नेपाली सेनाका रथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत
फाइल फोटो काठमाडौं । सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गत कात्तिक २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उपरथी पाण्डेले व्यक्तिगत कारण दर्शाई आफ्नो पदबाट राजीनामा दिएका थिए । यस्तै ऊर्जा सचिव घिमिरेले पनि व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनु एक महिना अगावै राजिनामा दिएका थिए । बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिईन् । बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रयाङ्क ४.४६५ मिलियन (करिब ६५ करोड रुपैयाँ) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको माग बमोजिम प्राविधिकसहितका चार जनशक्ति थप गर्ने निर्णय गरेको जनाइएको छ ।
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको आयोगमा चारजना थप गर्ने मन्त्रिपरिषद्को निर्णय
फाइल फोटो काठमाडौं । सरकारले सुनको अवैध तस्करी नियन्त्रसम्न्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहित विभिन्न पाँचवटा निर्णय गरेको हो । मंसिर ७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु १. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने । २. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने । ३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने, रा.प. द्धितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजस्व), प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट । ४. नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०/०७/२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने । ५. उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।
लाभांश घोषणापछि नबिल बैंकको सेयर मूल्य ओरालो लाग्यो
काठमाडौं । लाभांश घोषणा गरेकै दिन नबिल बैंकको सेयर मूल्य ओरालो लागेको छ । सेयर बजार खुलेदेखि पौने १ बजेसम्म कारोबार हेर्दा बैंकको सेयर मूल्य ८.४८ प्रतिशत अर्थात् ५० रुपैयाँ घटेको हो । १२ बजेर ४५ मिनेटसम्मको तथ्याङ्क हेर्दा बैंकको सेयर मूल्य ५१३.४० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, सबैभन्दा धेरै कारोबार हुने र टप लुजर कम्पनीमा नबिल बैंक अग्रस्थानमा छ । पछिल्लो विवरण अनुसार बैंकको १ लाख ३० हजार ६०२ कित्ता सेयर १ हजार ६९० पटक खरिदबिक्री हुँदा ६ करोड ७२ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकको सेयर ५६१ रुपैयाँमा खुलेको थियो । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै मूल्य घट्न थालेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश हालसम्मकै न्यून हो । यसअघि आर्थिक वर्ष २०७८/७९मा १८.५ प्रतिशत बोनस सेयर ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।
बलेफी हाइड्रोको सीईओमा सुवास अर्याल नियुक्त
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुवास अर्याल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर ६ गते बसेको बैठकले अर्याललाई सीईओमा नियुक्त गरेको हो । यसअघि सीईओ रहेका राजन धितालले राजीनामा दिएपछि अर्याल सीईओमा नियुक्त भएका हुन् । धितालले दिएको राजनीमा सञ्चालक समितिले स्वीकृत गरेको कम्पनी सचिव साकार पोखरेलले जानकारी दिए । महाप्रबन्धक अर्याललाई अर्काे व्यवस्था नभएसम्मका लागि सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
सेयर र क्रिप्टोमा अनावश्यक लगानी भयो, बजेट र मौद्रिक नीति अनुशासित भएर आएन
केही वर्षयता देशको समस्या छ । यो समस्यालाई समाधान गर्नका लागि सरकारले काम अगाडि बढाइसकेको छ । समस्याहरू घट्दैछन्, घटाइँदैछ । ती समस्याहरू आउनुमा धेरै कारणहरू छन् । यो विषयमा हामीले विभिन्न मञ्चहरूमा निजी क्षेत्र समेतको उपस्थितिमा, दलहरूको उपस्थितिमा, संसद र संसदका समितिहरूमा पनि छलफल गरिसकेका छौं । सर्वपक्षीयरूपमा पनि चिरफार गर्यौं । समस्या संसारभरि नै छ । संसारभरि नै मन्दी छ । धेरै कम देशहरू मात्रै त्यो समस्या चिरेर अगाडि बढ्न सकेका छन् । त्यो सिथिलता हामीले पनि भोग्यौं । यहाँ आन्तरिक कारणले पनि आयो बाह्य कारणले पनि आयो । संसारभरि आएको कोभिड महामारीबाट पनि हामी प्रभावित भयौं । २०७२ सालमा आएको भूकम्पको प्रभावको अवशेषहरू र दायित्व पनि थपियो । यो सँगसँगै हाम्रोतर्फबाट राज्य संरचनाले लिएका निर्णयहरू परिस्थितिको यथार्थ मूल्यांकन नगरीकन सञ्चालित मौद्रिक नीति र वित्तीय नीतिमा प्राथमिकीकरण र अनुशासन नहुँदा यी सबैको गठजोडले समस्याहरू चुलिएको हो । तर, अब देशको अर्थतन्त्र सकारात्मकतर्फ अगाडि बढ्दैछ । हामी अहिले सूचना प्रविधिको युगमा छौं, हिजो चारजनाबीचमा रहने कुरा सय जनासँग हुन सक्थ्यो । अहिले सामाजिक सञ्जालमा सत्य वा असत्य संसारभर नै फैलन सक्छ । अझ प्रायोजितरूपमा, नियोजितरूपमा वा लगानी गरेर समूहले निश्चित उद्देश्यकासाथ त्यो प्रवाहित गर्यो भने त्यसले भ्रम पैदा गर्न सक्छ । त्यसले यो देश खराब छ, यो देशमा केही हुँदैन, यो सत्ता खराब छ, यसले केही गर्दैन भन्नेखाले भ्रमपूर्ण प्रचार त्यहाँबाट भएको छ । जसले आफ्नो दायित्व जिम्मेवारी पूरा गरेको छैन । जसले जनताबाट उठेको रकम बैंकबाट लिएर खुलेआम तिर्दिन भनेर तिर्नै नपर्ने अवस्था आउँछ भन्ने किसिमको अभिव्यक्तिले ठाउँ पाइराखेको अवस्था छ । हरेक देशमा समस्या आउँछ, समस्यारहित कुनैपनि देश छैन । र, समस्याको समाधान हुन्छ । हाम्रो देशको भविष्य छ, यही देशमा केही गर्न सकिन्छ, त्यसको सुरुवात भएको छ । जुन रफ्तारमा हुनुपर्ने हो त्यो नभएकै हो । तर, हुँदै नभएको होइन र अब गर्न सकिन्छ । यही देशमा युवाहरूको रोजगार सुनिश्चित गर्न पनि सकिन्छ । यही देशमा उत्पादन बढाउन पनि सकिन्छ । हाइड्रोपावरले एउटा लय समातेको छ । संसारभभरि नै कार्बन उत्सर्जन घटाउने लक्ष्यका कारणले नेपालमा लगानी गर्नको लागि विदेशी र निजी लगानीकर्ताको चासो छ । कमिटमेन्ट पनि आउन थालेका छन् । यसले व्यापार घाटालाई घटाउने मात्रै नभएर हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ अगाडि बढाउँछ । अर्को, पर्यटनको क्षेत्रमा ठूलो सम्भावना छ । यतिबेला अहिलेसम्मकै धेरै पर्यटक आएका छ्न । पर्यटनको विकास गर्न पूर्वाधार विकास गर्न आवश्यक छ, त्यसको लागि लगानीको आवश्यकता छ । सूचना प्रविधिले राम्रो सम्भावना देखाएको छ । हजारौं युवाहरूको मानसिकता आईटीसँग मेल खान्छ । यो क्षेत्रमा ठूलो संख्यामा यूवाहरु संलग्न छन्, त्यसलाई प्रवर्द्धन गर्न जरुरी छ । अहिले पनि ठूलो सफ्टवेयर एक्सपोर्ट हुन थालेको छ । कृषिलाई व्यवसायीकरण गर्ने काम गर्नुपर्छ । अहिले भइरहेको सानोसानो जमिनको स्वामित्वले उत्पादनमा वृद्धि हुँदैन । कृषि क्षेत्रमा टुक्रे स्वामित्वकर्ताहरूको सहभागितालाई पनि लिएर व्यवसायीहरूलाई दिएर ठूलो क्षेत्रमा फार्मिङमा लैजान सकिन्छ । यसलाई राज्यले सहुलियत, संरक्षण र अनुदान दिएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धी गराउनुपर्छ । अहिले बाहिरबाट थोरै पुँजी लिएर कृषि क्षेत्रमा काम गर्नेहरू पनि छन । तिनलाई पनि प्रवद्र्धन गर्नुपर्छ । त्यस्तै, राज्यलाई आत्मनिर्भर बनाउन उत्पादन उद्योग लगायतका क्षेत्र छन्, तिनलाई पनि प्रवद्र्धन गर्यो भने नेपालले टेकअफ गर्छ । यसको लागि निजी क्षेत्रले नेतृत्व लिनुपर्छ । राज्यको काम सहजिकरण गर्ने हो, यही बाटोमा हामी छौं । पोजेटिभ डिस्कोर्स गरौं । अहिलेको समस्या भनेको कन्फिडेन्सको समस्या हो । पहिला मौद्रिक नीति र वित्तीय नीतिमा पनि यथार्थ आंकलन नगरी निर्णयहरु भए । राज्यले लगानी गर्दा पनि गैर प्राथमिकताको क्षेत्रमा, रिटर्न नआउने क्षेत्रमा पनि भएकै हो । मौद्रिक नीतिमार्फत अनुत्पादक क्षेत्रमा लगानी गरेकै हो । शेयर मार्केट कृत्रिम रुपमा विकास भएकै हो, कृप्टोमा पनि गएकै हो । अब यसबाट पाठ सिक्नुपर्छ । अब दीर्घकालिन रूपमा कुन क्षेत्रमा अवसर छ, कुन क्षेत्रबाट रिटर्न आउने सम्भावना त्यो क्षेत्रमा लगानी गर्नुपर्छ । जहाँसम्म जसले ऋण लिइसकेको छ, गर्दागर्दै भएको छैन त्यसलाई राज्यले सहजीकरण गर्नुपर्छ । केही सहजीकरण मौद्रिक नितिले ब्याज, समय लगायतका उपकरणहरुमार्फत पनि सम्बोधन गर्नुपर्छ । हामीले ३.७ प्रतिशतले साधारण खर्च घटाएका छौं । हामीले वित्त क्षेत्रमा पनि अनुशासन कायम गर्ने, जथाभावी विनियोजन नगर्ने, प्राथमिकताको क्षेत्रमा खर्च गर्ने नीति लिइसकेका छौं । त्यसको नतिजा अब आउँछ । संरचनामा उदासिनता छ । अनेकन नियमनकारी निकाय छ्न । बुझाइ फरक–फरक छ । त्यसले पनि कतिपय समस्या आएको छ । हामीले निजी क्षेत्र सरकारी क्षेत्र नभनीकन काम गर्ने हो भने नतिजा ल्याउन सकिन्छ । (अर्थमन्त्री डा. महतले आन्तरिक राजस्व विभागको आयोजना गरेको कर सप्ताह समापन कार्यक्रममा राखेको विचारको सम्पादित अंश)
कम यात्रु भएको भन्दै इन्डिगोले आठजनालाई विमानबाट ओरालेपछि…
एजेन्सी । भारतको निजी वायुसेवा कम्पनी इन्डिगो नयाँ विवादमा फसेको छ । इन्डिगोले बैंगलोरबाट चेन्नई जानुपर्ने आठ यात्रुलाई कम यात्रु भएको भन्दै विमानबाट ओरालेपछि विवादमा फसेको हो । ती यात्रुका अनुसार मंगलबार अमृतसरबाट बैंगलोर आएपछि चेन्नई जाने तालिका थियो । तर, विमानमा चढिसकेपछि सबै आठजनालाई यात्रु कम भएको भन्दै ओरालेर बैंगलोर विमानस्थलमा अलपत्र पारिएको थियो । उडान नहुँदा रातभरि विमानस्थलमै बिताउनु परेको यात्रुले गुनासो गरेका छन् । तर, ती यात्रुको आरोपलाई इन्डिगो व्यवस्थापनले अस्विकार गरेको छ । यात्रुको गुनासोबारे जवाफ दिँदै इन्डिगोले ‘समयको अभाव’ का कारण यात्रुहरूले आफ्नो उडानमा चढ्न नसकेको दाबी गरेको छ । इन्डिगोले यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना भने गरेको छ । इंडिगोले अमृतसरबाट उडेका आठ यात्रु समयको कमीका कारण बैंगलोर पुगेपछि चेन्नईको अर्को उडानमा चढ्न नसकेको बताएको छ । कम्पनीले यात्रुलाई पर्न गएको समस्याप्रति क्षमायाचना गरेको छ । इन्डिगोको यो कथन रिपोर्टको पृष्ठभूमिमा आएको हो जसमा एयरलाइन्सले यात्रुहरू बोक्न नचाहेको र उनीहरूलाई विमानबाट उतारेको दाबी गरिएको थियो । इन्डिगोले ८ ट्रान्जिट यात्रुहरू लिएर आइतबार (नोभेम्बर १९) मा अमृतसरबाट चेन्नई हुँदै बैंगलोरसम्म उडान नम्बर ६ई ४७८ सञ्चालन गरेको थियो। इन्डिगोले एक विज्ञप्तिमा अमृतसरबाट उडान ढिलो भएका कारण ती यात्रुहरू बैंगलोर एयरपोर्टमा चेन्नईका लागि अगाडिको उडानमा चढ्न नसकेको जनाएको छ । विज्ञप्तिका अनुसार इन्डिगोका कर्मचारीले यात्रुहरू उडानमा चढ्न सकून् भन्ने सुनिश्चित गर्न सक्दो प्रयास गरे पनि समय अभावका कारण हुन नसकेको हो ।
निरन्तर घट्दै अन्तर बैंक ब्याजदर, ६० खर्ब नजिक निक्षेप
काठमाडौं । बैंकहरूले एक आपससँग सापट लिने कर्जा (अन्तर बैंक) को ब्याजदर २ प्रतिशतको हाराहारीमा कायम भएको छ । केही महिनाअघि ७ प्रतिशतको हाराकारी रहेको अन्तर बैंक ब्याजदर हाल २.५३ प्रतिशत कायम भएको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब २९ अर्ब रुपैयाँ काम भएको छ भने कुल कर्जा ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । लामो समय तरलताको समस्या भोगिरहेको बैंकिङ क्षेत्रमा केही सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले बैंकका महत्वपूर्ण सूचकहरु सुधारको गतिमा देखिएका हुन् । पछिल्लो समयको समस्या भनेको खराब कर्जा (एनपीएल) को मात्रै हो । वित्तीय संस्थको अन्य सूचकहरू बलियो नै देखिन्छन् । पछिल्लो समय प्रणालीमा निक्षेप बढेसँगै बैंकहरू सहज अवस्थामा पुगेका हुन् । तरलता अभावकै कारण बैंकहरुले लामो समय ब्याज बढाउनु पर्ने बाध्यता थियो भने व्यवसायीले पनि कर्जा नपाइरहेको अवस्था थियो । तर, पछिल्लो केही तथ्यांकले भने बैंकहरु सहज अवस्थामा पुगेका हुन् । बैंकहरूले पनि ब्याज घटाउन थालेका छन् । केही महिनाअघि कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को दबाबमा रहेका बैंकहरूको अहिले सीडी रेसियो पनि सहज हुन थालेको छ । यसअघि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा थियो । तर, पछिल्लो समय बैंकको सीडी रेसियो ८१.१५४ प्रतिशत कायम भएको छ । बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता हुँदा बैंकहरुले अन्तर बैंकिङ सापटी घटाएसँगै ब्याजदर पनि घटेको हो ।
नबिल बैंकले घोषणा गर्याे लाभांश, २ दशकयताकै न्यून
काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले गत वर्षको नाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश हालसम्मकै न्यून हो । यसअघि आर्थिक वर्ष २०७८/७९मा १८.५ प्रतिशत बोनस सेयर ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।