विकासन्युज

इन्जिनियरको किबी खेती, कोदो र धान खेती भन्दा तेब्बर आम्दानी हुने

गलकोट । पेसाले जलविद्युतका इन्जिनियर हुन् बागलुङको बिहुँका खिमानन्द कँडेल । उनले कोरोनाकालमा गाउँ फर्केर लगाएको किबीले यो वर्षदेखि उत्पादन दिन थाल्यो । चितवन र काठमाडौंको बजारमा पनि किबी पुगेको छ । प्रतिकेजी रु ३०० देखि रु ५००मा किबी बिक्री गरेका कँडेलले पहिलो वर्ष नै किबीबाट रु एक लाख भित्र्याए । गाउँमा बस्दा फुर्सदिलो भएपछि २०७७ सालमा १२ रोपनी जग्गामा दुई सय २५ किबीका बिरुवा लगाएका उनले पहिलोपटक किबीलाई बजारमा पठाएको बताए । बागलुङको काठेखोला गाउँपालिका–५ थामडाँडा निवासी कँडेलले आफ्नो पुर्ख्यौली जग्गामा किबी खेती गरेका हुन् । सुरुमा लगानी र मेहनत दुवै लागे पनि निरन्तर आम्दानी गर्न सकिने किबी खेती लकडाउनमा समय कटाउनका लागि लगाइए पनि अहिले व्यावसायिक बनेको उनको भनाइ थियो । लकडाउनमा काठमाडौंस्थित इन्जिनियरिङ कन्सल्टेन्सीमा काम नभएपछि लामो समय बागलुङको बिहुँ बसेका कँडेलले लकडाउनको समयलाई भरपुर सदुपयोग गरेको जानकारी दिए । ‘सानैदेखि राजनीतिमा समेत सक्रिय थिएँ, पेसाका कारण काठमाडौंमा केन्द्रित थिए तर २०७७ सालमा लामो समय नेपालमा लकडाउन भएकाले कोरोना छल्न गाउँ आएको थिए’, इन्जिनियर कँडेलले भने, ‘बजारमा किबीको भाउ रु छ सय केजी थियो, खेत र कोदोको भन्दा तेब्बर आम्दानी दिन सक्दो रहेछ भनेर एक महिना लगाएर खाडल खने, थाक्राको व्यवस्थापन गरे र किबी लगाएँ ।’ कोरोना महामारी सामान्य भएपछि काठमाडौं गएँ तर किबीका बिरुवा हुर्कंदै गए । बीच–बीचमा किबीको स्याहारसुसार गर्न गाउँ आए पनि भाइ र बुबाले सहयोगसमेत सहयोग गरेको उनले बताए । दुई सय २५ किबीका बिरुवामध्ये एक सय बिरुवामा किबी फल्न थालेको र आगामी वर्षदेखि वार्षिक रु तीन लाखसम्मको किबी बिक्री गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । उनले तेब्बर आम्दानी दिने र कम मेहनत गर्ने भएपछि कोदो र धान खेती छोडेर किबी खेती लगाइएको बताए । ‘कोदो र धान खेतीमा कति दुःख छ, मेहनत अनुसारको आम्दानी हुँदैन, खान पुग्दैन,’ कँडेलले भने, ‘दुई सयप्रति केजीमै बिक्री भए पनि कोदो र धान खेतीभन्दा तेब्बर आम्दानी हुन्छ, कोदो र धानलाई जस्तो धेरै मेहनतसमेत गर्न पर्दैन ।’ किबीमा एकपटक लगानी गरेपछि वर्षौंसम्म मलजल मात्रै गरे पुग्ने भएकाले यहाँका अन्य किसानसमेत किबी खेतीतर्फ आकर्षित भएका हुन् । किबी खेतीका लागि किसानलाई सहज बजारीकरण गर्न भने कठिन रहेको उनको भनाइ थियो । विसं २०४६ सालदेखि नेकपा एमालेको विभिन्न पदमा रही काम गर्दै आएका कँडेल २०७९ साल मङ्सिरमा सम्पन्न सङ्घीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बागलुङ क्षेत्र नं १ बाट निर्वाचित चित्रबहादुर केसीसँग प्रतिस्पर्धा गरेका थिए । उनले दस हजार मतसमेत प्राप्त गरेक थिए । कँडेलले राजनीतिमा लाग्न पनि आफ्नो आर्थिक स्रोत चाहिने भएकाले किबी खेती गरेको बताए । रासस

भूकम्प प्रभावितका लागि साइमेक्स इन्कले गर्यो ११ लाख सहयोग

काठमाडौं । साइमेक्स इन्कले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ११ लाख रुपैयाँ प्रदान गरेको छ । नेपालका लागि बिवाईडी गाडीको अधिकृत वितरक साईमेक्सले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको हो । जसअन्तर्गत हरेक बिवाईडी डल्फिन बुक गरेमा १०,००० रुपैयाँ र बिवाईडी अत्टो ३ बुक गरेमा २०,००० रुपैयाँ कम्पनीको भुकम्प सहायता कोषमा जम्मा हुने कम्पनीले जनाएको छ। यो योजना मंसिर २३ गते सम्म लागु हुनेछ। यी बुकिङहरूबाट जम्मा भएको रकमले भुकम्प पिडितहरुलाई सहयोग गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, ‘अग्रिम बुकिङ गरि भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफर्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरेर उहाँहरुको सहयोगको कदर गर्नेछौँ।’

व्यापारीसँग फिरौती माग्ने दुईजना पक्राउ

महेन्द्रनगर ।  कञ्चनपुरको महेन्द्रनगरमा व्यापारीलाई धाकधम्की दिएर रु पाँच लाख फिरौती मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । व्यापारीसित फिरौती माग्ने बैतडीको दोगडाकेदार गाउँपालिका घर भई हाल महेन्द्रनगर बस्दैआएका ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका घर भई भीमदत्त नगरपालिका– ३ बस्ने २६ वर्षीय नरेश साउदलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरी जोशी र साउदलाई सार्वजनिक गरेको हो । उनीहरुको साथबाट खुकुरी, चक्कु, विभिन्न कम्पनीको सिमकार्ड, मोबाइल सेटलगायतका सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । ‘अभियुक्तद्वयले विभिन्न व्यापारीको सूची तयार गरेर डरधम्की दिएर फिरौती रकम माग गर्ने गरेको पाइयो’, उनले भने–’व्यापारीले रु तीन लाख दिने तयारीगरेसँगै हामीले अभियुक्तद्वयलाई नियन्त्रणमा लिएका हौँ ।’ मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २१ को दफा दुई सय ५३ बमोजिम आवश्यक कारबाहीका लागि मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाकाे नाम सिफारिस

काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले न्यायाधीश सिफारिस गरेको हो । परिषदले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानून व्यवसायीलाई न्यायाधीशमा सिफारिस गरेको छ । सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान उच्च अदालतको न्याधीशबाट सिफारिस भएका छन् । त्यस्तै, कानून व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । ६ जनाको नाम सिफारिस गरेपछि पनि अझै एकजना न्यायाधीशको स्थान रिक्त रहेको छ । परिषदले प्रस्तावित गरेका व्यक्तिहरु संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन् । हाल सर्वोच्च अदालतमा २१ मध्ये ७ जना न्यायाधीश रिक्त रहेको अवस्था छ ।

जुत्तामा आचार्य लेखेपछि सीआईबीमा उजुरी

काठमाडौं । आचार्य बन्धु समाज नेपालले जुत्तामा आचार्य लेखिएको भन्दै कम्पनीलाई अनुसन्धान गरी कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा निवेदन दिएको छ । आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले सोमबार महाराजगञ्जस्थित सिआइबीको कार्यालयमा निवेदन दर्ता गराएका हुन्। केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले साइबर ब्यूरोमा अनुसन्धानका लागि पठाइने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गर्ने बताए। केही दिन अगाडिको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीविरुद्ध सिआइबीमा निवेदन दिने निर्णय गरेको थियो।

ईंटा उद्योगमा मन्दी, व्यवसायीहरू मानसिक तनावमा

झापा । आर्थिक मन्दीका कारण झापाका ईंटा उद्योग धराशयी भएका छन् । उद्योगीहरु कोभिड–१९ को महामारी खेपेलगत्तै वित्तीय सङ्कट थपिएकाले व्यवसायबाटै पलायन हुने अवस्था आएको बताउँछन् । झापा ईंटा उद्योग सङ्घका अध्यक्ष गुणराज थापा जिल्लाका २३ वटा इँटा उद्योगमध्ये आर्थिक मन्दीका कारण १६ वटा बन्द भएको र चलिरहेका उद्योगले समेत ७० प्रतिशत उत्पादन कटौती गरिसकेको बताउँछन् । जिल्लाको हल्दिबारी, बाह्रदशी, विर्तामोड, गौरादह, कमल, दमक, मेचीनगर र गौरीगञ्जमा इँटा उद्योगहरु सञ्चालनमा रहेका छन् । यहाँ उत्पादित इँटाले जिल्लाबाहिर इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ र सुनसरीसम्म बजार ओगटेको थियो । दमकको गरिमा टायल्स उद्योग र गौरादहको ए–वान ईंटा उद्योगका प्रोपाइटरसमेत रहेका थापा आर्थिक सुधारको कुनै गुञ्जायस भएन भने सबै इँटा उद्योग धराशयी हुने उल्लेख गर्छन् । झापा ईंटा उद्योग सङ्घले जनाएअनुसार जिल्लाका इँटा उद्योगहरुमा रु दुई सय ५० करोड लगानी रहेको छ । कोभिडको महामारी आउनुअघि यहाँका उद्योगहरुले वार्षिक रु तीन अर्ब ५२ करोड मूल्य बराबरको इँटा उत्पादन गर्दै आएका थिए । हाल वार्षिक उत्पादन घटेर रु १८ करोड ३७ लाखमा झरेको छ । ईंटा व्यवसायी महासङ्घ कोशीका वरिष्ठ उपाध्यक्ष सीताराम भट्टराई उत्पादन भएका इँटा बिक्री नहुने र बैंकको ब्याजको तनावले इँटा व्यवसायीहरु मानसिक तनावमा रहेको गुनासो गर्छन्। ‘एकातिर इँटा बिक्री नभएर तनाव छ, अर्कातिर बैंकले ब्याजमा ताकेता गरेको गर्यै गर्छ,’ उनी भन्छन्, ‘सबै उद्योगीहरु डिप्रेसनमा परिसके । इज्जतको सवाल छ, न बाटामा निस्किएर रुनु, न कराउनु भइसक्यो ।’ हरेक ईंटाभट्टामा दुई सयदेखि अढाइ सय जनासम्मले प्रत्यक्ष रोजगारी पाएका हुन्छन् । बन्द भएका उद्योगबाट सयौँले रोजगारी गुमाइसकेका छन् भने चलिरहेका थोरै उद्योगमा समेत आधाभन्दा धेरै कामदार तथा कर्मचारी कटौती भइसकेका छन् । उद्योग सङ्कटग्रस्त हुनुमा सरकारले पूँजीगत खर्चमा गरेको कटौती मुख्य कारण भएको उद्योगीहरु बताउँछन् । पूँजीगत खर्च कटौतीसँगै सरकारी विकास निर्माणका योजना ठप्प प्रायः भएका छन् । मन्दीका कारण निजी क्षेत्रमा समेत निर्माण कार्य ठप्प हुँदै गएको छ । सरकारले काम भइसकेका निर्माण योजनाहरुको भुक्तानी रोकेका कारणसमेत ठेकेदारहरुले इँटाभट्टा व्यवसायीको भुक्तानी रोकेका छन् । वार्षिक छ प्रतिशत सर्तमा लिएको ऋणको ब्याज अहिले १६ प्रतिशतसम्म बैंकहरुले असुलिरहेको झापा इँटा उद्योग सङ्घका अध्यक्ष थापाको गुनासो छ । सरकारले पूँजीगत खर्च बढाउनुपर्ने र पुरानो कर्जालाई पुनःर्कर्जामा परिणत गरेर पुरानै ब्याजदर लागू गर्न ईंटा व्यवसायीहरुले माग गरेका छन् । रासस

मेटलाईफको ग्राहकलाई बीमालेख पुनर्जागरण गर्ने अवसर

काठमाडौं । मेटलाइफ नेपालले बीमालेख पुनर्जागरण अभियान संचालनमा ल्याएको घोषणा गरेको छ । नोभेम्बर ७ मा सुरु भएको यस अभियान अवधिमा कम्पनीले व्यतित बीमालेखहरुमा लिइने विलम्ब शुल्कमा छुट दिने कम्पनीले जनाएको छ । यस अभियान अन्तर्गत, मेटलाइफले बीमा अवधिको निर्धारित मिति समाप्त भएको व्यतित जीवन बीमालेखहरुमा लागू हुने बिलम्ब शुल्कको १०० प्रतिशत छुट दिनेछ । हालै प्रचलनमा ल्याईएको मध्यावधि बृद्धि बीमा योजनाका बीमालेख धारकहरुका लागि यो अभियान लागु हुने छैन । मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन्, ‘यस अभियानले मेटलाइफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरी आफनो र आफनो परिवारलाई निरन्तर सुरक्षा कायम राख्न मद्दत गर्नेछ ।’ थप जानकारीका लागि, मेटलाइफको ग्राहक सेवा विभागलाई ९७७–१–५९७०१६६ मा सम्पर्क गर्न सकिन्छ वा नजिकैको मेटलाइफ कार्यालयहरूबाट समेत जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

पप्पु कन्ट्रक्सनका विवादास्पद व्यवसायी रौनियारलाई ओलीद्वारा खादा ओढाएर एमालेमा स्वागत

काठमाडौं । निर्माण क्षेत्रमा निकै विवादित बनेको पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार नेकपा (एमाले)मा प्रवेश गरेका छन् । रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा भएको कार्यक्रममा खादा माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय सदस्य समेत रहेका रौनियारको पप्पु कन्ट्रक्सनले जिम्मेवारी लिएर गरेका ठूला आयोजनाहरुका काम विवादित रहँदै आएका छन् । ०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा निर्वाचित भएका रौनियार पप्पु कन्ट्रक्सन विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी निलम्बित भएका थिए ।