
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)का कार्यकारी निर्देशक रमण नेपाल पाँच वर्षे कार्यकाल पुरा गरेर कात्तिक २४ गते शुक्रवारदेखि बाहिरिँदै छन् । वि.सं.२०७५ कात्तिक २५ गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोषको प्रमुखमा नियुक्त गरेका उनी आज कोषबाट बाहिरिँदै छन् ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिलसम्मको अध्ययन गरेका कार्यकारी निर्देशक नेपाल सीआईटीमा ५ वर्षे कार्यकाल सफल भएको बताउँछन् । आफ्नै कार्यकालमा कोषको भवन निर्माणसम्पन्न गरी सेवा सञ्चालन गरेको उनको भनाइ छ । ९० करोडको लागतमा ६ रोपनी जग्गामा कोषले ७ तले अत्याधुनिक भवन निर्माण गरेको विषय उनी गर्वका साथ बताउँछन् ।
‘नागरिक लगानी कोषको अत्याधुनिक सुविधा सम्पन्न भवन मेरै कार्यकालमा सम्पन्न भयो, अहिले सोही नयाँ भवनबाट सेवा दिइरहेका छौं,’ उनले भने ।
आफ्नो कार्यकालमा कोषका सेयरधनीहरुलाई वार्षिक औषत २५ प्रतिशत लाभांश वितरण गरेको उनको दावी छ । उनको कार्यकालमा कोषले औषत २२ प्रतिशत बोनस सेयर र २.८२ प्रतिशत नगद लाभांश वितरण गरेको तथ्याङ्कले देखाउँछ ।
कोषले आर्थिक वर्ष २०७४/७५ मा सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद गरी कूल २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६मा सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद गरी कुल २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७६/७७मा सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद गरी कूल १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी ३१.५८ लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९मा २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद गरी २६.३१ लाभांश वितरण गरेको थियो ।
साथै, आफू कायर्कारी निर्देशक भएपछि तीन वर्षदेखि हुन नसकेको लेखापरीक्षण र साधारणसभा सम्पन्न गरी निरन्तरता दिएको नेपाल बताउँछन् ।
‘तीन वर्षदेखि लेखापरीक्षण र साधारणसभा सम्पन्न हुन सकेको थिएन, त्यो सम्पन्न गरेर नियमित गराएको छु, मेरो कार्यकालमा सेयरधनीहरुलाई वार्षिक औषत २५ प्रतिशत लाभांश वितरण गरेको छु, आगामी वर्ष पनि उच्च लाभांश दिन सक्ने गरी संस्थालाई अब्बल बनाएको छु,’ उनले भने ।
नेपाल कार्यकारी निर्देशक हुनुअघि कोषको चुक्ता पुँजी ९० करोड रुपैयाँ मात्रै थियो । बोनस सेयर वितरण र एकपटक हकप्रद सेयर जारी गरेको कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड रुपैयाँ पुर्याएको उनको भनाइ छ । साथै, कोषको जगेडा कोष २३ अर्ब ३८ करोड रुपैयाँको छ ।
साथै, ५ वर्षअघि कोषसँग १ खर्ब १४ अर्ब रुपैयाँ मात्रै निक्षेप थियो भने अहिले २ खर्ब ३२ अर्ब पुर्याएको उनले बताए । राष्ट्र सेवक कर्मचारीहरुको सावधिक बीमा शुल्क संकलन गरेर बीमा संस्थानलाई बुझाउने व्यवस्था गरेको उनले बताए । वार्षिक साढे ३ अर्ब रुपैयाँ बीमा संस्थानलाई बुझाउँदा पनि ५ वर्षमा दोब्बर बचत वृद्धि भएको उनको भनाइ छ । साथै, आफ्नो कार्यकालमा थप ३ वटा शाखा कार्यालय विस्तार गरेर कोषको सेवालाई सहज बनाएको उनले बताए ।
‘कोषमा आईटी सिस्टम थिएन, तथ्याङ्कहरु पनि मिसम्याच हुन्थ्यो, अहिले कोषको आफ्नै आईटी सिस्टम छ, क्लाइन्टहरूले अनलाइनबाटै पैसा तिर्न सक्नुहुन्छ, भुक्तानीको लागि चेक काट्न छाडिसक्यौं, फाराम बुझाएको १५ मिनेटमा सिधैं बैंक खातामा जम्मा गरिदिन्छौं,’ उनले भने, ‘थप ३ वटा शाखा विस्तार गरेर ५ वटा शाखा सञ्चालन भइरहेका छन् ।’
सेयर बजारसँग सम्बन्धित कारोबार गर्न कोषले सहायक कम्पनीको रूपमा नागरिक स्टक डिलर सञ्चालनमा ल्याएको उनले बताए । दीर्घकालमा कम्पनीले राम्रो पिकअप लिने गरी काम गरिरहेको कार्यकारी निर्देशक नेपाल बताउँछन् ।
‘सेयर बजार सम्बन्धि कार्य गर्न सहायक कम्पनीका रुपमा नागरिक स्टक डिलर सञ्चालनमा ल्यायौं, ५ अर्ब पुँजी छ, यसले ब्रोकरेज सेवा पनि दिइरहेको छ, यस कम्पनीले अहिले पनि राम्रो काम गरिरहेको छ,’ उनले भने ।
साथै, नागरिक पेन्सन योजना कार्यक्रम ल्याई निरन्तर चलिरहेको उनले बताए । नागरिक लगानी कोषलाई सिस्टममा चलेको संस्थाका रुपमा उभ्याएको उनको दावी छ । आफ्नो कार्यकालमा नयाँ आयोजनामा लगानी गर्न नसकिए पनि प्रतिवद्धता भने गरेको उनले बताए ।
‘पुराना आयोजना तामाकोशी, जनक शिक्षा सामाग्रीमा लगानी नियमित छ । तर, नेपाल वायु सेवा निगम (वाइडबडि)मा भने लगानी नियमित छैन,’ उनले भने, ‘नयाँ आयोजनामा लगानी गर्न नसकिए पनि लगानी गर्ने प्रतिवद्धता गरेका छौं, नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने माथिल्लो अरुण लगायतका परियोजनामा लगानी गर्ने भनेर प्रतिवद्धता जनाएका छौं ।’
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ । साथै, कोषले १२ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश भएका नेपाललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सीआईटीको प्रमुख जिम्मेवारी दिएका थिए । राष्ट्र बैंकमा नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव भएका नेपालको स्थायी घर मोरङको बुढीगंगा गाउँपालिकामा हो ।
को बन्छ लक्ष्मी सनराइज बैंकको अध्यक्ष ?
लक्ष्मी सनराइज बैंकमा नागरिक लगानी कोषको पनि सेयर लगानी छ । कोषको प्रतिनिधित्व गर्दै नेपाल लक्ष्मी सनराइज बैंकको अध्यक्ष बनेका छन् । तर, कोषबाट उनी बाहिरिएपछि लक्ष्मी सनराइज बैंकको अध्यक्ष को बन्ला भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
आफू कोषको प्रतिनिधित्व गर्दै अध्यक्ष बनेको हुँदा स्वतः बैंकको अध्यक्ष पदबाट हट्ने कार्यकारी निर्देशक नेपालले बताए । तर, बैंकलाई पुर्याएको योगदानका आधारमा सञ्चालकहरूले बोलाएमा आगामी वार्षिक साधारणसभाबाट आफू अध्यक्ष बन्न तयार रहेको उनको भनाइ छ ।
‘कोषको प्रतिनिधित्व गर्दै बैंकको अध्यक्ष बनेको हुँ, कोषबाट बाहिरिने बित्तिकै अध्यक्षबाट स्वतः हट्छु,’ उनले भने ।
साविक लक्ष्मी बैंकमा कोषको ९ प्रतिशत लगानी थियो । तर, सनराइज बैंकसँग मर्जर भएपछि उक्त स्वामित्व ४ प्रतिशतमा झरेको छ । सो आधारमा कोषले बैंकमा सञ्चालक पद पनि नपाउने देखिन्छ । यदि अन्य लगानीकर्ताहरुसँग समन्वय गरेर १५ प्रतिशत पुर्यायो भने मात्रै कोषले एउटा सञ्चालक पद पाउन सक्ने सम्भावना छ ।
यस्तै, लक्ष्मी सनराइज बैंकका सञ्चालक मनिष थापा अहिले कायम भएका सञ्चालकमध्येबाट सनियिर व्यक्ति निमित्त अध्यक्षको रूपमा काम गर्ने बताए ।
‘तत्काल हाल भएका सञ्चालकहरू मध्ये सिनियर ब्यक्ति निमित्त अध्यक्ष बन्छन्, वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक बनेर अध्यक्ष पनि नयाँ चुन्ने छन्,’ थापाले भने ।
लक्ष्मी सरनराइ बैंकको अध्यक्ष बन्न साविक सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले दौडधुप गरेका थिए । तर, लक्ष्मी बैंकबाट कर्जा लिएका कारण उनी सञ्चालक समेत बन्न सकेनन् । यसपटक पनि अध्यक्ष नेपाल बाहिरिएपछि उनै दुगडको नाम चर्चामा छ । तर, उनले हालसम्म बैंकको कर्जा चुक्ता नगरेको र अध्यक्ष बन्न पनि चासो नराखेको स्रोतको भनाइ छ ।
‘उहाँ पहिला एक समय अध्यक्ष बन्न खुब लाग्नु भयो । तर, अहिले उहाँको अध्यक्ष बन्ने इच्छा हटिसकेको छ,’ बैंक स्रोतले भन्यो ।