विकासन्युज

व्यापारमा आयातको हिस्सा बढ्दा खुम्चियो निर्यात, आर्थिक सुस्तताको तस्बिर तथ्यांकमा

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सवा ५ खर्ब रुपैयाँबराबरकाे वस्तु आयात भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँको आयात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँको वस्तु आयात भएकाे थियो । गत आवको सोही अवधिको तुलनामा यो आयात ३.७९ प्रतिशतले कम हो । यस्तै, चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँको निर्यात गरेको थियो । गत आवको सोही अवधिको तुलनामा याे निर्यात ७.६८ प्रतिशतले घटेको छ । यस अवधिमा ४ खर्ब ६१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँको व्यापार घाटा देखिएको छ । गत आवको सोही अवधिमा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँको व्यापार घाटा थियो । चार महिनामा ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । विभागका अनुसार कुल व्यापारमा आयातको हिस्सा ९१.०२ प्रतिशत र कुल निर्यातमा व्यापारको हिस्सा ८.९८ प्रतिशत देखिएको छ । पछिल्लो समय अर्थतन्त्र समस्यामा परेको धारणा उद्योगी व्यवसायीले राखिरहेका छन् । सरकार र सरकारी अधिकारीहरूले अर्थतन्त्र सकारात्क दिशामा रहेको बताइरहेका छन् । तर, विभागको तथ्यांकले अर्थतन्त्र समस्यामा पर्दै गएको देखिन्छ ।

पाल्पामा चिच्याएर वर माग्ने मेला सुरु

काठमाडौं । चिच्याएर वर माग्ने मेला पाल्पामा सुरु भएको छ । हरेक वर्ष पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ । बिहीबारदेखि सुरु मेला पाँच दिनसम्म चल्नेछ । भक्तजनको ठूलो सहभागिता हुन थालेपछि विगतमा तीन दिनसम्म चल्ने मेला यो वर्षदेखि पाँच दिनसम्म सञ्चालन गर्न लागिएको सत्यवती ताल संरक्षण विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए । उनका अनुसार यसवर्ष करिब २ लाख बढी भक्तजन मेलामा सहभागी हुने अनुमान छ । मेलामा हरेक भक्तजनले रातको समयमा बाँस, निगालो, सालआदि जातका लिंगो लिएर तालमा गाँड्ने र आफूले गाँडेको लिंगो भोलिपल्ट चिनेर पूँजा गरेपछि वर मागेर फर्कने परम्परा छ । मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ । धार्मिक पर्यटकीयस्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिगो लिएर आवाज निकाल्ने गरी चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ । मन्दिर प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ । एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले मनोकाङ्क्षा मागेको बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किए लगत्तै सुनाउदा उनको मृत्यु भएकाले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको पौराणिक कथन छ । परापूर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्बदन्ती छ । नेपालका विभिन्न जिल्ला र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने गर्दछन् ।

मनकामना केबुलकारको वार्षिकोत्सवको अवसरमा सरसफाइ र रक्तदान

काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिसरको सरसफाइ गरिइएको हो । मनकामना केबुलकारको स्टेशन मेनेजर उज्ज्वल शेरचनले केबुलकारमा कार्यरत कर्मचारीको सहभागितामा मन्दिर र वरपर रहेका फोहरलाई सङ्कलन गरी व्यवस्थापन गरिएको जानकारी दिए । त्यस्तै केबलकारको सवस्टेशनमा पर्ने चोरेस वरपरको पृथ्वीराजमार्गअन्तर्गत पर्ने सडक क्षेत्रमा समेत सरसफाइ गरिएको थियो । विसं २०५५ मङ्सिर ८ औपचारिकरुपमा सञ्चालनमा आएको मनकामना केबुलकारले शुक्रबार सेवा प्रारम्भ गरेको २५ वर्ष पूरा गर्दैछ । मनकामना केबलकार हुँदै गोरखाको सहिद लखन गाउँपालिकाको वडा नं २ मा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्न सकिन्छ । केबुलकार सञ्चालनको अवधिमा हालसम्म स्वदेशी तथा विदेशी गरी मनकामना केबलकार हुँदै करिब १ करोड ८१ लाखभन्दा बढी तीर्थयात्री मनकामना मन्दिर पुगिसेकेको सहायक स्टशेन म्यानेजर सुनिल कमाचार्यले जानकारी दिए । नेपाली–भारतलगायतका सार्क राष्ट्रबाट आउने पर्यटकहरु, चीनलगायतका अन्य विभिन्न देशबाट मनकामना मन्दिर घुम्न आउने पर्यटक मनकामना केबुलकार चढेर प्रसिद्ध मनकामना मन्दिरको दर्शन गर्न पुग्ने गरेका छन् । एनालग प्रविधिमा सञ्चालित मनकामना केबुलकारलाई आउँदो वर्षदेखि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको सञ्चालकमध्येका एक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

आइएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

काठमाडौ । समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई  लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थ मन्त्री डा. प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र  आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेम राज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । आर्थिक वर्ष २०७८-७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये  रेमिटेन्स तर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो । सन् २००१ मा स्थापित आइमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमई लाई बैकिङ्ग सञ्जाल मार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ । साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको आइएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक पटक सम्मानित हुँदै आएको छ ।

कामना सेवा विकास बैंक र वेस्टर्न एसियन होटलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित वेस्टर्न एसियन होटेल प्रालिसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

दुर्गा प्रसाईं भन्छन् : सरकारसँग मेरो ऋण मिनाहा र मेडिकल कलेजको सम्बन्धन मागेको थिएँ

काठमाडौं । विवादित तथा पछिल्लो समय उच्छ्श्रृङ्खल गतिविधि गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग आफुले ऋण मिनाहाको माग राखेको बताएका छन् । उनले आफुले विभिन्न बैंक तथा वित्तीय संस्थालाई तिर्नु पर्ने साढे ५ अर्ब ऋण र बि एण्ड सुी मेडिकल कलेजलाई सम्बन्धन दिनु पर्ने माग राखेको बताएका हुन् । एक पत्रकारसँगको कुराकानीमा उनले भनेका छन्, ‘मैले प्रधानमन्त्री प्रचण्डसँग ऋण मिनाहा र मेरो मेडिकल कलेजको सम्बन्धन दिलाउनका लागि आग्रह गरेको थिएँ तर उहाँले मान्नुभएन, अब म धेरै अगाडि बढिसकेको छु, केही दिन अगाडि मात्रै उहाँले तपाइँको दुइटै माग पुरा हुन्छन् भन्नुभयो तर अब म धेरै अगाडि बढिसकेको छ, ब्याक हुन्न भनेपछि कुरा सक्कियो ।’ विवादित व्यवसायी दुर्गा प्रसाईंले पछिल्लो समय सर्वसाधारणलाई भड्काएर २० लाखभन्दा कम ऋण भएकाहरूको ऋण मिनाहा हुनु पर्ने आवाज उठाउँदै आएका छन् । उनको त्यो भ्रमपूर्ण र असम्भव अभिव्यक्तिको साथ दिँदै उनको पछि लाग्नेहरूको पनि कमि छैन । उनले सार्वजनिक रूपमा २० लाखसम्मको ऋण मिनाहा हुनु पर्ने आवाज उठाए पनि भित्रिरूपमा भने आफ्नो साढे ५ अर्ब ऋण मिनाहा र बि एण्ड सी मेडिकल कलेजको सम्बन्धन पाउनु पर्ने लविङ सरकारसँग गरिरहेका छन् । जसको हतियार उनले २० लाखको ऋणलाई बनाएका छन् । बैंक भनेको सर्वसाधारणकै पैसा हो । उद्योगी व्यवसायीहरुले तिनै सर्वसाधारणको पैसालाई ऋणको रुपमा बैंकबाट लिन्छन् । सो पैसा तिरेन भने समग्र प्रणालीलाई नै असर पर्न जान्छ । तर, प्रसाईंले तिनै ऋण लिएर समस्यामा परेका सर्वसाधारणहरूको मन जित्न २० लाख रुपैयाँको कार्ड फालेका छन् । उनले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक÷एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएका छन् । सर्वसाधारणलाई उक्साएर बैंकको ऋण नतिर्ने र बैंकरलाई कालोमोसो दल्ने अभियान चलाइरहेका प्रसाईंले अहिले ‘जन विद्रोह’ भन्दै काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

दुर्गा प्रसाईंको प्रदर्शन क्षेत्रमा प्रहरीले चलायो मोबाइल नेटवर्क जाम गर्ने ‘जामर’

काठमाडौं । नेपाल प्रहरीले दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरिरहेको काठमाडौं बल्खु क्षेत्रमा मोबाइल नेटवर्क बिच्छेद गराउने ‘जामर’ मेसिन जडान गरेको गाडी परिचालन गरेको छ । बल्खु क्षेत्रमा प्रदर्शनकारीहरुबीचमा झडप हुने अवस्था सिर्जना हुँदै गएपछि प्रहरीले सो प्राविधिक गाडी परिचालन गरेको बुझिएको छ । प्रहरीले एमाले नेता महेश बस्नेतले नेतृत्व गरेको तिनकुने क्षेत्रमा पनि सो गाडी परिचालन गरेको छ । प्रदर्शनकारीहरु भएको ठाउँमा जामर परिचालन भएपछि प्रदर्शनकारीहरुको मोबाइल नेटवर्क बिच्छेद भएर उनीहरुले एकअर्काबीचमा सञ्चार गर्न सक्दैनन् ।

९८ प्रतिशत घरधुरीमा पहुँच पुग्यो, थप २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : ऊर्जामन्त्री बस्नेत

फाइल फाेटाे काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकारले योजनाबद्ध र सार्थक पहल गरिरहेको बताएका छन् । प्राकृतिक स्रोतको समुचित प्रयोग र दिगो विकासका लागि सरकारले गरिरहेको प्रयासमा निजी क्षेत्रको पनि उत्तिकै साथ र सहयोग रहेको उनको भनाइ छ। दिगो विकासका लागि जलविद्युत् विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले दिगो विकासका लागि पनि ऊर्जा क्षेत्रको उत्तिकै महत्वपूर्ण योगदान रहने र नेपालले निर्धारण गरेको शून्य कार्बन उत्सर्जनको योजनालाई साकार बनाउन पनि यसैमा जोड दिनुपर्ने बताए । आर्थिक समृद्धिका लागि पनि जलविद्युत् क्षेत्र उत्तिकै महत्वपूर्ण रहेको तथ्य प्रस्तुत गर्दै उनले सोही आधारमा सरकार सन् २०३५ सम्म थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अग्रसर रहेको उल्लेख गरे । आन्तरिकरुपमा सहज विद्युत् उपलब्धता तथा सबैका लागि ऊर्जा भन्ने नाराका साथ काम भइरहेको र हालसम्म ९८ प्रतिशत घरधुरीमा बिजुलीको पहुँच भएको उनको भनाइ छ । आन्तरिक माग परिपूर्तिका साथै क्षेत्रीय बजारमा समेत नेपालको बिजुली उपलब्ध गराउने र त्यसबाट आर्थिक उपार्जन गर्ने लक्ष्य राखिएको मन्त्री बस्नेतले बताए । नेपालको कूल उत्पादन क्षमताअनुसार विद्युत् उत्पादन, प्रसारण एवम् वितरण लाइन विस्तार गर्दै बजारको सुनिश्चितता गर्नु र लगानीमैत्री वातावरण बनाउनका लागि नीतिगत एवम् संरचनागत सुधारमा ध्यान दिइएको उनले स्पष्ट पारे । यस्तै निजी क्षेत्रले उठाएको विद्युत खरिद सम्झौता (पीपीए)का विषयमा सरकार सकारात्मक रहेको र वन क्षेत्रको जग्गा प्रयोग तथा बाढीपहिरोका कारण क्षतिग्रस्त भएका आयोजना पुनः स्थापनाका लागि पनि सरकारले निरन्तर छलफल गरिरहेकाले निष्कर्षमा पुगिने मन्त्री बस्नेतको भनाइ थियो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जलविद्युत् क्षेत्रको विकासका लागि बोर्डले निरन्तर प्रयास गरिरहेको र केही समयभित्रै लगानी सम्मेलन आयोजना गर्न लागिएको बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएकाले तत्काल विद्युत् खरिद सम्झौता (पीपीए) गर्न माग गरे । उनले संसदमा विचाराधिन विद्युत् विधेयकका केही प्रावधान निजी क्षेत्रमैत्री नभएकाले त्यसमा सुधारको जरुरी रहेको बताए