफ्नो क्षेत्रमा गरेका प्रकाशन र अध्ययन–अनुसन्धानसमेतको मूल्याङ्कनका आधारमा अल्पविकसित देशका तर्फबाट प्राज्ञका रूपमा उनी चयन भएका हुन् । पन्त नेपाल प्राध्यापक सङ्घ, पुल्चोक क्याम्पस एकाइको सभापति पनि हुन् । यसअघि नेपालबाट प्रा डा दयानन्द बज्राचार्य, प्रा डा पिके झा, प्रा डा विशालनाथ उप्रेती र प्रा डा विजया पन्त ट्वासको प्राज्ञमा चुनिइसकेका छन् । प्रा डा पन्तले नेपालको तर्फबाट प्राप्त यस किसिमको महत्वपूर्ण जिम्मेवारीले विज्ञान–प्रविधि क्षेत्रको विकास र प्रोत्साहनमा सहयोग पुग्ने बताए । इटलीमा मुख्यालय रहेको उक्त संस्था सन् १९८३ मा विज्ञान र इञ्जिनियरिङ क्षेत्रमा ज्ञान र सीप आदानप्रदान गर्ने लक्ष्यका साथ विकसित मुलुकका तर्फबाट पाकिस्तानका भौतिकशास्त्री नोबेल पुरस्कार विजेता अब्दुस सलमको नेतृत्वमा स्थापित भएको थियो ।
धनतेरसमा सुनका गहना बिक्री १० प्रतिशत बढ्ने
एजेन्सी । भारतीय बजारमा शुक्रबार धनतेरसका दिन सुनको माग बढ्ने हुँदा आभूषण व्यवसायी सतर्क र आशावादी छन् । भूराजनीतिक घटनाक्रम ध्यानमा राख्दै सुनको भाउमा आएको तीव्र वृद्धिबीच सुनका गहना बिक्रीमा १० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । गत वर्ष धनतेरसदेखि सुनको भाउ २० प्रतिशतले बढेर प्रति १० ग्राम करिब ६१ हजार भारु पुगेको छ । गत वर्ष धनतेरसको दिन नयाँदिल्लीमा सुनको मूल्य करबाहेक प्रति १० ग्राम ५० हजार १ सय ३९ रुपैयाँ थियो भने २०२१ को धनतेरसको दिन ४७ हजार ६ सय ४४ रुपैयाँ थियो। हिन्दु क्यालेन्डरमा धनतेरसलाई बहुमूल्य धातु, भाँडाकुँडा र अन्य बहुमूल्य वस्तुहरू खरिद गर्न शुभ मानिन्छ। यस दिन धेरैले सवारीसाधन किन्ने गर्छन् । सामान्य दिनमा भन्दा धनतेरसको दिन करिब २० देखि ३० टन सुन बिक्री हुने गरेको छ । अखिल भारतीय जेम्स एण्ड ज्वेलरी डोमेस्टिक काउन्सिलका अध्यक्ष सन्यम मेहराले पीटीआईलाई भने, ‘सुनको मूल्य वार्षिक ८–१० प्रतिशतले बढिरहेको छ। र, जनताले सुनको आधार मूल्य प्रति १० ग्राम ५८ हजार रुपैयाँलाई स्वीकार गरेका छन् । गत वर्षको तुलनामा यस धनतेरसमा बिक्रीमा १० प्रतिशत वृद्धि हुने अपेक्षा गरेका छौं ।’ धेरै ज्वेलर्सले दिने शुल्कमा छुटको फाइदा उठाउँदै उपभोक्ताले धनतेरसको दिन डेलिभरीका लागि बुकिङ गरेको उनले बताए । यद्यपि, विश्व गोल्ड काउन्सिल (डब्ल्यूजीसी) का भारत क्षेत्रीय सीईओ सोमसुन्दरम पीआरले भने, ‘उपभोक्ताको भावना सकारात्मक रहे पनि ज्वेलर्स सतर्कताका साथ आशावादी छन् । धनतेरसमा सुनको उच्च मूल्यले ठूलो बाधा पुर्याउने छ ।’ उनले धनतेरसको समग्र बिक्री २०२१ र २०२२ मा हासिल गरेको स्तरमा पुग्न नसक्ने बताए । जबकि, भारतमा १ सय पसल रहेको ज्वेलरी रिटेलर जोयालुक्कासले यसपटक सुनका गहनाको बिक्री २५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ । जोयलुक्कासका अध्यक्ष र प्रबन्ध निर्देशक जोय आलुक्कासले भने, ‘हामीले यस धनतेरसमा हाम्रा पसलहरूमा करिब ६ सय ५० किलो सुनका गहना बिक्री गर्ने अपेक्षा गरेका छौं। मूल्य घट्यो भने बिक्री अझै बढ्न सक्छ ।’ उनले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को तयारीमा रहेको यस कम्पनीले गत वर्ष धनतेरसको दिन करिब ५ सय किलो सुन बिक्री गरेको बताए । बिक्रीमा उत्साही रहेको कल्याण ज्वेलर्सका कार्यकारी निर्देशक रमेश कल्याणरामनले भने, ‘हामीले शोरुममा ठूलो माग र उपस्थिति देखिरहेका छौं ।’ तर, आर्थिक वर्ष २०२२–२३ को तुलनामा श्राद्ध अवधि थपिँदा उद्योगको मागमा ढिलाइ भएको उनले बताए । यसपछि कम्पनी बिक्रीमा नवीकरण वृद्धिबारे केही आशावादी छ । धनतेरसलाई ध्यानमा राख्दै नयाँ र मौसमी गहनाका साथै कम्पनीले उत्पादनको तौलमा लचिलोपनसहित २२ क्यारेट र २४ क्यारेटका ‘अष्टलक्ष्मी’ र ‘अष्ट विनायक’ सिक्काको अद्वितीय संस्करण सार्वजनिक गरेको छ । कोलकातास्थित ज्वेलरी चेन नेमिचन्द बामावाला एण्ड सन्सका साझेदार बच्चराज बमावालाले यो धनतेरस किनमेल गर्दा मूल्य एक कारक हो भने। ‘हामीले धनतेरसको दुई साताअघि अफर सुरु गरेका थियौं र ग्राहकको संख्या पनि राम्रो छ । तीमध्ये अधिकांश भोलि धनतेरसमा डेलिभर हुनेछन्,’ उनले भने, ‘गत वर्षको तुलनामा सुनको भाउ १० प्रतिशतले बढेको भए पनि परिमाणका हिसाबले १० प्रतिशत र मूल्यको हिसाबले २० प्रतिशतमात्रै बिक्री बढ्ने अपेक्षा छ।’ बुलियनको मागमा एमएमटीसी–पीएएमपी विकास सिंह धनतेरस र दीपावलीका अवसरमा परिवारले लगानी र पवित्र संस्कारका रूपमा सुन किन्ने सदियौंदेखिको चलनलाई अपनाउने प्रबन्ध निर्देशक तथा सिइओले बताए । ‘हामीले चाडपर्वको समयमा बलियो मागको अपेक्षा गरेका छौं,’ उनले भने, ‘कम्पनीले सबैभन्दा शुद्ध ९९९.९ प्लस (२४ क्यारेट) सुन र चाँदीका उत्पादन बिक्री गर्छ ।’
सेबोन स्वतन्त्र कर्मचारी संगठनद्वारा ‘पुँजी बजार दिग्दर्शन–लेखविशेषाङ्क (२०८०)’ विमोचन कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पुँजी बजार दिग्दर्शन २०८०- लेखविशेषाङ्क दीपावली, छठ र नेपाल संवत ११४४ को अवसर पारेर विमोचन गरेको छ । उक्त कार्यक्रम बिशीबार नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलको सभापतित्व र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको प्रमुख आतिथ्यतामा नेपाल धितोपत्र बोड खुमल्टार परिसरमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलले सृजनशीलताको नमुनाको रूपमा विमोचित प्रस्तुत लेखविशेषाङ्क हामी सबैको साझा प्रयासको परिणाम रहेको र वित्तीय सचेतना अभिवृद्घिमा समेत सहयोगी प्रयास रहेको बताए । सबैकोे साथ र सहयोग पाएमा यी र यस्तै खालका प्रकाशन एवं थप सिजनशील कार्य गर्न कर्मचारी संगठन क्रियाशील रहने कुरामा समेत उनले विश्वस्त पारे । बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजी बजार दिग्दर्शन (२०८०) — लेखविशेषाङ्क विमोचन गर्दै दीपावली, छठ र नेपाल संवत ११४४ को शुभकामना व्यक्त गरेका थिए ।
चितवनको सयपत्री र मखमली हङकङ निर्यात
भरतपुर । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । ‘आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात गरेका छौँ’, बास्तोलाले भने, ‘चितवनबाट व्यावसायिक रुपमा फूल विदेश निर्यात भएको पहिलोपटक हो ।’ उनका अनुसार तीन लाख रुपैयाँ बराबरको माला निर्यात भएको छ । उनले अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताए । ‘अहिले हङकङ निर्यात गरेका छौँ’, उनले भने, ‘विस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।’ विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाले बताए । ‘हामीले गत वर्षदेखि बाह्र महिना नै फूल खेती गर्छौँ । माघमा उत्पादन हुने गरी १० कठ्ठामा लगाएका छौँ’, उनले भने, ‘चितवनमा फूल खेतीको सम्भावना राम्रो छ ।’ तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गरेका छन् । फूल खेतीबाट यसवर्ष बाह्र हजार माला र आठ क्विन्टल फूलको थुङ्गा उत्पादन हुने उनीहरुको अनुमान छ । यसबाट १५ लाख रुपैयाँ आम्दानी हुने अमितले बताए । बजार भए भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ । ‘अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ’, उनले भने, ‘फूल खेतीमा ५० प्रतिशत नाफा हुन्छ ।’ उनीहरुले फूल खेती सुरु गरेको चार वर्ष भयो । कोरोना माहामारीपछि फूल खेती सुरु गरेका तीन दाजुभाइले जग्गा भाडामा लिएर खेती गरेका हुन् । भारतको कलकत्तादेखि एक लाख रुपैयाँ बराबरको बीउ ल्याएर तीन बिघामा खेती सुरु गरेका उनीहरुले सयपत्रीका दुई जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गरेका हुन् । कात्तिक २४ गते राति काठमाडौंबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिए। हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उनले बताए। ‘म विदेशमा च्याउ निर्यात गर्दै आएको छु । सो क्रममा तिहारमा दिदीबहिनीले सयपत्री फूलको माग गरेको हुँदा लैजान लागेको हुँ’, उनले भने, ‘तिहारमा नेपाली समुदाय भएको क्षेत्र सिङ्गापुर, मलेसिया, दुबई र कतारबाट समेत सयपत्री फूल र मालाको माग आएको छ ।’ फूल निर्यात गर्दा खासै फाइदा नहुने भए पनि किसानको प्रोत्साहन गर्नका लागि निर्यात गरिएको उनको भनाइ छ । यहाँबाट आइसबक्समा ‘प्रिकुलिङ’ गरेर जहाजमार्फत फूल विदेश पठाउने उनले बताए । चितवनमा यसवर्ष तिहारको समयमा फूल खेती गर्ने किसान बढेका छन् । कालिका नगरपालिकाले किसानको प्रोत्साहनका लागि बिरुवामा अनुदान समेत दिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए । ‘यहाँको फूल हङकङ निर्यात हुनु हाम्रा लागि खुसीको कुरा हो’, उनले भने, ‘किसानलाई प्रोत्साहन दिने कुरालाई निरन्तरता दिन्छौ ।’ नगरपालिकाले उत्पादन र आयआर्जनलाई जोडेर नीति निर्माण गरेको प्रमुख रेग्मीले बताए । ‘गत आर्थिक वर्षदेखि फूलखेती प्रवद्र्धन गर्न बिरुवामा अनुदान दिने गरेका छौँ । एउटा बिरुवा उत्पादन गर्न साढे दुई रुपैयाँ लाग्दो रहेछ । त्यसमा ५० प्रतिशत अनुदान दिइएको छ’, उनले भने । अगामी वर्षदेखि अन्य बालीलाई जस्तै फूल खेतीलाई प्रोत्साहन गर्ने उनले बताए । चितवनमा ५० बिघामा फूलखेती भएको छ । चितवनमा तिहारका लागि फूल खेती गर्ने करिब एक सय जनाको हाराहारीमा किसान छन् । रासस
एभरेष्ट बैंकको अध्यक्ष बने डा.बालगोपाल बैद्य
काठमाडौं । एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल बैद्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले बैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो । पूर्व अध्यक्ष बिके श्रेष्ठको निधन भएपछि बैंकको अध्यक्ष पद रिक्त रहेको थियो । साथै, नवनियुक्त अध्यक्ष बैद्यले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएको बैंकका कम्पनी सचिव सुरेश चापागाईंले जानकारी दिए । काठमाडौंको सितापाइलास्थित घर भएका बैद्यले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उनी हाल अनुसन्धानको क्षेत्रमा संलग्न न्यू इरा नामक संस्थासँग आवद्घ छन् । बैद्य बैंकको संस्थापक होटेल स्नो लायन प्रा.लि.को प्रतिनिधित्व गर्दै बैंकको संचालक बनेका हुन् ।
एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकको लागिको क्यासब्याक अफर
काठमाडौं । एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकको लागिको क्यासब्याक अफर गरेको छ । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी पिओएस वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ । क्यासब्याक प्राप्त गर्न एक पटकमा १ हजारको न्यूनतम भुक्तानी गर्नु पर्ने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
‘बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु’
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको छ । तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ । तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालाई मजबुद बनाउन उक्त कार्यालयले सर्वसाधारमा जारी गरेको अपिलमा लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन भनेको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले मुख्यगरी पटाका पटकाउनेजस्ता गतिविधि, हत्या–हिंसा, चोरी, तस्करी तथा हारजित हुने गरी खेलिने खेललाई विशेष निगरानीका लागि प्रहरी टोली परिचालन गरिएको जानकारी दिए । साथै चाडपर्वको समय भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पनि ट्राफिकमार्फत निगरानी बढाएको जनाइएको छ । सार्वजनिक गरिएको अनुरोधमा पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थको कारोबार गर्ने कार्य नगर्न, मादकपदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि भनिएको छ । नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ/छैन यकीन गर्न तथा सकेसम्म साइरन जडित ताल्चा जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ । लामो समय घर वा पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको छ । यस्तै चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य नगर्न पनि अनुरोध गरिएको छ ।